15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घटना/दुर्घटना


ग्याँस विष्फोटमा सांसद चन्द्र भण्डारी र उनकी आमा घाइते

ग्याँस विष्फोटमा सांसद चन्द्र भण्डारी र उनकी आमा घाइते


काठमाडौं, ४ फागुन ।  गुल्मी क्षेत्र नं. १ बाट निर्वाचित सांसद डा. चन्द्रकान्त भण्डारी र उनकी आमा हरिकला भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतलामा उपचार भइरहेको छ । बर्न अस्पतालका चिकित्सक डा. किरण नकर्मीका अनुसार उनीहरुको स्वास्थ्य स्थिति गम्भीर छ ।

डा. भण्डारीको शरीरको करिब ३० प्रतिशत र उनकी माताको ७० प्रतिशत शरीरको भाग जलेको छ ।

डा. भण्डारीको काठमाडौंस्थित बुद्धनगर निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा पोलेर घाइते भएका हुन् । बिहीबार राती १० बजे ग्याँस पड्किएको थियो ।  भण्डारी र उनकी आमालाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ। 
 


कालीगण्डकीमा खस्यो यात्रुबाहक बस 

कालीगण्डकीमा खस्यो यात्रुबाहक बस 


काठमाडौं, ३ फागुन । मुस्ताङको जोमसोमदेखि पोखराका लागि छुटेको बस कालीगण्डकीमा खसेको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार थासाङ गाउँपालिका–३ को धुम्पु भन्ने ठाउँमा सडकबाट  कम्तीमा ४५ मिटर तल खसेकाे हाे। 

ना ७ ख ७४४० नम्बरको बस नदीमा  खस्दा बसमा सवार सबै जना घाइते भएको र ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बसमा सवार १७ जना घाइते भएका छन् । घाइते मध्ये १३ जनालाई पोखरा रिफर गरिएको छ । घाइतेको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जानकारी दिए।
 


तनावग्रस्त बालाजु क्षेत्र,  यातायात मजदुरले जलाए प्रहरीको गाडी,  प्रहरी बिट र एम्बुलेन्स

तनावग्रस्त बालाजु क्षेत्र, यातायात मजदुरले जलाए प्रहरीको गाडी, प्रहरी बिट र एम्बुलेन्स


काठमाडौं, १ फागुन । ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको दुई वटा गाडीमा आगजनी गरेका छन्।

यातायात व्यवसायी तथा मजदुरहरूले ट्राफिक प्रहरीले लागू गरेको सवारी नियमविरुद्ध प्रदर्शन गर्दा भएको दोहरो झडपमा आन्दोलित उनीहरुले नेपाल प्रहरीको दुई वटा गाडीमा आगजनी गरेका हुन्।

आज दिनभर यातायात मजदुरहरुले ट्राफिक जरिवाना महँगो भएको भन्दै बालाजु क्षेत्रमा सडक बन्द गरेर आन्दोलन गरिरहेका छन्। उनीहरुले बााजु चोक, माछापोखरी, बसपार्क क्षेत्रमा निजी सवारी साधनसमेत चल्न दिएका छैनन्। प्रदर्शनकारीले प्रहरीले सडकमा राखेको डिभाइडर पनि जलाइदिएका छन् ।
साथै उनीहरुले एम्बुलेन्समा समेत तोडफोड गरेका छन् । यस्तै उनीहरुले काठमाडौंस्थित माछापोखरीको अस्थायी प्रहरी बिटमा आन्दोलनरत यातायात मजदुरले आगजनी गरेका छन् ।


 


जहाज दुर्घटनाको ककपिट भ्वाइस रेकर्डरको विश्लेषण

जहाज दुर्घटनाको ककपिट भ्वाइस रेकर्डरको विश्लेषण


काठमाडौं, २३ माघ । पोखरामा माघ १ गते भएको यती एयरलाइन्सको जहाज दुर्घटनाबारे जाँच बुझ आयोगले ककपिट भ्वाइस रेकर्डरको विश्लेषण गरेको छ। यति एयरलाइन्सको ९एन–एएनसी एटीआर७२ जहाज इन्जिनमै समस्याको कारण दुर्घटना भएको हुनसक्ने देखिएको आयोगले प्रारम्भिक जानकारी दिएको हो। 
आयोगका अनुसार इन्जिनमा पावर आइडल (काम नगर्दा) हुँदा दुर्घटना भएको देखिएको छ। 

‘फ्लाइट डाटा रेकर्डर र ककपिट भ्याइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिन्छ’, जाँच आयोगले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

‘इन्जिन बिग्रिएको हो वा होइन यसै भन्न सकिँदैन’, ती पाइलटले भने, ‘पाइलटले पावर नदिएको हो वा बिग्रिएर समस्या हो थप अध्ययनपछि थाहा हुन्छ।’

फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरबारे अध्ययन गर्न नेपाल सरकारबाट गठन भएको दुर्घटना जाँच आयोगका संयोजक, हवाइ विज्ञ र सदस्य सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोमा पुगेका थिए। 

आयोगको नेतृत्वमा टीएसआईबी सिंगापुर, बीइए फ्रान्स, टीएबी क्यानेडा, ईएएसए प्रतिनिधिहरुले प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरेका थिए। सो क्रममा फ्लाइट डाटा रेकर्डर र भ्वाइस डाटा रेकर्डरको डाटाहरुको विश्लेषण गरिएको थियो। 

दुर्घटनालगत्तै सरकारका पूर्वसचिव नगेन्द्र प्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको थियो। आयोगमा सेनाका इ. उपरथी दीपक बाँस्तोला, वरिष्ठ क्याप्टेन सुनिल प्रधान र वरिष्ठ इन्जिनियर एकराज जंग थापा सदस्य तथा उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्यसचिव रहेका थिए। 

आयोगका सदस्य तथा इन्जिनियर एकराजजंग थापाले इन्जिन चालू रहे पनि पंखाको कोण नमिलेको हुनसक्ने देखिएको बताए। 

 

 

 


संसद भवन अगाडि आफैंलाई आगो लगाएका आचार्यको मृत्यु

संसद भवन अगाडि आफैंलाई आगो लगाएका आचार्यको मृत्यु


काठमाडौं, ११ माघ । संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो ।

इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए । आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको थियो ।

उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो । आत्मदाह गर्नुअघि आचार्यले सबै उपाय लगाउँदा पनि केही उपाय लागेन भन्दै लामो स्टाटस लेखेका थिए ।
 


भूकम्पले घर र मन्दिर भत्कियो 

भूकम्पले घर र मन्दिर भत्कियो 


काठमाडौं, १० माघ । बाजुरामा मंगलबार दिउँसो गएको ५.९ म्‍याग्निच्यूडको भूकम्पले एक घर भत्किएको छ । बाजुराको बडिमालिका नगरपालिका ७ मा एउटा घर भत्केको हो । यस्तै भूकम्पले बझाङ चैनपुरको सन्तोस प्लाजाको ४ तला माथि रहेको मन्दिर भत्केको छ ।  चैनपुरमा कृषि ज्ञान केन्द्रको भवन हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको भवन भूकम्पले भत्काएको छ । भूकम्पको थप विवरण आउन बाँकी रहेको छ । 


पश्चिम नेपालमा ५.९ म्याग्निच्युडको भूकम्प

पश्चिम नेपालमा ५.९ म्याग्निच्युडको भूकम्प


काठमाडौं, १० माघ । पश्चिमी नेपालमा मंगलबार दिउँसो शक्तिशाली भूकम्प गएको छ । बाजुराको मेला केन्द्र विन्दु भएर करिब २ बजेर ४३ मिनेट जाँदा भूकम्प गएको हो । 
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ५.९ म्याग्निन्युडको रहेको थियो । भूकम्पको झट्का भारतसम्म महसुस भएको भारतीय मिडियाहरुले जनाएका छन् । दिल्ली(एनसीआर, उत्तर प्रदेश, उत्तराखण्डका धेरै ठाउँमा भूकम्पको धक्का महसुस गरिएको थियो।
 


सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु


सुर्खेत, ८ माघ । सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। शनिबार राति साढे दुई बजेतिर बा ०१०२६ च ९२१३ नम्बरको जीप वीरेन्द्रनगर नगरपालिका–११ को झुप्रा खोलामा दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको हो । 
दुर्घटनामा  जीप चालक वीरेन्द्रनगर–७ का २७ वर्षका सागर शाही, दैलेख भगवती गाउँपालिका–५ का ३१ वर्षका बबिन शाही, दैलेख डुंगेश्वर  गाउँपालिका–३ का ३३ वर्षका दीपेन्द्रजङ्ग शाही र गुराँस गाउँपालिका–३ का ३६ वर्षका राजेन्द्र बीसीको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै, २५ वर्षका भैरवी गाउँपालिका–५ का वीरेन्द्रराज शाही भने घाइते हुनुभएको छ । उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


विमान दुर्घटना:१० नेपाली र दुई कोरियन नागरिकको शव बुझाइयो    

विमान दुर्घटना:१० नेपाली र दुई कोरियन नागरिकको शव बुझाइयो    


काठमाडौं, ५ माघ ।गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४९ को शव काठमाडौं ल्याइएकामा १२ जनाको परीक्षण (पोष्टमार्टम) गरी बिहीबार परिवारलाई बुझाइएको छ ।     
माघ १ गते आइतबार काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएका ७१ मध्ये २२ जनाको शव पोखरामा नै परीक्षण गरी आफन्तलाई बुझाइएको थियो ।     
काठमाडौंस्थित त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएका ४९ मध्ये १२ जनाको शव परीक्षण गरी बिहीबार सम्बन्धित परिवार र नेपालस्थित कूटनीतिक नियोगमा जिम्मा लगाइएको यती एयरलाइन्सले जनाएको छ ।     
     
जिम्मा लगाइएकामध्ये १० नेपाली र दुई शव कोरियन नागरिकको रहेको छ । पहिचान खुलेका बाँकी शव पनि परीक्षण गरेर सम्बन्धित परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको छ । पहिचान नखुलेका शवको भने डिएनए परीक्षण गरेर मात्र परीक्षण गरी मृतकका परिवारलाई बुझाइने छ । चालक दलका सदस्यसहित ७२ जना सवार उक्त विमान दुर्घटनामा ७१ जनाको मृत्यु भइसकेको छ भने बाँकी एकको खोजी जारी रहेको छ । 
 


नेपालमा सञ्चालित सबै एटीआर–४२ र एटीआर–७२ मा प्राविधिक त्रुटि देखिएन : प्राधिकरण

नेपालमा सञ्चालित सबै एटीआर–४२ र एटीआर–७२ मा प्राविधिक त्रुटि देखिएन : प्राधिकरण


काठमाडौं, २ माघ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालका सञ्चालित सबै एटीआर–४२ र एटीआर–७२ जहाजमा कुनै प्राविधिक त्रुटि नदेखिएको जनाएको छ । आइतबार यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनामा परेपछि प्राधिकरणले सबै जहाजको परीक्षण गरिएको जनाएको छ ।
प्राधिकरणले वायुयानको नियमित उडान योग्यताका लागि दैनिक गरिने दैनिक निरीक्षण, उडानपूर्व गरिने निरीक्षण, निश्चित अन्तरालमा गरिने ’सेड्युल इन्सपेक्सन’ जस्ता मर्मत सम्भारका कार्यहरु अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन को मापदण्ड तथा सिफारिस एवं वायुयान निर्माता कम्पनीका मापदण्डबमोजिम गर्ने गरिएको पनि बताएको छ ।

यती एयरलाइन्सको विमान दुर्घटनापश्चात् प्राधिकरणका उडान सुरक्षा निरीक्षकहरुबाट नेपालमा सञ्चालित सम्पूर्ण एटीआर–४२ र एटीआर–७२ वायुयानहरूको थप विस्तृत प्राविधिक परीक्षण गर्ने कार्य सम्पन्न भइसकेको पनि प्राधिकरणले जनाएको छ। परीक्षणका क्रममा उपरोक्त वायुयानहरूमा कुनै प्राविधिक त्रुटि फेला नपरेको प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् ।

त्यस्तै प्राधिकरणले आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे अनावश्यक भ्रम नफैलाउन आग्रह गरेको छ । दुर्घटनाका सम्बन्धमा प्राधिकरण केही उच्चपदस्थ पूर्वकर्मचारी तथा अन्य व्यक्तिबाट भएको टिकाटिप्पणी तथा अभिव्यक्तिका कारण सर्वसाधारणमा भ्रम फैलिएको प्राधिकरणले जनाएको छ ।

प्रवक्ता जगन्नाथ निरौलाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ’दुर्घटनाका सम्बन्धमा प्राधिकरणका केही उच्च पदस्थ पूर्वकर्मचारी तथा अन्य व्यक्तिहरूबाट विभिन्न सामाजिक सञ्जाल, टेलिभिजन, पत्रपत्रिका तथा अनलाइनलगायतका सञ्चारमाध्यममा दिइएका धारणा, टिकाटिप्पणी तथा अभिव्यक्तिहरुका कारण सर्वसाधारणमा भ्रम सिर्जना हुन गएको प्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ ।’

दुर्घटना, खोज तथा उद्धारका सम्बन्धमा सर्वसाधारणको जानकारीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता तथा सूचना अधिकारी (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय समेत) मार्फत प्राप्त हुने सूचना तथा जानकारीलाई मात्र आधिकारिक मान्न पनि प्राधिकरणले आग्रह गरेको छ ।