14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आर्थिक


४ महिनामा भित्रियो करिब ४ खर्ब ७८ अर्ब रुपैयाँ रेमिट्यान्स

४ महिनामा भित्रियो करिब ४ खर्ब ७८ अर्ब रुपैयाँ रेमिट्यान्स


काठमाडौं, २८ मंसिर । चालु आर्थिक वर्षको पहिलो ४ महिना अर्थात् साउनदेखि कात्तिक मसान्तसम्म ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चार महिनाको वित्तीय प्रतिवेदनअनुसार पोहोरको यहीं अवधिको तुलनामा रेमिट्यान्स २६.४ प्रतिशतले बढेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा २०.४ प्रतिशतले रेमिट्यान्स बढेको थियो । कात्तिक महिनामा मात्रै १ खर्ब १२ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।
समीक्षा अवधिको चार महिनामा अमेरिकी डलरमा भने रेमिट्यान्सको वृद्धिदर २३.१ प्रतिशत छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ ।


भारतले प्याजको निर्यातमा लगायो प्रतिबन्ध

भारतले प्याजको निर्यातमा लगायो प्रतिबन्ध


काठमाडौं, २२ मंसिर । भारतले प्याजको निर्यातमा फेरि प्रतिबन्ध लगाएको छ । तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले अहिले निर्यातमा पूर्ण रोक लगाएको हो

भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले सन् २०२४ को मार्चसम्मका लागि प्याजको निर्यातमा रोक लगाएको बताएको छ । अन्य मुलुकका सरकारको आग्रहबमोजिम सरकारले अनुमति दिएमा भने प्याज निर्यात हुन सक्ने पनि महानिर्देशनलायको सूचनामा उल्लेख छ ।

भारत सरकारले प्याजको मूल्य अत्यधिक बढेको भन्दै निर्यात बन्द गरेको हो । निर्यात बन्द गरेपछि बजारमा प्याज प्रशस्त पाइने र मूल्य पनि कम हुने भारत सरकारको विश्लेषण छ ।


बैंकदर एवम्  नीतिगत दर घट्यो(पूर्णपाठ)

बैंकदर एवम् नीतिगत दर घट्यो(पूर्णपाठ)


काठमाडौं, २२ मंसिर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बैकदर, नीतिगत दर घटाएर अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात सम्बन्धी व्यवस्थालाई यथावत राखेको छ ।

राष्ट्र बैंकले विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरिएको जनाएको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।
बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिवेन्चरलाई २०८० पुस सम्मको लागि श्रोतकोरुपमा समेत शतप्रतिशत गणना गर्न पाउने व्यवस्था रहेकोमा सोपश्चात् उक्त डिवेन्चरको पचास प्रतिशत रकम २०८१ असार सम्मका लागि श्रोतको रुपमा गणना गर्न पाउने व्यवस्था मिलाउने भएको छ ।

बैंक तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरु उपरको कारवाहीलाई थप प्रभावकारी बनाउँदै परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई कर्जा पुनरसंरचना र पुनरतालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिने जनाएको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाले समस्यामा परेका ऋणीहरुबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको दश प्रतिशत रकम असूल गरी कर्जा पुनरसंरचना गर्न सक्नेअवधि २०८० चैत मसान्तसम्म कायम गरी पुनरसंरचना गर्न सक्ने क्षेत्रहरुको विस्तार गरिने छ ।

२०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनरनिर्माणका लागि नेपाल सरकार वा नेपाल सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले रु.२५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिने भएको छ । यस प्रयोजनको लागि साविकको कर्जा–धितो अनुपातमा बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत वा सोभन्दा बढी बिन्दुसम्म थप गर्न सक्ने व्यवस्था गरकोे छ ।

२०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनरनिर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिने उल्लेख गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र रु.५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने छ । ५० लाख सम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरिने भएको छ । ननडेलिभरेबल फरवार्ड कारोवार र स्थानीय विप्रेषण कारोवारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेछ ।

लघुवित्त वित्तीय संस्थाले आफ्नो नियमित सम्पर्कमा रहेका तर परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुले कर्जा पुनरसंरचनाका लागि संस्थामा २०८० चैतसम्म निवेदन दिएमा त्यस्ता ऋणीहरुको कर्जालाई पुनरसंरचना गर्न सक्ने व्यवस्था गरिने जनाएको छ ।

मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गरिने राष्ट्र बैंकले जनाएको छ ।


यस्तो छ एनसेलले सरकारलाई पठाएको पत्र

यस्तो छ एनसेलले सरकारलाई पठाएको पत्र


काठमाडौं, २० मंसिर । एनसेल आजियाटाले  शेयर खरिद बिक्री सम्झौतामा नेपालको कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएको छ ।  एनसेल आजियाटाले नेपाल दूरसन्चार प्राधिकरणलाई बुधवार जवाफी पत्र पठाउँदै यस्तो प्रतिबद्धता  बताएको हो । 
मंसिर १५ गते  शेयर खरिद बिक्रीको पूर्व स्वीकृति नदिई एनसेल आजियाटा बिक्री सम्झौतामा भएको खुलासा भएको थियो । सो लगत्तै प्राधिकरणले एनसेल आजियाटालाई पत्र लेख्दै शेयरधनीको शेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था स्मरण गराएको थियो ।  
पत्रमा कम्पनीको सेयर धनी रेनोल्ड होल्डिङ लिमिटेडको शतप्रतिशत सेयर खरिद विक्री गर्ने सम्बन्धमा आजियाटा युके र स्पेक्ट्रलाइट युके लिमिटेडका बिच शेयर खरिद विक्री सम्झौता भएकोले त्यहाँको पत्रमा उल्लिखित दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमति पत्र प्राप्त व्यक्तिको शेयर खरिद विक्री) विनियमावली, २०७६ को विनियम ४ (क) परिपालना प्रयोजनार्थ सोही विनियमावलीको विनियम ५ मा उल्लिखित सेयर खरिद कागजातहरू सङ्कलन हुनासाथ तत्काल सो कागजातहरू संलग्न गरी प्राधिकरण समक्ष सेयर खरिद बिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने कम्पनीको भनाई छ ।

 


 


एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा छलफल गर्न  लेखा समितिको बैठक बस्दै

एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा छलफल गर्न लेखा समितिको बैठक बस्दै


काठमाडौं, २० मंसिर ।  सार्वजनिक लेखा समितिकाे बैठक बस्दै छ । समितिले एनसेलको सेयर खरिद-बिक्री सम्बन्धमा आज प्रारम्भिक छलफल गर्ने भएको हाे । समितिको बैठक दिउँसो २ बजे बस्नेछ ।

एनसेलको ८० प्रतिशत शेयर खरिद/बिक्री हुँदा पनि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नदिएको विषयमा समितिले प्रारम्भिक छलफल गर्न लागेको हो ।

एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर मलेसियन कम्पनी अजियाटाले पाँच करोड डलरमा साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेच्ने सहमति भएको थियो ।
 


सुनको भाउमा तोलाकै १ लाख २१ हजार ६ सय रुपैयाँ

सुनको भाउमा तोलाकै १ लाख २१ हजार ६ सय रुपैयाँ


काठमाडौं, १८ मंसिर । सुनको भाउले लगातार नयाँ रेकर्ड राखेको छ । सोमबार सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

आइतबारको तुलनामा बुधबार सुनको भाउमा प्रतितोला ८ सय रुपैयाँ बढेको हो । आइतबार भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।


त्यस्तै सोमबार तेजाबी सुन प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी भने तोलाको १ हजार ५ सय ४५ रुपैयाँ रहेको छ । आइतबार चाँदीको भाउ प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ नै थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको हो । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो । गत कात्तिक १२ गते सुनको भाउ प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ कायम भएको थियो । त्यसपछि कात्तिकमा लगातारजसो सुनको मूल्यमा गिरावट आएको थियो ।

कात्तिक २७ गते प्रतितोला १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंसिर लागेसँगै बढ्न थालेको हो । मंसिर १ गते छापावाल सुन प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि भने सुनको मूल्य भने बढिरहेको छ ।


सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च


काठमाडौं, १७ मंसिर । नेपाली बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रति तोला एक लाख २० हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ । 

गत शुक्रबार छापावाल सुन प्रति तोला एक लाख १९ हजार रूपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रति तोला एक लाख २० हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ वृद्धि भएर कारोबार भएको छ । चाँदी प्रति तोला एक हजार ५४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

 


पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो


काठमाडौं, १४ मंसिर । नेपाल आयलग निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। निगमको सञ्चालक समितिको बैठकले बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको छ। 
भारतबाट मूल्य घटेर आएपछि निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ घटाएको हो। यससँगै काठमाडौंमा पेट्रोलको मूल्य १७० पुगेको छ भने भने डिजेल र मट्टितेलको मूल्य १६० पुगेको छ। त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भारतबाट वृद्धि भएर आए पनि निगमले ग्यासको मूल्य यथावत राखेको छ। 


 


सरकारले वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने

सरकारले वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने


काठमाडौं, १० मंसिर । सरकारले वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । आइतबार अर्थमन्त्रालयमा पत्रकारसम्मेलन गर्दै प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्ने जानकारी दिएको हो ।   

सो सम्मेलनका लागि अर्थमन्त्रीको नेतृत्वमा सम्मेलन तयारीका लागि निर्देशक समिति गठन भएको छ । सो समितिमा उद्योग, भौतिक पूर्वाधार, पर्यटन, ऊर्जा र सहरी विकासमन्त्रीका साथै नेपाल राष्ट्र बैंकका गभर्नरलगायतका सदस्य छन् । स्वदेशी, गैरआवासीय नेपाली र विदेशी लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन आयोजना गर्न लागिएको बताइएको छ ।

निर्देशक समितिको बैठकले मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समितिलाई कार्ययोजना, कार्यक्रमको ढाँचा, आवश्यक विज्ञ नियुक्ति गर्ने, उपसमिति बनाउनेलगायतका विषयमा प्रस्ताव पेस गर्ने जिम्मेवारी दिएको छ ।


डलरको भाउ हालसम्मकै उच्च

डलरको भाउ हालसम्मकै उच्च


काठमाडौं, ६ मंसिर । अमेरिकी डलर बलियो हुँदा नेपाली मुद्रा कमजोर भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलरको खरिद दर १ सय ३३ रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ६८ पैसा पुगेको छ। डलरको भाउले नयाँ रेकर्ड कायम गरेको छ। राष्ट्र बैंकका अनुसार यो सटही दर हालसम्मकै उच्च हो।

यसअघि गत कात्तिक २५ गते डलरको भाउ १ सय ३३ रुपैयाँ ६५ पैसा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो। आज बुधबार त्यो रेकर्डलाई ब्रेक गर्दै नयाँ रेकर्ड कायम भएको छ। डलरको सटही दर धेरै हुँदा विदेशबाट आउने रेमिट्यान्सबाट फाइदा हुन्छ। तर, नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले वस्तु आयात गर्दा डलर भुक्तानी गर्नुपर्ने भएकाले घाटा हुन्छ।

विप्रेषण आय, पर्यटन क्षेत्रको आय तथा निर्यात व्यापारमा भने डलर बलियो बन्दा अर्थतन्त्रमा सकारात्मक असर रहन्छ। तर, नेपालको वैदेशिक व्यापारमा निर्यातका तुलनामा आयात उच्च हुँदा त्यसको भुक्तानी डलरमा हुने र यसले व्यापार घाटा झनै बढ्ने हुन्छ।

जसले शोधनान्तरस्थिति र विदेशी मुद्रा सञ्चितिमानसमेत नकारात्मक असर पार्छ। त्यस्तै डलरको भाउ बढ्ने बित्तिकै आयात हुने विदेशी सामानको मूल्य बढ्ने, इन्धनको मूल्य बढ्न सक्ने, नेपालले विदेशी ऋणको सावाँ र ब्याजको परिणाम डलरको भाउ बढेसँगै बढ्ने हुन्छ।