newsajako.com
काठमाडौं, १० माघ । गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले भ्रमण भिसामा विदेश जाने नेपाली ठगीमा पर्न थालेपछि भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि १३ बुँदे नयाँ यात्रा परामर्श (ट्राभल एड्भाइजरी) र छबुँदे कार्यविधि जारी गरेको छ।
अध्यामगन विभागबाट आजदेखि लागू हुने गरी उक्त यात्रा परामर्श र कार्यविधि जारी गरिएको विभागका निर्देशक एवं सूचना अधिकारी प्रेमप्रसाद दाहालले जानकारी दिए। उनले उक्त परामर्श र कार्यविधि आजैदेखि लागू भएको पनि जानकारी दिए।
‘भिजिट’ र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी कार्य भएको जानकारी दिँदै यात्रा एड्भाइजरीमा यस्तो भिसा लिएर विदेशमा गई कामको खोजी गर्दा सम्बन्धित देशको कानुनअनुसार कारबाहीमा परिने र विभिन्न प्रकारका समस्या भोग्नुपर्ने भएकाले सचेत हुन आग्रह गरिएको छ।
भिजिट वा पर्यटक भिसामा यात्रा गर्ने यात्रीले नक्कली कागजात पेस गर्ने, झुटा विवरण तयार गर्ने, भिसाको उद्देश्य विपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्नेजस्ता गतिविधिबाट सिर्जित अवस्थाको सम्बन्धमा व्यक्ति स्वयं नै जिम्मेवार हुने जनाइएको छ।
यसैगरी, श्रम गन्तव्य मुलुक कुवेत, ओमन, संयुक्त अरब इमिरेट्स र बहराइनजस्ता देशमा बिचौलियाको प्रभावमा महिलालाई भिजिट वा पर्यटक भिसामा पुगी ‘वर्किङ’ भिसामा परिणत गराउने र त्यस्तो कार्यबाट महिलालाई विभिन्न प्रलोभनमा पारी बढी रकम असुल गरी ठग्ने, रोजगारदातासँगको मिलेमतोमा असुरक्षित र अमर्यादित श्रम कार्यमा संलग्न गराउन सक्नेतर्फ पनि सचेत गराइएको छ।
तोकिएको भन्दा अन्य गन्तव्य मुलुकमा पठाउने, असङ्गठित र घरेलु प्रकृतिका जोखिमयुक्त कार्यमा संलग्न गराउने, सामाजिक सुरक्षाबाट वञ्चित हुनुपर्नेजस्ता सम्भावना रहेकाले काम गर्ने मनसायले विदेश जाँदा भिजिट वा पर्यटक भिसामा नगई वर्किङ भिसामा नेपाल सरकारबाट श्रम स्वीकृति लिएरमात्र प्रस्थान गर्न विभागले अनुरोध गरेको छ।
विभिन्न मुलुकमा भिजिट वा पर्यटक भिसामा गएका केही नेपाली यात्री उल्लिखित मितिमा फर्कने गरेको नपाइएकाले असमान्य परिस्थितिबाहेक अन्य अवस्थामा तोकिएको मितिभित्र स्वदेश फर्कन पनि अनुरोध गरिएको छ।
अन्यथा यसबाट सृजना हुने अवस्थाका सम्बन्धमा व्यक्ति स्वयं जिम्मेवार हुने हुनाले समयमै स्वदेश फर्कनेछु भनी स्वःघोषणा गरेर मात्र प्रस्थान गर्नुहुन र विदेश प्रस्थान गर्नुअघि सम्बन्धित देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राखेरमात्र भ्रमण गर्न पनि आग्रह गरिएको छ।