News ????
काठमाडौं, १६ वैशाख । उपनिर्वाचन भएका इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना आज सुरु गरिंदैछ ।
इलामको मतगणना आज बिहानदेखि सुरु गर्ने तयारी छ । मतगणना इलाम सदरमुकामको गौतमबुद्ध सभागृह हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।
सर्वदलीय बैठक पछि मतगणना सुरु हुनेछ । सर्वदलीय बैठकले मतगणनाबारे विविध निर्णय गरेपछि मात्र मतगणना सुरु हुनेछ ।
इलाम क्षेत्र नम्बर २ का १ लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार २ सय ८७ मतदाताले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए । मतदान अधिकृत र प्रहरीले गरेको टिपोटको आधारमा इलाम २ मा ६० प्रतिशत मत खसेको विवरण प्राप्त भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए ।
यसैगरी बझाङमा पनि आजदेखि मतगणना सुरु गर्ने तयारी छ । प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार साइपाल गाउँपालिकाका साइपाल, एराङकुरी र दुलीका मतपेटिका आउन बाँकी छ । ती मतपेटिका हेलिकप्टरमार्फत् आज बिहान ८ बजेभित्र ल्याइपुर्याएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने छ । मतगणना जिल्ला अदालतमा हुनेछ ।
बझाङको प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३ सय २८ मतदान भएको थियो ।