11 Falgun, 2080 / 23 February , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


छुट्याइएको फोहोर संकलन गर्न रङ्ग संकेतसहितको गाडी

छुट्याइएको फोहोर संकलन गर्न रङ्ग संकेतसहितको गाडी


काठमाडौं, २१ माघ । स्रोतमा वर्गीकरण गरिएको फोहोर छुट्टै संकलन गर्न काठमाडौँ महानगरपालिकाले रङ्ग संकेतसहितको गाडी तयार पारेको छ । फोहोर उत्पादन भएकै ठाउँमा (कुहिने र नकुहिने) छुट्याउने र छुट्टिएको फोहोर छुट्टै संकलन, ढुवानी तथा व्यवस्थापन गर्ने कार्यक्रम कार्यान्वयनका लागि गाडीको व्यवस्था गरिएको हो ।

वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठकाअनुसार ३.५ क्युविक मिटर क्षमता भएको गाडीको विचबाट २ खण्ड बनाइएको छ । हरेक खण्ड (कोठा) १.५ क्युविक मिटर क्षमताका छन् । ती कोठाको पछाडि र बिचमा गरी २ वटा ढोका छन् । यसमध्ये बिचमा राखिएको ढोकाबाट फोहोर संकलन गरिन्छ । 
बाहिरबाट हेर्दा गाडी २ रङ्गको देखिन्छ । कुहिने फोहोर संकलन गरिने कोठातिर हरियो छ भने नकुहिने तथा अन्य फोहोर संकलन गरिने कोठातिर नीलो रङ्ग राखिएको छ । श्रेष्ठका अनुसार कुहिने फोहोर संकलन हुने कोठामा करिब १ हजार ५ सय किलो फोहोर संकलन गर्न सकिन्छ । नकुहिने फोहोरको आकार ठूलो देखिए पनि तौल कम हुन सक्छ । त्यसैले यसमा चाहिँ सामानको प्रकृति हेरेर मात्र तौल अनुमान गर्न सकिन्छ । 

वडा नं. २७ बाट फोहोर वर्गीकरण नमूना कार्यक्रम चलाइने 

फोहोर वर्गीकरणको नमूना कार्यक्रम वडा नं. २७ बाट कार्यान्वयन गर्ने तयारी थालिएको छ । यस क्रममा आज सचेतनामूलक प्रभातफेरी निकालियो । वडाका जनप्रतिनिधि, सहरी योजना आयोगका सदस्य तथा पदाधिकारी, कर्मचारी, नगर प्रहरी, स्थानीय क्लव तथा टोल सुधार समितिका पदाधिकारीसहितको प्रभातफेरीले कमलाछी, असन, तँलाछि, ज्याथा, ठमेल, जमल, ग्वसिँफलगायतका स्थानमा पुगेर घरदैलो कार्यक्रम गरिएको थियो । यस क्रममा भेटिएका स्थानीयले महानगरपालिकाको कार्यक्रमको प्रशंसा गर्दै आफूहरुले छुट्याएर मात्र फोहोर बाहिर निकाल्ने दायित्व पूरा गर्ने बताउनुभयो ।

यो वडाको जनसंख्या ५ हजार हो । यहाँ १ हजार ४ सय घरधुरी छन् । आवासीय र व्यापारिक क्षेत्र भएकोले कुहिने र नकुहिने दुवै प्रकारको फोहोर उत्पादन हुन्छ । 

फोहोर वर्गीकरणका विषयमा वडाध्यक्ष योगेश खड्गी भन्नुहुन्छ, ‘घरघरमा पुगेर फोहोर छुट्याउने विधि सिकाउँछौँ । फोहोर संकलन गर्न जाने कर्मचारीलाई छुट्टिएको फोहोर गाडीमा राख्ने प्रभावकारी तरिका सिकाउँछौँ । वडाबासीबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ । सहभागिताका लागि उहाँहरु इच्छुक हुनुहुन्छ । यी सबैकारणले कार्यक्रम सफल हुन्छ ।’

आउँदो एक हप्ता वडामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, छुट्याइएको फोहोरको नमूना संकलन गर्ने अभ्यास गरिनेछ । यसपछि कार्यक्रम पूर्ण कार्यान्वयनमा ल्याइनेछ । 

यो वडाको कार्यक्रम सफल बनाएर वडा नं. १२, ५, ६ लगायत वडामा विस्तार गर्दै लगिने विभागले योजना बनाएको छ । 

के हो, फोहोर वर्गीकरण

भान्छामा कुहिने र नकुहिने गरी २ खालको फोहोर जम्मा हुन्छ । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाडाँमा राख्नु वर्गीकरण हो । नकुहिने फोहोर उत्पादक आफैँले बेच्न सक्छन् । कुहिने फोहोर आफैँले पनि मल बनाउन सकिन्छ । मल बनाउन सकिएन भने महानगरपालिकाबाट फोहोर संकलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ । 

तरकारी (साग सब्जी), बढी धएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफुलका बोक्रा, खानेकुरा केलाउँदा आएको बस्तु, रुखका पात कुहिने फोहोर हुन् । 

यस्तै प्लाष्टिक, शिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको व्याग, बोतलहरु, फलाम आदि नकुहिने फोहोर हुन् । 

यससँगै सेनेटरी प्याड, डाइपर, बिषादिको खाली बोटल, म्यान नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोशाक (पीपीइ), पञ्जा, फुटेका सिसा, घर आँगल बढार्दा आएको धुलो तथा माटो पनि फोहोरका रुपमा संकलन हुन्छ । हिजोआज सहरी क्षेत्रमा सेनटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहोरको मात्रा बढ्दै गएको छ । यस्तो फोहोर कुहिने र नकुहिने फोहोर राख्ने भाँडाको नराखी अर्को छुट्टै भाँडामा राख्नुपर्छ ।      

विभागले हरेक घर दैलोमा पुगेर फोहोर संकलन गर्ने रुट निर्धारण गर्ने, साधन तथा उपकरणको प्रबन्ध गर्ने, जनशक्ति परिचालन गर्ने, संकलन तथा व्यवस्थापन विधि सिकाउने, समुदायको सहभागिता बढाउने र कामको अनुगमन मूल्याङ्कनको योजना बनाइरहेको छ ।  
 


नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट

नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट


काठमाडौं, २१ माघ । नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको छ । नेपालमा कुल मृत्युको ११.११ प्रतिशत हिस्सा क्यान्सरको रहेको सरकारले बताएको हो । विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो ।
२०२० को तथ्यांकअनुसार जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री अनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशत बढी रहेको मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देश्क डा. रुद्रप्रसाद मरासिनीले फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा बढी मृत्यु हुने गरेको बताए । उनले नेपालमा प्रत्येक वर्ष करिव २० हजार जना भन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने गरेको बताए ।

२०२० मा क्यान्सरकै कारणले नेपालमा १६ हजार ६२९ जनाको मृत्यु भएको थियो । नेपालमा देखिएका मुख्य क्यान्सरहरुमा फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्रको क्यान्सहरु रहेका छन् । अहिले २० हजार नयाँ केसको डिटेक्शन भएको र १६ हजार मृत्यु भएको उनले बताए । उनकाअनुसार पुरुष र महिलाको तुलना गर्दा पुरुषमा फोक्सोको क्यान्सर, आमाशयको क्यान्सर, मुख तथ मुखजन्य क्यान्सर र अन्य क्यान्सरहरु बढी देखिन्छ भने महिलाको हकमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ ।

नेपालमा कुल मृत्युको ११.११ प्रतिशत हिस्सा क्यान्सरले लिएको छ । जोखिम तत्व र यसको भारको बारेमा कुरा गर्नुपर्दा २०२० को डाटा हो । त्यसपछिको हाम्रो नेशनल सर्वे भएको छैन । जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री अनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशत बढी र मृत्यु फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले हुने गर्दछ । नेपालमा प्रत्येक वर्ष करिव २० हजार जना भन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने गर्दछ । २०२० मा क्यान्सरकै कारणले नेपालमा १६ हजार ६२९ जनाको मृत्यु भएको थियो ।

नेपालमा देखिएका मुख्य क्यान्सरहरुमा फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्रको क्यान्सहरु छन् । २० हजार नयाँ केसको डिटेक्शन भएको देखिन्छ । १६ हजार मृत्यु भएको देखिन्छ । पुरुष र महिलाको तुलना गर्नुपर्दा पुरुषमा फोक्सोको क्यान्सर, आमाशयको क्यान्सर, मुख तथ मुखजन्य क्यान्सर र अन्य क्यान्सरहरु बढी देखिन्छ भने महिलाको हकमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ ।’


त्रिभुवन विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले दिए राजीनामा

त्रिभुवन विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले दिए राजीनामा


काठमाडौं, २० माघ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन्। व्यक्तिगत कारणले नै राजीनामा दिएको चन्दले बताए। राजीनामाको औपचारिक जानकारी भने नआइसकेको प्रहरी कार्यालयले जनाएको छ।  गत वैशाख १३ गते चन्दलाई विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी दिइएको थियो।


एलओडीसहित ४५ क्लब तथा डान्सबारलाई कर तिर्न महानगरको पत्र

एलओडीसहित ४५ क्लब तथा डान्सबारलाई कर तिर्न महानगरको पत्र


काठमाडौं, १९ माघ ।  काठमाडौं महानगरपालिकाले एलओडि क्लबसहित विभिन्न ४५ वटा क्लब तथा बारहरुलाई मनोरञ्जन कर तिर्न १५ दिने म्यादसहित पत्र पठाएको छ । महानगरको राजस्व विभागले ठमेल क्षेत्रमा रहेका विभिन ४५ वटा क्लब तथा बारहरुलाई १५ दिनभित्र मनोरञ्जन कर तिर्न भन्दै पत्र पठाएको हो । पत्रमा भनिएको छ, ‘बागमती प्रदेशको प्रदेश आर्थिक ऐनले दोहोरी साझ, डान्सबार, नाइट क्लबलाई मनोरञ्जन कर लाग्ने व्यवस्था गरेको हुँदा बागमति प्रदेशको प्रदेश सालवसाली आर्थिक ऐनमा उल्लेख भएको दररेटमा रहेर बुझाउनुपर्ने मनोरञ्जन कर विवरण सहित कर रकम १५ (पन्ध्र) दिन भित्र राजस्व विभागमा दाखिला गर्नुहुन अनुरोध गरिन्छ ।’

१५ दिनभित्रमा कर नतिरेमा काठमाडौ महानगरपालिका आर्थिक ऐनको दफा २१ बमोजिम कार्वाही हुने समेत महानगरले जनाएको छ ।

कर तिर्न भन्दै पत्रचार गरिएका क्लब तथा डान्सबारहरुमा रिफ्रेस डान्सबार- जे. पी. रोड, नटराज डान्सवार- क्षेत्रपाटी, आर. के. डान्सवार- पकनाजोल, ड्रिङकहोस्टन डान्सबार- फायरचोक, टाकिला डान्सबार नरसिंचोक, नसा डान्सबार संचयकोष चोक , मिड नाईट डान्सबार संचयकोष चोक, चाहाना डान्सवार ज्याथा, क्विन महल डान्सबार नरसिंचोक, बज डान्सबार- नरसिंचोक , ड्रागन डान्सबार- अमृत मार्ग, ठमेल स्टार डान्सबार ठमेल, मुजुरा डान्सवार- ठमेल, रोज डान्सबार भगवती मार्ग, स्काई डान्सबार- भगवती मार्ग, होनि बि डान्स बार- फायरचोक, बियर बार डान्स बार ठमेल, बेबो डान्सबार- नरसिंचोक, अमिर डान्सबार- चाकस्सिवारी मार्ग, धाम छाया रोधि क्लब- नरसिँचोक, टप राजधानी दोहोरी- ठमेल, गुन्यू चोली दोहोरी- गलकोपाखा, डान्सिङ याकवार- ठमेल, अल्फाबिटा बार- गल्कोपाखा, डेला सोल बार- नरसिंचोक, नमस्ते पर बार- नरसिंचोक, साम्स बार, दुनिया बार, टिर्फिने बार, एचटुओ बार, द क्लब हाउस नरसिंचोक, ओमनिया कलव- संचयकोष चोक, भिआईपी क्लब- संचयकोष चोक, ओलो क्लब – नरसिंचोक श्री स्कुटी क्लब- नरसिंचोक, एलओडी क्लब- ठमेल, कारटार क्लब- फायरचोक, , एस क्लब- गाहिटि, कलाईमेट क्लब- ठमेल, पोतला क्लब ठमेल, टेन एक्स क्लब- ठमेल, लाखे क्लब, फूलमुन कलव, सफर क्लब र कराओके रहेका छन् ।


शान्ति मिसनमा लेबनानमा खटिएका एक नेपाली सेनाको मृत्यु

शान्ति मिसनमा लेबनानमा खटिएका एक नेपाली सेनाको मृत्यु


काठमाडौं, १९ माघ । संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यका लागि लेबनानस्थित युनिफिल मिसनमा खटिएका एक नेपाली सैनिकको मृत्यु भएको छ ।

मृत्य हुनेमा पुरानो गोरख गण ६४औँ डफ्फामा कार्यरत सिपाही सुवाश थापा रहेका छन् । उनको माघ १८ गते मृत्यु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

नेपाली सेनाका अनुसार थापा दोलखा निवासी हुन् । थापा उक्त गण मुख्यालयको बङ्करमा स्ट्यान्डबाई ड्युटीमा रहँदा आफैँले बोकेको हतियारबाट गोली लागेर घाइते अवस्थामा फेला परेका थिए ।
गण मुख्यालयमा रहेको युनिफिल लेभल १ अस्पतालमा उपचारका लागि लगिएकोमा उनको त्यहीँ निधन भएको थियो ।

“स्वर्गीय सिपाही सुवाशको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको छ,” सेनाले जनाएको छ ।

हाल उक्त मिसन तैनाथ रहेको लेबननको सीमावर्ती इलाकामा लडाइँ चलिरहेकाले त्यसको मनोवैज्ञानिक असरका अलवा अन्य कुनै कारणबाट उक्त घटना घटेको हो भन्ने बारेमा बुझ्ने कार्य भइरहेको सेनाले जनाएको छ ।

यसअघि संयुक्त राष्ट्रसंघका विभिन्न शान्ति मिसनमा खटिदा ७३ जना नेपाली सेनाको मृत्यु भइसकेको छ ।


९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध कीर्ते र संगठित अपराधमा मुद्दा दायर

९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध कीर्ते र संगठित अपराधमा मुद्दा दायर


काठमाडौं, १८ माघ । त्रिभुवन विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्नविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेको हो । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता समेत रहेका जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालले बिहीबार लिखत कीर्ते र संगठित अपराधमा मुद्दा दर्ता गराएका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले भिजिट भिसा प्रकरणमा संलग्न रहेकामध्ये २२ जनालाई प्रतिवादी बनाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पेस गरेको थियो । 
जिल्ला प्रहरी परिसर काठमाडौंले दिएको रायसहितको प्रतिवेदनमा त्रिभुवन विमानस्थलमा कार्यरत अध्यागमन अधिकृतहरू नरवीर खड्का, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागो तथा पहिले अध्यागमन कार्यालयमा कार्यरत रही हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचना तथा समन्वय शाखामा कार्यरत शाखा अधिकृत तारा बहादुर कुँवरलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न प्रतिवेदन दिएको थियो । 

सेटिङमा भिजिट भिसामार्फत मान्छे पठाएबापत २ लाख रुपैयाँ बुझिसकेको अवस्थामा अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरिएको भए पनि अन्य अध्यागमन अधिकृतहरू भने सबै फरार नै रहेका छन् । नरवीर खड्काकै पोल बयानका आधारमा अन्य अध्यागमन अधिकृतहरूले समेत भिजिट भिसाको सेटिङ गरी कमिसन लिने गरेको पाइएपछि उनीहरुविरुद्ध समेत मुद्दा दायर भएको हो । त्यसबाहेक भिजिट भिसामा सेटिङ गर्ने, नक्कली कागजात तयार पार्ने र आफ्नो नक्कली कागजात तयारी पारी विदेश जान खोज्ने मानिसहरु समेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न लागिएको हो । 

मुद्दा दायर भएका अन्य व्यक्तिहरूमा नक्कली कागजात तयार पार्ने र अध्यागमनमा सेटिङ मिलाउने चितवन खैरहनीकी गीता शाह र काठमाडौँ तीनकुनेका अरुण दाहाल, अध्यागमनमा सेटिङ मिलाउनेहरू मिर्चौया सिरहाका सरोजकुमार यादव, दोरम्बा ७, रामेछापका पदम लामा, पाँचखाल ५, काभ्रेपलाञ्चोकका मनोज तामाङ, चापाकोट नगरपालिका १, स्याङ्जाका रामप्रसाद भण्डारी, सत्यवती ७, गुल्मीका दिनेश ज्ञवाली, वालिङ ५, स्याङ्जाका रविन अर्याल, पथरी शनिश्चरे ७, मोरङका विनोद कार्की, धर्मदेवी नगरपालिका, सङ्खुवासभा स्थायी ठेगाना भई हाल कामनपा ९ सिनामंगलस्थित होटल बाल्टिक ईन होटलका सञ्चालक ४२ वर्षीय आशिष भन्ने केदारबहादुर खड्का, सिमरा १५ बाराका कौशिला मगर, माहात्या दुधकोशी ४, सोलुखुम्बुकी लक्ष्मी राई र कमलामाई ५, सिन्धुलीकी रिता दमाइ रहेका छन् । 

प्रहरीको अनुसन्धानका क्रममा विभिन्न व्यक्तिहरूले संगठित समूह बनाई भिजिट भिसाका नाममा रकम लिएर मानव तस्करी गर्ने गरेको खुलेको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत नरवीर खड्काले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा दिएको भिडियो बयान तथा कागजमा आफूहरूले सामान्यतः दैनिक २० जना र कहिलेकाहीँ १ सयदेखि १५० जनासम्मलाई सेटिङमा पठाउने गरेको बयान दिएका छन् । 
 


रातो मत्स्येन्द्रनाथलाई बुङमतिबाट पाटन सारियो 

रातो मत्स्येन्द्रनाथलाई बुङमतिबाट पाटन सारियो 


काठमाडौं, १७ माघ ।  वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथलाई बुङमतिबाट पाटन लगिएको छ । मत्स्येन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङमति राखिने चलनअनुसार बुधवार दिउँसो तःबहाल लगिएको हो ।
किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा वन्धुदत्त बज्राचार्य तथा ललितपुरका कृषक ललित रथचक्र मिलेर मत्स्येन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको भनाइ छ ।

काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिन्छ । यात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै मानिन्छ । 


अध्यागमन अधिकृत मोक्तानलाई विमानस्थलबाट हटाउन सिफारिस, असईलाई निलम्बन

अध्यागमन अधिकृत मोक्तानलाई विमानस्थलबाट हटाउन सिफारिस, असईलाई निलम्बन


काठमाडौं, १७ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अधिकृतमाथि प्रहरीबाट भएको हातपात घटनाबारे छानबिन गर्न गठित समितले प्रतिवेदन बुझाएको छ । समितिले कुटाइखाने अधिकृतलाई विमानस्थलबाट हटाउन निर्देशन दिएको छ । 

सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले आज गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा प्रहरीबाट कुटाइ खाएका अध्यागमन अधिकृत छाँयालाल मोक्तानलाई विमानस्थलबाट हटाउन सिफारिस गरिएको छ । 

यसैगरी कुटपिटमा संलग्न प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । यही माघ १२ गते मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले गृहमन्त्रालयमा बुझाएको प्रतिवेदनमा एकजना असईलाई निलम्बन गर्न सिफारिस गरेको छ । 

समितिले उक्त कुटपिट प्रकरणमा मुछिएका असईलाई निलम्बन गर्न सिफारिस गर्दा अन्य दुईजनालाई विभागीय कारबाही गर्नुपर्ने जनाएको हो । उक्त चेकजाँच गर्ने ठाउँमा खटिएका ती असई प्रकाश चौधरीले राम्ररी कमान्ड गर्न नसक्दा कुटपिटसम्मको घटना भएको निष्कर्ष समितिले निकालेको छ ।

 घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरू प्रहरीलाई कारबाही माग गर्दै कालोपट्टी बाँधेर आन्दोलित थिए । उता उक्त घटनामा संलग्न प्रहरीहरूलाई अध्यागमनको उक्त चेकजाँच प्वाइन्टबाट पहिले नै अन्यत्र सारिएको छ । तर, कर्मचारीलाई हटाउनुपर्ने समितिको सिफारिस छ । 


कृषि क्षेत्रमा युवाको आकर्षण बढेको छैन: प्रधानमन्त्री 

कृषि क्षेत्रमा युवाको आकर्षण बढेको छैन: प्रधानमन्त्री 


काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालय १२औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिए ।

कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको संख्या बढेकामा खुसी व्यक्त गर्दै उनले विश्वविद्यालयले कृषि र वन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

प्राध्यापक, कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगबिना उत्पादन र उत्पादकत्व लक्ष्यहरू हासिल गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण बढेको छैन भन्नेछ । जुनसुकै उपायहरू अपनाएर भए पनि उनीहरूलाई कृषिमा ल्याउनुपर्छ, उत्पादकत्व बढाउनुपर्छ ।”

उनले भविष्यमा राम्रो शिक्षा, अनुसन्धान र विस्तार प्रणालीमा सहयोगको माध्यमबाट प्रविधि उत्पादनमा प्रभावकारी भूमिका निर्वाह गरेको आफूले देख्न चाहेको बताए । देशको कृषि शिक्षा, अनुसन्धान प्रणाली तथा कृषि र वन विश्वविद्यालयका लागि पनि चुनौतीको विषय भएको बताउँदै उनले भने, “यस विश्वविद्यालयले देशको कृषि र वन विकासमा उत्कृष्ट भूमिका खेल्न सक्छ ।”


पशुपति क्षेत्रमा बनेका अवैधानिक संरचना हटाउन निर्देशन

पशुपति क्षेत्रमा बनेका अवैधानिक संरचना हटाउन निर्देशन


काठमाडौं, १६ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउन निर्देशन दिएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा मन्त्री किरातीले कोषको जग्गामा गैरकानुनी रूपमा सञ्चालन भएका व्यावसायिक संरचना तत्काल हटाउन  निर्देशन दिएका हुन् ।

यसैबीच बोर्डले तत्काल कानुनी प्रक्रिया पुर्याएर अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका घर खाली गराउने निर्णय गरेको छ । कोषको काठमाडौँ महानगरपालिका–८ गाँचा पोखरीस्थित जग्गा तथा वडा नं ३ भगवान स्थानमा बनाइएका घर र अन्य संरचना हटाउने निर्णय गरेको हो । सिफलस्थित लामपोखरीको जग्गामा रहेका संरचना हटाउन कानुनी प्रक्रिया पूरा भएको छ ।