23 Baishak, 2081 / 5 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

किशोरी होशियार, जथाभाबी परिवार नियोजन साधन प्रयोग नगर्नु ?




किशोरी होशियार, जथाभाबी परिवार नियोजन साधन प्रयोग नगर्नु ?

-डा.अरुणा उप्रेती-

पूर्वको एक जिल्लामा १५ वर्षीया किशोरीको एक किशोरसँग सम्बन्ध भएपछि महिनावारी रोकियो । उनले ७ हप्तामै गर्भपतनको औषधि खाइछन् । त्यसको एक हप्तापछि पेट एकदमै दुखेर बेहोस भइछन् । अस्पताल लगेपछि गर्भनलीमा गर्भ बसेको थाहा भएछ । त्यो फुटेर आन्तरिक रक्तश्रावका कारण उनको ज्यानै खतरामा परेको रहेछ । शल्यक्रिया गरेपछि ज्यान त बच्यो तर जोसँग उनको सम्बन्ध भएको थियो, उनले नचिनेझैं गर्छन् रे ! उनका परिवार अपमानित हुने डरका कारण प्रहरीकहाँ जान मानेनछन् । ती किशोर अहिले काठमाडौंमा उच्च शिक्षा लिँदै छन् । किशोरी मानसिक रोगको औषधि खाएर बसेकी छन् । पढाइ त छुट्यो नै, उनलाई आफूमाथि दुःखको ठूलो पहाड खसेजस्तै भएको छ ।

त्यहाँका एक शिक्षकले भनेका थिए,‘किशोरकिशोरीलाई गर्भपतन अधिकारबारे भन्यौं तर उनीहरूलाई आफ्नो शरीरप्रतिको जिम्मेवारीचाहिँ सिकाउन सकेनौं । यसले किशोरीहरूको जीवनमा धेरै नराम्रो असर परेको छ ।’

गर्भपतन, आकस्मिक परिवार नियोजन, कन्डम आदिबारे अनेक जानकारीमूलक वा व्यापारिक विज्ञापन सञ्चारमाध्यममा आउँछन् तर कुनैले पनि यस्ता साधनहरू जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्छ भन्दैनन्, न त शरीर परिपक्व भएपछि मात्र यौनसम्पर्क गर्नुपर्छ नै भन्छन् । किशोरीलाई नै लक्षित गरेर यौन–यौनिकतासम्बन्धी खासै कार्यक्रम रेडियो र टेलिभिजनमा आउँदैनन्, न त विज्ञापनहरूले नै यो विषयलाई समेट्छन् । उनीहरूका यौन र यौनिकतासम्बन्धी जिज्ञासा पनि कतै सुनिँदैन ।

May be an image of 1 person

धेरै किशोरीले यौनसम्पर्क गरेपछि ‘इमर्जेन्सी औषधि’ खाएको तर यसरी जथाभावी औषधि प्रयोग गर्दा स्वास्थ्यमा कति नराम्रो असर परेको छ भन्ने विचार गर्दैनन् ।

झापाको ९ कक्षा पढ्ने १७ वर्षीया किशोरीको १८ वर्षीय किशोरसँग यौनसम्पर्क भएपछि गर्भ बसेको रहेछ । दुवैले एक निजी औषधि पसलमा गर्भपतन गराउन कोसिस गरेछन् । अति रक्तस्राव भएकाले किशोरी अस्पताल जानुपरेको रहेछ । औषधि पसलेले किशोरको परिवारलाई यसबारे जानकारी दिए छन् । आमाबुबा अस्पताल नपुग्दै किशोर डराएर भारततिर भागे छन् ।

किशोरीको ज्यान बच्यो तर बेइज्जत हुने डरका कारण उनको परिवारले यो घटनाबारे कसैलाई भनेन । निको भएर घर फर्केपछि ती किशोरीको १८ वर्षमै विवाह गराइदिएछन् । विवाह गराइसकेपछि उनका आमाबुबाले उनलाई भनेछन्, ‘हाम्रा लागि अब तँ मरिस्, तेरो लोग्नेको घरमा जेसुकै होस्, हामीलाई वास्तै छैन ।’

यो हाम्रो समाजको प्रतिनिधि घटना हो । यस्तोमा किशोरकिशोरीले कहाँबाट गएर के कुरा बुझ्ने ? उनीहरूले यौनसम्पर्क गर्नु मात्र ‘प्रेम’ होइन भन्ने तथ्य कहाँबाट लिने ?

‘केटा साथी’ वा ‘केटी साथी’ बनाएर यौनसम्पर्क भएन भने जीवनै खेर गयो भन्ने भावना उनीहरूले कसरी त्याग्ने ? यौन सम्बन्ध पेडाजस्तो जुन बेला खाए पनि हुन्छ भन्ने कुरा गलत हो भन्ने कताबाट सिक्ने ? यी सबै प्रश्नको जवाफ दिन कतै न कतैबाट छलफलको सुरुवात हुनुपर्छ । किशोरकिशोरीलाई ‘यौनसम्बन्ध’ नै ‘प्रेम’ होइन, यो एकछिनको आकर्षण हो, हराइहाल्छ भन्ने जानकारी र परामर्श जति छिटो दिन सक्यो त्यति राम्रो ।


डा.उप्रेतीको फेसबुकबाट

 



Related News


यसमा तपाइको मत


Comments