18 Baishak, 2081 / 30 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


दुई दिने नेपाल भ्रमण सकेर भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

दुई दिने नेपाल भ्रमण सकेर भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता


काठमाडौं, २० पुस । भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । उनी नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन हिजो बिहीवार बिहान नेपाल आएका थिए । 

भारत फर्कनुअघि विदेशमन्त्री जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरे । 

नेपाल भ्रमणमा रहँदा विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेका थिए । जयशंकरको नेपाल भ्रमणका क्रममा नेपाल–भारत दीर्घकालीन बिजुली व्यापारलगायत चार वटा सम्झौतामा हस्ताक्षर भएको छ ।

आज स्वदेश फर्किनु अगाडि जयशंकरले बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गर्नुका साथै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको भनवको उद्घाटन गरे ।


सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस


काठमाडौं, १८ पुस ।  न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहनुभएका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।
यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ । मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएपछि दुवै पद रिक्त थिए ।


यस वर्ष पत्रकारको पेसागत असुरक्षा मुख्य चुनौती : महासंघ

यस वर्ष पत्रकारको पेसागत असुरक्षा मुख्य चुनौती : महासंघ


काठमाडौं, १५ पुस । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२३ सन्तोषजनक नरहेको जनाएको छ। महासंघद्वारा आज जारी एक विज्ञप्तिमा यस वर्ष प्रेस स्वतन्त्रता हननसम्बन्धी ५८ घटना अभिलेख भएको उल्लेख छ। 

‘विगतका वर्षमा जस्तै यस वर्ष पनि प्रेस स्वतन्त्रता हननका विभिन्न घटना नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा अभिलेख भएका छन्। यस वर्ष पत्रकारको पेसागत असुरक्षा मुख्य चुनौतीको विषय बनेको छ,’ विज्ञप्तिमा भनिएको छ 
महासंघका अनुसार सन् २०२३ मा अघिल्लो वर्ष सन् २०२२ को तुलनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढेका छन्। सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना रेकर्ड भएका थिए। 

सन् २०२३ मा विभिन्न घटनामा १३ पत्रकार महिला र ७४ पुरुष पत्रकार प्रभावित भएका छन्। सन् २०२२ मा एक सय ३२ पुरुष र १८ पत्रकार महिला प्रभावित भएका थिए । त्यस्तै, सन् २०२४ मा पाँच वटा सञ्चार संस्था प्रभावित बनेका छन् भने २०२२ मा ६ वटा सञ्चार संस्था प्रभावित भएका थिए।

नेपाल पत्रकार महासंघले सन् २०२३ मा विभिन्न सञ्चारगृहमा देखिएका श्रम समस्या अर्थात् पेसागत असुरक्षालाई मुख्य चुनौतीको रूपमा लिएको उल्लेख गरेको छ। सञ्चार प्रतिष्ठानमा देखिएका श्रम समस्यालाई महासंघले दबाबमूलक आन्दोलन, कानुनी लडाइँ तथा वार्ता र संवादसमेतको माध्यमबाट समाधानको पहल गरिरहेको जनएको छ। 

महासंघले सन् २०२४ मा श्रम समस्याको दीर्घकालीन समाधानका लागि कानुनी व्यवस्थालाई थप बलियो बनाएर त्यसको कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ। 

‘राजनीतिक दलका नेता र सरकारका जिम्मेवार पदमा बसेका व्यक्तिबाट पटक–पटक प्रेसमाथि विभिन्न प्रकारका आरोप लगाउने, पुष्टि नहुने तर्कसहित समग्र मिडियाप्रति नै लाञ्छित गर्नेलगायतका कार्य सन् २०२३ मा भएका छन्,’ महासंघले भनेको छ, ‘महासंघ राजनीतिक दल र सरकारका विभिन्न पदमा बसेका व्यक्तिलाई पदीय मर्यादा, विश्वव्यापी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारप्रति प्रतिबद्ध हुन आग्रह गर्दछ।’

सरकारले सन् २०२३ मा सञ्चारसम्बन्धी कानुन निर्माणमा सुस्तता देखाएको महासंघको टिप्पणी छ । महासंघकै संलग्नतामा मस्यौदा भएका सञ्चारसम्बन्धी कानुन यथाशीघ्र प्रक्रियामा लैजान महासंघले सरकारको ध्यानाकर्षण गराएको छ। 

सञ्चारसम्बन्धी कानुनहरू ल्याउँदा नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक तथा पूर्ण प्रेस स्वतन्त्रतालगायतका व्यवस्था ख्याल गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई महासंघले सचेत गराउँदै आएको महासंघले बताएको छ।


आज तमु ल्होसार मनाइँदै,देशभर सार्वजनिक बिदा

आज तमु ल्होसार मनाइँदै,देशभर सार्वजनिक बिदा


काठमाडौं, १५ पुस ।  गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

गुरुङ समुदायको परम्परागत पात्रोअनुसार पुस १५ गते अर्थात् ल्होसार नयाँ वर्षको दिन हो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।

यस दिनमा आफन्त, कुलकुटुम्बसँग भेटघाटका साथै भोजभतेर खुवाउने तथा शुभकामना आदान प्रदान गर्ने चलन छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको जनाइएको छ। 
 


बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर


काठमाडौं, १३ पुस । एकजना किशोरीलाई बलात्कार गरेको अभियोगमा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई दोषी ठहर गर्दै फैसला सुनाएका हुन्। 

गौशाला २६ नाम दिइएकी किशोरीलाई काठमाडौँको सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको अभियोग लामिछानेलाई लागेको थियो। गत आइतबारदेखि चलेको बहस शुक्रबार साँझ सकिएसँगै न्यायाधीश ढकालले सन्दीपविरुद्धको अभियोग ठहरिने फैसला सुनाएका हुन्। 

६ दिनसम्म चलेको बहसपछि न्यायाधीश ढकालले शुक्रबार साँझ यो फैसला सुनाएसँगै राष्ट्रिय टोलीका पूर्वकप्तान लामिछानेले थप कैद भोग्नुपर्ने भएको छ। अब अदालतले कसुर निर्धारणका लागि आगामी पुस २५ गते छुट्टै सुनुवाइ गर्नेछ। उक्त सुनुवाइबाट सन्दीपले कैद सजाय भोग्नुपर्ने अवधि तय हुनेछ।


बालकुमारी घटना : प्रहरीको गोलीबाट २ जनाको मृत्यु, दर्जनौँ पक्राउ

बालकुमारी घटना : प्रहरीको गोलीबाट २ जनाको मृत्यु, दर्जनौँ पक्राउ


काठमाडौं, १३ पुस ।  ललितपुरस्थित बालकुमारी क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी २ जनाको मृत्यु भएको छ । इपिएस कोरिया भाषाको फारम भर्ने विषयलाई लिएर युवाहरु आन्दोलनमा उत्रिएका थिए ।

आन्दोलनकारीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडी जलाइदिएका छन् । यसरी आगजनी र प्रदर्शन गर्नेमाथि प्रहरीले धरपकड गरेको छ । प्रहरीले अहिलेसम्म करिब ४ दर्जन प्रदर्शनकारीलाई पक्राउ गरेको छ । साथै प्रहरीको गोली लागेर घाइते भएका दुई युवकको ज्यान गएको छ । मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र शाह रहेका छन् ।

बालकुमारीनजिकै रहेको ग्वार्कोस्थित इपिएस कार्यालयमा फारम भर्न नपाएका युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए । आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले अश्रुग्यास र गोली समेत प्रहार गरेको थियो । प्रहरीको गोली लागी गम्भीर घाइते भएका २३ वर्षीय सुजन राउतको किस्ट अस्पतालमा मृत्यु भएको छ । अर्का घाइते २२ वर्षीय वीरेन्द्र शाहलाई पाटन अस्पताल लगिएकोमा उनको पनि उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए । लगत्तै गाडीमा आगजनी गरेका थिए । मन्त्री र उनका पिसिओले जसोतसो ज्यान जोगाए, पछि उनीहरुलाई प्रहरीले उद्धार गरी सिंहदरबार पुर्याएको थियो ।


पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन मन्त्री किरातीको निर्देशन

पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन मन्त्री किरातीको निर्देशन


काठमाडौं, १० पुस । पशुपति हिन्दु विश्वविद्यालयको काम द्रुत गतिमा अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन् । विश्वविद्यालय स्थापनाका लागि डा. जगमान गुरुङको संयोजकत्व रहेको समितिको मंगलबार बसेको बैठकमा पशुपति क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन् ।

गत चैतमा गठित समितिको हालसम्मको प्रगति विवरण माग्दै मन्त्री किरातीले आफूले मन्त्रालय स्तरबाट गर्नु पर्ने समन्वय र पहलबारे सुझाउन समेत समितिलाई आग्रह गरेका हुन् ।


नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै

नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै


काठमाडौं, १० पुस ।  मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ ।

यःमरी बनाउन आज बिहानदेखि घरघरका महिला व्यस्त भएका छन् । बिहान स्नानपछि घरमा लिपपोत गरी यःमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउछन् ।

आजको दिन धान, गणेश, कूलदेवता, गैडुदेवता, गोठदेवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

यःमरी पर्व विशेषगरी अन्नको राजा धानसँग सम्बन्धित रहेको संस्कृतकर्मी रामेश्वर बज्राचार्य बताउछन् । यःमरी पुन्हि सुरु हुनुअघि घर–घरमा भित्र्याइएको धानलाई पाँच–छ दिन छोपेर राखी, घाममा सुकाएर पूजा गरेपछि मात्र भकारीमा राखिन्छ । 

नयाँ धान वर्षभरिका लागि पूगोस् भनेर नेवार समुदायमा धानलाई पूजा गर्ने प्रचलन छ । आजको दिन धान राखिएको भकारी, ढुकुटी, घ्याम्पोलगायतका भाँडामा नयाँ चामलको पिठोबाट यःमरी बनाएर पाथीभरि यःमरी राखेर धानलाई अन्नपूर्ण देवताका रूपमा पूजा गर्ने परम्परा रहेको उनी बताउछन् ।

यःमरी पुन्हिका दिन गृहणीहरु शुद्ध भएर चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा राखी क्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गरिन्छ ।

परम्पराअनुसार यःमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यःमरी पूजा गर्ने र छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन छ । यःमरीलाई कुवेर र गणेशका प्रतीकका रूपमा समेत लिइने उनी बताउछन् ।  

यःमरीको मायोँ (केटी) र वायोँ (केटा) बनाएर धानलाई पूजा गरिन्छ । धानको संरक्षण महिला र पुरुष दुवैले गर्ने हुँदा मायोँ र वायोँको पूजाले महिला र पुरुषबीचको समानतालाई देखाउने संस्कृति पहिलादेखि नै रहँदै आएको उनी बताउछन् । 

तिहारमा देउसीभैलो खेलेझैँ धान्यपूर्णिमाका दिन साँझ टोलटोलका घरघरमा गएर युवायुुवतीले गीत गाउँदै यःमरी तथा धान, चामल, दामलगायत माग्ने त्यःछिं त्यः बकछिं त्यः खेल्ने मल्लकालीन प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ । आजको दिन साँझ घरघरमा गएर देउसीभैलो खेलेजस्तै गरी यःमरी माग्ने प्रचलन अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । योमरी माग्ने क्रममा घरघरमा गएर यो गीत गाउँने प्रचलन छ । 


योमरी पून्हीका दिन आज भक्तपुरमा म्युजिक फेस्टिवल हुँदै

योमरी पून्हीका दिन आज भक्तपुरमा म्युजिक फेस्टिवल हुँदै


काठमाडौं, १० पुस । योमरी पून्हीका दिन आज भक्तपुरमा म्युजिक फेस्टिवल हुँदैछ । सङ्गीत ग्राम गुरुकुल नेपालको आयोजनामा सुरिलो भक्तपुरको तर्फबाट योमरी पून्हीका दिन भक्तपुरमा समकालीन, परम्परागत तथा शास्त्रीय सङ्गीतका साथ म्युजिक फेस्टिवल २०८० हुने भएको हो ।
भक्तपुरको खौमास्थित ख्वप क्षेंंमा योमरी पून्हीको दिन म्युजिक फेस्टिवल हुने आयोजक एवं गायक सुनिल लोहलाले जानकारी दिए । उनका अनुसार एकै पटक फरक शैलीमा भक्तपुरमा साङ्गीतिक माहोल बनाउने उद्देश्यका साथ उक्त म्युजिक फेस्टिवल हुन लागेको उनले बताए । 
हामीले एकै मञ्चबाट समकालीन गीत तथा सङ्गीत पस्कँदै यो सँगै परम्परागत गीत सङ्गीतका साथ शास्त्रीय सङ्गीत पनि पस्कने प्रयत्नमा लागेका छौँ ।

यो किसिमको साङ्गीतिक कार्यक्रम भक्तपुरमा नै पहिलो भएको उनले बताए । योमरी पून्हीको दिन साँझ ४ बजे देखि हुने उक्त साङ्गीतिक कार्यक्रम फरक किसिमको हुने उनले बताए । 

उनले  हरेक वर्ष यस्तो साङ्गीतिक कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यका साथ आफूहरूले उक्त कार्यक्रम गर्न लागेको समेत बताए ।


आज क्रिसमस डे मनाइँदै

आज क्रिसमस डे मनाइँदै


काठमाडौं, ९ पुस ।  क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस डे मनाउँदैछन् । हरेक वर्ष अङ्ग्रेजी महिनाको डिसेम्बर २५ तारिखका दिन क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झना गर्दै विश्वभरीका क्रिश्चियन धर्मावलम्बीले क्रिसमस डे मनाउने गर्दछन् ।
आजभन्दा दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा मरियमको कोखबाट येशु ख्रीष्ट (जिसस क्राइस्ट)को जन्म भएको थियो । येशुले मुक्ति, प्रेम र शान्ति दिएको विश्वास गर्दै क्रिश्चियन समुदायले शुभकामना तथा उपहार आदानप्रदान गरि यो पर्व मनाउने गर्दछन् ।
येशुले मानव जातिका लागि योगदान पुर्‍याएको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । आजको दिनलाई ‘ख्रिष्टमस’ पनि भन्ने गरिन्छ । क्रिसमस डे का अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।