20 Baishak, 2081 / 2 May , 2024
काठमाडौं, २२ फागुन । रसियन सेनामा भर्ती गराइदिन्छु भन्दै नक्कली कागजात तयार पारेर भिजिट भिसामा रुस पठाउने एक जना महिला पक्राउ परेकी छन्। नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लमजुङ दूधपोखरी–१ घरभई हाल काठमाडौं टोखा बस्ने बिनिता गुरुङलाई पक्राउ गरेको हो।
गुरुङले एसएलसी फेल भएका भिमबहादुर बुढाको नक्कली कागजात तयार पारेर भिजिट भिसामा रुस पठाएको प्रहरीले जनाएको छ। गुरुङले बुढालाई रुसी सेनामा भर्ती गराइदिने आश्वासन दिएर रुस पठाएको पाइएको प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताए।
रुस जान ६ लाख ५० हजार लाग्ने भन्दै बुढाबाट गुरुङले पटक–पटक गरी ३ लाख ४६ हजार रकम बुझेको पाइएको छ। रुस पुगेपछि त्यहाँको एयरपोर्टमा बुढाको कागजात नक्कली भन्दै फिर्ता पठाइएपछि यो कुराको खुलासा भएको हो। गुरुङलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।