21 Baishak, 2081 / 3 May , 2024
काठमाडौं, ३१ भदौ । माउन्टेन इनर्जी नेपालले स्थगित भएको आईपीओ बुधबार देखि निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्रीमा ल्याएको हो ।
कम्पनीले साउन २८ गतेदेखि उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्ने घोषणा गरेको थियो । तर, स्थानीय देशका अधिकांश स्थानहरुमा बाढी पहिरोको भयावह अवस्था सृजना भएकोमा प्रभावित क्षेत्रमा गएर सेवा प्रदान गर्न नसकिएका कारण सो निष्काशन कम्पनीले स्थगित गरेको थियो ।
कम्पनीले निष्काशन गरेको आइपीओमा स्थानीयले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर विक्री नभए ढिलोमा असोज २९ गतेसम्म आवेदन दिन सकिनेछ ।
आइपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन् । आइपीओमा प्रभावित र अति प्रभावित दुबैले न्युनतम १० कित्तादेखि २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ ।
कम्पनीले नुवाकोट र म्याग्दी जिल्लाको अति प्रभावितको लागि ६० प्रतिशत र प्रभावितका लागि ४० प्रतिशत शेयर विक्रीमा ल्याएको हो ।
कम्पनीले जारी पूँजीको २० प्रतिशत आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । सो मध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १९ लाख ६८ हजार २७ कित्ता जारी गर्न लागेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्नेछ ।
हेर्नुहोस्