22 Baishak, 2081 / 4 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

News


सुनको मूल्यमा पुनः नयाँ रेकर्ड

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड


काठमाडौं, २१ चैत । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। गत सोमबार नयाँ रेकर्ड बनाएर मंगलबार घटेको सुनको मूल्यले, यस दिन सो रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा १ हजार ८०० रुपैयाँ बढी हो। यस अघि गत सोमबार (चैत १९ गते) यस्तो सुनको मूल्य १ लाख ३१ हजार ६०० पुगेर रेकर्ड बनाएको थियो।

यस दिन तेजाबी सुन भने १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँ बढेर हालसम्मकै महँगो भएको छ। मंगलबार तोलाको १ हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन बढेर १ हजार ६१० रुपैयाँ पुगेको छ।


झन्डै एक दर्जन उपसचिवहरुको सरुवा(सूचीसहित)

झन्डै एक दर्जन उपसचिवहरुको सरुवा(सूचीसहित)


काठमाडौं, २१ चैत ।  गृह मन्त्रालयले झन्डै एक दर्जन उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले बुधवार निर्णयानुसार ९ जना उपसचिवहरूको सरुवा गरेको हो । विभिन्न कार्यालयमा पदस्थापन, सरुवा र काजमा खटाइएको मन्त्रालयले जनाएको छ ।

को कहाँ पुगे ?


 


गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा


काठमाडौं, २१ चैत । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखसमक्ष डिल्लीराज भट्टलाई राजीनामा बुझाएका हुन् । सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पाण्डेको सरकार अल्पमतमा परेको थियो ।

संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनपर्ने भएपनि उनले त्यसो नगरी पदबाट राजीनामा दिएका हुन् । विश्वासको मत पाउने अवस्था नरहेपछि राजीनामा दिएको मुख्यमन्त्री पाण्डेले बताए ।

कूल ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २२ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।


संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची 

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची 


काठमाडौं, २१ चैत । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ । 

प्रतिनिधिसभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सभवित कार्यसूची छ । 

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची छ । 

राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने सम्भावित कार्यसूची छ । आजको बैठकमा अध्यक्षले राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७९/८० सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ । 


वैदेशिक रोजगारीः करोडौं रकम ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीः करोडौं रकम ठगी गर्ने तीन जना पक्राउ


काठमाडौं, २१ चैत । वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै छ करोड १९ लाख ३२ हजार ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका–७ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ३७ वर्षीय केदार चौधरी, बाँके कोहलपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ टोखा बस्ने ३२ वर्षीय जीवराज केसी र म्याग्दी गाउँपालिका–१ घर भई हाल कास्की पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ३८ वर्षीय नन्ददेवी पुन रहेका छन्। 

केदार चौधरीले युके पठाइदिने भन्दै ३०र३५ जना व्यक्तिबाट नौ लाखदेखि २० लाखसम्म उठाई भारतका विभिन्न स्थानमा आइआरआइएस एक्सप्रेस कन्सल्टेन्सीमार्फत काम गर्ने भनी अजरबैजानसम्म पुयाई पीडितबाट करिब रु छ करोड लिई फरार भएका थिए।

त्यसैगरी जीवराज केसीले फ्रान्स पठाइदिने भन्दै ११ लाख ६५ हजार ठगी गरेको र नन्ददेवी पुनले युके पठाइदिने भन्दै सात लाख ६७ हजार ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले बताए।


ताइवानमा शक्तिशाली भूकम्प 

ताइवानमा शक्तिशाली भूकम्प 


एजेन्सी । ताइवानमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षणका ताइवानको पूर्वी तटीय ह्वालियन सिटीबाट १८ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु बनाएर ७.४ म्याग्नेच्युडको भूकम्प गएको हो।

यसलाई ताइवानमा २५ वर्षयताकै ठूलो भूकम्प भनिएको छ। अहिलेपनि पराकम्पहरू गइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। सबैभन्दा ठूलो पराकम्प ६.४ म्याग्नेच्युड मापन गरिएको छ। अहिलेसम्म मानिसहरूको मृत्यु भएको रिपोर्ट नआएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। तर घरहरूमा मानिसहरू च्यापिएको हुनसक्ने बताइएको छ। भूकम्पका कारण राजधानी ताइपेइमा समेत विद्युत आपूर्ति अवरूद्ध भएको छ।
 


सरकारका १० सचिवको सरुवा

सरकारका १० सचिवको सरुवा


काठमाडौं, १९ चैत । सरकारका सचिवहरूको व्यापक सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० सचिवको सरुवा गरेको हो ।

सरकारले वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ भने उद्योगका सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।

त्यसैगरी उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा भएका छन् भने मधेस प्रदेशका प्रमुख सचिव दिनेशकुमार घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् । 

त्यसैगरी उद्योगमा रहेका नारायणप्रसाद शर्मा दुवाडी निर्वाचन आयोगमा सरुवा भएका छन् ।

त्यसैगरी बागमती प्रदेश प्रमुख सचिव घनश्याम उपाध्याय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा ऊर्जा मन्त्रालयमा सरुवा भएका छन् । त्यस्तै ऊर्जामा कार्यरत सचिव गोपालप्रसाद सिग्देल भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा भएका छन् ।

त्यसैगरी जल तथा ऊर्जा आयोगको सचिवालयकी सचिव सरिता दवाडीलाई सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ भने सिँचाइका सुशील चन्द्र तिवारीलाई ऊर्जा आयोगमा सारिएको छ ।
 


वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध मुद्दा

वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध मुद्दा


काठमाडौं,१९ चैत । ताहाचलस्थित वैदेशिक रोजगार विभागमा घूसहित पक्राउ गरिएका लेखापाल प्रमोद निरौलाविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको कसुरमा कारबाही मागदाबी गर्दै मुद्दा दायर गरेको हो।

लेखापाल निरौलालाई सेवाग्रहीबाट १५ हजार रुपैयाँ घूस लिएको अवस्थामा अख्तियारको टोलीले गत फागुन २९ गते नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएपछि उनको कार्यकक्षबाट स्रोत नखुलेको ७१ हजार ६ सय २० रुपैयाँ पनि बरामद गरिएको अख्तियारले जनाएको थियो ।

धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घूस÷रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टंगालबाट खटिई गएको टोलीले लेखापाल निरौलालाई नियन्त्रणमा लिएको थियो ।


 सरकारद्वारा सचिवहरूको व्यापक हेरफेर

 सरकारद्वारा सचिवहरूको व्यापक हेरफेर


काठमाडौं,१९ चैत ।  सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र मन्त्रालयका सचिवहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको छ । गत बिहीबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरे पनि सोमबार सम्बन्धित सचिवहरूलाई पत्र दिइएको छ ।

सरकारले ऊर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव कृष्णबहादुर राउतलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योग सचिवको जिम्मेवारीमा सरुवा गरिएको छ ।

उद्योग सचिव मुकुन्द निरौलालाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ भने उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मालाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ ।
 


बाग्मती प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

बाग्मती प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत


काठमाडौं,१९ चैत । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेका हुन् । मत विभाजनका क्रममा उनको प्रस्तावको पक्षमा ५६ मत खसेको छ भने विपक्षमा ३७ मत खसेको छ । सभाका १५ जना सांसद तटस्थ रहेका थिए । ११० सदस्यीय प्रदेश सभामा आज मतदानका क्रममा १०८ सांसद उपस्थित थिए । बहुमतका लागि ५६ जना सांसदको समर्थन चाहिनेमा मुख्यमन्त्री जम्कट्टेलले बहुमत समर्थन पाएका छन् ।

उनलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी (हानेपा) ले विश्वासको मत दिएका छन् । २०७९ पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका माओवादी संसदीय दलका नेता जम्कट्टेलले यसअघि २०७९ माघ ३ गते पहिलोपटक र २०७९ चैत १० गते दोस्रोपटक विश्वासको मत पाएका थिए ।