16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घटना/दुर्घटना


सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु


सुर्खेत, ८ माघ । सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। शनिबार राति साढे दुई बजेतिर बा ०१०२६ च ९२१३ नम्बरको जीप वीरेन्द्रनगर नगरपालिका–११ को झुप्रा खोलामा दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो । 
दुर्घटनामा  जीप चालक वीरेन्द्रनगर–७ का २७ वर्षका सागर शाही, दैलेख भगवती गाउँपालिका–५ का ३१ वर्षका बबिन शाही, दैलेख डुंगेश्वर  गाउँपालिका–३ का ३३ वर्षका दीपेन्द्रजङ्ग शाही र गुराँस गाउँपालिका–३ का ३६ वर्षका राजेन्द्र बीसीको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै, २५ वर्षका भैरवी गाउँपालिका–५ का वीरेन्द्रराज शाही भने घाइते हुनुभएको छ । उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


विमान दुर्घटना:१० नेपाली र दुई कोरियन नागरिकको शव बुझाइयो    

विमान दुर्घटना:१० नेपाली र दुई कोरियन नागरिकको शव बुझाइयो    


काठमाडौं, ५ माघ ।गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४९ को शव काठमाडौं ल्याइएकामा १२ जनाको परीक्षण (पोष्टमार्टम) गरी बिहीबार परिवारलाई बुझाइएको छ ।     
माघ १ गते आइतबार काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएका ७१ मध्ये २२ जनाको शव पोखरामा नै परीक्षण गरी आफन्तलाई बुझाइएको थियो ।     
काठमाडौंस्थित त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएका ४९ मध्ये १२ जनाको शव परीक्षण गरी बिहीबार सम्बन्धित परिवार र नेपालस्थित कूटनीतिक नियोगमा जिम्मा लगाइएको यती एयरलाइन्सले जनाएको छ ।     
     
जिम्मा लगाइएकामध्ये १० नेपाली र दुई शव कोरियन नागरिकको रहेको छ । पहिचान खुलेका बाँकी शव पनि परीक्षण गरेर सम्बन्धित परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको छ । पहिचान नखुलेका शवको भने डिएनए परीक्षण गरेर मात्र परीक्षण गरी मृतकका परिवारलाई बुझाइने छ । चालक दलका सदस्यसहित ७२ जना सवार उक्त विमान दुर्घटनामा ७१ जनाको मृत्यु भइसकेको छ भने बाँकी एकको खोजी जारी रहेको छ । 
 


नेपालमा सञ्चालित सबै एटीआर–४२ र एटीआर–७२ मा प्राविधिक त्रुटि देखिएन : प्राधिकरण

नेपालमा सञ्चालित सबै एटीआर–४२ र एटीआर–७२ मा प्राविधिक त्रुटि देखिएन : प्राधिकरण


काठमाडौं, २ माघ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालका सञ्चालित सबै एटीआर–४२ र एटीआर–७२ जहाजमा कुनै प्राविधिक त्रुटि नदेखिएको जनाएको छ । आइतबार यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनामा परेपछि प्राधिकरणले सबै जहाजको परीक्षण गरिएको जनाएको छ ।
प्राधिकरणले वायुयानको नियमित उडान योग्यताका लागि दैनिक गरिने दैनिक निरीक्षण, उडानपूर्व गरिने निरीक्षण, निश्चित अन्तरालमा गरिने ’सेड्युल इन्सपेक्सन’ जस्ता मर्मत सम्भारका कार्यहरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन को मापदण्ड तथा सिफारिस एवं वायुयान निर्माता कम्पनीका मापदण्डबमोजिम गर्ने गरिएको पनि बताएको छ ।

यती एयरलाइन्सको विमान दुर्घटनापश्चात् प्राधिकरणका उडान सुरक्षा निरीक्षकहरुबाट नेपालमा सञ्चालित सम्पूर्ण एटीआर–४२ र एटीआर–७२ वायुयानहरूको थप विस्तृत प्राविधिक परीक्षण गर्ने कार्य सम्पन्न भइसकेको पनि प्राधिकरणले जनाएको छ। परीक्षणका क्रममा उपरोक्त वायुयानहरूमा कुनै प्राविधिक त्रुटि फेला नपरेको प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् ।

त्यस्तै प्राधिकरणले आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे अनावश्यक भ्रम नफैलाउन आग्रह गरेको छ । दुर्घटनाका सम्बन्धमा प्राधिकरण केही उच्चपदस्थ पूर्वकर्मचारी तथा अन्य व्यक्तिबाट भएको टिकाटिप्पणी तथा अभिव्यक्तिका कारण सर्वसाधारणमा भ्रम फैलिएको प्राधिकरणले जनाएको छ ।

प्रवक्ता जगन्नाथ निरौलाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ’दुर्घटनाका सम्बन्धमा प्राधिकरणका केही उच्च पदस्थ पूर्वकर्मचारी तथा अन्य व्यक्तिहरूबाट विभिन्न सामाजिक सञ्जाल, टेलिभिजन, पत्रपत्रिका तथा अनलाइनलगायतका सञ्चारमाध्यममा दिइएका धारणा, टिकाटिप्पणी तथा अभिव्यक्तिहरुका कारण सर्वसाधारणमा भ्रम सिर्जना हुन गएको प्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ ।’

दुर्घटना, खोज तथा उद्धारका सम्बन्धमा सर्वसाधारणको जानकारीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता तथा सूचना अधिकारी (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय समेत) मार्फत प्राप्त हुने सूचना तथा जानकारीलाई मात्र आधिकारिक मान्न पनि प्राधिकरणले आग्रह गरेको छ ।


पोखरा विमान दुर्घटनाः भेटियो विमानको ‘ब्ल्याक बक्स’

पोखरा विमान दुर्घटनाः भेटियो विमानको ‘ब्ल्याक बक्स’


काठमाडौं, २ माघ । पोखरामा आइतबार दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज बिहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए ।
ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ ।
प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ । उक्त ब्ल्याक बक्स काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ ।
 


शोक बिदा, यति एअरलाइन्सका उडान नहुने

शोक बिदा, यति एअरलाइन्सका उडान नहुने


काठमाडौं, २ माघ ।  पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति शोक प्रकट गर्न सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

आन्तरिक उडानमा अहिलेसम्मकै ठूलो मानवीय क्षति भएकाले मन्त्रिपरिषद्को आकस्मिक बैठकले आज शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

सरकारले बिदा दिने निर्णयको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । बिदाभन्दा पनि पीडितको परिवारलाई छिटो राहत वितरण तथा आउँदा दिनमा दुर्घटना हुन नदिनको लागि आवश्यक पहल गर्नुपर्नेमा धेरैको सुझाव छ ।

यसैबीच यति एयरलाइन्सले विमान दुर्घटनाको शोकमा आजको लागि निर्धारित सबै उडान रद्द गरेको छ । आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरिएको कम्पनीले जनाएको छ । 
 


विमान दुर्घटनामा ६९ को मृत्यु, तीनजना अझै बेपत्ता 

विमान दुर्घटनामा ६९ को मृत्यु, तीनजना अझै बेपत्ता 


काठमाडौं, १ माघ । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना ६९ जनाले ज्यान गुमाएको पुष्टि भएको छ । यती एयरलाइन्सले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म ६९ जनाको मृत्यु भइसकेको छ भने बाँकी तीनजनाको सोमबारमात्रै खोजी गरिने भएको छ । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका चारजनासहित ७२ जना सवार थिए। 


विमान दुर्घटनाः उद्धारको काम सोमबार बिहानदेखि मात्रै

विमान दुर्घटनाः उद्धारको काम सोमबार बिहानदेखि मात्रै



काठमाडौं, १ माघ । पोखरामा भएको जहाज दुर्घटनामा बेपत्ताको खोजी तथा उद्धार सोमबार मात्रै गरिने भएको छ । राति उद्धारको काम गर्न कठिन भएको भन्दै सोमबार बिहानदेखि मात्रै खोजी तथा उद्धार गरिने नेपाली सेनाले जनाएको छ। आइतबार साँझ विज्ञप्ति जारी गर्दै सेनाले उक्त जानकारी दिएको हो। 
यसअघि कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले राति पनि खोजी तथा उद्धारको काम जारी नै रहने जानकारी दिएका थिए। तर रातिको समयमा उद्धार कठिन भएको सेनाको भनाइ छ। 

अहिले नेपाली सेनाको दुई सय जना टोली घटनास्थलमा खटिएको छ। उक्त टोलीसँगै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली पनि घटनास्थलमै छन्। सशस्त्रका गोताखोरसहित कुल २२७ जनाको टोली छ।

आइतबार बिहान १०ः३२ मा काठमाडौंबाट उडेको यती एयरलाइन्सको जहाज पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको हो। दुर्घटनामा ६९ जनाको मृत्यु भएको छ। तीन जनाको अवस्था अझै अज्ञात छ।
 


विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने सरकारको निर्णय


काठमाडौं, १ माघ । पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । 

यस्तै दुर्घटनाका प्रति गहिरो दुःख व्यक्त गर्दै सरकारले दिवङ्गतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस घटनाको कारण जाँच गर्नका लागि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच समिति पनि गठन गरेको छ । समिति सदस्यहरूमा हवाई विज्ञ नेपाली सेनाका अवकाश प्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाश प्राप्त क्याप्टेन सुनील थापा, जहाज मर्मत–सम्भार विषयका इन्जिनियर एकराज जंग थापा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । 

बैठकले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरूलाई निर्देशन दिने र आफन्तलाई यकिन जानकारी दिन कल सेन्टर स्थापना गर्ने निर्णय पनि गरेको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर घटनाको बारेमा जानकारी लिएका थिए । 
 


पोखरामा जहाज दुर्घटना

पोखरामा जहाज दुर्घटना


कास्की, २ माघ । पोखरामा जहाज दुर्घटना भएको छ । पोखराको सेती किनारमा जहाज खसेको हो । पोखराबाट काठमाडौं उडेको यति एयर लाइन्सको जहाज दुर्घटना भएको हो ।  अहिले दुर्घटनास्थलमा आगो निभाउने प्रयास भइरहेको छ । थप विवरण आउन बाँकी छ । 


पानीको सट्टा स्पिरिट दिएपछि विद्यार्थीको मृत्यु

पानीको सट्टा स्पिरिट दिएपछि विद्यार्थीको मृत्यु


काठमाडौं, २४ पुस । शिक्षिकाको लापरबाहीले विद्यार्थीको मृत्युपछि सिरहामा तनाव सिर्जना भएको छ। विद्यार्थीहरुको आन्दोलन उग्र बन्दा प्रहरीले अश्रुग्यास तथा हवाई फायर गरेको छ।
प्रहरीले आन्दोलनलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर र करिब १० राउण्ड अश्रुग्यास प्रहार गरेको हो । 

मिर्चैया नगरपालिका ६ मा रहेको सगरमाथा स्कुलको कक्षा ८ मा अध्ययनरत छात्रा सिर्जना कुमारी महराको स्प्रिट सेवनबाट मृत्यु भएको हो। शुक्रबार औषधि खानका लागि उनले पानी मागेपछि शिक्षिक अम्बिका लम्सालले माउण्टेन ड्यूको बोतलमा रहेको स्पिरिट दिएकी थिइन्।

सिर्जनाले पानी ठानेरै स्पिरिट खाएपछि बेहोस् भएकी थिइन्। उपचारको लागि उनलाई कर्जन्हाको फुलकुमारी महतो मेमोरियल अस्पतालमा लगेकोमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको हो।

घटनाको विरोधमा आइतबार विद्यार्थीहरु मिर्चैयामा राजमार्ग बन्द गरेर प्रदर्शन गरिरहेका छन्।