21 Baishak, 2081 / 3 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

News


१५ हजार घुससहित वडाध्यक्ष पक्राउ

१५ हजार घुससहित वडाध्यक्ष पक्राउ


काठमाडौं, १८ चैत । कपिलवस्तुमा एक जना वडाध्यक्षलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ गरेको छ । स्थानीयको काम मिलाइदिन घुस लिन लागेको अवस्थामा अख्तियारको टोलीले महाराजगन्ज नगरपालिका-२ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई नियन्त्रणमा लिएको हो ।

घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले कार्यालयबाट नै उनलाई नियन्त्रणमा लिएको हो । अख्तियार बुटवल सूचना अधिकारी एवं उपसचिव ईश्वरीप्रसाद आचार्यले १५ हजार नगदसहित नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।
 


बढ्यो पेट्रोलियम पदार्थको मूल्य 

बढ्यो पेट्रोलियम पदार्थको मूल्य 


काठमाडौं, १८ चैत । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढेको छ । अब काठमाडौं उपत्यकामा उपभोक्ताले प्रतिलिटर पेट्रोल अब १ सय ७५ तिर्नु पर्ने छ । यसअघि १ सय ७१ रुपैयाँमा कारोबार भइरहेको थियो ।
नेपाल आयल निगमले आइतबार राती १२ बजेदेखि लागु हुने गरी मुल्य बढाएको हो । भारतबाट मूल्य बढेर आएकाले बढाउनु परेको निगमले जनाएको छ । डिजेल/मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


 


नक्कली बिल र स्टिकरको अनुगमन गरी एक्सन लिन प्रधानमन्त्रीको निर्देशन

नक्कली बिल र स्टिकरको अनुगमन गरी एक्सन लिन प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, १८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।

आइतबार दिउँसो सिंहदरबारमा आयोजित राजस्व वृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूलाई प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानमन्त्रीले भने, 'राजस्व चुहावट र अवैध व्यापारिक कारोबारमा हुने सेटिङ भत्काउने कार्यलाई प्राथमिकता दिनुहोस् । झुटा तथा नक्कली बिल विजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ । त्यसको गम्भीर अनुगमन गर्नुस् र एक्सन लिनुस् ।’

प्रधानमन्त्रीले नयाँ गतिका साथ काम गर्ने अठोट लिएर सरकार पुनर्गठन गरिएको बताउँदै सोहीअनुरूप क्रियाशील हुन निर्देशन दिए ।

उनले भने, ‘सरकारले नयाँ गतिका साथ काम गर्ने अठोट लिएको छ । मुलुक समृद्विको बाधकका रूपमा रहेका भ्रष्टाचार, तस्करी र राजस्व छलीलाई निर्ममतापूर्वक हटाउनै पर्छ । जनतामा पैदा गरिएको निराशालाई चिर्नुपर्दछ । यसका लागि विगतका परम्परागत प्रशासनिक कार्यशैली, व्यवहार र चिन्तनबाट सम्भव छैन । नयाँ सोचसहित अगाडि बढौँ ।’

आन्तरिक बजारलाई व्यवस्थित तुल्याउँदै बिल लिने दिने प्रणाली प्रभावकारी बनाउनसमेत प्रधानमन्त्रीले निर्देशन दिए । प्रधानमन्त्री प्रचण्डले भने, ‘आन्तरिक बजारमा बिल लिने दिने प्रणाली प्रभावकारी भएको छैन । कारोबारलाई आवश्यकताअनुसार प्रविधिमा रूपान्तरण गर्न सकिएको छैन । यस सम्बन्धमा सम्बन्धित राजस्व कार्यालयहरूले नियमित बजार अनुगमन गर्ने र सोको रिपोर्टिङ गर्ने व्यवस्था मिलाउनुहोस् । कर प्रशासनका सबै कार्यलाई पूर्ण प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिनुहोस् ।’ 

बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव डा. कृष्णहरि पुस्कर, राजस्व सचिव डा. रामप्रसाद घिमिरे, गृहसचिव एकनारायण अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू, प्रहरी महानिरीक्षक वसन्त कुंवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अर्थ मन्त्रालय मातहतका महानिर्देशकहरूको उपस्थिति थियो ।
 


मेडिकल व्यवसायी पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मेडिकल व्यवसायी पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं, १८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले उनिहरुविरुद्ध मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरुविरुद्ध दुई करोड ८९ लाख रुपैयाँ विगो मागदाबी गरेको छ ।


मुद्दा दायर हुनेमा हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, लेखा अधिकृत डण्डसिंह बिक, खोप अधिकृत उदेश श्रेष्ठ, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, हस्पिटेक इन्टरनेशनल र बजार व्यवस्थापक लक्ष्मी आचार्य रहेका छन् ।

कोशी प्रादेशिक अस्पतालमा कोरोना महामारीका बेलामा स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार भएको भनी मुद्दा दायर गरिएको जनाइएको छ ।
 


त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

त्रिशूली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु


काठमाडौं, १७ चैत । काठमाडौंबाट गोरखाको लागि छुटेको ट्याक्सी आज बिहान त्रिशूली नदीमा खस्दा पाँच जनाको ज्यान गएको छ ।  ज्यान गुमाउनेमा ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, त्यहीँ ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, नौ वर्षका बालक आगमन नगरकोटी रहेका छन् । दुर्घटनामा १८ वर्षका दिवस रोकाय बेपत्ता भएका छन् । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख भावेश रिमालका अनुसार काठमाण्डौको पशुपति आर्यघाटमा आफन्तको दाहसंस्कार सकेर गोरखा फर्किदै गर्दा ट्याक्सी दुर्घटना भएको हो । गोरखा फर्किदै गरेका तीनवटा गाडीमध्ये अरु दुईवटा गाडी मुग्लिन पुगेपछि ट्याक्सीलाई कुर्दा नआएपछि प्रहरीमा खबर पुगेको थियो ।

खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा खसेको भेटिएको रिमालले जानकारी दिए । बिहान सवा सात बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–५ पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको ट्याक्सी दुर्घटना भएको हो । 
 


वैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देश पठाईदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ


काठमाडौं, १६ चैत । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका-९ घर भई काठमाडौं टोखा नगरपालिका-१५ बस्ने ३५ वर्षीय रूपेश कुमार ठाकुर, सर्लाही वरहथवा नगरपालिका-३ घर भई काठमाडौं टोखा बस्ने ३० वर्षीय कृष्ण बहादुर राई, बाजुरा हिमाली गाउँपालिका-६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३५ वर्षीय पर्वराज पाण्डे र ललितपुर महानगरपालिका-१० चापागाउँ बस्ने ४६ वर्षीय जिवन तामाङ रहेका छन् । 

पक्राउमध्ये रूपेश कुमार र कृष्ण बहादुरले क्यानडा, पोल्याण्ड, माल्टा र क्रोएसिया पठाईदिन्छु भन्दै २२ जना पीडितहरूबाट ८० लाख रूपैयाँ ठगी गरेको, पर्वराजले जापान पठाईदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ ठगी गरेको र जिवनले न्यूजिल्याण्ड पठाईदिन्छु भन्दै १ लाख ६० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रूपेश कुमार र कृष्ण बहादुरलाई काठमाडौं स्वयम्भूबाट तथा पर्वराज र जिवनलाई  काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

 
 


अस्पतालमा श्रमिक लक्षित बेडको व्यवस्थापन गर्न श्रम मन्त्रालयको आग्रह

अस्पतालमा श्रमिक लक्षित बेडको व्यवस्थापन गर्न श्रम मन्त्रालयको आग्रह


काठमाडौं, १६ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक समर्पित बेडको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको छ । श्रम मन्त्रालयले आन्तरिक तथा बाह्य रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालहरूमा निश्चित बेड तोक्ने व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो ।
श्रमिकहरूमा स्वास्थ्य सम्बन्धी चेतनाको अभाव छ । फलस्वरुप श्रमिकहरू गम्भीर प्रकृतिका स्वास्थ्य समस्याबाट गुज्रिन रहेका छन् । त्यस्तै दुर्घटनाका कारण पनि श्रमिकहरू स्वास्थ्य सङ्कटमा परेका छन् । तसर्थ श्रमिकको शीघ्र स्वास्थ्य उपचारका लागि श्रमिक समर्पित बडको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको श्रममन्त्री डोलप्रसाद आर्यलले बताए ।

मन्त्रालयले विशेष गरी औद्योगिक कोरिडोर, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्राम भएका क्षेत्रहरूमा स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको  अस्पतालमा, स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश अस्पतालहरूमा श्रमिक समर्पित बेडको व्यवस्था गर्न आग्रह गरिएको हो । अस्पतालको बेड क्षमताका आधारमा निश्चित सङ्ख्यामा बेडहरू छुट्याई दिन मन्त्रालयले आग्रह गरेको हो ।

त्यस्तै, मन्त्रालय अन्तर्गतका प्रतिष्ठान र अस्पतालहरूमा श्रमिक हेल्प डेस्क समेत राख्न आग्रह गरिएको छ । श्रमिकहरूलाई प्राथमिकता दिई स्वास्थ्य सुविधा उपलब्ध गराउन तथा विदेशबाट रोग लागी उपचार गर्न फर्किएका श्रमिकहरूलाई उपचार लगायतका विषयहरूमा सूचना एवं परामर्श दिनका लागि सहयोग कक्ष राख्न आग्रह गरिएको हो । अस्पतालमा उपयुक्त जनशक्ति सहितको एक स्वास्थ्य परामर्श इकाई स्थापना गर्न समेत आग्रह गरिएको छ ।
 


दिनदिनै रेकर्ड तोड्दै सुनको भाउ

दिनदिनै रेकर्ड तोड्दै सुनको भाउ



काठमाडौं, १६ चैत । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार मूल्य बढेर छापावाल सुन १ लाख ३० हजार रुपैयाँ प्रतितोला पुगेको छ। यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा नयाँ रेकर्ड थियो।

बुधबार छापावाल सुनको कारोबार १ लाख २६ हजार ८ सय रुपैयाँ प्रतितोलाका दरले भएको थियो। यसअघि चैत ८ गते सुनको मूल्य १ लाख २७ हजार ८ सय रुपैयाँको उचाइमा पुगेको थियो। तेजावी सुनको मूल्य छापावालको तुलनामा प्रतितोला ६ सय रुपैयाँले कम रहँदै आएको छ। शुक्रबारका लागि तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ निर्धारण छ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य शुक्रबारका लागि १ ह जार ५२५ रुपैयाँ प्रतितोला कायम गरिएको छ। यसअघि बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ५१० रुपैयाँ रहेको थियो।


दुर्गा प्रसाईंको हतियार राख्ने अनुमति बारे छानबिन गर्न समिति गठन

दुर्गा प्रसाईंको हतियार राख्ने अनुमति बारे छानबिन गर्न समिति गठन


काठमाडौं, १६ चैत ।  गृह मन्त्रालयले दुर्गा प्रसाईंले पाएको हतियारको बारेमा पाएको इजाजत बारे छानबिन चार सदस्यीय छानबिन समिति गठन गरेको छ।

गत चैत ५ गते सर्वोच्च अदालत परिसरमा हतियारसहित (जिल्ला प्रशासन कार्यालय, झापाबाट मिति २०७५ असार २१ मा दुर्गाप्रसाद प्रसाईको नाममा जारी भएको इजाजतपत्र 22 बोर  A354752) प्रवेश गर्न खोजेका दुईजना व्यक्ति पक्राउ परेका थिए।

सो सम्बन्धमा सर्वोच्च अदालतले  कानून विपरित इजाजतपत्र जारी भन्दै सो इजाजतपत्र के कसरी नवीकरण भएको हो भन्ने सम्बन्धमा आवश्यक छानविन गर्न  आदेश दिएको थियो । यस्तै इजाजत प अदालत, न्यायिक निकाय वा अन्य संवेदनशील क्षेत्रमा कुनै पनि हतियार लिई प्रवेश गर्न नपाउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न आदेश जारी भएको थियो।

सो सम्बन्धमा छानबिन गर्न मन्त्रालयले छानबिन समिति गठन गरेको हो।   सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि कार्य प्रारम्भ गरेको मितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो।

समितिमा गृहमन्त्रालयको कानून शाखामा कार्यरत उपसचिव ऋषि पौडेल, नेपाल प्रहरीका उपरीक्षक सन्तोष भट्टराई सदस्य छन्। यस्तै सदस्य सचिवमा गृहकै उपसचिव एकदेव अधिकारी रहेको गृह प्रशासनले जनाएको छ। 


कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छः देउवा

कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छः देउवा


काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  कांग्रेसले  संसदमा सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिका निभाउने बताएका छन्। नेपालगन्ज विमानस्थलमा आज स्वागतका लागि पुगेका अगुवा नेता कार्यकर्तालाई सभापति देउवाले का‌ग्रेसले जनताका मुद्दालाई केन्द्रमा राखेर काम गर्ने बताए। उनले संसदमा सशक्त र रचनात्मक प्रतिपक्षीको भूमिका निभाउने स्पष्ट पारे।

उनले पार्टी सङ्गठन मजबुत बनाउन गाउँ-गाउँमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिए। सभापति देउवाले सङ्गठन निर्माण, विस्तार र सुदृढीकरणमा लाग्न निर्देशन दिए।  उनले काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई जनअपेक्षा अनुरुप काम गर्न आग्रह गर्दै सुशासन र समृद्धि हासिल गर्ने दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिए।

सभापति देउवा नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको दाङ अमिलिया चोकस्थित पूर्ण कदको शालिक अनावरणका लागि नेपालगन्ज पुगेका हुन्।