22 Baishak, 2081 / 4 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

News


श्रीलंकनलाई काठमाडौं ल्याई बन्धक, चार पाकिस्तानी पक्राउ

श्रीलंकनलाई काठमाडौं ल्याई बन्धक, चार पाकिस्तानी पक्राउ


काठमाडौं, २३ चैत । प्रहरीले श्रीलंकन नागरिकलाई काठमाडौं ल्याई बन्धक बनाएको आरोपमा चार पाकिस्तानीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५७ वर्षीय जुबेर अम्जाद, ४२ वर्षीय शाहजेहान तानबिर, ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह छन् ।
उनीहरूले श्रीलंकन नागरिकहरूलाई वैदेशिक रोजगारको लागि विभिन्न युरोपियन देशमा पठाइदिने भन्दै नेपालमा ल्याएर बन्धक बनाएको पाइएको प्रहरीले जनाएको छ ।

काठमाडौंका विभिन्न होटलमा पीडितहरूलाई बन्धक बनाई पासपोर्ट नियन्त्रणमा लिई कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई साथमा रहेको नगद समेत लिई जबर्जस्ती बन्धक बनाई राखेका थिए । उनीहरूको बिहीबार प्रहरीले उद्धार गरेको छ ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ । उनीहरूमाथि अपहरण तथा शरीर बन्धक कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सुदूरपश्चिममा सरकार गठनका लागि १० दिनको समय

सुदूरपश्चिममा सरकार गठनका लागि १० दिनको समय


काठमाडौं, २३ चैत ।  सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने समय बैशाख २ गतेसम्मका लागि तोकिएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले आज संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई बैशाखको २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका हुन् ।


‘माननीय मुख्यमन्त्री कमल बहादुर शाहले २०८० साल चैत २२ गते संविधानको धारा १६९ को १ को खण्ड क बमोजिम मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएकाले माननीय प्रदेश प्रमुख नजिर मियाँ ज्युले नेपालको संविधानको धारा १६८ को २ बमोजिम सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहमुत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०८१ बैशाख २ गते आईतबार बेलुकी ५ बजे भीत्र दाबी पेश गर्न आह्वान गर्नु भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।


रुसी सेनामा रहेका नेपालीको जीवन रक्षा गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

रुसी सेनामा रहेका नेपालीको जीवन रक्षा गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र


काठमाडौं, २३ चैत ।  ‘रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षार्थ अभियान’ले रुस र युक्रेन युद्धको पृष्ठभूमिमा रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षा तथा उद्दार गरी सकुशल नेपाल फिर्ताको पहल गरिदिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने समक्ष आग्रह गरेको छ।

केही पीडित परिवारले शुक्रबार मन्त्री लामिछानेलाई ११ बुँदे मागसहितको ध्यानाकर्षण–पत्र बुझाउँदै सकुशल उद्दार, मृतक आश्रित परिवारलाई उचित राहत, मृतक भनिएका तर पुष्टी नभएकोको अवस्था सार्वजनिक, वेपत्ताको खोजी, युक्रेनले युद्धबन्दी बनाएकाको उद्दार र घाइतेको उचित उपचारलगायत विषयमा सरकारलाई गम्भीर हुन आग्रह गरेका हुन्।


पीडित पक्षसँगको कुराकानीका क्रममा मन्त्री लामिछानेले समस्याबारे आफू पूर्ण जानकार रहेको भन्दै अन्तर देशीय समन्वय प्रभावकारी नहुँदा समस्या भएको र त्यसबारे प्रधानमन्त्रीसँग तत्काल छलफल गर्ने जानकारी दिए।

रुसी सेनामा रहेका आफन्तलाई सकुशल फर्काइदिने भन्दै केहीले आफूहरुसँग पैसा लिएको भन्दै पीडितले तिनलाई पक्राउ गर्न गृहमन्त्री समक्ष मागसमेत गरेका थिए।


मलेसिया रोजगारी : नेपालबाट सुरक्षागार्ड लैजाने 

मलेसिया रोजगारी : नेपालबाट सुरक्षागार्ड लैजाने 


काठमाडौं, २२ चैत । मलेसियाले नेपालबाट सुरक्षा गार्डका रूपमा कामदार लैजाने भएको छ । उत्पादन, कृषि र सेवा क्षेत्रमा कामदार नलैजाने जनाएको मलेसियाले सुरक्षा गार्डमा भने नेपाली कामदारलाई खुला गरेको हो । 

मलेसियाले आफ्नो श्रम बजारमा कोटाभन्दा बढी विदेशी कामदार भएको भन्दै चैत १८ (मार्च ३१) बाट कलिङ भिसा जारी गर्न बन्द गरेको थियो । भिसा जारी भएको कामदारको हकमा भने जेठ १८ (मे ३१) भित्र मलेसिया प्रवेश गरिसक्नुपर्ने निर्णय मलेसियाले गरेको छ ।

मलेसियास्थित नेपाली दूतावासले सुरक्षा गार्डबाहेक अन्य क्षेत्रमा चैत ९ देखि नै मागपत्र प्रमाणीकरण गर्न रोक लागेको जनाएको छ । मागपत्र प्रमाणीकरण रोकेपछि कामदारको भर्ना प्रक्रिया अगाडि बढ्दैन । नेपाल स्वास्थ्य व्यवसायी महासंघले पनि सुरक्षा गार्डबाहेक अन्य क्षेत्रमा जाने कामदारको स्वास्थ्य परीक्षण रोकेको छ । 


अब घरबाटै कन्सुलर सेवा शुरु गरिने 

अब घरबाटै कन्सुलर सेवा शुरु गरिने 


काठमाडौं, २२ चैत । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको बताएका छन् । विदेशमा बसेका नेपालीले आफ्ना गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्ने गरी कन्सुलर सेवा विभागले आजदेखि सुरु गरेको नयाँ ‘मोडयुल’को शुभारम्भ गर्दै उनले सो कुरा बताएका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकारले प्रारम्भदेखि नै जनतालाई सार्वजनिक सेवा सहज र सरल रूपमा प्रदान गर्ने प्रतिबद्धताअनुसार काम गर्दै आएको उल्लेख गरे ।  यो सेवा प्रारम्भपछि विदेश बस्ने नेपाली नागरिकले घरमै बसेर आफ्नो समस्या र गुनासो व्यक्त गर्न पाउने र समाधानका सम्बन्धमा भएको सम्बोधनसमेत अनलाइनबाटै जानकारी लिन सक्ने उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए । उनका अनुसार विभागले यसअघि सरकारको प्रतिबद्धताअनुसार अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र लिन सकिने व्यवस्था गरिसकेको छ ।


 


सुनचाँदीको भाउमा नयाँ रेकर्ड

सुनचाँदीको भाउमा नयाँ रेकर्ड


काठमाडौं, २३ चैत । सुन र चाँदी दुबैको भाउ बढेर ऐतिहासिक उचाइमा पुगेको छ। यस दिन सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

बुधबार सुनको मूल्य १ लाख ३३ हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो। बिहीबार सो रेकर्डलाई तोड्दै नयाँ रेकर्ड बनाएको हो। यस्तै बिहीबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेर प्रतितोला १ हजार ६५० रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च मूल्य हो। बुधबार चाँदी प्रतितोला १ हजार ६१० रुपैयाँमा खरिदबिक्री भएको थियो।


नेपाल प्रहरीका १९ इन्स्पेक्टर डिएसपीमा बढुवा(सूचीसहित)

नेपाल प्रहरीका १९ इन्स्पेक्टर डिएसपीमा बढुवा(सूचीसहित)


काठमाडौं,२३ चैत । नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक(इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक(डीएसपी) मा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार राती बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।


कर्णालीमा नयाँ सरकार गठनका लागि आह्वान 

कर्णालीमा नयाँ सरकार गठनका लागि आह्वान 


काठमाडौं, २१ चैत्र ।  कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख तिलक परियारले ७ दिनको समय दिएर नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन्।
बुधबार दिउँसो मात्रै मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका थिए। लगत्तै प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

सत्ता गठबन्धनमा कर्णालीमा एमालेले सरकारले नेतृत्व गर्ने सहमति भइसकेको छ। प्रदेश प्रमुख परियारले अर्को सरकार गठन नहुन्जेलका लागि राजीनामा दिएका मुख्यमन्त्री शर्मालाई नै कामचलाउ सरकारको जिम्मेवारी दिएका छन्।
 


पूर्वन्यायाधीश गिरीकी पत्नीले सर्वोच्चको इजलासमै विष पिइन्

पूर्वन्यायाधीश गिरीकी पत्नीले सर्वोच्चको इजलासमै विष पिइन्


काठमाडौं, २१ चैत । पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले सर्वोच्च अदालतको इजलासमै विष सेवन गरेकी छन्। आरतीले मुद्दाको बहस चल्दाचल्दै विष सेवन गरेकी हुन्।
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चल्दै गर्दा उनले विष सेवन गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।
कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती न्याय माग्दै लामो समयदेखि सडक संघर्ष गर्दै आएकी छन्।


 


नेपालको 'ए' टोली आयरल्यान्ड'ए' सँग २१ रनले पराजित

नेपालको 'ए' टोली आयरल्यान्ड'ए' सँग २१ रनले पराजित


काठमाडौं, २१ चैत । तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालको ‘ए’ टोली आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भएको छ । आयरल्यान्ड ‘ए’ ले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ २३ ओभर ३ बलमा १ सय ३६ रनमा अल आउट भयो । नेपालका शाहब आलमले सबैभन्दा धेरै ३७ रन बनाए । यस्तै देव खनालले २६, बसिर अहमदले २० रन जोडे । बलिङतर्फ आयरल्यान्ड ‘ए’ का म्याथ्यु हमफ्रेसले ५, लायम म्याककार्थीले ४ विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ३८ ओभर ३ बलमा १ सय ५७ रनमा अल आउट भयो । आयरल्यान्ड ‘ए’ का केड कारमाइकलले सबैभन्दा धेरै ५१ रन बनाए । यस्तै कप्तान निल रकले ३९ रन जोडे । बलिङतर्फ नेपालका कलमसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिए । ऐरीले ३८ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट लिए । यस्तै शाहब आलम र मौसम ढकालले समान दुई विकेट लिँदा रिजन ढकालले एक विकेट लिए ।

एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो खेल शुक्रवार र अन्तिम खेल आइतवार हुनेछ । यसअघि नेपाल 'ए' टोलीसँगको तीन खेलकाे टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड 'ए' ले २–१ ले जितेको थियो ।