15 Baishak, 2081 / 27 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विचार/अन्तरवार्ता


निषेधाज्ञा खुलेपछि के गर्ने, के नगर्ने ? यस्तो छ जनस्वास्थ्य विज्ञ डा. पाण्डेको सुझाव

निषेधाज्ञा खुलेपछि के गर्ने, के नगर्ने ? यस्तो छ जनस्वास्थ्य विज्ञ डा. पाण्डेको सुझाव


काठमाडौं, २४ भदौ ।  काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा बिहीबारदेखि खुकुलो बनाइएको छ । लकडाउन खुकुलो भएपछि कोरोना भाइरस संक्रमणको जोखिम झन् बढ्ने हो कि भनेर कतिपय भने चिन्तित छन् । 
काठमाडौं उपत्याकामा बिहीबारदेखि लागु हुने गरि निषेधाज्ञा खुकुलो बनाउने निर्णय आम जनताको पक्षमा भएको डा. रवीन्द्र पाण्डे बताउँछन् ।  उनले भने, ुहामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर होइन । आम जनतालाई आर्थिक, सामाजिक तथा मनोबैज्ञानिक भार परेको कारण निषेधाज्ञा खुकुलो भएको हो । सरकारले बल हाम्रो हातमा दिएको छ ।'

निषेधाज्ञा खुलेपछि सुरक्षित भएर काम गरौँ'
सरकारले काठमाडौं उपत्याकामा भोलिदेखि लागु हुने गरि निषेधाज्ञा खुकुलो बनाएको छ | यो निर्णय आम जनताको पक्षमा छ | हामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर होइन | आम जनतालाई आर्थिक, सामाजिक तथा मनोबैज्ञानिक भार परेको कारण निषेधाज्ञा खुकुलो भएको हो |
सरकारले बल हाम्रो हातमा दिएको छ |
अब हामी सबैले निम्न कार्यहरु अबलम्बन गरौँ :
- बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिहरु घरभित्र बस्ने | सकभर घरभित्र पनि छुट्टै कोठामा बस्ने | काम गर्न बाहिर जाने व्यक्तिसंग दुरी कायम गर्ने | कुरा गर्दा मास्क लगाउने |
- मर्निंग वाक वा इभिनिंग वाक घरमै गर्ने |
- खुल्यो भनेर बिनाकाम घरबाहिर नजाने | घरबाहिर जति छोंटो समय बितायो त्यति धेरै सुरक्षित हुने सम्भावना धेरै हुन्छ |
- घरबाहिर निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने | सम्भव भएसम्म २ मिटरको दुरी कायम गर्ने | भीडभाडमा नजाने, भीडभाड नगर्ने ।
- सार्वजनिक यातायात प्रयोग गर्दा मास्क तथा पंजा लगाउने | स्यानिटाइजरले हात सफा गरिरहने | बिशेष सतर्क हुने |
- हरेक पसलले व्यक्तिगत दुरी कायम हुनेगरि काउन्टरको ब्यबस्थापन गर्ने | मास्क नलगाएका ग्राहकलाई मास्क दिने | सबैको लागि ठूलो स्यानिटाइजर राख्ने | झ्यालढोका खोलेर भेन्टिलेसनको प्रत्याभूति गर्ने |
- सकभर हरेक पसलमा परल मुल्यमा सस्तो मास्क तथा स्यानिटाइजर बिक्रीवितरण गर्न राख्ने |
- ग्राहक ब्यबस्थापन कुशल ढंगले गर्ने | भीडभाड नगराउने |
- पसल र हरेक सामान संक्रमणरहित बनाउने |
- चियापसल, कफीसप तथा पसलमा साथीहरु संगै बस्ने, गफ गर्ने, चुरोट खाने, सुर्ती मोलेर बाँड्ने, थुक्ने जस्ता काम नगर्ने |
- कुन व्यक्ति संक्रमित छ, कुन व्यक्ति छैन भन्ने अनुहार, सम्बन्ध, शिक्षा, पद आदि हेरेर थाहा हुँदैन | हरेक व्यक्तिसंग सुरक्षित ब्यबहार गर्ने |
- सामान किन्दा धेरै छान्ने काम नगर्ने | किनमेलको लिस्ट घरमै बनाएर जाने | पसलहरुमा एकदम छोंटो समय बिताउने | जति लामो समय पसलभित्र वा बसभित्र बस्यौं, त्यति नै जोखिम हुन्छ |
- सकभर तरकारी बजारबाट तरकारी नकिन्ने | घर नजिकको पसलबाट किन्ने | बसेर छान्ने, छाम्ने काम नगर्ने |
- डिपार्टमेन्टल स्टोर तथा सपिंग मलमा पर्याप्त भेन्टिलेसन हुँदैन | तसर्थ आफुले बनाएको लिस्ट अनुसार फटाफट किनेर बाहिरिने | लामो समय नबिताउने |
- भोको, मास्क किन्न नसकेको तथा समस्यामा परेका व्यक्तिलाई सक्दो सहयोग गरेर पुन्य कमाउने | कमाउने कुरा पैसासंग मात्र जोडिएको हुँदैन | पुण्यभन्दा ठूलो कमाइ अरु केहि हुँदैन |
- बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, बिद्युत आदि जनसम्पर्कका कार्यालयले हरेक बैंकका हरेक शाखाबाट भुक्तानी गर्न मिल्ने ब्यबस्था मिलाउने | क्यासलेस लेनदेनलाई प्रेरित गर्ने | टाइम कार्ड लागु गरेर भीड नियन्त्रण गर्ने | फाइललाई डिजिटल बनाउने |
- रुघाखोकी, ज्वरो वा अन्य स्वास्थ्य समस्या भए घरमै आराम गर्ने | बिरामी हुँदा आफुले अरुलाई सार्ने मात्र होइन अरुको संक्रमण आफुलाई छिटो सर्ने खतरा पनि हुन्छ |
- सकभर पानी, खाजा घरबाट लिएर जाने वा सफा र झ्यालहरु धेरै भएको रेस्टुरेन्टमा सुरक्षित रुपमा खाने |
- आफ्नो पसल जति धेरै सफा गरिन्छ, जति धेरै मापदण्ड पुर्याएर संचालन गरिन्छ तथा जति धेरै आफ्ना कामदारलाई सफा बनाइन्छ, त्यति धेरै चल्छ | यो सुत्र सबैले अपनाउने |
- कामबाट घरमा आएपछि मास्क, चस्मा, झोला, बाहिरी कपडा आदिलाई छुट्टै ठाउँमा राख्ने, नुहाउने अनि मात्र परिवारसंग घुलमिल हुने |
- ग्राहकलाई सुरक्षित बनाउनु हरेक व्यवसायीको दायित्व हो |
- हामी सबैले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने संक्रमण घट्दै जान्छ | संक्रमण घटेपछि लकडाउन वा निषेधाज्ञा हुँदैन | हामी पनि सुरक्षित हुन्छौं |

डा.पाण्डेको फेसबुकबाट साभार


'निषेधाज्ञाको अवधिमा सरकारले यी काम गरोस् '

'निषेधाज्ञाको अवधिमा सरकारले यी काम गरोस् '


- डा. रवीन्द्र पाण्डे-

बुधबार राति १२ बजेदेखि उपत्याकाका जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा लागु गरेकाे छ । काठमाडौं उपत्याका बाहेक देशका धेरै ठाउँमा पनि निषेधाज्ञा लागु भएको छ, हुँदैछ । निषेधाज्ञा भनेको कर्फ्यु नै हो ।

संक्रमित थोरै हुँदा लकडाउन खुकुलो हुनुलाई स्वाभाविक मानिए पनि संक्रमण बढिरहेको समयमा गरिने निषेधाज्ञा फितलो नहोस् । जे गर्ने हो त्यो १०० प्रतिशत गर्नुपर्छ । जे नगर्ने हो त्यो १०० प्रतिशत क्लियर गर्नुपर्छ । यसले आम जनतामा दोधार उत्पन्न हुँदैन ।

निषेधाज्ञाको लागु तथा अनुगमन ठूला सडकमा एवम् बजारमा मात्र गरियो भने कोरोना संक्रमण नियन्त्रणमा त्यसको कुनै प्रभावकारीता हुँदैन । तसर्थ, सडकलाई ट्राफिक प्रहरीको जिम्मा तथा भित्रि बस्ती र गल्लीलाई मुख्य सुरक्षाकर्मीको जिम्मामा गस्ती गर्नु पर्दछ ।

जहाँ जनघनत्व हुन्छ, ती ठाउँमा अनुगमन तथा निगरानी हुनुपर्दछ । भित्री बस्ती, गल्ली, तरकारी बजार, भित्रि चोक, चिया पसल लगायतका ठाउँमा अनुगमन गर्ने हो भने निषेधाज्ञा प्रभावकारी हुन्छ ।
त्यस्तै नाकामा सेनाको गस्ती नगर्ने हो भने यो ३ हप्तामा संक्रमण किन बढ्यो ? त्यो कारण यथावत रहनेछ । सरकारले जति दिन जे गर्ने हो त्यो पुरै गरोस् । उदेश्यमुलक र परिणाममुखी होस् ।

यो अवधिमा सरकारले कम्तिमा यी काम गरोस् -
१. स्थानीय निकायका वडालाई परिचालन गरेर होम आइसोलेसनमा बस्न सक्ने कति परिवार छन् ? ( घर र फ्ल्याटको आधारमा) कति परिवार आइसोलेसन केन्द्रमा बस्नुपर्ने हुनसक्छ ? ( एउटा वा दुइवटा कोठामा बस्ने परिवारसंख्याको आधारमा ) तथा त्यो वडाभित्र आइसोलेसन केन्द्र कुन कुन ठाउँमा बनाउन सकिन्छ ? यो तथ्यांक लिने काम गरोस् ।
२. संक्रमण ब्यापक फैलियो भने काठमाडौं उपत्यकाका कुन-कुन भवन, होटेल आदिलाई आइसोलेसन केन्द्र बनाउन सकिन्छ ? त्यसको तथ्यांक र तयारी गरोस् ।
३. कुन कुन अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल बनाउन सकिन्छ ? आइसीयु संख्या कहाँ कति बेड थप्न सकिन्छ ? अक्सिजन प्लान्ट देशभरका कुन कुन अस्पतालमा स्थापना गर्न सकिन्छ ? त्यसको तयारी गरोस् | कोभिड १९ मा गम्भीर संक्रमितको अक्सिजनको मात्रा निकै घट्ने भएकोले अक्सिजन प्लान्टको स्थापना तथा लिक्युइड अक्सिजनको स्टक राख्नु आवश्यक छ | हामीकहाँ भेन्टिलेटरमा पुगेको व्यक्ति फर्किने सम्भावना कम हुने भएकोले अक्सिजन प्लान्ट नै सर्बोत्तम बिकल्प हो ।
४. आइसीयु संचालन गर्ने तथा भेन्टिलेटर अपरेट गर्ने जनशक्ति कम भएकोले चिकित्सक तथा नर्सहरुलाई तालिम दिने |
५. स्वास्थ्य संस्थामा सुरक्षित प्रसव, बालबालिकालाई खोप, दीर्घबिरामीलाई नियमित सेवा तथा अन्य आकस्मिक उपचारको लागि नन कोभिड अस्पताल तोक्ने |
६. कोभिड १९ को उपचारमा निजि अस्पतालले बिरामीसंग धेरै पैसा असुलेको समाचार आइरहेका छन् | कोभिड १९ उपचार ब्यापार नहोस् भन्नको लागि उपचारको शुल्क सरकारको अधिनमा राख्ने | पैसा तिर्न नसक्ने आम नागरिकलाई सरकारले निशुल्क उपचारको प्रबन्ध गर्ने |
७. हरेक स्वास्थ्य संस्थामा मनोपरामर्श सेवाको ब्यवस्था गर्ने |
८. बिदेशमा भिसा सकिएका, बेरोजगार भएका तथा दीर्घबिरामी नेपालीलाई यहि अबधिमा नेपाल ल्याएर उनीहरुलाई आइसोलेसन केन्द्रमा राख्ने ब्यबस्था गर्ने | आफ्ना नागरिकको पीडामा सरकार जिम्मेवार हुनुपर्दछ |
९. भारतबाट नेपाल आउने नेपालीलाई राख्ने होल्डिंग सेन्टरको ब्यबस्था गर्ने |
१०. भारतसंगका सिमाना १०० प्रतिशत शिल गर्ने | अन्तरप्रदेश तथा अन्तर जिल्ला सिमानामा बिरामी बाहेक अन्य व्यक्तिलाई कडाइ गर्ने |
११. संक्रमितको उपचार सम्बन्धित जिल्लामै गर्ने योजना अनुरुप जिल्लामा रहेका अस्पतालको क्षमता वृद्धि गर्ने | संक्रमण उच्च भएका जिल्लाहरुमा संक्रमण कम भएका वा प्रशाशनिक काम गरिरहेका चिकित्सकलाई खटाउने |
१२. कोभिड १९ नियन्त्रणमा अन्य देशमा जस्तै गृह मन्त्रालयको भूमिका बढाउने |
१३. लकडाउन वा निषेधको अबधिमा न्यून आय भएका नागरिकलाई पुग्दो राहत दिने |
१४. माइक्रोबसलाई एम्बुलेन्सको रुपमा बिकास गरेर एम्बुलेन्स सेवामा आम नागरिकको पहुँच बढाउने |
१५. जनस्वास्थ्य चेतनाको एकरुपता तथा आधिकारिकताको लागि सिसिएम्सी अन्तर्गत बिज्ञ समुह गठन गरेर काम सुरु गर्ने |
१६. पिसिआर परीक्षण जसरी / जति सकिन्छ, अधिकतम गर्ने |
हामी आम नागरिक पनि संक्रमण हुनबाट बच्नको लागि सतर्क, सजग र जिम्मेवार हुनु जरुरी छ | केहि समय कष्ट सहेर भएपनि जीवन रक्षाको लागि सरकारको निर्देशन पालना गर्नु हाम्रो दायित्व हो | सरकार र नागरिकको एकताबाट नै हामीले यो युद्धलाई जित्न सक्नेछौं ।

(डा.पाण्डे जनस्वास्थ्य विज्ञ हुन् ।)

 


कांग्रेसको १४ औं महाधिवेशनले सक्षम नेतृत्व चयन गर्नेछ : सांसद डा.कार्की

कांग्रेसको १४ औं महाधिवेशनले सक्षम नेतृत्व चयन गर्नेछ : सांसद डा.कार्की


यतिबेला विश्वभर कोरोना महामारीले सन्त्रास फैलिएको छ । नेपालमा पनि कोरोना भाइरसबाट २३ हजार बढी संक्रमित भइसकेका छन् । यहि बीचमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । पार्टीको १४ औं महाधिवेशन फागुनमै गर्नेगरी तल्लो तह को कार्यतालिका कांग्रेसले परिमाजर्न गरेको छ ।

यसैबीच कोभिड–१९ को सन्दर्भ र नेपाली कांग्रेसको आगामी महाधिवेशनको तयारी के कस्तो भइरहेको छ भनेर न्यूज आजको लागि दिनेश लोहनीले नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सांसद डा.राजाराम कार्कीसँग कुराकानी गरेका छन् ।

चिकित्सक पनि हुनुहुन्छ, अनि सांसद पनि निकै व्यस्त हुनहुन्छ है ?

हजुर यस्तो सकंट अवस्था छ । व्यस्त नै भनौँ । 

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) लाई कसरी हेर्नुभएको छ ?

यो नेपालका लागि मात्र नभई विश्वकै लागि ठूलो समस्याको रुपमा रहेको छ । कुनै पनि ठाउँमा यसले त्रास सिर्जना गरेको छ । हालसम्म यसबाट २ करोड बढी मानिसहरु संक्रमित भइसकेका छन् भने सात मानिस कोरोनाकै कारण मृत्यु भएकाे छ ।
यो एउटा ठूलो समस्या हो । यो एउटा भाइरस डिजीज हो । यसको लागि हालसम्म न कुनै भ्याक्सिन पत्ता लागेको छ, न कुनै औषधि ? यसबाट बच्ने उपाय भनेकै सामाजिक दुरी कायम गर्ने, एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न नदिने, मोस्ट अफ ट्रान्समिसन हुन नदिने, कुनै पनि मानिसले खोक्दा हाछ्यु गर्दा उसबाट किटाणुहरु आइरहेका हुन्छ्न् । ती किटाणुहरु केहि घण्टासम्म जिवित रहन्छन् । त्यसबाट पनि कोरोनाको जोखिम हुन सक्छ ।  त्यसबाट जोगिन उपाय भनेकै माक्स र सामाजिक दुरी कायम राख्ने र सतर्क हुने हो । 
अब आशा गरौं छिट्टै भ्याक्सिन तयार होस् । कुनैपनि ठूलो समस्या आउँदा त्यसको साथमा अवसर पनि आउँछ । त्यो अवसर भन्नाले यो समस्यासँग जुध्नको लागि विश्वभरको वैज्ञानिकहरुले विभिन्न खोज, अनुसन्धान, र अध्ययन गरेर आफुलाई प्रमाणित गर्ने अवसर प्राप्त गरेका छन् । यसको औषधि पत्ता लगाउने अवसर र चुनौती दुवै विश्वसामु छ । 
यसको औषधि र भ्याक्सिन चाडै पत्ता लाग्ने कुरामा म आशावादि छु । 

विश्व महामारीको समयमा पनि नेपाल सरकारको भूमिकालाई लिएर सर्वत्र आलोचना भइरहेको छ । यसलाई तपाईको पार्टीले कसरी हेरेकाे छ ? 

सरकारको काम कारबाहीमा चित्त बुझेको छ भन्न पनि मिल्दैन । चित्त बुजेको छैन भन्न पनि मिल्दैन । शुरुमा सरकार चुकेपनि हाल आएर केहि हदसम्म सरकारले केहि काम गरेको छ भनेर भन्न पर्‍याे । तर समस्या यस्तो छ कि यस्तो बेलामा पनि सरकारले मेडिकल सामानमा अनियमितता गरेको कुरा एकदम दुखदायी  भएको छ । सरकार यति बेला ‘सेन्स अफ जस्टिस’ मा हुनुपर्ने बेला अनियमितता गर्ने व्यक्तिलाई हतोत्साहित गरेर कडा कारबाही गर्नुपर्ने बेलामा सरकारले नै त्यस्ता व्यक्तिलाई जोगाउनु एकदमै दुःखद कुरा हो ।

तपाई र तपाईको पार्टीले यसको प्रभावकारी विरोध गर्न सक्नु भएन नि ? 

तपाईहरु, सञ्चारमाध्यम, देश विदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुले यसको विरुद्धमा आवाज उठाउनुभएको छ । हाम्रो पार्टीलेपनि उठाइरहेको छ । मैले व्यक्तिगत रुपमा पनि प्रदेशसभामा आवाज उठाइरहेको छु । यस्तो बेलामा हाम्रो पार्टीले समिति नै बनाएर विभिन्न कोष स्थापना गरि सहयोग गरिरहेको छ । म र मेरो पार्टीले सकंटको बेला सरकारको विरोध भन्दापनि जनतालाई कसरी निकास दिन सकिन्छ भनेर सोचेको र लागेको चाँही पक्कै हो । यस्तो अनियमितताको लागी जनताले नै सजाय दिनेछन् भन्ने मेरो मान्यता रहेको छ ।

तपाईं प्रदेशसभा सांसद भएपछिको भूमिका कस्तो रह्यो ? 

हेर्नुस् पार्टीको सबै केन्द्रीय कमिटीमा नेविसंघ, तरुण दलमा बसेर काम गरियो । सबै मिलेर मात्र देश बनाउन सकिन्छ । पार्टी भन्दा राष्ट्र ठूलो हो, नेता पार्टी भन्दा ठूलो हुन सक्दैन । नेता जनताप्रति जनउत्तरदायी हुनुपर्छ । त्यसैले राष्ट्रिय हितमा सबैले काम गर्नुपर्छ, भन्ने मलाई लाग्छ । त्यसले मैले प्रदेश सभामा जनताको हितमा रहेर काम गरेको छु । र यसको मुल्यांकन मैले भन्दा पनि आम नागरिकले हेरिरहेकोले यो प्रश्न आमनागरिकहरुलाई सोध्दा उचित हुने ठान्छु ।    

हजुरको समाजसेवा र पेशालाई हेर्दा राजनीतिलाई पेशा बनाउनु हुँदैन भन्ने हो ?

हो, मेरो धारणामा राजनीति भनेको पेशा हैन । विशुद्ध समाजसेवा हो । हरेक राजनीतिज्ञले यसलाई समाजसेवाको रुपमा लिनुपर्छ । मेरो हकमा भन्नुहुन्छ, भने मैले वीर हस्पिटल, टिचिङ हस्पिटल लगायतमा काम गरेर आफ्नो गुजारा चलाए । मैले हालको समयमा पनि विभिन्न ठाउँमा जस्तो भनौं,  तीस हजार लाग्ने अप्रेशनलाई मैले दश हजारमा पनि अप्रेशन गरेर सेवा गरिरहेको हुन्छु । आफ्नो गुजारा चलाईरहेको छु । प्रदेशसभामा पनि मैले पाउने तलब विभिन्न स्कुल तथा गरिब बेसाहारा मानिसहरुलाई बाँडिरहेको हुन्छु । त्यसकारण राजनीति निस्वार्थ समाजसेवा हो भन्ने मलाई लाग्छ ।  

कोभिड १९ ले देशमा ठूलो सकंट उत्पन्न भइरहेको छ,  तपाई चिकित्सक पनि हुनुहुन्छ, सांसद पनि हुनुहुन्छ समयलाई कसरी व्यवस्थापन गर्नुभएको छ ? 

हेर्नुस् सबै मानिसको लागी चौविस घण्टा हुन्छ ।  बैज्ञानिक अलेष्ट्राइनको लागी पनि चौविस घण्टा थियो । महात्मागान्धी, विपी कोईरालासँग पनि त्यहि  चौविस घण्टा नै थियो । त्यसकारण समय भनेको व्यवस्थापन हो । मैले समयलाई कामको महत्वपूर्ण हेरेर छुट्याउने  गर्दछु । म एम.वि.वि.एस पढ्दाखेरी फाइनल परीक्षा आउँदा जेल परे । 
पञ्चायत कालमा पाँच पटक जेल परेको छु । त्येतिबेला अर्थात् पाँच वर्षको समयमा मैले १३ वटा किताब लेखेको छु । त्यो किताब बेचेर, अनि एमविविएस को तयारी कक्षा संचालन गरेर कमाएको पैसाले मैले एमविविएस पास हुनेलाई गोल्ड मेडलको व्यवस्था गरे ।  त्यसकारण मैले त्यतिबेला त समयको व्यवस्थापन गरेर समाजसेवा गर्थे । अहिले त देश नै संकटमा छ यति बेला हामीले तन मन लगाएर काम गर्नुपर्छ भन्ने लाग्छ । मनैदेखि समाजसेवा गर्ने साहस भएपछि समय व्यवस्थापन हुन्छ भन्ने मलाई लाग्छ ।

तपाईको वीपी कोईरालाको राजनीतिबाट प्रभावित भएको व्यक्ति । समाजसेवा पार्टीमा दिएको योगदान लगायतलाई मुल्यांकन गर्दा अहिले जुन हैसियतमा हुनुहुन्छ, त्यो कम भयो जस्तो लाग्दैन तपाईलाई ?

हैन समय आउँला । म समाज सेवा नै राजनीति हो, भनेर लागेको व्यक्ति हुँ । मलाई के लाग्छ भने जो यस देशमा मन्त्री, प्रधानमन्त्री बन्नेहरु, उहाँहरु योग्य, सक्षम भइदिए हुन्थ्यो भन्ने लाग्छ । सबैलाई समान भावनाले हेर्ने, अदम्य साहस, भ्रष्टाचारको अन्त्य, गरेर राष्ट्रलाई निकास दिने  खालको नेतृत्व होस् । म त्यति असन्तुष्टी भएको व्यक्ति पनि हैन । मलाई देश र जनताले जुन हैसियतमा राख्छन् म त्यसलाई सहर्ष स्वीकार गरी अगाडी बढ्ने व्यक्ति हो । मेरो लागी पद भन्दा सेवा ठूलो हो ।

नजिकिँदै गरेको महाधिवेशनले पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म सक्षम नेतृत्व चयन होला भन्ने कुरामा तपाई कतिको ढुक्क हुनुहुन्छ ?

नेपाली कांग्रेस एउटा लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन गर्ने पार्टी हो । नेपाली कांग्रेसका सबै नेता तथा कार्यकर्ताहरु सक्षम छन्,  बुझेका छन्, सबैले कामको मुल्यांकन गरेका छन् । खासगरेर नेतृत्वले बहुमतको कदर, अल्पमतको कदर र व्यक्तिको हैन विधिको शासन अवलम्वन गरेर पार्टीलाई अगाडी बढाउनु पर्छ, त्यसको लागि आम नेता तथा कार्यकर्ता सक्षम छन् । उनीहरुले सक्षम नेतृत्वनै चयन गर्नेछन् । यसमा कुनै दुईमत छ जस्तो मलाई लाग्दैन ।

तपाईको पार्टी सभापतिले महाधिवेशनको ६ महिनाभित्र गठन गरिसक्नुपर्ने विभागलाई महाधिवेशनको मुखैमा धमाधम विभागहरु गठन गरेर नेतृत्व  चयन गर्नुभएको विषयलाई कसरी लिनुभएको छ ? 

अब हेर्नुस् यो प्रश्न एकदमै सही छ । तर कतिपय सवालमा उहाँसँग पनि केही बाध्यता होला । बाहिरबाट निष्पक्ष रुपमा हेर्दा पार्टीको कुनै विभागपनि गठन नगर्दा कांग्रेसलाई ठूलो नोक्सान भएको छ । यसमै दुवै नेता बसेर समयमै टुंग्याउनुपर्ने हो ? तर यसमा दुवै नेताको विवाद हुँदा ठूलो क्षति पुगेको छ । यसलाई एउटा पाठको रुपमा लिएर आगामी दिनमा यस्तो गल्ती गर्न हुँदैन भन्ने लाग्छ । जहाँसम्म अहिले गठन गरेको विभाग र नेतृत्वको सवालमा भने पार्टी सभापति र नेताहरु बसेर सहमति गर्नुपर्छ ।

तपाईको पार्टीभित्र एकाथरी नेता तथा कार्यकर्ताहरुले आगामी महाधिवेशनबाट पनि फेरि पुनः त्यो नेतृत्व  दोहोरिएमा कांग्रेसलाई अब गाउँगाउँमा वत्तिबालेर खोज्नुपर्छ भन्छन् नी ?

यो कुरा पार्टीभित्र जोडदार रुपमा उठाउनुपर्छ तर, यो कुरा बाहिर–बाहिर उठाउने र भ्रम सिर्जना गर्ने काम भइरहेको छ । नेतृत्व चयन गर्ने कुरामा पार्टीको निर्वाचनमा भोट हाल्ने नेता, कार्यकर्तामा हुन आवश्यक छ । आजको २१ औँ शताब्दीको कांग्रेसहरुले निर्वाचनबाट नै यो कुराको छिनोफानो गर्नेछन् । बाहिर बसेर यो मान्छे ठिक, यो बेठिक भन्नु भनेको राजनीतिक पूर्वाग्रह हो भन्ने लाग्छ । 

अहिलेको महाधिवेशनमा हजुरको स्थान चाँही कहाँ हुन्छ ? 

यो कुरा आम कार्यकर्ताको हातमा छ । म तरुण दलको महासचिव थिए । नेविसंघमा आन्दोलको विभागियको संयोजक । महाराजगञ्ज क्याम्पसमा ईकाइको संयोजक भए । यो सबै कार्यकर्ताको हातमा भएको कुरा हो । यो भन्दा अगाडी म केन्द्रीय सदस्यमा उठिन । त्यो भन्दा अगाडी म १० भोटले हारे । त्यसैले यो सबै साथीहरुको निर्णय हो । म कांग्रेसको सामान्य सदस्य भएर समाजसेवा गर्ने उदेश्य हो । मलाई कुन तहमा लैजाने भन्ने कुरा कार्यकर्ताको हातमा भएको कुरा हो । त्यसैले मेरो यसमा कुनै प्रकारको गुनासोहरु छैन । 

अन्त्यमा, कोभिड–१९ को महामारीलाई आम नागरिक तथा सरकारले अपनाउनुपर्ने सावधानीहरु के–के होलान् ?

एकदमै राम्रो प्रश्न गर्नुभयो ।  यसको लागी हामी सबैले के बुझ्नुपर्छ, भने अहिलेसम्म कोरोनाको लागी कुनै औषधि बनेको छैन । कुनै भ्याक्सिन बनेको छैन । यो कैले आउँछ थाहा छैन । हामी कुरा गर्दा गर्दै कति मानिस संक्रमित भएका होलान् । कति मानिसको मृत्यु भएको होला ? त्यसकारण सबैभन्दा महत्वपूर्ण कुरा भनेको यसलाई फैलनबाट रोक्नु हो । त्यसको लागी हामीले बिशेष गरेर दुईवटा कुरामा ध्यान दिनु आवश्यक हुन्छ । एउटा खोक्दा हाछ्यु गर्दा मुखबाट स–साना किटाणुहरु निस्केका हुन्छन् । जसबाट भाईरसका हजारौँ लाखौँ किटाणुहरु निस्केका हुन्छन् । त्यस्ता निस्केको किटाणुहरु भाईरस सक्रंमित छन् भने एक व्यक्तिबाट अर्को व्यक्तिमा सरिहाल्छ । यसरी निस्किएको किटाणुहरु चौविस घण्टासम्म पनि जिवितै  रहन्छन् । दोस्रो कुरा माक्स र सेनिटाईजरको हरदम प्रयोग गर्नुपर्दछ । जुन कुरा सबै मिडिया पत्रपत्रिकाहरुमा प्रशस्त मात्रामा प्रचार भइरहेको छ ।

खासगरी अहिले रोगले भन्दा पनि भोकले मर्ने डरले नागरिकन हिँड्डुल गरिरहेका छन् । सतर्क, सचेत रहनुपर्ने अवस्था आएको छ । 


'प्रिय सरकार, कोरोनाको उपदेश तीतो हुन लाग्यो'

'प्रिय सरकार, कोरोनाको उपदेश तीतो हुन लाग्यो'


-डा.रवीन्द्र पाण्डे-
कोरोना संक्रमणबाट बच्नको लागि के गर्नुपर्छ भनेर सबै नागरिकलाई थाहा भइसकेको छ । मोबाइलको रिङटोन, स्वास्थ्य मन्त्रालयका प्रवक्ताको ठाडो उपदेश, संचारमाध्यमदेखि विज्ञहरुको अर्ति एकै छ 'मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, हात धोइरहने ।'

सरकारी संयन्त्रको आरोप छ 'नागरिकले मास्क लगाएनन्, सामाजिक दुरी कायम गरेनन्, हात धोएनन्, जनता अनुशाशित बनेनन् ।'
नागरिकको आरोप छ 'सरकारले उचित ठाउँमा परीक्षणको दायरा बढाएन, अस्पतालमा क्षमता वृद्धि गरेन, अरबौं रुपैयाँ के गर्यो के गर्यो ।'

अहिलेको युगमा सबैभन्दा अप्रिय विषय हो, 'उपदेश' । उपदेशकर्ताले आफुलाई सर्वज्ञाता र आफुबाहेक अन्यलाई केहि थाहा नभएको भन्ने भ्रम रोग पालेर बसेको हुन्छ । एकै उपदेश पटकपटक दिँदा श्रोता वा दर्शक वाक्क दिक्क हुन्छन् भन्ने उसले बुझ्दैन । उपदेशको जति हाइ डोज हुन्छ, त्यसले त्यति नै काम गर्न छोड्छ ।

अहिलेको युग भनेको अन्तरक्रियाको युग हो । मनोबैज्ञानिक संवादको युग हो । हामी सबैले मैले केहि कुरा जानेको छु, मेरो कुरा सुन्नेले मैलेभन्दा धेरै कुरा जानेका हुन्छन् भन्ने मानसिकता विकास गर्नु जरुरी छ ।

नागरिकलाई मास्क लगाएनन् भनेर आरोप लगाउनुको कुनै अर्थ छैन । राज्यले मास्क उत्पादक संस्थालाई मेसिन तथा कच्चापदार्थ ल्याउन छुट दिने, केटाकेटीको लागि कार्टुन भएका रमाइला मास्क उत्पादन गर्ने, किशोरकिशोरीको लागि फेन्सी मास्क उत्पादन गर्ने, खेलप्रेमीको लागि खेलाडीको फोटो भएका मास्क उत्पादन गर्ने, जेष्ठ नागरिकको लागि धार्मिक आस्था प्रतिबिम्बित मास्क उत्पादन गर्ने तथा ती मास्कलाई अन्त्यन्तै सस्तो मुल्यमा उपलब्ध गराउनुपर्दछ ।

 कपडाको मास्क तथा सर्जिकल मास्कलाइ २-३ रुपैयाँमा उपलब्ध गराउने हो भने धेरै व्यक्तिले मास्क लगाउँछन् । हरेक सेवाग्राही कार्यालय, चोक, निर्माणस्थल, स्वास्थ्य संस्था आदिमा नि:शुल्क मास्क वितरण गर्ने तथा मास्कलाई रहर र फेसनको विषय बनाउने हो भने मास्क लगाउनेको संख्या ह्वात्तै बढ्छ । त्यस्तै स्यानिटाइजर र साबुनलाई सरकारले एकदम सस्तोमा उत्पादन गराएर ५-५ रुपैयाँमा सर्वसुलभ गराउने हो भने प्रयोगकर्ताको संख्या ह्वात्तै बढ्नेछ ।

 सामाजिक संघसंस्थामार्फत मास्क, साबुन तथा स्यानिटाइजर निम्न आय भएका तथा प्रयोग नभएका क्षेत्रमा नि:शुल्क वितरण गर्ने हो भने जनतालाई लो डोजको सल्लाहले पनि काम गर्छ ।

कर तिर्ने, लाइसेन्स तथा बिलबुक नबिकरण गर्ने, विद्युतको बिल तिर्ने, वडामा तिरो तिर्ने, मालपोतको काम, अस्पतालको पालो आदिलाई हरेक बैंकबाट तिर्न मिल्ने, फोनबाट समय लिनसक्ने र छरितो रुपमा सेवा पाउने अवस्थाको राज्य तथा सम्बन्धित निकायले ब्यवस्था गर्ने हो भने कुनै पनि व्यक्तिलाई भीड गर्नु जरुरी हुने छैन | राज्यले सयौं वर्षदेखि सामाजिक दुरीमा राखेको वर्ग व्यक्तिगत दुरी कायम गर्न अभ्यस्त छ ।

 त्यस्तै भीडभाड हुने स्थान तथा गल्लीमा ब्यापार गर्नेलाई ४-५ सिफ्टको समय तालिका अनुसार खोल्ने अनुमति दिने हो भने त्यहाँको भीड घटाउन सकिन्छ । सरकारले स्थानीय निकायसंग समन्वय गरेर ससाना तर महत्वपूर्ण कुराको ब्यवस्थापन गर्न सक्छ । यी २ नदीको मिलन कहिले होला ?

लामा यातायात (निजि तथा सरकारी)लाई संक्रमणरहित बनाएर एक सिटमा एकजना यात्री राख्ने हो भने जोखिम कम हुन्छ । घुँडा र कुम जोडेर बस्नुपर्ने टेम्पु तथा माइक्रोबसमा सरकारले अमिन पठाएर व्यक्तिगत दुरी नाप्यो भने जनता सुरक्षित हुनेथिए । माइक्रोबसलाई एम्बुलेन्स तथा टेम्पुलाई अन्य सामान बोक्न प्रयोग गर्न सकिन्छ |
चाडपर्व कसरी मनाउने ? हामीलाई थाहा छ सरकार । भोको पेट र रित्तो आङले चाडपर्व मनाउन पाइन्छ कि पाइन्न सरकार ? लौ न, एक डोज उपदेश पाउँ ।

सकभर घरभित्र बस्ने कसको मन हुँदैन र ? मुसा दौडने रित्ता भाँडा, चौबिसै घण्टा भोक लाग्ने केटाकेटी, अभावले उत्पन्न अशान्ति अनि पैसो माग्न आउने साहुभन्दा चर्का आफन्त ‘ सकभर घरभित्र ‘ बस्दैनन् । उनीहरु घरभित्र बसे पो हामी पनि ‘ सकभर घरभित्र ‘ बस्ने थियौं ।

समाजवाद उन्मुख संबिधान तथा कम्युनिष्ट सरकार भएको मुलुकमा गरिब तथा सर्बहारा वर्गले राहत पाउँदैनन्, सिटामोल र जीवनजल नपाएर मृत्युवरण गर्छन् तथा सरकारका परममित्र ठूला ब्यवसायीले कर र ब्याजमा सहुलियत पाउँदैनन् भने सरकार पाल्ने नागरिकको आँखामा मोतिबिन्दु लाग्न सक्छ ।

 मोतिबिन्दु लागेका जनताले चुनाव चिन्ह नचिन्ने खतरा बढ्न सक्छ । भनिन्छ नि – एक माघले कोरोना जाँदैन, उपदेशले पेट भरिँदैन ।

(डा.पाण्डे जनस्वास्थ्य विज्ञ हुन् ।)


टुसा उमारेर खाँदा पोषकतत्त्वमा वृद्धि, पचाउन सजिलो

टुसा उमारेर खाँदा पोषकतत्त्वमा वृद्धि, पचाउन सजिलो


-डा.अरुणा उप्रेती-

टुसा स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । महत्त्वपूर्ण सांस्कृतिक पहिचान बोकेको क्वाँटी जनैपूर्णिमा पर्वको विशेष आहारका रूपमा रहँदै आएको छ । परम्परागत रूपमा यसले जाडो आउन सुरु गरेको सन्देश पनि दिन्छ ।

जाडोका वेला टुसा उमारेको खानेकुराले मानव स्वास्थ्यमा एकदमै फाइदा गर्छ भन्ने कुरा हाम्रा पुर्खालाई जानकारी थियो ।

वैज्ञानिक रूपमा फाइदा गर्छ भन्ने जानकारी नभए पनि उनीहरूको परम्परागत ज्ञानले स्वास्थ्यमा लाभ पुर्याउने थाहा भएरै क्वाटी खाने प्रचलन अविच्छिन्न रहिआएको हो र यसको निरन्तरताका लागि सांस्कृतिक रूप दिइएको हुनुपर्छ ।

कसरी फाइदाजनक ?

टुसा उमारेको क्वाटी प्रोटिनको खानी हो । किनभने, यसमा थुप्रै किसिमका गेडागुडी मिसाइएका हुन्छन् । टुसा उम्रेपछि क्वाँटीमा भएका तत्त्वहरू प्रोटिन, सूक्ष्म पोषकतत्त्व, क्याल्सियम, भिटामिन २० गुणा बढ्न जान्छन् । त्यसैले सय रूपैयाँको सुक्खा क्वाँटी ल्याएर टुसा उमारेर खाने हो भने ४ सय रूपैयाँसम्मको फाइदा लिन सकिन्छ ।

क्वाटी जीवन्त खाना हो, जुन पचाउन पनि निकै सजिलो हुन्छ । यत्तिकै खाँदाभन्दा टुसा उमारेर खाँदा पचाउन सजिलो हुन्छ । दाल, गेडागुडीको सेवन गर्दा शरीरमा ग्यास उत्पन्न हुन सक्ने सम्भावना हुन्छ । तर, क्वाटी बनाएर खाएपछि शरीरमा ग्यास बन्ने सम्भावना ज्यादै न्यून हुन्छ ।

यस्ता व्यक्तिलाई क्वाँटीको विशेष आवश्यकता

बालबालिकालाई कुपोषण तथा गर्भवती महिलाको शरीरमा प्रोटिनको कमी नहोस् भनेर क्वाटी खान दिने गरिन्छ । प्रोटिनको कमी नभएपछि महिलालाई रक्तअल्पता पनि हुन पाउँदैन ।

गर्भवतीमा रगतको कमी नभएपछि भ्रूण वा पेटको बच्चा पनि राम्रो हुन्छ । गर्भवतीमा मात्र नभएर सुत्केरी भएपछि पनि क्वाटीको सेवनले आमा र बच्चा दुवैलाई फाइदा पुर्याउँछ ।

यसको रस खाँदा पर्याप्त मात्रामा शरीरमा चाहिने क्याल्सियम, प्रोटिन प्राप्त हुन्छ, त्यसकारण सुत्केरी महिलालाई ज्वानो तथा क्वाटीको रस खुवाउने हाम्रो जुन परम्परागत छ, त्यो एकदमै वैज्ञानिक छ ।

कोही व्यक्ति कुनै रोग तथा शरीरमा समस्यापछि तंग्रिन लागेका वेला पनि क्वाटीको रसले धेरै फाइदा पुर्याउँछ । जो व्यक्ति शाहाकारी जीवनशैली अपनाउँछन्, माछा–मासु खाँदैनन्, उनीहरूका लागि क्वाटी अति उपयोगी हुन्छ , प्रत्येक साताको दुई–तीनपटक खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । यो पौष्टिकताले भरिपूर्ण भोजन हो ।

यसरी खाँदा थप लाभ

क्वाटीलाई विभिन्न तरिकाले पकाएर खान सकिन्छ । सुप बनाएर वा तरकारीका रूपमा पनि यसको प्रयोग गर्न सकिन्छ ।

क्वाटीलाई पिसेर पिठोमा मिलाएर बालबालिकाका लागि खाजा खाजा तयार गर्दा यसको पौष्टिकता एकदमै बढ्न जान्छ । टुसा उमारेको चना बालबालिकालाई खुवाइयो भने प्रोटिनको मात्र पर्याप्त हुन्छ । टुसा उमारेको कुनै पनि खाद्यवस्तुलाई जीवन्त खानेकुरा भनिन्छ ।

अन्य फाइदा

क्वाटी शक्तिवर्धक एवम् पौष्टिक आहार हो । । क्वाटीको सेवनले–
– आवश्यक ऊर्जा प्राप्त हुन्छ ।
– रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
– कब्जियतको समस्या हटाउँछ ।

(डा.उप्रेतीकाे फेसबुकबाट साभार)

 


'फेरि १५ दिन कडा लकडाउन गरौँ’

'फेरि १५ दिन कडा लकडाउन गरौँ’


-डा.रवीन्द्र पाण्डे-

सुरक्षा सतर्कता तथा आवतजावत नियमन गर्ने काममा गम्भीर नहुनुको कारण अहिले नेपालका अधिकांश जिल्लामा कोरोना संक्रमणको प्रकोप बढेको छ । उत्तर प्रदेश, बिहार तथा पश्चिम बंगालमा कोरोना संक्रमणको आगो बलिरहेको अवस्थामा सिमानाशिल नगर्नु हाम्रो लागि प्रत्युत्पादक बनेको छ ।
संक्रमणको फैलावटलाई अध्ययन गर्ने हो भने अहिले प्रदेश नम्बर २ कोरोना संक्रमणको तेस्रो चरणमा अर्थात् सामुदायिक संक्रमणमा प्रवेश गरेको छ ।

त्यस्तै पश्चिम बङ्गाल र उत्तर प्रदेशसँग जोडिएका केहि जिल्लामा सामुदायिक संक्रमणको पूर्वरुप देखा परेको छ । बिराटनगर, इटहरी, कपिलवस्तु, कैलाली पहाडी जिल्ला बझाग, दैलेख लगायत जिल्लाहरु क्लस्टर अफ केसेसबाट अघि बढ्दैछन् । इलाम, स्याङ्जा लगायतका जिल्लामा दर्जनौं प्रहरीमा संक्रमण देखिएको छ । संक्रमित क्षेत्रबाट सुरक्षित ठाउँ खोज्दै काठमाडौं उपत्याका लाखौँ व्यक्ति भित्रिएका छन् ।

४० लाख स्थिर जनसंख्या रहेको काठमाडौं उपत्यकामा अहिले ६० लाख स्थिर र १० लाख आवतजावत गर्ने जनसंख्या भएको अनुमान गर्न सकिन्छ ।
अहिलेपनि बिभिन्न भित्रि बाटोबाट बिना रोकटोक दैनिक हजारौ व्यक्तिहरु काठमाडौं आइरहेका छन् । काठमाडौंमा संक्रमितको लहरो समाउँदा भारतबाट आएका वा संक्रमित क्षेत्रबाट आएका व्यक्तिले संक्रमण बढाएको देखिएको छ ।

उपचार गर्न, काम गर्न, पढ्न वा अन्य उद्देश्यले काठमाडौं आउनुपर्ने हुन्छ । तर यो विषम परिस्थितिमा काठमाडौं आउने हरेक व्यक्तिको पिसिआर परीक्षण गरेर रिपोर्ट आउनेबेलासम्म होल्डिंग सेन्टरमा राखेर प्रवेश गर्न अनुमति दिने, लुकेर आउने बाटोमा आवतजावत प्रतिबन्ध लगाउने तथा गम्भीर बिरामीलाई सिँधै अस्पताल पुर्याउने ब्यबस्था गरेको भए यो परिस्थिति आउने थिएन ।

अबको बाटो के त ?

काठमाडौं उपत्यका, काठमाडौं आउने बाटोका क्षेत्र, भारतसँग सिमाना जोडिएका जिल्लाहरु तथा संक्रमण फैलिएका पहाडी जिल्ला तथा अन्य ठूलो जनघनत्व भएका सहरमा १५ दिन कर्फ्यु लगाउनु जरुरी छ ।

पुरानो मोडेलको लकडाउनले अहिलेको स्थितिलाई धान्न सक्दैन । १५ दिन कर्फ्यु लगाउँदा आवतजावत बन्द हुन्छ, संक्रमित या निको हुन्छन् या अस्पताल जान्छन् तर स्वस्थ व्यक्तिलाई संक्रमण सार्न सक्दैनन् ।

यो १५ दिनको कर्फ्युले हालसम्मको संक्रमणलाई ब्यबस्थापन गर्छ । कर्फ्युको अवधिमा सरकारले माथि उल्लेखित क्षेत्रमा ब्यापक परीक्षण बढाएर नेपाललाई रेड जोन, एल्लो जोन तथा ग्रीन जोन छुट्याउने, सिमाबासीलाई राहत दिएर सुरक्षाकर्मी र सिमाबासीको २४ सै घण्टा गस्ती बढाउने, सिमानाका अबैध बाटा बन्द गर्ने, आवतजावतको मोडेल तयार गर्ने, संक्रमित क्षेत्रमा सुरक्षित आइसोलेसन सेन्टरको प्रबन्ध गर्ने, हरेक अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक उपचार, आइसीयु, भेन्टिलेटर, अक्सिजन, ब्लड तथा जनशक्तिलाई तालिम (आइसीयु र भेन्टिलेटर अपरेट गर्न) दिने ।
कर्फ्युको समयमा निम्न आय भएका व्यक्तिलाई राहत र अन्य व्यक्तिलाई राज्यले दिनुपर्ने सहुलियत दिने गर्नुपर्छ ।

यो १५ दिनपछि आवतजावतमा कडाइ गर्ने, मास्क नलगाउने वा सहि तरिकाले नलगाउनेलाई ५ हजारको जरिवाना गर्ने, ५ जनाभन्दा धेरै ब्यक्तिसँगै हिँडेमा, भीडभाड गरेमा तथा भोजभतेर गरेमा ५ हजार जरिवानाको ब्यबस्था गर्ने ।

सरकारी तथा निजि प्रयोगशालामार्फत दिनमा ३० हजार व्यक्तिको परीक्षण गरिरहने र जनस्वास्थ्य चेतनाका प्रभावकारी कदम अबलम्बन गरेमा हामी कोरोना भाइरसको भिक्टिम हुनुपर्दैन ।

यदि हामीले गम्भीर भएर कडा लकडाउन वा कर्फ्यु १५ दिन सहन सक्यौं भने हालसम्मको संक्रमणलाई ब्यबस्थापन गर्न सक्छौं र आगामी दिनमा आवातजावत तथा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्यौं भने हामी कोरोना संक्रमणको चपेटाबाट मुक्त हुने बाटोमा अग्रसर हुनेछौं ।

हामीले बिर्सिनु हुँदैन कि विकसित देशले समेत संक्रमणको छाल नियन्त्रण गर्न नसकेको अवस्थामा हाम्रो जस्तो कमजोर स्वास्थ्य प्रणाली भएको देशले सामुदायिक संक्रमण थेग्न सक्दैन । हामी सबै गम्भीर भएर कोरोना संक्रमण नियन्त्रण गर्न एकजुट हुनुको विकल्प छैन ।

(डा.पाण्डे जनस्वास्थ्य विज्ञ हुन् ।)


'वीरगंज लगायत सामुदायिक संक्रमण भएका ठाउँमा यसरी कोरोना नियन्त्रण गरौँ'

'वीरगंज लगायत सामुदायिक संक्रमण भएका ठाउँमा यसरी कोरोना नियन्त्रण गरौँ'


-डा. रवीन्द्र पाण्डे-
पर्सा (वीरगंज) मा कोरोना संक्रमण समुदायमा फैलिएको छ । हामी सबै स्पष्ट हुनु जरुरी छ कि पर्साको अवस्था सामुदायिक संक्रमण हो । यो क्लस्टर केसेस होइन । कन्ट्याक्ट ट्रेसिंग गर्दा मात्र हैन, त्यहाँ आफैले पैसा तिरेर कोरोना जांच गर्दा पनि धेरै व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ । 

पर्साका स्वास्थ्यकर्मी, मेयर, सांसद, उद्योगका मजदुर, कैदी, ड्राई पोर्टमा मात्र होइन सहर तथा गाउँ सबैतिर कोरोना संक्रमणको महामारी चलेको छ । ट्राभल हिस्ट्री नभएका, संक्रमितसंग सम्पर्क नभएका तथा घरमै बसेका व्यक्तिमा पनि संक्रमण पाइएको छ ।

यो महामारीलाई समयमै नियन्त्रण नगर्ने हो भने ठूलो क्षति हुनसक्छ । बारा, सप्तरी, मोरंग, कपिलबस्तु, दैलेख लगायत बिभिन्न ठाउँमा क्लस्टर अफ केसेसबाट सामुदायिक संक्रमण हुँदैछ । यसको लागि निम्न लिखित पहल तुरुन्तै गर्नु जरुरी छ ।

१. सामुदायिक संक्रमण देखिएका र उन्मुख ठाउँमा कर्फ्यु लगाउने । सरकारले जनतालाई खाना, पानी, औषधि आदिको ब्यबस्था एबम परीक्षणको लागि स्वाव संकलन घरघरमा गएर गर्ने ।

२. सिमाना १०० % शिल गर्ने ।

३. काठमाडौं लगायत बिभिन्न ठाउँबाट सयौं स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा परिचालन गर्ने ।

४. सुरक्षा निकायलाई बाक्लो संख्यामा परिचालन गर्ने ।

५. स्कुल, क्याम्पस, होटेल, पार्टी प्यालेस, सामुदायिक भवन तथा सरकारी भवनमा सुरक्षित तथा ब्यबस्थित आइसोलेसन वार्ड बनाउने |

६. गम्भीर बिरामीलाई अस्पताल तथा मेडिकल कलेजमा भर्ना गर्ने | आइसीयु, भेन्टिलेटर, अक्सिजन, ब्लड आदिको तुरुन्तै प्रबन्ध गर्ने |

७. एक घर ; एक पिसिआर होइन, प्रत्येक व्यक्तिको पिसिआर परीक्षण गर्ने | संक्रमितलाई तुरुन्त आइसोलेसनमा राख्ने, कन्ट्याक्ट ट्रेसिंग तुरुन्त गर्ने ।

८. संक्रमण नियन्त्रणमा नआएसम्म १ जना व्यक्तिलाई पनि घर बाहिर निस्किन नदिने | प्रकोप फैलिएको समयमा भाइरस सर्ने सम्भावना सामान्य अवस्थामा पनि धेरै हुन्छ |

९. आम नागरिक धैर्य, संयमित तथा आशाबादी भएर बस्ने | यो कडाइ हाम्रै लागि भएको हो भनेर सोंच्ने |

१०. कारणबस घरबाहिर निस्किनु पर्ने परिस्थिति भएमा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने, न्युनतम ६ फिटको दुरी हरेक व्यक्तिसंग पालना गर्ने, भीडभाडमा नजाने, घरलाई चाहिने सामान एकैपटक किन्ने |

११. हामी जति बाहिर जान्छौं, त्यति नै संक्रमित हुने जोखिम हुन्छ | तसर्थ जीवनरक्षाको लागि केहि कष्ट सहेर भएपनि घरभित्र बस्ने |

१२. स्थानीय निकाय, प्रदेश सरकार, संघीय सरकार, सामुदायिक तथा निजि संस्था संबैले उदार भएर राहत, परीक्षण र उपचारमा लाग्ने |

१३. हरेक नागरिकलाई एम्बुलेन्स र अस्पतालको फोन नम्बर दिएर गाह्रो पर्यो भने तुरुन्त अस्पताल पुर्याउने व्यवस्था गर्ने ।

१४. जेष्ठ नागरिक र दीर्घबिरामीलाई सकभर घरभित्र पनि आइसोलेसनमा राख्ने अर्थात छुट्टै कोठामा राख्ने |

१५. कोरोना संक्रमणबाट बच्ने उपायका पम्प्लेट, मास्क, साबुन, ह्याण्ड स्यानिटाइजर, थर्मोमिटर, सिटामोल, जीवनजल आदि घरघरमा वितरण गर्ने |


रोग–प्रतिरोधात्मक शक्ति कसरी बढाउने ?

रोग–प्रतिरोधात्मक शक्ति कसरी बढाउने ?


-डा.अरुणा उप्रेती-
मेरो बिहान शुरु हुन्छ कागती–पानी, टुसा उमारेको मेथी, आलस, मुङ्रेलो र फर्सीको दानाबाट । त्यसपछि मरिच, कागती र थोरै चिनी राखी पकाएको चिया । यस्तो चियामा स्वादको लागि बिरेनून पनि राख्न सकिन्छ ।

अदुवा र दालचिनीको धूलो मिसाएमा अझ स्वादिष्ट हुन्छ । यस्तो चियाले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ भन्ने त अनुभव थियो, कोरोनाको महामारीका बेलामा यसको अझ बढी महत्व रहेछ भन्ने पनि बुझियो । कोरोना संक्रमणको यस अवधिमा रोगसँग लड्ने शक्ति बढाउने बीउ, बियाँहरु र यस्तै अन्य वनस्पतिहरूको धेरै खोजी हुन थालेको छ ।

भारतस्थित लखनौको लोकबन्धु अस्पतालमा आयुर्वेदका विशेषज्ञ डा.अदिल रइस र उनको समूहले कोरोना संक्रमण भएका २५ जनालाई यस्तै खालको उपचार गरेको थियो । उनीहरुलाई जडीबुटीको रस बिहान–बेलुका ५० मिलिलिटर दिइएको थियो । उनीहरुलाई नियमित योग गर्न लगाएर अदुवा, गुर्जोको काँढा दिइएको थियो । साथै रोगसँग लड्ने शक्ति बढोस् भनेर संक्रमितलाई सहजै पच्ने खानेकुरा दिइएको थियो ।

कोरोना पोजेटिभ भएका ती व्यक्तिहरुलाई ७ दिनसम्म यस्तो उपचार गरेपछि जाँच गर्दा उनीहरूको शरीरमा कोरोना नरहेको पाइयो । उपचार सफल भयो तर यसका बारेमा अन्य थुप्रै अनुसन्धान हुन त बाँकी नै छ । जे होस्, कोरोनाको संक्रमणबाट जटिलता नहोस् भनेर यो प्रयोग गर्न सकिन्छ भन्ने जानकारी भयो (नवभारत टाइम, २०२०, ४ जुन) ।

आधुनिक औषधिहरूले कोरोना संक्रमणबाट हुने जटिलता र असमयमा हुने मृत्युबाट बचाउन सहयोग गर्ने पक्का हो । तर हाम्रा वरिपरि रहेका र बिर्सिएका बीउ एवं वनस्पतिले चाहिँ मानवशरीरको रोग–प्रतिरोधात्मक शक्ति बढाएर कोरोना मात्र होइन अन्य विभिन्न संक्रमणबाट बच्न केही सहयोग गर्न सक्छन् भन्ने ज्ञान आयुर्वेदले दिन्छ ।

उदाहरणको लागि क्षयरोगका कीटाणुले पनि रोग–प्रतिरोधात्मक क्षमता कम भएका बालबालिका, महिला, पुरुषलाई आक्रमण गर्छ र क्षयरोगी बनाउँछ । क्षयरोगको उपचार गर्दा औषधिको साथसाथै पोषणयुक्त खाना, सफा हावा, घाम आदिको पनि ठूलो महत्व हुन्छ । त्यसै गरी कोरोनाको संक्रमण भइहाले पनि उपरोक्त तथ्यलाई ध्यानमा राख्नै पर्छ ।

भिटामिन ‘सी’को प्रयोगले संक्रमणबाट बचाउँछ । भिटामिन ‘सी’मा रोग–प्रतिरोधात्मक शक्ति हुन्छ । भिटामिन ‘सी’को खोजी गर्दै औषधि पसलहरुमा पुग्नुभन्दा पहिले आफ्नै घरमा भिटामिन ‘सी’ भएका वस्तुहरू के छन् भनेर हेर्दा बेस हुन्छ । प्रायः सबै फलफूलमा धेरथोर भिटामिन ‘सी’ पाइन्छ । कागती, अमला, लप्सी भिटामिन ‘सी’का राम्रा स्रोत हुन् ।

त्यसै गरी टुसा उमारेको केराउ, मटर, चना आदिमा पनि पर्याप्त भिटामिन ‘सी’ पाइन्छ । यिनलाई काँचै सलाद बनाएर खाँदा प्रोटिन, लौहतत्व र भिटामिन ‘सी’ पाइन्छ । यसले रोगसँग लड्ने शक्ति प्रदान गर्छ ।

त्यस्तै गाउँघरमा सजिलै पाइने आलस, फर्सीको बियाँ, सूर्यमुखी फूलको बियाँ पनि सूक्ष्म पौष्टिक तत्वका भण्डार हुन् । दिनदिनै अलि–अलि प्रयोग गर्दा यी पदार्थले शरीरमा रोग–प्रतिरोधात्मक शक्ति बढाउँछन् ।


अबको निकासः भूमिका परिवर्तन

अबको निकासः भूमिका परिवर्तन


-डा.विन्दा पाण्डे-
नेकपाको नेतृत्व विवाद सतहमा आएको तीन महिना नाघेको छ । २६ महिना अगाडि दुई पार्टी एकीकरण भएर नेकपा बन्यो ।
एउटा लामो समय लोकतान्त्रिक प्रक्रियाबाट अगाडि बढेको नेकपा ९एमाले० र अर्को दशक लामो सशस्त्र आन्दोलनबाट आएको नेकपा (माओवादी केन्द्र) बीचको एकता आफैमा सहज थिएन । तर, भयो । आफ्ना दलगत स्वार्थभन्दा जनआकाङ्क्षा र मुलुकको रूपान्तरणलाई शिरमा राखेर सोच्ने हो भने कस्तै अप्ठेरोमा पनिसँगै जान सकिन्छ भन्ने नजिर स्थापित भयो ।
तर, एकतापछि कार्यविभाजन लगायतको निर्णय प्रक्रियामा आन्तरिक असहमति देखिन थाल्यो । समस्याको समयमा नै निर्मुलन नगरी अगाडि बढ्दा असहमतिको चाङ चुलिँदै गयो । कामको कुरा न त विधान अनुसार पूरा भयो ।

न कमिटीका निर्णयहरु नै कार्यान्वयन भए । मनोगत रुपमा आपसी सम्बन्ध, सहमति र समझदारीमा देखिएका दरारको समयमा निराकरण नहुदा असन्तुष्टिका चुलिँदा चाङ २०७७ वैशाख को अध्यादेश घटनासँगै प्रष्फुटित हुन पुग्यो ।

दुई पार्टीका फरक स्कूलिंगवाट आएका पार्टीबीच एकताको २६ महिना बितिसक्दा पनि सदस्यताको टुंगो लगाउने, विभाग-निकायहरुलाई पूर्णता दिने र आबद्ध संगठनहरुबीच एकता समेत टुंगिएको छैन ।

अध्यादेशका विपक्षमा स्थायी कमिटी सदस्यले हस्ताक्षरसहित बैठकको मागपछि सरकारले दुवै अध्यादेश फिर्ता लियो । तर, विवाद सकिएन । छोटो वैठक वसेर तत्कालको समस्या समाधानको सहमति त भयो । तर, त्यसले समस्या टारेको नभई, सारेको मात्र अवस्था रह्यो ।

अन्ततः २०७७र७८ को नीति कार्यक्रम र विनियोजित बजेट पारित भएसँगै असार १० गतेबाट स्थायी कमिटीको बैठक सुरु भयो । उक्त बैठकका लागि विविधसहित तय गरिएका सातवटा विषयमध्ये सीमाना सम्बन्धि विषयमा हुँदै गरेको छलफल टुंगोमै नपुर्याई बीचमा उब्जिएको एजेण्डा ुअध्यक्ष र प्रधानमन्त्रीको राजीनामाु को मागमा बैठक रुमल्लिन पुग्यो । विधानतः स्थायी कमिटीले न त अध्यक्ष हटाउन सक्थ्यो न प्रधानमन्त्री । तर, पनि नीति, विधि र विधानको कुरा गर्ने स्थायी कमिटी विविधकै विषयमा रुमल्लिएर तीन हप्ता बितेको छ ।

विधिसम्मत निकास: एकता महाधिवेशन

“एक व्यक्ति एक मुख्य जिम्मेवारी“ अलि पहिलादेखि नै उठ्दै आएको विषय हो । अहिले थप मुखरित भएपछि एकल अध्यक्ष बनाउने बाटोे खोज्नु जरुरीछ । त्यसको विधिसम्मत उपाय सक्दो छिटो एकता महाधिवेशन हो भन्ने ठाउँमा छलफल पुगेको छ । पार्टी विधानको धारा १८ अनुसार ९क० एकता महाधिवेशनसम्मका लागि केन्द्रीय कमिटी नै सर्वोच्च निकाय हुने व्यवस्था छ । धारा १७ ९ख० एकताको महाधिवेशन दुई वर्षभित्र सम्पन्न गरिसक्ने र यसको स्थान, मिति र प्रतिनिधित्व केन्द्रीय कमिटीले तोके बमोजिम हुने व्यवस्था छ ।

विधानत तोकिएको समयमा महाधिवेशन नभएपछि आगामी चैत्र २५ देखि ३० गतेको लागि महाधिवेशनको मिति तय गरिएकोछ । (ग) एकता महाधिवेशन सहमति र समझदारीकासाथ सञ्चालन गर्ने र यसको विधि, प्रक्रिया र संरचना महाधिवेशनले नै तय गर्न सकिने व्यवस्था छ । यसकारण पनि, छिटो महाधिवेशन गर्न चाहने हो भने केन्द्रीय कमिटीको वैठकले मिति अगाडी सार्न सकिन्छ ।

यसका लागि सचिवालय वा स्थायी कमिटीले ठोस प्रस्ताव तयार गरी केन्द्रीय कमिटीबाट अनुमोदन गराएर महाधिवेशनमा जानु नै विधिसम्मत निकास हुन सक्दछ । दुई पार्टीका फरक स्कूलिंगवाट आएका पार्टीबीच एकताको २६ महिना बितिसक्दा पनि सदस्यताको टुंगो लगाउने, विभाग-निकायहरुलाई पूर्णता दिने र आबद्ध संगठनहरुबीच एकता समेत टुंगिएको छैन ।

नेता कार्यकर्ताबीच तेल(पानीको अवस्था अझै कायम छ । यो अवस्थामा एकता महाधिवेशनले केन्द्रदेखि अन्तरघुलनको प्रक्रियालाई मातहतसम्म पनि सहजता प्रदान गर्न सक्नेछ । नेतृत्व मिलानका लागि मात्र होइन, अबको २२ महिनामा हुने स्थानिय निर्वाचनलाई मध्यनजर राखेर हेर्दा समेत पार्टी कामलाई व्यवस्थित गर्दै कार्यकर्तालाई अन्तरघुलित रुपमा परिचालन गर्न पनि सक्दो छिटो एकता महाधिवेशन आवश्यक छ ।

हामी अहिले संधिवान कार्यान्वयन र सुशासनको अभियानमा पनि छौँ । महाधिवेशन गरेर अगाडि बढ्दा पार्टी एकीकरणका क्रममा सम्वोधन गर्न नसकिएको संविधानको धारा २६९ ९४–ग० को ुदलको विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिबिम्बित गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको हुनुपर्नेु र धारा ९३८–४० अनुसार 'राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने” भन्ने व्यवस्थालाई प्रतिबिम्वित गर्दै दल दर्ता सम्बन्धी ऐनको दफा ९१५–३० मा ' सामाजिक विविधता प्रतिबिम्वित हुने गरी सदस्यहरुमध्येबाट समितिमा समानुपातिक सहभागिता गर्नुपर्नेु र (४)सबै तहको समितिमा कम्तीमा एक तिहाइ महिला सदस्य समावेश गर्नुुपर्ने” व्यवस्थाको समेत कार्यान्वयन हुनेछ ।

यसो हुँदा नेकपा राष्ट्रको कानुन र आफ्नो वैधानिक व्यवस्थाको कार्यान्वयन मार्फत आन्तरिक सुशासनको बाटोमा एक कदम अगाडि बढ्न सहयोग पुग्नेछ । जसले, अन्य दलका लागि समेत सकारात्मक दबाव सिर्जनामा भूमिका खेल्नेछ ।

समस्याको समाधान: भूमिका परिवर्तन

नेकपाको पहिलो पुस्ताका नेताहरु औसतमा चार दशकभन्दा बढी उच्च नेतृत्वमा रहिसकेका छन् । यस बीचमा झण्डै आधा दर्जन नेताले पार्टी वा सरकार वा दुवैको कार्यकारी नेतृत्व समेत समालिसकेका छन् ।

हिजो अत्यन्तै हार्दिक, सौहार्द, आत्मीय र विश्वासिलो सम्बन्धमा बाँधिएर काम गर्दाको समयमा त्यो पिँढीले गरेको योगदान र देखाएको त्याग अनुकरणीय र अविस्मरणीय छदैछ । जसले मुलुकमा निरंकुश पंचायत मात्र होइन, राजतन्त्र नै अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यौँ । सात दशकदेखि माग हुँदै आएको संविधानसभाबाट संविधानको घोषणा गर्दै आधारभूत रुपमा राजनीतिक अधिकारलाई संस्थागत गर्न सफल भयो । त्यस अभियानमा दिएको सफल नेतृत्व, निःस्वार्थ त्याग र योगदानका लागि नेतृत्वप्रति हार्दिक आभार र सलाम गर्नै पर्दछ ।

आज हामी आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको संक्रमणको चरणमा छौँ । 'हिजो आफ्नो जीवनभन्दा बढी माया गरिएका र आदर्श ठानिएकाु नेतृत्व आज ुपद, प्रतिष्ठा, सुखभोग र अवसरको लागि आपसमा अस्वस्थ प्रतिष्पर्दामा छन्' भन्ने कुराले आम जनतामा निरासा र कार्यकर्तामा आक्रोस बढ्न थालेको कुराप्रति नेतृत्व सजग हुन आवश्यक छ ।

गुटगत क्रियाकलापका कारण देखिएको तिक्तता, अविश्वास, शंका र मनमुटाव सिर्जित दरार र असमझदारी सतहमा छर्लंगै छ ।
हिजो व्यक्तिभन्दामाथि राष्ट्र र परिवारभन्दा महान जनता” भनेर हिँडेको नेतृत्वले राज्यप्रणाली परिवर्तनको लक्ष्य त प्राप्त गर्यो । तर परिवर्नतवाट स्थापित नयाँ प्रणालीको वलियो जग हाल्ने र विकास गर्ने प्रक्रियामा हिजोको त्यो त्याग, आचरण र चरित्र आम रुपमा नदेखिनुको परिणाम पुस्ताप्रति नै जनविश्वास गुम्नु आजको वास्तविकता हो । जुन, राम्रो कुरा होइन ।

अव गुम्दै गरेको विश्वासको पुर्नआर्जन र भत्केकोे प्रणालीको पुनरव्यवस्थापन जरुरीछ । यसको लागि नेतृत्व तहका सवैले म र मेरो को गुटगत दायरा तोड्नु पर्छ ।

कार्यकर्ता विचको खण्डिकरण छोड्नुपर्छ । पार्टी निर्माणमा ुहामी र हाम्रोु अनि राष्ट्रको सन्दर्भमा आम नाागरिकको बीचबाट योग्यता, क्षमता र विविधता आधारित मापदण्ड बनाइ उपयुक्त पात्र चयनको प्रणालीगत विधि र प्रक्रियाको विकास समयको माग, नागरिकको चाहना र लोकतान्त्रिक प्रणालीकोे मर्म पनि हो भन्ने कुरालाई स्वीकार्नुपर्छ ।

यस सन्दर्भमा लोकतान्त्रिक दल र जन निर्वाचित संस्था तीनै तह का रुपमा कति गर्यौ रु कति चुक्यौ रु आज जुन बिन्दुमा छौँ, त्यही धरातलमा उभिएर वस्तुगत रुपमा गरिएका निर्णय, बनेका योजना र प्राप्त नतिजाको विधिसम्मत विश्लेषण हुन आवश्यक छ ।

आज नेतृत्व जसरी प्रस्तुत हुदैछ, कार्यकर्तापंक्ति मर्माहत छ । नागरिकमा आक्रोस पूर्ण निरासा छ । यो अवस्थामा रुपान्तरणका लागि भन्नैपर्छ, अब एकता महाधिवेशन गरी पार्टीको कार्यकारी जिम्मेवारी नया पुस्तामा हस्तान्तरण गर्न शीर्ष नेतृत्व तयार हुनु पर्दछ । र, दोस्रो पुस्ता भनिने पंक्ति अब ुमिलेर खाऊ, बँचेको भाग देऊु भन्ने अवस्थाको अन्त्य गर्दै पहिलो पुस्तालाई सम्मानपुर्वक उपल्लो तहको अभिभावकीय भूमिकावाट कामको सुपरिभिजनको आग्रह गर्दै कार्यकारी दायित्व लिन तयार हुनुपर्छ ।

अन्यथा, नेपाली जनताले मनैदेखि दिएको मतको सम्मान हुनसक्ने देखिँदैन । यो पार्टीलाई यहाँसम्म ल्याउन लाखौँ कार्यकर्ताले बगाएको पसिना र रित्याएको काखको सम्मान हुने सक्दैन । युवा पुस्ताले खर्चिएको कलकलाउँदो उमेर र भरभराउदो सपना निरासामा परिणत हुनेछन ।

असंख्य योद्धाहरुले पार्टीका नाममा मुलुकका लागि झेलेका अपांगता, मानसिक विक्षिप्तता र अक्षम्य आपराधिक तहको यौन दुराचार विरुद्ध उजुरी र उपचार समेतको अभावमा पिएका आँसुले क्षमा गर्ने छैन ।

तिनै योद्धाहरुलाई सम्झेर पनि नेतृत्वले अब “म र मेरो” को सोच त्याग्दै नयाँ पुस्ताका योग्यतम उत्तराधिकारीलाई नेतृत्व हस्तान्तरण गरी राजीखुशी अभिभावकीय भुमिकाको लागि योजनावद्ध तयारी गर्नैपर्दछ ।

अग्रजले भर गर्ने र जनताको विश्वास जित्नेु पुस्तामा जिम्मेवारी हस्तान्तरण नै सफल नेतृत्वको 'मानक र मापक' दुवै हुन भन्ने मान्यतालाई अब प्रणालीकै रुपमा स्थापित गरिनुपर्दछ ।

(प्रतिनिधिसभा सांसद डा. पाण्डेको ब्लगबाट साभार)।


'मैले बुझेको देश फरक छ'

'मैले बुझेको देश फरक छ'


हेमन्त गिरी

मलाई थाहा छ मैले यो लेखे बापत गाली खान्छु । उस्तै परे मलाई देशद्रोही पनि भनिएला !

देशको माटोमा कैयौं वर्ष कोदालो चलाएको मलाई कैलै ब्याकग्राउन्डमा चन्द्र सूर्य झण्डा राखेर फोटो खिच्नु पर्छ वा कविता पढेको भिडियो बनाउनु पर्छ जस्तो लागेन । मलाई कैलै झण्डा समातेर फोटो खिचेमा बढी राष्ट्रभक्त भइन्छ जस्तो लागेन । कैलै छिमेकी देशलाई गाली गरेर वा मन नपरेका देशलाई गाली गरेर राष्ट्रवादी भइन्छ जस्तो लागेन । न ह्रितिक रोशन कान्ड न लिपुलेक काण्ड, मेरो रगत कैलै उम्लेन । न त नाकाबन्दीमा नै म आक्रोशित भएँ ।

मलाई लाग्छ देशलाई माया गर्नु भनेको देशलाई बुझ्नु पनि हो । देशमा शासन गर्नेहरूलाई बुझ्नु पनि हो । मैले बुझेको देश अलि फरक छ । मैले बुझेको देशमा बढी झूठ,भ्रम,अफवाह र मिथ्या बिक्छ । यी चिजहरू बेच्नेलाई यसकारण सजिलो छ कि हामी ती चिजहरू सजिलै किनिदिन्छौं । डिस्काउन्ट पाए हामी क्वालिटी मतलब गर्दैनौं ।

नयाँ नक्शा जारी भएको कती भयो हेर्नुस् त ! त्यो भूमिमा आफ्नो हक दावी गर्न के के गर्यो सरकारले अहिले सम्म थाहा पाउनुभाछ ? वार्ता गर्यो कि, सेना लगेर राख्यो कि, भारतीय नागरिकता लिएका त्याहाँका नागरिकका नागरिकता फिर्ता गर्न लगाएर नेपाली नागरिकता दियो कि ? के गर्यो अहिले सम्म ? मैले चाहिं केही थाहा पाएको छैन (तपाईंलाई थाहा छ भने भन्दिनुहोला) । तर फ्याट्ट अयोध्या काण्ड आइदियो बजारमा (हुन त परराष्ट्रले विज्ञप्ती नै निकालिसक्यो) । के जरुरी थियो यो समयमा यस्तो काण्ड ? नक्शामा दावी गरिएको भूमि फिर्ता लिन कुनै पहल नगर्ने तर नयाँ नयाँ काण्ड सृजना गरेर तपाईंलाई अलमल्याउने काम भएको तपाईं चाल पाउनुहुन्न ?

मैले माथि भनेको छु नि नेपालमा झूठ,भ्रम,मिथ्या र अफवाह बिक्छ भनेर ! अरू सबै बाटो सकिए पछी मानिसले ‘मिथ’ समाउँछ । अर्थात धर्म र इतिहास सम्बन्धी त्यान्द्रो समाएर समाज संग खेल्न खोज्छ । किनकि चतुर राजनीतिज्ञलाई थाहा हुन्छ- राष्ट्रवाद,जात र धर्मको कुरा उठाएर पब्लिक सेन्टिमेन्ट क्यास गर्न सके आफू सर्भाइभ गर्न सकिन्छ । र अहिले भएको पनि त्यही हो । शासकले तपाईंको तातो खुनमा यस्ता थर्मोमीटर बारम्बार लगाइरहन्छन अनि तपाईं पनि एक सय चार डिग्री जोरोलाई राष्ट्रवाद हो भन्ने भ्रममा जीवनभर थला परिरहनु हुन्छ ।

हद नै पार गरिरहेका भारतीय च्यानल अलि अँस्ती बन्द भए । तपाईंलाई बहुत खुसी लाग्यो होला । तर मलाई ठीकै मात्र लाग्यो । खास खुसी त त्यो बेला लाग्नेछ- जती बेला भारतीय चामल बन्द हुन्छ । एकपटक किचन देखि ट्वाइलेट सम्म, आँगन देखि छत सम्म ध्यान दिएर हेर्नुस त- के के सामान भारत बाट आएका रहेछन ? हुन त पैसा दिएर किनेको हो भन्नुहोला ! तर यो बुझ्नुस तपाईं पैसा तिर्नकै लागि पनि दुश्मनको पसलमा चहिं जानुहुन्न । या अन्त नै जानुहुन्छ या बाध्य भएर तेश्रो व्यक्तिलाई ‘जा न फलानोको बाट किनेर ल्याइदे’ भन्नुहुन्छ । तेश्रो व्यक्तिले कमिसन नै खाए पनि सहन बाध्य हुनुहुन्छ । किनकि तपाईं आत्मनिर्भर हुनुहुन्न ।

हो, तिनै तेश्रो व्यक्ति नेता हुन । हामी लाचार उपभोक्ता । हामीलाई यिनीहरूले यसरी बाध्य बनाइदिएका छन कि हामीमा यस्तै बेमौसमी राष्ट्रवादको पारो चढाइदिन्छन बेला बखत र आफू सत्ता अनि शक्तीको सिंढी चढ्छन । ल मान्नूस्, राम नेपालमै जन्मेका हुन, त्यसले तपाईंको भान्सा देखि बाथरूम सम्म, आँगन देखि छानो सम्म के फरक पार्छ ?!

मूर्ख हुनुको पनि एउटा ‘लिमिट’ हुन्छ साथीहरू । आफ्नो आर्थिक,पारिवारिक,समाजिक हैसियत कहाँ पुग्यो ख्याल छैन, दैनिक कती दाजुभाई दिदी बहिनीले देश छोडिरहेछन मतलब छैन,, अलिकती ठाउँ पायो वा अलिकती नेताले उचाल्दियो कि झण्डा समातेर, खुकुरी देखाएर के के न देशभक्त देखाको छ आफुलाई, बुद्धिजीवी भनाउँदा बाट नै चाहिंदै नचाहिने कुरामा बहस चर्काएको छ, उद्यमशील र सृजनशील समयलाई अनावस्यक बहसमा लगाएको छ ! मानौं कि सबथोक पुगेको छ जस्तो !

गुन्द्रुक चाइना बाट प्याक भएर आउन थाल्यो, रामकै मूर्ति पनि चाइनाले नै बनाइदिन्छ, चन्द्र सूर्य झण्डा इण्डिया बोर्डर नजिकका देशीहरूले छापेर पठाइदिन्छन,मोबाइल कोरिया गको साथीले पठाइदिन्छ, आमाले घरको करेसोमा ढाड मर्काइरहन्छिन, ऊ चाहिं शहरको डेरामा बस्छ, इण्डियन चामलमा चाइनीज गुन्द्रुकको झोल हालेर खान्छ अनि त्यही चन्द्र सूर्य टीशर्ट लगाएर लाइभमा बस्छ र चोर औंलो ठड्याएर कोरियन मोबाइल बाट भन्छ- खबरदार ! लिपुलेक हाम्रो हो, बुद्ध हाम्रो हो, राम हाम्रो हो, अयोध्या हाम्रो हो.. सप्पै हाम्रो हो !!

घरबेटी बाहिर बाट चिच्याउँछ- ए बेकुफ, कामधाम गरे त घरभाड़ा तिर्थिस् कि ! कोठा भित्र एक्लै कराउँदा कराउँदा बहुलाउलास् भन्ने डर भओ !!