20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


मेडिसिटीले शुरु गर्‍यो, ‘कम्प्रिह्यान्सिभ ब्रेस्ट क्यान्सर सेन्टर’

मेडिसिटीले शुरु गर्‍यो, ‘कम्प्रिह्यान्सिभ ब्रेस्ट क्यान्सर सेन्टर’


काठमाडौं, ९ पुस । नेपाल मेडिसिटी अस्पतालले ‘कम्प्रिह्यान्सिभ ब्रेस्ट क्यान्सर सेन्टर’ सञ्चालनमा ल्याएको छ। महिलाहरुमा बढ्दै गएको स्तन क्यान्सर र उपचारको अभावका कारण मृत्यु व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै उक्त सेन्टर सञ्चालनमा ल्याएको हो।

’कम्प्रिह्यान्सिभ ब्रेस्ट क्यान्सर सेन्टर’ अन्तर्गत महिलाहरुले सबै किसिमका उपचार, निदान, स्तन रिकन्सट्रक्सन तथा जनचेतनाका लागि तालिमको सेवा एकै छानामुनिबाट प्राप्त गर्न सक्नेछन्। यस विभागबाट विभिन्न परीक्षण, शल्यक्रिया तथा शल्यक्रिया पछि नक्कली स्तन राख्ने वा रिकन्स्ट्रक्सनको सुविधा पनि प्रदान गरिन्छ।

सेन्टरको उद्घाटन नायिका तथा सामाजिक अभियन्ता मनिषा कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्ययक्ष भवानी राणा र महिला उद्यमी महासंघ नेपालका निवर्तमान अध्ययक्ष निरु रायमाझीले गरेका हुन्।

अस्पतालका अध्ययक्ष उपेन्द्र महतोले नेपालीहरुलाई स्वदेशमै सम्पूर्ण सेवा प्राप्त होस् भन्ने उद्धेश्यले विशेषज्ञ केन्द्रहरु एकपछि अर्को सञ्चालन गरेको बताए।

कार्यक्रममा बोल्दै नायिका मनिषा कोइरालाले विदेशमा जसरी नै नेपालमा पनि क्यान्सर रोगको केन्द्रिकृत उपचार अभ्यास हुनुपर्ने बताइन्। उनले क्यान्सरको अनुभव साट्दै सबै किसिमका क्यान्सरको उपचार नेपालमै हुनुपर्ने जोड दिइन्। उनले ग्रामीण भेगका महिलाहरुमा पनि उपचारको पहुँच भएको हेर्ने आफ्नो सपना रहेको बताइन्।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्ययक्ष भवानी राणाले नेपाल मेडिसिटीमा स्तन क्यान्सरको सबै उपचार सम्भव भएकोमा खुशी व्यक्ति गरिन्। उनले महासंघसँग जोडिएका ग्रामीण भेगका महिलाहरुमा जनचेतना फैलाउन आफूले पनि सहयोग गर्ने वाचा गरिन्।

महिला उद्यमी महासंघ नेपालका निवर्तमान अध्यक्ष निरु रायमाझीले महिलाहरुमा जनचेतनाको कमी रहेको बताइन्। उनले भनिन्, “हाम्रो स्वास्थ्य प्रणाली महिलामैत्री छैन। सरकारले महिलालाई आर्थिक रुपमा सशक्तिकरण गर्ने उदेश्य बोकेको छ, तर जबसम्म महिलाहरुको स्वास्थ्य सुरक्षित हुँदैन, तबसम्म आर्थिक रुपमा सशक्तिकरण गर्न सकिँदैन।”

आफैले छामेर पत्ता लाग्न सक्ने रोग भएतापनि कति महिलाहरुलाई कसरी जाँच्ने भन्ने विषयमा थाहै नभएको ’कम्प्रिह्यान्सिभ ब्रेस्ट क्यान्सर सेन्टरका प्रमुख तथा प्रिन्सिपल कन्सलटेन्ट डा. ज्योति रायमाझीले बताइन्।

“स्तन क्यान्सरबारे जानकारी तथा छामेर पत्ता लगाउन सक्नेगरी हामीले ’सेल्फ ब्रेस्ट ईक्जामिनेसन ट्रेनिङको व्यवस्था गरेका छौं,” डा.ज्योतीले भनिन्।

त्यस्तै, स्तन क्यान्सर भन्ने वित्तिकै महिलालाई मात्र हुन्छ भन्ने भ्रम समाजमा फैलिएको छ, जुन गलत हो। यो रोग पुरुषमा पनि देखिन्छ। अध्ययनहरुका अनुसार एकलाख महिलामा ११८ जनामा स्तन क्यान्सर देखिन्छ भने एकलाख पुरुषहरुमा एक जनामा स्तन क्यान्सर देखिने गरेको छ।

पुरुषहरुका लागि पनि हामीले सोही तरिकाबाट क्यान्सर पत्ता लगाउने तालिम प्रदान गर्दछौं। तालिममा कस्तो ट्युमर क्यासर हुन् र कस्तो ट्युमरलाई उपचार नगर्दा पनि शरीरलाई केही असर पार्दैन भन्ने विषयमा पनि सचेत गराउने उदेश्यका साथ यो सेन्टर स्थापना गरिएको डा. ज्योतीले बताइन्।

त्यस्तै, रेडियोलोजिस्ट तथा ब्रिस्ट इमेजिङमा फेलोसिप गरेका डा. कुन्दना रायमाझीका अनुसार सबै स्तनको क्यान्सर छामेर पत्ता लगाउन सकिँदैन। यसको लागि म्यामोग्राम परीक्षण गराउनुपर्दछ।

प्रारम्भिक चरणमै स्तन क्यान्सर छ वा छैन भन्ने पत्ता लगाउन म्यामोग्राम परीक्षण गरिन्छ। “मटरको दाना भन्दा सानो क्यान्सरको गिर्खा हुँदा हातले भेट्न सकिन्न तर म्यामोग्राम परीक्षण गर्दा पत्ता लाग्छ। त्यस्तै, क्यान्सर कुन स्टेजमा पुगेको छ भन्ने थाहा पाउन ग्रिर्खाको आकारमा भर पर्छ,’ डा कुन्दनाले भनिन्।

सामान्यतया, म्यामोग्रामको परीक्षण ४० वर्ष नाघेपछि गरिन्छ भने ४० वर्ष भन्दा कम उमेर समूहका महिलाहरुलाई स्तनको अल्ट्रासाउण्ड परीक्षण मात्र गराइन्छ।

तर जो महिलाको आमा अथवा परिवारमा कुनै व्यक्तिहरुलाई स्तन क्यान्सर भएको इतिहास छ भने स्तन क्यान्सर हुने जोखिम धेरै हुन्छ। त्यसैले ती महिलाले ३० देखि ३५ वर्षको उमेरमै म्यामोग्राम गराउन आवश्यक रहेको डा कुन्दना बताउँछिन्।

’कम्प्रिह्यान्सिभ ब्रेस्ट क्यान्सर सेन्टर’ खुलिसकेपछि विरामीहरुले स्तनसम्बन्धि सबैखाले परीक्षण अस्पतालमै गर्न पाउनेछन्। दक्ष  चिकित्सकहरुबाट जाँच्ने तथा सल्लाह लिने, स्तनको एमआरआई, वायोप्सी, युएसजी, म्यामोग्राम परीक्षण देखि सर्जरीको पनि सेवा एकै ठाउँबाट लिन सकिन्छ।


मिन घलेको समूहले १३८ केजी सुन नेपाल भित्र्याएको छानबिन समितिको निष्कर्ष

मिन घलेको समूहले १३८ केजी सुन नेपाल भित्र्याएको छानबिन समितिको निष्कर्ष


काठमाडौं, ८ पुस । दुबईबाट १४ किलो सुन ल्याउने गिरोहले १३८ केजी सुन नेपाल भित्र्याएको खुलेको छ । मंसिर २१ गते बिहीवार राति फ्लाइ दुबईबाट नेपाल आएका चन्द्र घलेको साथबाट १४ किलोग्राम सुन फेला पारेपछि बनेको छानबिन समितिले सो समूहको संलग्नतामा १३८ केजीसम्म सुन ल्याएको भन्ने प्रारम्भिक विवरण प्राप्त भएको जनाएको हो ।
विमानस्थल भन्सार प्रमुख टोकराज पाण्डेले १४ किलो सुन प्रकरणमा संलग्नहरुविरुद्ध भन्सार ऐनअनुसार मुद्दा दर्ता हुने बताए । मंसिर २१ गते दुबईबाट ल्याएको १४ किलो सुनसहित पक्राउ परेका गोरखाका मिनबहादुर घलेबाट शुरु भएको अनुसन्धानमा हालसम्म ९ जना पक्राउ परेका छन् । उनीहरु सबैलाई २५ दिनभित्र भन्सार ऐनअनुसार मुद्दा दर्ता गर्ने पनि प्रमुख पाण्डेले बताए ।
उनले मंसिर २१ गते बिहीवार राति फ्लाइ दुबईबाट नेपाल आएका चन्द्र घलेको साथबाट भन्सार टोलीले १४ केजी सुन बरामदपछि सुनको छानबिन गर्नका लागि प्रमुख भन्सार अधिकृतको संयोजकत्वमा बनेको किमिटीले विमानस्थलमा समस्या, गर्नुपर्ने सुधारका विषयहरु औंल्याएको बताए । 


नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने


काठमाडौं, ५ पुस । नारायणगढ–मुग्लिन सडकखण्ड पुस ७ गतेदेखि दैनिक चार घन्टा बन्द हुने भएको छ। तुइन खोलामा पुल निर्माण गर्नको लागि यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सडकमा सवारी आवागमन बन्द गर्न लागिएको हो।

पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर पुल निर्माणको काम अघि बढाइने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले सूचना जारी गरेर जनाएको छ। 

नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छ भने मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिने छन्।

यसैगरी, काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्नेछ। 

पोखराबाट आउने यात्रीवाहक सवारीसाधन वेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारीसाधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ।
 
 


सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न आदेश

सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न आदेश


काठमाडौं, २९ मंसिर । सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आदेश दिइएको छ। उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको हो।  

उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको अन्तिम टुंगो नलगेसम्म महानगरको १२ मंसिरको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। श्रीराम टोबागो उद्योगले महानगरको सो निर्णयविरुद्ध मुद्दा हालेको थियो। 

काठमाडौं‌ महानगरपालिकाले मंसिर १२ गते जारी गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐनलाई आधार मानी सुर्ती, खैनी, गुट्खा, पान परागजस्ता मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको बिक्री वितरणमा  पूर्ण प्रतिबन्ध लगाइएको छ।


दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज

दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज


काठमाडौं, २८ मंसिर ।  नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । इन्टरनेट (इमेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार ती कम्पनीहरुले तोकिएको समय अवधिभित्र अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले अनुमति पत्र स्वतः खारेज भएको हो । ती कम्पनीहरुलाई ३० दिनभित्र सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम तिर्न अनुरोध गर्दै प्राधिकरणले अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको छ । 


आजदेखि काठमाडौं महानगरभित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध

आजदेखि काठमाडौं महानगरभित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध


काठमाडौं, २७ मंसिर । काठमाडौं महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिएका छन् । उनका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ ।

प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने भन्दै महानगरपालिकाले यही मङ्सिर १२ गते सार्वजनिक सूचना जारी गरेको थियो ।
कसैले बिक्री वितरण गरेको पाइए नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गरिने सूचनामा उल्लेख छ । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको स्वास्थ्य विभागका प्रमुख पौडेलले बताए ।


१२ ठेकेदार कम्पनी कालोसूचीमा

१२ ठेकेदार कम्पनी कालोसूचीमा


काठमाडौं, २५ मंसिर । सरकारले विभिन्न १२ वटा निर्माण तथा आपूर्ति कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीहरूलाई कालोसूचीमा राखेको हो ।

एउटा कम्पनी तीन वर्षसम्मका लागि, दुई कम्पनी दुई वर्षसम्मका लागि तीन, पाँच कम्पनी साढे १ वर्षसम्मका लागि र तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।

यी कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।


 


अनुसन्धान अधिकृत बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अनुसन्धान अधिकृत बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं, २४ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
सुरक्षा निकायहरूमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा विभागका तत्कालीन अनुसन्धान अधिकृत बस्नेतले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेस गरेको पाइएको छ ।

उक्त शैक्षिक प्रमाणपत्र पेस गरी उनले राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिइ बढुवा समेत भइ अनुसन्धान अधिकृत पदको ओहोदा, लाभ र सुविधा प्राप्त गरेको देखिएको अख्तियारको दाबी छ ।


विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद


काठमाडौं, २४ मंसिर ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ । शनिबार राति सुनसहित केही व्यक्ति पक्राउ परेका छन् ।
भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका विदेशी नागरिकबाट सुन बरामद भएको प्रहरीको भनाइ छ । पक्राउ परेका व्यक्तिलाई गौशाला प्रहरी वृत्त लगिएको छ । यसअघि बिहीबार राति विमानस्थलबाटै १४ किलो र शुक्रबार दिउँसो थानकोटबाट २ किलो सुन बरामद भएको थियो ।
 


१४ किलो सुनबारे छानबिन गर्न समिति गठन

१४ किलो सुनबारे छानबिन गर्न समिति गठन


काठमाडौं, २२ मंसिर । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति बनाएको छ । भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा छन् ।

बिहीबार राति करिव १४ किलो सुनसहित दुबईबाट आएका गोरखाका चन्द्र घले पक्राउ गरेका थिए । बिहीबार राति दुबईबाट आएका चन्द्र घलेको साथबाट करिव १४ किलो सुन बरामद भएको थियो ।

सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ भने घलेसँगै गोरखाका मीनबहादुर घलेलाई पक्राउ गरी अनुसन्धान थालिएको भन्सार कार्यालयका प्रमुख सहसचिव डा. टोकराज पाण्डेले बताए ।