21 Baishak, 2081 / 3 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विचार/अन्तरवार्ता


विदेश जानुको महत्व बुझौं !

विदेश जानुको महत्व बुझौं !


शिवप्रसाद पोखरेल

आज देशका उपल्लो दर्जाका व्यक्तिलाई आराम गर्नु पर्ने भएर विदेशमा...भन्ने शिर्षकमा समाचार पढ्दा आंखाबाट पानी खस्ला जस्तो भयो । विचराहरुले देशका लागि भनेर आफ्नो शरिरको ख्याल कहिल्यै गरेनन्, आराम गर्नका लागि नेपालमा केहि व्यवस्था नभएकोले उता जांदा पनि मानिसहरु विरोधमात्र गर्छन् किनहो ? देशलाई यत्रो योगदान गरेको देखिन्छ, झण्डै एक­दुई लाईनमा लेख्न मिल्ने ईतिहासनै रचिसके । केहि दिनका लागि आफ्नो परिवारको ईच्छा अनुसार उता जांदा हुन्छ भन्नेमा सहमत हुन सकिन्छ ।

विगतमा आफ्ना लागि ज्यानको बाजी लगाउनेहरु आज उतै तिर गैंची बेल्चा उचालेर खनिरहेको हेर्न सकिन्छ । कसैले संगै फोटो खिचौं भनेमा फोटो खिच्न सकिन्छ । फोटो विभिन्न मिडिया मार्फत सबैलाई देखाउन सकिन्छ। त्यसैगरी नेपाल भ्रमण वर्ष सफल बनाउन तथा देश विकास गर्नका लागि पनि भ्रमणले महत्वपूर्ण भूमिका खेल्नेनै छ ।

देशको लागि योगदान गर्नेहरुलाई विदेशमा आराम गर्न जानका लागि प्रोत्साहन गर्नु पर्छ भन्ने मेरो बुझाई रहेको छ । त्यसो हुंदा नेपालको भ्रमण वर्षमा धेरै पर्यटक भित्र्याउनका लागि पनि भूमिका खेल्छ । मिल्छ भने सरकारी ढुकुटीबाटनै खर्च दिने यदि मिल्दैन भने ऐन नियम परिमार्जन गरेर भए पनि मिलाउनु पर्छ नत्र उहांहरुले सानोतिनो जागिरको पैसा जम्मा गरेर कसरी घुम्न सक्नुहुन्छ ? विदेश जांदाको महत्वलाई ओझेलमा नपारौं ।


के विगारेको छ भारतले ?

के विगारेको छ भारतले ?


शिवप्रसाद पोखरेल

हरेक वर्षायाममा नेपालमा केहि दिन राम्रैसंग वर्षा हुने गरेको छ । हाम्रो पहाडमा वर्षा हुन्छ पानी बगेर तराई झर्छ, अनि तराईमा पनि वर्षा हुंदा दुवै तर्फको पानी मिलेर यस्ले ठूलो आकार लिने गर्छ । पहाडमा पहिरो जान्छ, घरहरु केहि पुरिन्छन, केहि बग्छन र तराईका समथर भूभाग डुवानमा पर्छन् । भारतको विहार कति डुव्छ र कति विहारीले नेपालको पानीका कारण रुंदै जिविका चलाएका छन हामीलाई खवर हुंदैन् केहि थाहा भए पनि हामीलाई के मतलब ति खराब भारतीय हुन भनेर गर्वका साथ गफ दिन्छौं । यसो भन्ने हामीलाई सभ्य मानिसको दर्जामा राख्न मिल्छ ? हाम्रोमा दुई दिन पानी पर्ने वित्तिकै त्यो भारतले बांध खोलेन हाम्रो डुवायो आदि ईत्यादी । अनि त्यो भारतले आफ्नो नागरिक डुवेको मरेको हेरिरहनु पर्ने ? अनि नेपालीको जस्तो सोचाई छ सोहि अनुसार भारत चुप लागेर बस्नु पर्ने ? आफ्नो देशका जनता डुव्दा उस्ले टुलु टुलु हेरेर बस्नु पर्ने ? हाम्रो देशका जनता देश विकास भएर हातहतियारले सुसज्जित भए भने कस्ले सम्हाल्न सक्छ ?

भारत नक्सामा हामी भन्दा तल रहेको छ । हाम्रोमा परेको पानीको निकास खोला नाला हुंदै हाम्रै तराईको भूभाग डुबाउंदै बग्ने उता तिरनै हो । यो प्रक्रिया केहि वर्ष अगाडीबाट शुरु भएको नभै पृथ्वीको स्थापनाकाल देखिनै भएको हो भन्ने मेरो बुझाई रहेको छ । हरेक वर्ष नेपालमा ठूलो वर्षा हुंदा भारतको समथर भूभाग विहारमा ठूलो जनधनको क्षति हुने बारेमा थोरबहुत हामीले पनि सुन्ने गरेकानै छौं । अव एक पटक शान्त मनले विचार गरौंत, नेपालको केहि भागमा अग्लै बांध बांदेर पानीको निकासको व्यवस्थापन गरिएको अवस्था छ । ठूलो पानी पर्दा बहावलाई व्यवस्थित गर्ने र अरु समयमा नदिलाई यथास्थानमा बग्न दिने गरिएको देखिन्छ । यसरी व्यवस्थित गरिएको विषयले हामीलाई अन्याय उता विहारीलाई न्याय कसरी मिल्छ ?

हुन सक्छ सम्झौताका बेला हरेक देशले आफ्नो फाईदालाई ध्यान दिन्छन, त्यति बेला आफ्नो नागरिकको हितमा सोच्ने देशनै महान हुन्छ ताकि, जतिबेला पनि भारतको विरोध मात्र गर्नु पर्छ भनेर सिकाउनेहरु भनेको मानसिक रुपमा समस्या भएको हुनु पर्छ । भारतले नेपालको के विगारेको छ ?

विरोधको नाममा विरोध मात्र गरेर भारतलाई यो भन्दा बढी चिड्याउने काम नगरौं, नेपाल स्वतन्त्र राट्रहो विश्वका देशहरु मध्ये १५३औं नम्बरमा नेपाल भन्ने देश परिचित छ । बरु भारत भन्ने देश कुनै समय बेलायतको अधिनमा रहेको थियो । उ भन्दा हामीलेनै महान सोचाई राखेर आपसमा भाईचारा सम्वन्ध बढाउंदा राम्रो हुन्छ भन्ने लाग्छ । तरकारीमा विष हाल्यो, बांधको ढोका खोलेन, यो गर्यो त्यो गर्यो भन्ने गरेका छौं । तर हामीले त्यो भारतका लागि भनेर गरेको एउटा राम्रो काम चाहिं केही छ ? जवाफ कोहि सापसंग भए पाऊं ।

हरेक वर्ष भारतले नेपालका लागि भनेर बजेट छुट्याउंदै आएको छ, विपतका बेला सहयोग उपलव्ध गराएको छ । नेपालकै नेताले नेपाल प्रवेशको बाटोमा जात्रा गर्दा भारतले केहि महिना उताको सामान यता नपठाएको बाहेक के विगारेको छ भारतले ?


विदेशमा रुखको पैसा टिप्ने काम !

विदेशमा रुखको पैसा टिप्ने काम !


शिवप्रसाद पोखरेल

विदेशमा काम गर्न जाने हाम्रा देशका युवा पुस्ताको लागि त्यस देशमा हरेकका लागि एक रुख एक जना अथवा ठूलो रुख भएमा केहि व्यक्तिका लागि एकै रुख आफ्नो भागमा पर्छ र कसैका लागि बगैंचा । विदेश जाने कामदारले गर्ने काम भनेकोनै त्यहि रुखको जर्गेना गर्ने मात्र हो । रुखमा पानी हाल्ने गोड्ने र पैसा फल्न थाले पश्चात टिप्ने मात्र हो । थकाई लागेर रुखको छहारीमा बस्दा हावाले पैसाको पातहरु हल्लाई दिन्छ अनि त्यहि टिपेर झोलामा भर्ने चाहिं कामदारको मूख्य काम हो । पैसा टिप्ने काम सजिलै हुन्छ ।

विदेशमा हाम्रो देशबाट गएका युवापुस्तालाई आफ्नै नजिकको आफन्तलाई गर्ने जस्तै व्यवहार गर्छन् । उताकाले हाम्रालाई कुनै विभेद गर्दैनन् किनकी हामी गोर्खालीका सन्तान भएकाले त्यसो गरेको अरे । मानौं हाम्रा आफन्तहरु हामीलाई लामो समयसम्म पर्खिएर बसेका जस्तै गरेर । जाबो पैसा फल्ने रुख गोड्न गएका हाम्रालाई जताततै आनन्दनै छ । पैसा टिप्ने काम त झनै मज्जा आउने काम भैगयो ।

हामी पनि यति सरल छौं कि मानौं त्यस देशमा हाम्रो व्यवहार झेल्नेहरुका लागि हामी विकसित हुनका लागि अझै लामो समय पर्खनु पर्ने देखिन्छ । अनुशासन हाम्रो बहस भन्दा बाहिर छ, सजिलै पैसा कमाउनु पर्छ भन्ने हाम्रो ज्ञान सायद अन्य मुलुकले हामीसंग सिक्नु पर्ने छ । हामी उताकाले चाहेर त्यहां गएकाहौं हाम्रो आवश्यकतानै थिएन् । हामीलाई लाग्छ उताकाले हाम्रो कुरा सुन्नु पर्छ, हामीले उताको विकासमा मद्दत गरेका छौं । तर कसरी ? हाम्रो देशमा हामी र हाम्रो परिवारको हालत कस्तो छ ? पैसा फल्ने रुख गोडेर पैसा टिप्ने काम गर्ने हामीलाई मान्नै पर्छ ।


बल्ल ढुक्क भयो !

बल्ल ढुक्क भयो !


शिवप्रसाद पोखरेल

सन् २०१९मे महिनामा एउटा ठूलो घोषणा भएछ, साना लगानीकर्ताको रुपमा नेपाल आउने गरेका विदेशी लगानीकर्ताले न्युनतम लगानी रकम . ५,०००,००० (पचासलाख) रुपैयाँबाट मात्र एक सुन्ना थपेर पाँच करोड भित्र्याएमा पुग्ने भएछ ।

सरकार तथा सम्वन्धित निकायले गर्व गरिरहेको, यस्लाई ठूलो उपलव्धिको लिइरहेको पाईयो । उद्योग मन्त्रालय, विभागका तर्फबाट चाहिँ ७ करोड रुपैयाँ बनाउनु पर्ने धारणा पेश गरेको भन्ने पनि सुनियो । बल्ल ढुक्क भयो ! अव विदेशी लगानीकर्ता साना लगानीकर्ताको रुपमा नेपालमा टेक्ने आँट गर्ने छैनन् ।

सम्वन्धित निकायका विज्ञ सापहरु, यहाँहरुलाई पक्कै थाहा हुनु पर्ने हो, क्यानडाले अस्थायि वसोबास सहितको वैदेशिक लगानीको न्यूनतम आधार २ लाख क्यानडियन डलर (करिब २ करोड रुपैयाँ) लगानी गर्ने विदेशीलाई इज्यत दिएर भित्र्याई रहेको छ ।

लगानीकर्ताले २ वर्ष पश्चात स्थायि अथवा अस्थायी रुपमा बसोबास दिईरहेको छ । यस्को मतलव क्यानडा गएका विदेशी लगानीकर्ताले सो मुलुकलाई धारे हात लगाउनु पर्ने अवस्था छैन भनेर बुझ्न सकिन्छ । हाम्रोमा पनि बल्ल ढुक्क भयो ! अव विदेशी साना लगानीकर्ताको रुपमा नेपालमा टेक्ने आंट गर्ने छैनन् ।

अमेरिका जस्ले आफ्नो मुलुकमा लगानी गर्ने लगानी कर्तालाई ५ लाख डलर करिब ५ करोड पचासलाख नेपाली रुपैयाँ र अर्को १० लाख डलर करिब ११ करोड नेपाली रुपैयाँ लगानी गर्दा विभिन्न सहुलियत दिंदै आएको छ । अमेरिका गएका विदेशी लगानीकर्ता र आश्रित परिवारले भिषाको कारण चित्त दुखाउनु पर्ने अवस्था छैन भन्ने सुनिन्छ ।

जर्मनको कुरा गर्नु पर्दा २ लाख ५० हजार युरो करिब ३ करोड नेपाली रुपैयाँ लगानी गर्दा परिवार लगायतलाई २ वर्षमा अस्थायी या स्थायी वसोबास गर्ने बातावरण मिल्छ भन्ने बुझिएको छ ।

हाम्रो देश जहाँ विदेशी लगानी कर्ताले भिषा लिनका लागि विभिन्न निकाय (उद्योग विभाग– मन्त्रालय, अध्यागमन विभाग–मन्त्रालय) नेपालमा काम गर्ने अनुमतिका लागि श्रम विभाग आदिको स्विकृती आवस्यक पर्दछ । हाम्रो देश भिषा प्राप्तीका हिसाबले पनि कठीन मुलुकको रुपमा परिचित छ । विदेशी स्वयंले सम्पूर्ण निकायमा धाएर भिषा लिनका लागि करिब करिब असम्भव जस्तै छ । सबैलाई ढुक्क भयो ! अव उप्रान्त विदेशी साना लगानी कर्ता नेपालमा टेक्ने आँट गर्दैनन् ।

भारतमा मोदि सरकारले विदेशी लगानी कर्तालाई १८ महिना भित्र १० करोड भारतिय रुपैयाँ या ३ वर्ष भित्र २५ करोड भारतिय रुपैयाँ लगानी गरेको खण्डमा २० वर्ष सम्म विना झण्झट लगानीकर्ता रमाउन सक्ने वातावरण बनाई दिएका छन् र उताको बजारको बारेमा सबैलाई ज्ञान भएकै हुनु पर्छ ।
विगतमा ५०लाख रुपैयाँ लगानी रकम लिएर हाम्रोमा आउने विदेशी लगानीकर्ता त्यति धेरै थिएनन् अव ५ करोड रुपैयाँ बनाईदिनु भएछ, अव आईन्दा विदेशीले नेपालमा लगानी गर्छु भनेर पाईला टेक्ने आँट गर्न सक्ने छैनन् भन्ने बुझाई हो मेरो ।

क्यानडा अमेरिका जर्मन आदि मुलुक छोडेर नेपालमा आउनु पर्ने प्रष्ट कारण खुलाई दिनुस् सरकार । यो देशमा नाफा गर्नका लागि कि भने एनसेल जस्ता कम्पनी हुनुपर्यो, कि पुराना घरानिया व्यवसायीको गोदाम हुनुपर्यो, कि त बैंक वा अन्य वित्तय संस्थामा लगानी हुनुपर्यो होईन भने स–साना लगानीकर्ताले नाफा गरेको उदाहरण हाम्रो देशमा छैन् । बल्ल ढुक्क भयो ! अव विदेशी लगानी कर्ता नेपालमा टेक्ने आँट गर्दैनन् ।

नेपालमा पर्यटकको रुपमा भित्रनेहरुले पनि पैसा आफ्नो देशका एजेन्टलाई भुक्तानी गर्ने अनि हामीकहाँ फोहर थुपार्नका लागि मात्र आउने वातारण बन्दै गएको भयावह अवस्था छ । हाम्रो देशमा केहि परिवर्तन हुन्छकी भनेर आशा गरेकालाई लोप्पा ख्वाए जस्तै भएको छ ।


‘नेकपा’ हर्षित मुद्रामा जनतामा पुग्नु जरुरी छ

‘नेकपा’ हर्षित मुद्रामा जनतामा पुग्नु जरुरी छ


–सन्तुकुमार गिरी 
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकता भएको पनि यहि जेठ ३ गते एक वर्ष पुग्यो र नेकपाले सरकार गठन गरेको पनि एक वर्षभन्दा बढि भइसकेको छ ।

२०७६ को जेठ महिनामा जिल्ला कमिटी तथा स्थानीय कमिटि निर्माणले तिब्रता लिएको छ, केहि जिल्लामा सबै तहमा टुङ्गीसकेको छ भने केहि जिल्लाका स्थानीय तहमा बाँकी नै रहेको र त्यसलाई टुङ्ग्याउने चरणमा जिल्ला तहका नेताहरु जिम्मेवारी भागबण्डा गरी कमिटि निर्माणमा लागेका छन् ।

नेकपा सचिवालय स्थायी, पोलिटव्यूरो, केन्द्रीय कमिटीमध्ये पोलिटब्यूरो गठन बाँकी छ भने पार्टीका केहि जनसंगठन कमिटि र विभाग निर्माण बाँकी नै रहेको छ ।

बाँकी रहेका कमिटी निर्माणमा पनि विधान एवं नियम र सहमति प्रयासलाई तिब्र पारिएको खबर प्राप्त भएको छ । यस अवस्थामा ढिलै भएपनि एकल बहुमतसहित दुई तिहाईको सरकार बनेको छ, नेपाली जनताका अपार सपना, विकास निर्माणलगायत उद्योग, कलकारखाना निर्माण सञ्चालन गरी ५८ प्रतिशत युवा शक्तिलाई रोजगार निर्माण गर्नु सबैभन्दा ठूलो चुनौती रहेको छ, यो अवसर हो देश निर्माण गर्ने, गरिबी हटाउने, जनता तिब्र परिवर्तनको प्रतिक्षामा छन् ।

२०१५ साल यताकै यति ठूलो मत प्राप्त गरेको नेकपालाई परिवर्तनशील जनताले मतदान गरेर सरकार निर्माणलाई सहज बनाई दिएका छन् । संघीयतामा हाम्रो देशका सात प्रदेश सरकारमध्ये छ प्रदेश सरकार एकल नेकपाले बनाएको छ । बहुसंख्यक स्थानीय निकाय पनि नेकपाकै नेतृत्वमा अघि बढिरहेको छ । यसरी मूल्यांकन गर्दा नेकपाका कार्यकर्ता निरास भइहाल्नु पर्ने केहि छैन तर समय बलवान हुने हुँदा समय गएको पत्तो नपाई अर्को निर्वाचनको मिति समेत तोकिने दिन नजिकिँदै गएको महसुस गर्नु जरुरी छ ।

नेकपाका नेता, कार्यकर्तामा केहि निरासा छ भन्ने पनि सुनिन्छ मुख्यतया दुई कारणले हिज हासिल गरेको पद र जिम्मेदारीबाट घटुवा भई केहि तल्लो पदमा रहनु, निर्वाचित जनप्रतिनिधिले पार्टी नेता कार्यकर्तालाई गर्ने व्यवहार र हेर्ने दृष्टिमा संकोचित एवं मतलबी व्यवहार गर्ने अब त्यो दिनको पनि अन्त्य भएको छ । एक वर्ष पार्टी एकताको कामले रोमलिएको अवस्थाले संगठन नेतृत्वविहिन रहँदै आएको थियो ।

अब वडादेखि जिल्ला र प्रदेशदेखि केन्द्रीय कमिटी निर्माण भएका छन्, सपनाभन्दा बाहिर रहेको पार्टी एकता सम्भव भएको छ । यहाँ हिजोको पद र जिम्मेवारी सम्झेर चिन्तित हुनु एक असल कार्यकर्तालाई सुहाउँदैन जस्तो लाग्छ । 

यसकारण जनप्रतिनिधीलाई पार्टीको निर्देशनमा पार्टी हित विपरित कुनैपनि काम गर्ने गराउने काममा लगाम लगाई जनताको आवश्यकतालाई मध्यनजर गरी काम गराउनु जरुरी छ ।

पार्टीका नेता कार्यकर्ताले जुन पद जिम्मेवारी पाएको छ त्यसलाई सहर्ष स्वीकार गरी बस्ती–बस्ती नेकपाको सरकार र त्यसले गरेका कामको विषयमा जनतालाई अवगत गराई समाज निर्माणमा लाग्नुको विकल्प देखिदैन ।

यता प्रतिपक्ष पनि जनताको माझ विविध कार्यक्रम लिएर गाउँ–गाउँ पसेका छन् यसलाई सकारात्मक रुपमा लिई नेकपाको नेतृत्व तहले पनि गाउँ जाने अभियान घोषणा गर्न बिलम्ब गर्नु हुँदैन । अतः नेकपाको सरकारले बनाएको ‘सुखी नेपाली, सम्वृद्ध नेपाल’को कल्पनालाई सार्थक बनाउन लाखौंको संख्यामा रहेको नेकपाको संगठित कार्यकर्ताले आजैदेखि लाग्नु जरुरी छ ।

हर्षित मुद्रामा जनताको घरदैलोमा नेकपाका नेता कार्यकर्ता पुग्नु जरुरी छ । सरकारले अघि सारेका योजनालाई अवगत गराउनु आवश्यक छ, नेपाल कम्युनिष्ट पार्टी नेकपालाई नेपाली समाज सुहाउदो स्थापित गराउन जरुरी छ । 

चापाकोट न.पा., स्याङ्जा


विदेशमा म पहिल्यै देखि परिचित रहेछु ।

विदेशमा म पहिल्यै देखि परिचित रहेछु ।


शिवप्रसाद पोखरेल

विदेशको बसाई सार्वजनिक यातायातको यात्रामा ढोका नजिकैको सजिलो सिट देख्यो कि त्यहिं थचक्क बस्ने मेरो बानी, अलि उमेर ढल्केका, सारिरिक रुपमा कमजोर व्यक्तिहरु म बसेको सिटलाई हेर्दै कोहि मुखले केहि भनिरहेका हुन्थे त कोही आंखा तरिरहेका भने कोहि हातै हालौं जसरी घुरिरहेका देख्थें । मलाई भने किन मानिसहरुले यसो गरिरहेका छन केहि अनुमान हुंदैनथ्यो ।

केहि दिनहरु त यसै किसिमले चल्दै गए र म भने खुशी हुंदै सजिलो सिटमा बसेर यात्रा गर्दै गएं । कति व्यक्तिले मेरो त्यस बसाईलाई सरापेहोलान यकिन छैन् । तर एक दिन भने म बसेको सिटबाट एकजनाले पाखुरामा तानेर सिटबाट उठाएर पछाडी सारिदियो म बल गरेर त्यहि सिटमा बस्न खोज्दै थिएं तर पछाडी जान बाध्य भएं । मेरो पाखुरामा तानेर पछाडी सार्ने मानिसले त्यो म बसेको सिटमा एक जना बृद्ध मानिसलाई बसाई दिए ।

मलाई अझै त्यहि सिटमा बस्न नपाएकोमा खिन्न लागिरहेको थियो । पछि थाहा पाएं ति सिट जहां म बस्ने गर्दथें ओर्लनका लागि सहज होस भनेर बृद्ध, असक्त, गर्भवती महिलाहरुका लागि निर्धारण गरिएका रहेछन् । मैले राम्रै संग देखाई दिएको रहेछु ।

सार्वजनिक यात्राकै दौरानमा जव म बस अथवा रेलमा चढ्थें अनि सिट नभएको बेलामा उभिनु पर्ने वाध्यता थियो, मानिसहरु भने मेरो नजिक भन्दा अलि टाढा रहन रुचाएको पाउथें । सबैले किन त्यसो गरेका होलान भन्ने बुझ्नका लागि एक दिन उतैको साथिसंग सोधें तव मात्र पत्ता लाग्यो म गन्हाउंछु भनेर उनिहरु पर­-पर सरेका रहेछन् । विदेशमा म पहिल्यै देखि परिचित रहेछु त्यसैले ति नयां अनुहारहरु म देखि टाढा भएका रहेछन् ।

अनि अन्य व्यक्तिहरु शान्त भद्र र अनुशासित भएर बसेको बेलामा म भने फोनमा ठूलो स्वरमा चिच्याउंदै बोल्ने गर्थे अनि अन्य मानिसहरुको कर्के नजर सबै मै तिर पर्दथ्यो, पछि थाहा भयो सार्वजनिक स्थलमा ठूलो स्वरले बोल्नु पनि असभ्य मानिसको चिनारी रहेछ । तर मैले आफ्नो परिचय फरक किसिमबाट दिएको रहेछु, ति भद्र शालिन व्यक्तिहरुलाई ।


लाज नभएका विरोधीहरु !

लाज नभएका विरोधीहरु !


शिवप्रसाद पोखरेल

४ वर्ष अगाडी भूंईचालो गयो तर यो सरकार गठन हुने वित्तिकै राहत तथा पुर्नस्थापनका लागि जनतालाई महशुस हुने गरी व्यवहारलेनै देखाई सक्यो तर कोहि पत्याउंदैनन् । त्यो पाल टांगेर बस्ने जनता हुन अथवा अन्यलाई सरकारले यत्रो गरिरहेको छ भनेर बुझ्न पर्छ भन्ने थाहा हुनु पर्ने हो । नबुझेर विरोध मात्र नगरौं अव । भुईंचालो यो सरकारको निमन्त्रणमा आएको हो ? लाज नभएका विरोधीहरु !

त्यहि भूंईचालो पश्चात परिचित धरहरालाई पनि किन ढल्न परेको । रानी पोखरी चाहिं बाठो पल्टिएर बेलान कुबेला किन सुक्न परेको ?

महानगर पालिकाले योजना बनाउनका लागि दसकौं लाग्ने भिमसेन थापाको पालाको धरहरा तथा मल्लकालिन रानी पोखरिको कामलाई दिनरात आफ्नो घरको काम सबै थांती राखेर, परिवारलाई समय नदिईकन यिनै दुईवटाको निर्माण कार्यमा तल्लिन भएको बुभिदिने कोहि भएन यो देशमा । के यो सरकारले गैंची बेल्चा लगाएर धरहरा भत्काएको हो ? अनि रानी पोखरीको पानी सरकारको बारीमा सिंचाई गरेर सुकाएको हो ? लाज सरम नभएका विरोधीहरु !

बाटोमा धुलो उंड्यो भनेर सरकारलाई धारेहात लाउनेहरु राम्रोसंग सुन । जाबो ५-­१० वर्ष पनि सहन नसक्ने भए किन ठूलो रोडको छेउमा जग्गा किनेर घरबनाएका ? के यो सरकारले बाटोमा बसेर दैनिक नाङ्लोले बत्ताएर धुलो उंडाएको हो र विरोध गर्छौ ? सबैले बुझ्नु पर्दैन यस्ता झिना मसिना कुरालाई । अनि त्यो कुनि कति किलो सुनका डल्लाको बारेमा पनि अझै गाईंगुईं गर्देछन् । त्यत्रो सेते उस्को भाई राते आदिलाई समाते पछि सबै चुपचाप हुनु पर्दैन् ? लाज सरम नभएका विरोधीहरु !

आर्थिक विकास गर्नका लागि भनेर यो सरकारले लगानी सम्मेलन गर्दैछ भन्ने कुरा पत्रिकाबाट दैनिक जानकारी गराईरहेका छौं । यस्तो लगानी बाताबरण बनाएका छौंकी विदेशीले यहां आए पश्चात कोहि पनि उस्को देश फर्कन नपर्ने गरी तयारी गरेका छौं । अनि अव विकास नभएर के हुन्छ त ? हेर्दै जाओ विरोधीहो ! आर्थिक विकास हाम्रै नातीको पालामा ! लाज नभएका विरोधीहरु !


मुलुकले फेरि अर्को हिंसा थेग्न सक्दैन

मुलुकले फेरि अर्को हिंसा थेग्न सक्दैन


हाम्रो देश नेपालको आफ्नै किसिमको मौलिकता छ । वीर पूर्खाहरुले स्वतन्त्रता संग्राममा विगतदेखि नै एक प्रकारको मौलिकता देखाइसकेका छन् । एवं प्रकारले हाम्रा सपूतहरुले सिर्जना गरेको देशको सम्प्रभूत्ता पनि कम्ति मार्मिक छैन । तर पछिल्लो समयमा देशमा जुन प्रकारले राजनीतिक परिदृष्यहरु अगाडि बढिरहेका छन् त्यो हेर्दा लाग्छ अब मुलुक फेरि पुरानै राजनीतिक गतिरोधमा धकेलिदैं छ । वास्तवमा अब देशमा कुनै पनि प्रकारको राजनैतिक परिवर्तनको आवश्यकता छैन । 

 

मुलुकमा अब चाहिने कुराहरु के के हुन् भन्ने आत्मबोध हाम्रा नेताहरुमा हुनैपर्छ । तर, जसरी राजनीतिक घटनाहरु प्छिल्लो समयमा अगाडि बढे त्यसले राजनीतिक वृत्तमा चेत गुमाएको हो कि भन्ने आभाष हुन थालेको छ । अब मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानै पर्छ । नेपालभन्दा कम विकसित विश्वका थुपै्र देशहरु अहिले विकासको उपल्लो तहमा पुगिसकेका छन् भने हामी अझै विभिन्न वाद र उपवाद अनि गुट र फुटका राजनीतिमा रुमल्लिरहेका छौं ।

 

देशमा विकास हुनै नसक्ने सम्भावना पनि छैन । कृषि, वन, जडीबुटी, उद्योगधन्धाहरुको प्रचुर सम्भावनाहरु छ । शिक्षा, स्वास्थ्यजस्ता विषयहरुलाई गुणस्तरीय एवं आम जनताको पहुँचमा मात्रै पुर्याउने हो भने त्यसले मुलुकमा नयाँ आयाम थप्न सक्छ । त्यस्तै यहाँ मुलुकमा रोजगारीको सिर्जना गर्न सक्दा त्यसले विदेशमा रहेका लाखौं युवाहरुलाई स्वदेश फर्काउन सक्ने अवस्था रहन्छ । त्यस्तै मुलुकमा विकास, निर्माणका कार्यहरु पर्याप्त नहुँदा पनि नागरिकहरुमा एक प्रकारको निरासापन छ । त्यसलाई राजनीति गर्ने तथा सरकारमा रहेकाहरुले सम्बोधन गर्नैपर्छ । फेरि सबैले लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गरेर मूलधारको राजनीतिमा फर्कनै पर्छ । 

 

सिके राउतलाई मूलधारको राजनीतिमा ल्याउन पहल गर्नसक्ने ओली सरकारले माओवादी जनयुद्धलाई पूर्णता दिने भन्दै सशस्त्र आन्दोलनको हुंकार दिइरहेको विप्लव समूहलाई पनि किन राजनीतिको मूलधारमा नल्याउने ?, यो अहिलेको गम्भीर बहसको विषय हो । विप्लबले माओवादी जनयुद्धले पूर्णता पाएको छैन भन्दैमा यसरी हठासमा उनीलगायतका उनका कार्यकर्ताहरुमाथि राजनीतिक वेइमानी गर्न पाइदैन । उनीमाथि राजनीतिक प्रतिबन्ध लगाउँदै समस्याको समाधान हुन्छ र ? उनीलगायत उनका कार्यकर्ताहरुमाथि धरपकड गर्ने र दबाउने जुनप्रकारको नीति वर्तमान सरकारले अख्तियार गरेको छ त्यो उपयुक्त विधि होइन । यसले समस्याको टुंगो नलगाइ उल्टै समस्यालाई झन बिकराल बनाउने प्रायः निश्चित छ । 


आपसी मेलमिलाप बिना सरकार राजनीतिक रूपमा बलियो बन्नै सक्दैन । सरकारले आजसम्म उक्त समूहका राजनीतिक अनुहार र आवाज पहिचान गर्ने र त्यसअनुसार पहिला समस्याको समाधान गर्न खोजेको पाइँदैन । राज्य चलाउने क्रममा असहमतिहरु आउँछन् । तिनलाई वार्ता र संवादको माध्यमबाट समाधानतर्फ जानैपर्छ । फेरि राज्यले पहिलो शर्त पनि यसलाई बनाउनै पर्छ । चन्दलाई अझै विश्वासमा लिने र संवैधानिक परिपाटीभित्र उनको समूहलाई प्रोत्साहित गर्न सकिने ठाउँहरु प्रशस्तै छन् । कोही पनि हिंसात्मक गतिविधिमा उत्रदा सरकारले प्रतिहिंसात्मक सोच र व्यवहार सकभर देखाउनु हुँदैन ।

 

लोकतान्त्रिक नियन्त्रणका उपायहरु खोजी गर्नुपर्छ । त्यो भनेको वार्ता र संवाद नै हो । त्यसको अधिकतम् प्रयास र लचकता हो । सरकारले जनजीविलगायतका मुद्दालाई भाषणको भेलमा बगाएर कसैलाई काखा, कसैलाई पाखा गर्न मिल्दैन । सबैलाई समेट्दै अविश्वास र असहमतिलाई वार्ताद्वारा छिनोफानो गर्ने लोकतान्त्रिक विधिप्रति विश्वास जनाउने र असन्तुष्टहरूको ध्यानाकर्षण गर्नुपर्छ ।

 

विगतको एक दशक लामो सशस्त्र द्वन्द्वका घाउ अझै पुरिएका छैनन् । मुलुकमा एउटा गायकले गीत गाउँदैमा समाजमा सरकारप्रति वितृष्णा आइहाल्ने परिस्थिति पनि जन्मिएको छ । सानोभन्दा सानो घटनाले पूरै हिंसात्मक माहौल बनिहाल्ने अवस्था छ । यस्तो बेलामा राजनीतिलाई गिजोलेर पनि समाधान आउन सक्तैन । त्यस्तै धर्मका नाममा राजनीति गर्ने कमल थापाहरु प्राय विलाइसकेको अवस्थामा छन् । 

 

राजाको कुरो अर्को विषय हो अहिले । तर, फेरि पनि माओवाद वा कम्युनिष्टको नाममा अर्को हिंसात्मक अवस्था सिर्जना गर्न कोही नेपालीले चाहैका छैनन् । त्यसले समाजमा रुपान्तरण गर्न पनि सक्तैन । हिंसाको त्यस्तो दुष्चक्रमा चन्द माओवादी र सरकारले मुलुकलाई लैजान पाउँदैनन् । यो अहिलेको आमबोली हो । 

 

अब जनता सचेत भैसकेका छन् । देशलाई युद्धमा धकेल्न अनि युद्धको कारण समृद्धि, सुशासन र विकासजस्ता कुरामा परिवर्तन ल्याउन सकिएन भन्ने बहाना पनि चल्दैन । संगठन खोल्न र राजनीतिक गतिविधि गर्न सबैलाई संवैधानिक अधिकार छ । त्यो एउटा प्रजातान्त्रिक मुलुकको गहना पनि हो । मुलुक लोकतान्त्रिक गणतन्त्रमा गइसकेको, संघीय संरचनाबमोजिम नै मुलुकका यावत संयन्त्रहरु अगाडि बढ्दै गर्दा अब कुनै पनि राजनीतिक दलमाथि प्रतिबन्ध सुहाउँदैन । 

 

हालै सशस्त्र आन्दोलनमा जाने भन्दै सरकारसँग विभिन्न खालको बार्गेनिङ गरिरहेको विप्लव समूहले पनि चारपटक सोच विचार गरिकन आफ्ना निर्णयहरु पुनर्विचार गर्न आवश्यक देखिन्छ । शान्तिपूर्ण राजनीतिक यात्राकै बाटोमा फर्कनुपर्छ त्यसैमा सरकारले परिकल्पना गरे अनुसारको समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पाना सम्भव छ ।

► (नेपाल जेसीजका पूर्व महासचिव पौडेल राजनीतिक विश्लेषक हुन् ।)


उठ नारी जाग नारी

उठ नारी जाग नारी



♦ समिक्षा भेटुवाल 

उठ नारी जाग नारी आजै हो एक दिन 
शोषित पीडितलाई अधिकार दिलाउन 
धेरै भयो आन्दोलन धेरै भए परिवर्तन 
बाँकी रह्यो अब न्यायको आन्दोलन ।।

 

उठ नारी जाग नारी आजै हो एक दिन
आफ्नो हक अधिकार प्रतिस्थापन गर्न
बलात्कारी हत्यारालाई कठघरामा ल्याउन 
गए अब शोषित पीडित भै बस्ने दिन ।।

 

उठ नारी जाग नारी आजै हो एक दिन 
कुरीति र कुसंस्कारलाई उजागर गर्न 
असिक्षित समाजमा शिक्षाको दियो बाल्न 
भाषण मात्र गर्ने होइन व्यवहारमै उतार्न ।।

 

उठ नारी जाग नारी आजै हो एक दिन 
व्यभिचार र व्यथितीको अन्त्य गरी अधिकार लिन 
स्कुल पठाउ छोरीलाई नि, पुरुष समान शिक्षा लिन 
सिक्षित भए समाज, पुरुष आउनेछन साथ दिन ।।

 

उठ नारी जाग नारी आजै हो एक दिन 
हुन्न अब टुडिखेलमा एक दिन भाषण गरेर मात्र 
८ मार्च मात्र होइन हरेक दिन चाहिन्छ नारी सम्मान
नहच्कियोस राज्य बलात्कारीलाई फाँसी दिन ।।


महिला बिनाको देश विकास कृष्ण बिनाको माहाभारतको युद्ध कल्पना गर्नुसरह

महिला बिनाको देश विकास कृष्ण बिनाको माहाभारतको युद्ध कल्पना गर्नुसरह


♦ राजन बस्नेत

विश्वका महिलाको समग्र अवस्थालाई हेर्दा महिला माथि आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिकलगायतका विभेद तथा शोषण रहिआएको देखिन्छ । तथापि यसको अन्त्यको लागि पछिल्ला दुई दशकमा सबैभन्दा धेरै पहल र पैरवी भएका छन । 

नेपालमा लोकतन्त्र र गणतन्त्रको आगमनसँगै शहरदेखि गाउँ मेचीदेखि महाकालीसम्मका कुना काप्चा र दूर दराजका स–साना छलफल, भेला, सम्मेलन, गोष्ठीलगायत आमसभामा सुन्न पाइने टट्कारो विषय महिला सहभागिता र तिनको सशक्तिकरण हो ।

महिला सशक्तिकरणका कुरा नउठेको त्यस्तो औपचारिक कार्यक्रम सायदै होला । नेपाल सरकारले आयोजना गरेको होस वा विभिन्न संघ संस्था, सरकारी, गैर सरकारी निकायले आयोजना गरेको  राजनीतिक, आर्थिक, प्रशासनिक, सामजिक जुनसुकै कार्यक्रममा आमन्त्रित राष्ट्रपतिदेखि राज्यमन्त्री हुँदै विभिन्न अतिथिहरुले भन्न नछुटाउने विषयमध्ये महिला सशक्तिकरण एक हो ।

परापूर्व कालदेखि विभिन्न वाहानामा महिलाविरुद्ध शोषण, विभेद र उत्पिडन संसारभर हावी छ । दक्षिण एसिया अझ भनौं नेपालमा महिलामाथि भएका विविध शोषित घटनालाई लिएर विभिन्न व्यक्तित्वका कलम चल्न बाध्य नै छन् । इतिहसलाई फर्केर हेर्दा नेपाली नारीहरुका लागि सारै दर्दनाक, भयामह, हृदय विदारक र अत्यन्त कालो इतिहास तपाईं हाम्रा सामु खडा छ । चन्द्र सम्शेरले १९७७ मा सतिप्रथाको अन्त्य गरेसँगै नेपली नारीहरुको सबैभन्दा ठूलो उपलब्धिका रुपमा इतिहास साक्षी छ ।

नेपाली सामाजको आधुनिकतातर्फ तिब्र रुपान्तरणसँगै समयले कोल्टे फेर्यो । शिक्षाको महत्व दरवारिया, राणा र विलाशी परिवारमा मात्र नभइ मध्यम वर्गका केही मानिसले महसुस गर्न थाले । संस्कृत पाठशालाहरुमा सर्वसाधारणको पनि केही पहुँच पुग्न थाल्यो । शिक्षाको अवसरबाट पिल्सिएको नेपाली समाजले उपत्यका बाहिर विभिन्न पाठशालाहरुको स्थापनासँगै गर्विलो राहतको महसुस गर्याे । यसरी नेपाली समाज बामे सर्दै–सर्दै आजको अवस्थासम्म आएको छ । 

‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता’ अर्थात जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवता पनि खुशी हुन्छन् भन्ने शास्त्रीय ज्ञानको सम्मान गर्ने हाम्रो समाज लैङ्गिक हिंसामा निकै अगाडि रहेको विषय तपाई हाम्रासामु डोकाले छोपेझै छर्लंगै छ ।  

२१औँ शताब्दीसम्म आइपुग्दा धेरै युगान्तकारी परिवर्तनहरु नभएका होइनन् तर सह अस्तित्वको खोजीमा नारीहरुका संघर्षका दिन अझै रित्तिएनन् । नारी भएकै कारणबाट समाजमा अवहेलना खेप्नुपर्ने जीवनका आधारभूत आवश्यकतामा छोरा र छोरीबीच आफ्नै बुबा आमाबाट फरक व्यवहार सहनुपर्ने बाध्यता अझै कायम छ ।

छोरी जन्मदा ओठ लोपार्दै श्रीमतीलाई दोष दिने हाम्रो समाज अझै जीवित छ । छोरालाई महंगो निजी विद्यालयमा पढाउँदा छोरीलाई सरकारी स्कुलसम्म जान उत्प्रेरित नगर्ने अभिभावक हाम्रो समाजमा छाती फुलाएर हिँडेकै छन् । तुलनात्मक रुपमा भूमिका बढी हुने हुँदा छोरीलाई आमाले बढि विभेद गर्छिन् यसरी नारीले नारीमाथि विभेद र शोषण गर्दा के समाज रुपन्तरणको खोक्रो कल्पना सत्य सावित होला ?

महिलाको जनसंख्या ५१ दशमलव ५० प्रतिशत भएको देशमा महिला सहभागिता ३३ प्रतिशत मात्र हुनु के न्यायोचित छ । शिक्षा सेवामा महिला उपस्थिति निजामति (११ प्रतिशत) र सुरक्षा निकायमा भन्दा तुलनात्मक रुपमा केही बलियो छ । घर जग्गा स्वामित्वको कुरा गर्दा पनि महिलाका नाममा असाध्यै थोरै १९ दशमलव ७१ प्रतिशत मात्र छ ।

नेपालमा महिलाको मौलिक हक, अधिकार, उत्थान र सशक्तिकरणका लागि विभिन्न संघ संस्थाहरु स्थापना भएसँगै अहोरात्र खटिएका छन् । अन्तर्राष्ट्रिय नारी दिवस, अन्तर्राष्ट्रिय विद्वा दिवस वा तीज नै मनाएर मात्र नारी हक अधिकारको सम्मान हुँदैन । जबसम्म समान अवसर र राज्य संचालनको सबै अङ्गमा पुरूष सो सरह सहभागिता हुँदैन तबसम्म खोक्रा कागजमा मात्र दिइएका आरक्षणको सुनिश्चितताले कुनै प्रभाव पार्दैन ।

जबसम्म नारीमा हक अधिकार सम्पन्नताको अभाव रहन्छ तबसम्म कुनै पनि देश विकासको कल्पना गर्नु कृष्ण बिनाको महाभारतको युद्ध कल्पना गर्नुसरह हुन्छ । नेपाललाई विश्वसामु चिनाउन विगतदेखि वर्तमानसम्म महिलाहरुको भूमिकामा झमक घिमीरे, अनुराधा कोइराला, पुष्पा बस्नेत हुँदै चरीमाया तामाङबाट सानी नानी तेरीया मगरसम्म आइपुग्दा उत्तिकै सम्मानजनक छ ।

समृद्ध र सिर्जनशील समाजको स्थापनका लागि महिलाहरु आफ्ना हक र अधिकारप्रति जागरुक हुनु पर्ने जरुरता एकातर्फ छ भने अर्कोतर्फ महिला महिला बीचको विभेद अन्त्य हुनु आवश्यक छ ।