26 Baishak, 2081 / 8 May , 2024
काठमाडौं, ५ असोज । कोरोना भाइरस जोखिमका कारण लामो समयदेखि बन्द भएको आन्तरिक हवाई उडान आजबाट सञ्चालन हुँदैछ । सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न गत चैत ११ गते लकडाउन घोषणा गरेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएका थिए। भन्द भएका आन्तरिक उडान असोज ५ गतेबाट सञ्चालन गर्न दिने गत भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो।
आजदेखि सञ्चालनमा आए पनि सबै गन्तव्यलाई समेटेर कोभिड महामारी सुरु हुनु अगाडि भएको उडान संख्याको २५ प्रतिशतमात्रै उडान हुने भएको छ।
उनीहरुले सुरक्षाका पूर्ण मापदण्ड पालना गर्ने÷गराउने तर सबै सिट भरेर उडान गर्न पाउने माग गरेका थिए । वायुसेवा सञ्चालकको माग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदबाट पारित गराइसकेको छ ।
यस्तै यात्रुहरुले स्वस्थ भएको घोषणा गर्नुपर्ने र मास्क अनिवार्य लगाउनुपर्ने छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना महामारीको बीचमा हुने उडानको लागि निर्देशिका बनाएको छ, विभिन्न जहाज कम्पनीले पनि मापदण्ड बनाएका छन ।
मापदण्ड अनुसार मास्क नलगाएका व्यक्तिलाई विमानस्थलको मूल गेटबाट नै प्रवेशमा रोक लगाइने छ । एक सय चार डिग्री फरेनहाइट ज्वरो भएका, रुखाखोकी र स्वाद र सुँघ्ने क्षमता कम भएका व्यक्तिलाई विमानस्थलभित्र प्रवेशमा रोक लगाइएको छ । यस्तै ७० वर्ष माथिका व्यक्ति, गम्भीर रोग लागेका र गर्भवतीलाई सकभर जहाज नचढ्न प्राधिकरणले आग्रह गरेको छ । हरेक यात्रुले आफुमा कोरोना नभएको स्वघोषणासहित सबै विवरणसहितको फारम भर्नु पर्नेछ । विमानस्थल परिसरमा एक मिटरको दूरी अनिवार्य कायम गर्नु पर्नेछ ।
विमानस्थलभित्रका एअरलाइन्सका काउन्टरमा सिसा लगाइएको छ । यात्रु उभिनको लागि रेखा कोरिएको छ । आगमन र प्रस्थान कक्षको बस्ने ठाउँमा एउटा कुर्सी खाली राखेर मात्रै बस्नुपर्नेछ । विमानस्थल र हवाई कम्पनीका कर्मचारीले मास्कको साथमा पञ्जा, भाइजर र पीपीई अनिवार्य रुपमा लगाउने छन् । ठाउँ–ठाउँमा स्यानिटाइजर राखिएको छ । प्रस्थान कक्षबाट जहाजसम्म यात्रु लैजाने बसलाई हरेक पल्ट नि–सङ्क्रमण गर्नुपर्नेछ । जहाजलाई पनि उडान पिच्छे नि–सङ्क्रमण गराउनुपर्नेछ । जहाजमा पाइलट र बिमान परिचालिकाले मास्क, भाइजर र पीपीई लगाउनेछन् ।
आन्तरिक जहाजभित्र खाना र खाजा निषेध गरिएको छ । जहाजको शौचालय पनि बन्द हुनेछ । कुकुर र बिरालो बोक्न पाइने छैन । समाचारपत्र पनि बोक्न पाइने छैन । स्वास्थ्य सुरक्षा सतर्कता नअपनाउने र जहाजका कर्मचारीसँग विवाद गरेमा यात्रुलाई तत्कालै कारबाही गरिने जनाइएको छ ।