14 Mangshir, 2080 / 30 November , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

खेलकुद


ओमानसँग नेपाल पराजित

ओमानसँग नेपाल पराजित


काठमाडौं, १९ कात्तिक । टी–२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले जितेको छ। सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा १० रन कटाउन नसकेपछि नेपालले हार बेहोर्नुपरेको छ।

कीर्तिपुरस्थित टियू मैदानमा पहिला ब्याटिङ गर्दै नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतिमा १८४ रन बनाए पछि खेल सुपर ओभरमा गएको थियो।
 


यूएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनोट

यूएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनोट


काठमाडौं, १७ कात्तिक । यूएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनोट भएको छ । आज शुक्रबार मूलपानी क्रिकेट मैदानमा भएको आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपालले यूएईलाई ८ विकेटले हरायो ।
यूएईले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले १७ ओभर १ बलमा भेटायो । नेपालका आसिफ शेखले अर्धशतक बनाए । आसिफले ५० बलमा ६३ रन जोडे । यस्तै कप्तान पौडेलले ३३ रन बनाए । बलिङतर्फ यूएईका बसिल हमीद र निलान्श केसवानीले समान १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो । यूएईका वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए । यस्तै मुहम्मद वसिमले २६, अलिशान शरुफुले १६ र आशिफ खानले १३ रन जोडे । बलिङतर्फ नेपालका कुशल मल्लले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए । यस्तै सोमपाल कामी र रोहित पौडेलले समान १ विकेट लिए ।

नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेले पनि त्यसपछि छनोट हुन सकेको थिएन । अब नेपालले टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा आइतबार ओमानसँग कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा खेल्नेछ ।


विश्वकप छनोटः नेपालले आज युएईसँग सामना गर्दै

विश्वकप छनोटः नेपालले आज युएईसँग सामना गर्दै


काठमाडौं, १७ कात्तिक । आइसिसी टी–२० विश्वकपअन्तर्गत् एसिया छनोटको सेमिफाइनलमा नेपालले शुक्रबार युएईसँग खेल्दैछ। यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ।

शुक्रबार बिहान ११ बजे मुलपानी मैदानमा हुने यो खेल नेपालका लागि महत्त्वपूर्ण छ। किनकि नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर छ। नेपाल र युएईबीच टी–२० मा अहिलेसम्म ८ खेल भएका छन्। आठमध्ये नेपाल र युएईले चार चार खेलमा जित निकालेका छन्। 

अघिल्लो साता मात्र नेपालले युएईसँग तीन खेल खेलेको थियो। नेपाल, हङकङ र युएईबीचको टी–२० सिरिजको समूह चरणमा नेपालले युएईविरूद्धका दुवै खेल जितेको थियो। 

मुलपानी मैदानमा नेपालले पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ६ विकेटले युएईलाई पराजित गरेको थियो। कीर्तिपुर मैदानमा भएको फाइनलमा भने नेपाल पराजित भएको थियो। फाइनलमा नेपालमाथि युएईले ४ विकेटको जित निकालेको थियो। 

त्यसअघि सन् २०२२ मा नेपाल र युएईबीच टी–२० विश्वकप छनोटको सेमिफाइनल प्रतिस्पर्धा भएको थियो। ओमानमा भएको सो खेलमा जित हात पारे विश्वकपमा पुग्ने अवस्था थियो। तर नेपाल ६८ रनले पराजित हुन पुगेको थियो। 

त्यसअघि नेपाल र युएईबीच ओमानमै भएको टी–२० सिरिजमा नेपाल २५ रनले पराजित भएको थियो। 
 


अन्तिम बलमा ओमानसँग हार्‍यो नेपाल, समूहको उपविजेतामै सिमित

अन्तिम बलमा ओमानसँग हार्‍यो नेपाल, समूहको उपविजेतामै सिमित


काठमाडौं, १६ कात्तिक । घरेलु टोली नेपाल आइसिसी टि २० विश्वकप एशिया क्षेत्रको फाइनल छनोटअन्तर्गत समूहको अन्तिम खेलमा ओमानसँग पराजित भएको छ । बिहीवार भएको खेलमा नेपाल ओमानसँग ६ रनले पराजित हुँदै समूह एको उपविजेतामा सिमित बनेको हो । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमानले जितका लागि दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा १४० रनमै समेटिएको हो । खराब ब्याटिङ गरेको नेपालका लागि कुनै पनि खेलाडीले जिम्मेवारीपूर्ण क्रिज सम्हाल्न सकेनन् । आठौं नंबरमा ब्याटिङमा विवेक यादवले ५ छक्काको मदतमा ३९ रन जोडे । साथै करण केसीले १५ रन जोडे ।

अन्तिममा विवेकको विष्फोटिङ ब्याटिङमा रोमाञ्चक बनेको खेलमा १९ ओभरको अन्तिम बलमा ६ रन चाहिएको थियो । विवेक आउट भइसकेका थिए । क्रिजमा करण केसी थिए तर, छक्का हान्ने शटमा उनी क्याच आउट हुन पुगे ।

त्यसअघि ओपनर कुशल भुर्तेलले २६ रन जोड्नुबाहेक अन्य खेलाडीको प्रदर्शन सम्झन लायक रहेन । कप्तान रोहितकुमाार पौडेल, सोमपाल कामी र सन्दीप जोराले समान १२ रन जोडे । यसअघिका खेलमा विष्फोटिङ ब्याटिङ गर्दै आएका कुशल मल्ल पनि १० रनमै सिमित भए । 

बलिङमा ओमानका बिलाल खानले ३ विकेट लिए भने सकिल अहमद, मेहरान खान र तथा अकिव इलियासले समाान २ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभमा नौ विकेट गुमाउँदै एक सय ४५ रनको योगफल बनाएको थियो । ओमानका लागि जिशान मकसुदले २६ बलमा १ चौका र ३ छक्कासहित ३२ रनको योगदान दिए । त्यस्तै नसिम खुसीले २५ रन बनाए भने प्रतीक अथभलले २४, सकिल अहमदले २२ तथा आयान खानले १८ रन बनाए । 

नेपालका लागि करण केसीले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २/२ विकेट लिए । त्यस्तै, गुलशन झा र अभिनाश बोहोराले समान एक एक विकेट लिए । 


मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा


काठमाडौं, १४ कात्तिक । टी–२० विश्वकप एसिया छनोटको खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै भेट्टाएको हो ।

नेपालको जीतका लागि कुशल मल्लले बिस्फोटक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले । उनले ३४ मा  सात छक्का र दुई चौकासहित ६५ रन बनाए । साथै ओपनर कुशल भुर्तेलले चार छक्का र चार चौकाको सहयोगमा महत्वपूर्ण ४३ रन र आशिफ सेखले दुई छक्का र एक चौकाको सहयोगमा ३२ रन बनाए । त्यसैगरी सन्दीप जोराले १८ र कप्तान रोहित पौडेल र विवेक यादवले दुई/दुई रन बनाए ।

मलेसियाका लागि मोहम्मद अमिरले तीन र पवनदीप सिंहले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६५ रन बनायो । मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् । उसका लागि ओपनर एवम् विकेटकिपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए । उनले ४९ बलमा दुई छक्का र आठ चौका प्रहार गरे । साथै जुवैदी जुल्किल्फले २४, शाविन मेनाइडी र विजय उन्नीले समान १३/१३ रन बनाए ।

नेपालका लागि अविनाश बोहोराले चार विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा रोहित पौडेलले एक/एक विकेट लिए ।

यो जितसँगै नेपाल समूह ए बाट सेमिफाइनल पुगेको छ । 


टी-२० विश्व कप छनोटः नेपालले सिङ्गापुरलाई आठ विकेटले हरायो

टी-२० विश्व कप छनोटः नेपालले सिङ्गापुरलाई आठ विकेटले हरायो


काठमाडौं, १३ कात्तिक । आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपाल आठ विकेटले विजयी भएकाे छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिङ्गापुरले दिएकाे १ सय ४६ रनकाे लक्ष्य पछ्याएकाे नेपालले २ विकेट गुमाएर १६ दशमलव ३ ओभरमा पूरा गर्याे ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७४ रन बनाए । यस्तै, कप्तान राेहित पाैडेलले ३५ रन बनाउँदा आशिफ शेख २७ रन बनाएर आउट भए । बलिङतर्फ नेपालका अभिनाश बोहराले ३ तथा करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले समान दुई/दुई विकेट लिए ।

यस्तै, सिङ्गापुरका लागि रोहन रङ्गराजनले सर्वाधिक ४६ रनको योगदान गरे भने आर्यवीर चौधरीले ३७, मनप्रित सिंहले २४ र अक्ष पुरीले १३ रन जोडे । 

अब, दोस्रो खेलमा नेपालले भोलि मलेसिया र  १६ गते बिहीवार ओमानसँग खेल्नेछ । नेपाल रहेको समूह 'ए' मा सिङ्गापुर, ओमान र मलेसिया छन् ।

समूह 'बी' मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउने छन् । त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्ने छ । 


त्रिकोणात्मक शृंखलामा हङकङविरुद्ध नेपालको जित

त्रिकोणात्मक शृंखलामा हङकङविरुद्ध नेपालको जित


काठमाडौं, २ कात्तिक । नेपाल ट्वान्टी–२० आई अन्तर्राष्ट्रिय शृंखलामा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । लगातार दोस्रो विजय हात पारेको छ । राउन्ड रोबिन लिगको आधारमा भइरहेको प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधबार यूएईलाई ७ विकेटले पराजित गरेको थियो ।

नेपालले ९५ रनको सामन्य लक्ष्यलाई १३.४ ओभरमै ९९ रन बनाउँदै पूरा ग¥यो । आसिफ शेखले ४२ रन बनाउँदै नेपाललाई सजिलो विजय दिलाए । उनले ३४ बलको सामना गरी ६ चौका प्रहार गरे । अर्का ओपनर कुशल भूर्तेल ८ रनमै आउट भएका थिए । कुशल मल्ल १, सन्दीप जोरा ३ रनमा आउट भए ।
कप्तान रोहित पौडेल र गुल्शन झा क्रमश २५ र १४ रन बनाई खेल टुंग्याए । विजयी छक्का प्रहार गरेका रोहितले २० बल खेली १ चौका र २ छक्का प्रहार गरे । आसिफ आउट भएपछि आएका गुल्शनले दुई छक्का प्रहार गर्ने क्रममा ५ बलमात्र खेले ।
करण केसीले ४ विकेट लिएपछि हङकङको इनिङ्स धरमराएको थियो । उनले ४ ओभरमा १५ रन खर्चे ।
अविनाश बोहराले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । उनले सो क्रममा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो ५० विकेट पूरा गरेका थिए । उनी नेपालबाट ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने तेस्रो खेलाडी हुन् । अर्का तीव्र बलर सोमपाल कामीले पनि २ विकेट लिए । उनले ३.३ ओभरमा १० रनमात्र खर्चे ।
कुशल मल्ल र श्याम (मौसम) ढकालले १–१ विकेट लिए । अघिल्लो दिन यूएईको खेलबाट डेब्यु गरेका ट्वान्टी–२० अन्तर्राष्ट्रियमा श्यामको यो पहिलो विकेट हो ।

करणले खेलको पहिलो बलमै निजाकत खानलाई बोल्ड गरि विकेट लिन सुरु गरेका थिए । त्यहीबाट हङकङको संघर्ष सुरु भएको थियो । यासिम मुर्ताजाले हङकङबाट सर्वाधिक ३६ रन बनाए । उनले ३६ बल खेली २ चौका र १ छक्का प्रहार गरे । दोहोरो अंकको स्कोर बनाउने अर्का खेलाडी जिशान अलीले १७ रन बनाए । उनले २० बल खेली २ चौका प्रहार गरे ।
 


१९औं एसियाड क्रिकेटः नेपाल भारतसँग २३ रनले पराजित

१९औं एसियाड क्रिकेटः नेपाल भारतसँग २३ रनले पराजित


काठमाडौं,१६ असोज । १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा जितका लागि दुई सय तीन (२०३) रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७९ रनमा समेटियो । 

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३२ रन बनाए ।  यस्तै कुशल मल्ल र सन्दीप जोराले समान २९/२९, ओपनर कुशल भुर्तेलले २८, करण केसीले अविजित १८, आशिफ शेखले १० र रोहित पौडेलले तीन रन बनाए। यस्तै सोमपाल कामी सात र गुलशन झा ६ रनमा आउट हुनुभयो । सन्दीप लामिछाने लामिछाने पाँच रन जोड्दै पेभेलियन फर्किए।

बलिङमा भारतका रवि विस्नोई र आवेश खानले तीन तीन विकेट लिए । अर्शदीप सिंहले  दुई तथा सई किशोरल एक विकेट लिए ।   यसअघि टस टिजेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय दुई (२०२) रन बनाएको थियो ।  

भारतका लागि  यशस्वी जैसवालले शतकीय इनिङ्स खेले । उनले ४९ बलमा आठ चौका र सात छक्काको सहयोगमा एक सय रन बनाए । रिन्कु सिंहले अविजित ३७, कप्तान रुतुराज गायकवाडले २५ र शविम् दुवेले अविजित २५ रन बनाए । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए । सोमपाल कामी, सन्दीप लामिछाने एक एक विकेट लिए । 


नेपाली फुटबलरको पलायन यात्रा अझै रोकिएन

नेपाली फुटबलरको पलायन यात्रा अझै रोकिएन


काठमाडौं, १२ असोज । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अष्ट्रेलिया उडेका छन् ।  एक दशक भन्दा लामो समयदेखि राष्ट्रिय टोलीका सदस्य रहेका विमल शुक्रबार अस्ट्रेलिया गएका हुन् ।

एन्फा एकेडेमीका उत्पादन घर्तीमगरले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए। उनी मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए।

अस्ट्रेलिया जानुपूर्व विमलले ललितपुर सिटी एफसीसँगका सम्झौता रद्ध गरेका छन् । नेपाल सुपर लिग (एनएसएल) का लागि ललितपुर सिटी एफसीका मार्की खेलाडी बन्ने तयारीमा थिए । अस्ट्रेलिया जाने भएपछि उनले नाम फिर्ता लिएका थिए ।

वर्षमा ४ महिना मात्र लिग हुने र ८ महिनासम्म खाली बस्नुपर्ने भएपछि नेपाली फुटबलरहरु हतोत्साही बन्दै गएका छन् । पछिल्लो समयमा करिब तीन दर्जन फुटबलरहरु अस्ट्रेलिया पलायन भइसकेका छन् । दिनेश राजवंशी, अभिषेक रिजाल, हेमन्त थापामगर, निशान खड्का, रवि पासनजस्ता चर्चित खेलाडीहरु पलायन हुँदा नेपाली फुटबलमा गम्भीर विचलन पैदा भएको छ ।

पछिल्लो समय नेपाली राष्ट्रिय टिमबाट खेलिरहेका तथा क्लबमा राम्रो प्रदर्शन गरेका फुटबलरहरू सुन्दर भविष्यको खोजीमा अस्ट्रेलिया जाने क्रम बढेको छ ।


मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित


काठमाडौं, १० भदौ । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको विश्व कीर्तिमानी प्रदर्शनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदमा सानदार सुरुआत गरेको छ। 

समूह चरणको पहिलो खेलमा नेपालले मंगोलियाविरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित हासिल गरेको हो।  नेपालले दिएको ३ सय १५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रन बनाउँदा अलआउट भयो। 

मंगोलियालाई कम स्कोरमा रोक्न नेपालका करण केसी, अविनास बोहोरा र सन्दीप लामिछानेले समान २ विकेट लिए। सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट आफ्नो नाममा गरे। 

मंगोलियामा जमयानसुरेन दावासुरेनले बनाएको १० रन रन नै सर्वाधिक रह्यो। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

एक ब्याटरले ३ रन थपे। अन्य तीन ब्याटरले १ रन जोडे। बाँकी पाँच ब्याटर शून्य रनमा पवेलियन फर्के। एक खेलाडी भने २ रनमा नटआउट रहे। 

त्यसअघि झेझियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रनको कीर्तिमानी योगफल तयार पारेको थियो। 

नेपालले टी आईमा इतिहासकै उच्च योगफल तयार पारेको हो। यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २ सय ७८ रनको योगफल तयार बनाएका थिए। 

चौथो विकेटका लागि युवा ब्याटर कुशल मल्ल र कप्तान रोहित पौडेलले १ सय ९३ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य दिएको हो। कुनै पनि खेलमा तेस्रो विकेटका लागि नेपाली ब्याटरले गरेको यो अहिलेसम्मकै उच्च साझेदारी हो। 

मंगोलियाविरुद्ध कुशल र दीपेन्द्रले विश्व कीर्तिमानी प्रदर्शन गरे। ३४ बलमा शतक पूरा गरेका मल्लले विश्व कीर्तिमान आफ्नो नाममा गरे। यसअघि टी-२० आईमा सर्वाधिक छिटो शतक ३५ बलको थियो। 

५० बलको सामना गरेका कुशलले ८ चौका र १२ छक्का हान्दै १ सय ३७ रनमा नटआउट रहे। आक्रामक अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक पूरा गर्दै दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गरे। यसअघि भारतीय ब्याटर युवराज सिंहले को बलमा अर्धशतक पूरा गरेका थिए। दीपेन्द्र ५२ रनमा नटआउट रहे।

रोहितले २७ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिए। ओपनर कुशल भुर्तेल १९ तथा आशिफ शेख १६ रनमा आउट भए। 

एसियाडमा समूह बीमा रहेको नेपालले आफ्नो दोस्रो खेलमा आइतबार मालदिभ्ससँग खेल्नेछ।