21 Baishak, 2081 / 3 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राजनीति


आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश प्रस्तुत

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश प्रस्तुत


काठमाडौं, २२ माघ । राष्ट्रियसभामा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेस भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त अध्यादेश पेस गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ ४ गते मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका थिए ।

बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आले मगरले ‘राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस गरे ।

यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम मन्त्रिपरिषद्को निर्णयबाट आगामी असार मसान्तसम्म कार्याविधि थप गर्ने गरी जारी भएको आदेश पेस गरे ।

बैठकको प्रारम्भमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् अधिवेशन आह्वान र मन्त्रिपरिषद्का सदस्यको कार्यभार तोकिएकोसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही माघ २४ गते बुधबार बिहान ११ः०१ बजे बस्नेछ ।


प्रतिनिधि सभाको क्यालेन्डर स्वीकृत, सांसदहरूको विद्युतीय हाजिरी गरिने

प्रतिनिधि सभाको क्यालेन्डर स्वीकृत, सांसदहरूको विद्युतीय हाजिरी गरिने


काठमाडौं, २२ माघ । प्रतिनिधि सभाले १५ फागुनसम्मको क्यालेन्डर स्वीकृत गरेको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारदेखि १५ फागुनसम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको क्यालेन्डर स्वीकृत गरेको हो ।

उक्त क्यालेन्डर अनुसार माघ महिनामा २२ र २४ गते बैठक बस्नेछ । त्यसपछि फागुनमा ६ गते, १० गते, ११ गते, १३ गते र १४ गते बैठक बस्नेछ । कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठक बस्ने दिनमा हुने छलफलको विषय पनि सार्वजनिक गरेको छ ।

सभामुख देवराज घिमिरेले संसदको यसै अधिवेशनबाट कार्यतालिका लागू हुने बताए । उनले सांसदहरूको विद्युतीय हाजिरी गरिने र वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने पनि बताए ।

उनले कार्यतालिका लागु हुने भएपछि सांसदहरूलाई सहज हुने बताए । गएको एक वर्षमा एउटा मात्रै विधेयक पारित भएको विषयलाई प्रश्नहरू उठेका छन् । आगामी अधिवेशन ती सबै प्रश्नको समेत जवाफ दिने गरी परिणाममुखी बनाउन अपिल गर्दछु, ‘उनले सांसदहरूलाई भने ।

सभामुख घिमिरेले सांसदहरूको उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी बन्ने पनि बताए । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले धेरै गृहकार्य गरेर संसदीय कार्यतालिका लागू गर्ने अवस्थामा पुगेको बताए ।
 


आयोगद्वारा मतदाता नामावली दर्ताको आह्वान

आयोगद्वारा मतदाता नामावली दर्ताको आह्वान


काठमाडौं, २२ माघ । निर्वाचन आयोगले आगामी उप-निर्वाचनका लागि  मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ।  २०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन तथा २०७९ मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका देहाय बमोजिमका २३ पदहरू रिक्त भएको जनाउँदै आयोगले  उक्त पदहरूमा कानून बमोजिम उपनिर्वाचन मार्फत पदपूर्ति गर्नुपर्ने अवस्था रहेको छ।

उल्लिखित पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न आयोगले नेपाल सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानून बमोजिम उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरेको भन्दै मतदाता नामावलीमा नाम दर्ता गर्न आगोगले आह्वान गरेको हो। 

आयोगले नियमितरुपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरू मार्फत मतदाता नामावली दर्ता गर्ने कार्य गर्दै आएको जनाउँदै नागरिकको सहजताको लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधा समेत उपलब्ध गराएको जानकारी दिएको छ। 

 तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले आग्रह गरेको हो। 


संसद‍्‍को हिउँदे अधिवेशन आजदेखि, पहिलो दिन नै केही विधेयक र अध्यादेश पेस हुने

संसद‍्‍को हिउँदे अधिवेशन आजदेखि, पहिलो दिन नै केही विधेयक र अध्यादेश पेस हुने


काठमाडौं, २२ माघ । संघीय संसद्को हिउँदे अधिवेशन सोमबार सुरु हुँदैछ । संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको पहिलो बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आव्हानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनेछन् । आजको बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्नेको मनोनयनको निर्णय सुनाउनेछन् ।

यस्तै बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको “विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९“ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने उल्लेख छ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्ने र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेस गर्नेछन् ।

संसद् सचिवालयले दुवै बैठकका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको जनाएको छ ।

सचिवालयले यस पटकदेखि कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त बनाउन पाक्षिक रुपमा क्यालेन्डर बनाएर अधिवेशन सञ्चालन गर्ने तयारी गरेको छ । हरेक १५–१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन हुने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।


राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ गते

राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ गते


काठमाडौं, २१ माघ । राष्ट्रिय सभा अध्यक्षको चुनाव आउँदो फागुन २९ गते हुने भएको छ । राष्ट्रिय सभा कार्यव्यवस्था समितिले तयार गरेको सम्भावित कार्यतालिकामा उक्त दिन चुनाव हुने उल्लेख छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको समयावधि सकिएपछि पद रिक्त हुने भएपछि नयाँ अध्यक्ष चयन गर्नुपर्ने अवस्था आएको हो । राष्ट्रिय सभा चुनावमा सत्ता गठबन्धनमा रहेका दलहरूले संयुक्त उम्मेदवार उठाएका थिए । राष्ट्रिय सभा अध्यक्षको चुनावमा पनि गठबन्धन गर्ने सम्भावना छ ।
 


एमाले धादिङको अधिवेशनमा 'धक्कामुक्का', कार्यकर्ताको हात भाँचियो

एमाले धादिङको अधिवेशनमा 'धक्कामुक्का', कार्यकर्ताको हात भाँचियो


काठमाडौं, २१ माघ । नेकपा (एमाले) जिल्ला कमिटी धादिङको नवौँ जिल्ला अधिवेशनमा धक्कामुक्का भएको छ ।  धक्कामुक्काबाट पार्टीका कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ । 

जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति बनेको थियो । त्यसपछि जिल्ला कमिटीका सदस्य र नेताहरुमाथि हुलहुज्जत र धक्कामुक्का भएको जनाइएको छ ।  

एमाले धादिङ  जिल्ला अधिवेशन शुक्रबारदेखि सुरु भएको हो । सोही दिन साँझ बसेको कमिटीको अन्तिम बैठकमा बन्दसत्रमा प्रस्तुत गरिने आवश्यक दस्ताबेज, नीतिगत निर्णयलगायतका विषयमा छलफल भएको थियो ।  हिजो (शनिबार) बन्दसत्रको सुरुआतबाट नै अघिल्लो दिनभन्दा बढी असहज बनेको थियो । 


संसद् अधिवेशन चल्दासम्म सांसदले उपत्यका छाड्न नपाउने, यी हुन् कांग्रेसका निर्णय

संसद् अधिवेशन चल्दासम्म सांसदले उपत्यका छाड्न नपाउने, यी हुन् कांग्रेसका निर्णय


काठमाडौं, १९ माघ ।  नेपाली कांग्रेसले संसद् अधिवेशन चल्दासम्म सांसदहरूले उपत्यका छाड्न नपाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले सांसदहरूलाई अधिवेशन अन्त्य नहुञ्जेलसम्म काठमाण्डु नछाड्न निर्देशन दिएको छ । बैठकले यदि छोड्नै परे प्रमुख सचेत वा सचेतकबाट लिखित स्वीकृत गराएर मात्र जान सकिने निर्णय गरेको छ ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘यदि अत्यावश्यक जानै परे प्रमुख सचेतक वा सचेतकबाट लिखित स्वीकृति गराएरै मात्रै जान पाउने निर्देशन भएको छ ।’

कांग्रेसले संसद् र संसदीय समितिमा सम्बन्धित मन्त्री तथा सांसदको उपस्थिति अनिवार्य बनाएको छ । उनले भने, ‘सभा र समितिको बैठकमा मन्त्रीहरू अनिवार्य उपस्थित रहने, सांसदको कुरा सुन्ने र सरकारलाई सदनप्रति उत्तरदायी बनाउनका निम्ति मन्त्रीहरूले गम्भीरताका साथ उपस्थित हुने निर्णय भएको छ ।’

बैठकले संसदमा प्रस्तुत गर्न बाँकी रहेका विधेयकहरूलाई संसदमा पेश गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । विधेयक पारित गर्न संसद्मा रहेका अन्य राजनीतिक दललाई अपिल गर्ने निर्णय भएको छ ।


आगामी अधिवेशनमा संविधान अनुसारको कानून निर्माणका लागि सरकारलाई दबाब दिन्छौंः रास्वपा

आगामी अधिवेशनमा संविधान अनुसारको कानून निर्माणका लागि सरकारलाई दबाब दिन्छौंः रास्वपा


काठमाडौं, १९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदको आगामी अधिवेशनमा नयाँ संविधान अनुसारको कानून निर्माणमा सरकारलाई दबाब दिने भएको छ । शुक्रवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले संविधानमा व्यवस्था भए अनुसारका मुख्यमुख्य कानून निर्माणमा सरकारले चासो नदिएको निष्कर्ष निकाल्दै त्यसलाई छिटो टुंगोमा पुर्‍याउने गरी सरकारलाई दिबाब दिने निर्णय गरेको हो ।

राज्य सञ्चालनका लागि आवश्यक संविधान बमोजिमको कानून निर्माणमा सरकारलाई दबाब दिनेगरी आफूहरुले आगामी संसदमा काम गर्ने निर्णय गरिएको पनि पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । बैठकमा पार्टी सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले जनतासँग गरिएको बाचा, संविधानमा गरिएको व्यवस्था र नागरिक अधिकार तथा स्थानीय समस्या समाधानका लागि के, कस्ता पहलहरु भए र आगामी अधिवेशनमा त्यसलाई कसरी कसरी अघि बढाउनु हुन्छ भनि सांसदहरुलाई प्रश्न गरेका थिए ।

ती प्रश्नहरुमा केन्द्रित भएर सांसदहरुले आफ्नो कार्ययोजना पनि बैठकमा प्र्रश्तुत गरेको पनि प्रमुख सचेतक परियारले बताए ।
 


सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल


काठमाडौं, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।

ओली र प्रचण्डले आगामी बजेट अधिवेशन र समसामयिक राजनीतिबारे छलफल गरेको प्रचण्डको सचिवालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते अपराह्न ४ बजे संसदको बजेट अधिवेशन आह्वान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि भेटवार्ता गर्दैछन् ।


 


नेपाललाई शैक्षिक ‘हब’ बनाउनुपर्छ: प्रधानमन्त्री 

नेपाललाई शैक्षिक ‘हब’ बनाउनुपर्छ: प्रधानमन्त्री 


काठमाडौं, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाललाई शैक्षिक हब बनाउनुपर्ने बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौं सभालाई सोमबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यसको सम्भावनासमेत रहेको बताएका छन् ।
“नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकांक्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो,” उनले भने ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट समेत विद्यार्थीहरू आउन थालेको र आफूलाई त्यसप्रति खुसी लागेको उनले बताए । “विदेशबाट समेत विद्यार्थीहरू आएको जानकारी पाएँ, निकै खुसी लागेको छ,” उनले भने ।
आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताए ।