23 Baishak, 2081 / 5 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

परिवार नियोजनका साधन प्रयोग गर्दा बिचार गर्ने कि ?




परिवार नियोजनका साधन प्रयोग गर्दा बिचार गर्ने कि ?

 

-डा.अरुणा उप्रेती-

केहीअघि अछाम पुग्दा मेरो भेट त्यहाँको स्वास्थ्यकर्मीसँग भयो । एकै छिनको कुराकानीपछि उनले भनिन्, ‘मेरा विवाह भएको पाँच वर्ष भयो, बच्चा नपाउन पहिलो दुई वर्ष मैले डिपो प्रोभेरा (परिवार नियोजनको सुई) लगाएँ तर छोडेको तीन वर्ष भइसक्यो अझै बच्चा भएको छैन । डिपो लगाएपछि मेरो शरीर मोटो पनि हुँदै गएको थियो । अहिले छोडेपछि पनि तौल घटेको छैन ।’

यति भनिसकेपछि मैले उनलाई सोधें, ‘एउटा पनि बच्चा नभई किन डिपो प्रयोग गर्नुभएको ? यस्तो सल्लाह कसले दियो, तपाईंलाई ?’ यसको जवाफमा उनले भनिन्, ‘हामीलाई यसैगरी सिकाइएको छ । मैले तालिम दिँदा पनि बच्चा नभएका विवाहित दम्पतीले परिवार नियोजनका हर्मोनयुक्त साधन प्रयोग गर्दा हुन्छ भन्छु ।’

May be an image of 1 person

उनको जवाफले म अवाक भएँ । कुराकानी अगाडि बढाउँदै मैले भने, ‘हामी पनि परिवार नियोजनका साधन प्रयोग गर्न सिकाउँछौं तर एउटा बच्चा पाएपछि मात्र । जसले तपाईंलाई यो सिकायो उसले आफ्नो छोरी, बुहारी, भान्जी कसैलाई पनि एउटा बच्चा नजन्माई हर्मोनयुक्त साधन परिवार नियोजनको साधन प्रयोग गर्न लगाउँदैन । यो तपाईंप्रति गरिएको अन्याय हो ।’

परिवार नियोजनको साधनले महिलालाई गर्भवती हुनबाट रोक्छ । उनको जीवनको रक्षा गर्छ तर जथाभावी प्रयोग गर्दा यसले महिलाको स्वास्थ्य जीवनमा नराम्रा असर पर्न सक्छन् भन्नेबारे के स्वास्थ्य मन्त्रालयले विचार गरेको छ ?

एउटा पनि बच्चा नभई यसरी महिलाले परिवार नियोजनको सुई प्रयोग गर्दा कहिलेकाहीँ लामो समयसम्म बच्चै नहुने सम्भावना बढ्छ । सुदूरपश्चिमका महिलाहरूले गर्भ नरहोस् भनेर पहिलो बच्चा नहुँदै यसरी अनेक साधन प्रयोग गर्दा उनीहरूको बच्चा जन्मन ढिलो हुन्छ । यसले गर्दा उनीहरूलाई घर–समाजले अपमानित गरिन्छ । श्रीमान्ले ‘बाँझी भई’ भनेर अर्को विवाह गर्छन् । अनि ती महिलाका जीवनमा अनेक दुःख आइपर्छ ।

सुदूरपश्चिमका महिलाहरूलाई दिनदिनै यस्तो समस्या पर्छ तर भन्ने ठाउँ नभेटेर उनीहरू चुप बस्छन् । जनस्वास्थ्य कार्यालयको अनुगमनमा सायद यस्ता समस्याका बारे छलफलै हुँदैन । अनि महिला भएर जन्मनु श्राप नै होजस्तो हुन्छ, सुदूरपश्चिममा ।

सुदूर पच्छिमका महिलाहरू मात्र होइन अन्य बस्ने बिशोरी नवविवाहित दम्पतिहरू पनि ख्याल राख्नुमा एउटा बच्चा नभइकन जथाभावी हर्मोन युक्त डिपो, इलप्लाट जस्ता परिवार नियोजनका साधानहरू प्रयोग नै नगर्नोकस, यसले बेफाइदा गर्छ ।

यो लेख पढनेहरुले कृपया आफ्नो दिदी, श्रीमती, फूपु, काकीहरुलाई एउटा पनि बच्चा नभइकन महिलाले हर्मोन युत्त साधान प्रयोग नगरुन भनेर चेतना दिनुस् । काठमाडौँ बसे ठूला बडां, पढेलेखेकाले यसरी प्रयोग गर्दैनन् तर गाँउमा प्रयोग गर्न लगाइन्छ ।

हामी आफैँले विचार गरौँ ।



Related News


यसमा तपाइको मत


Comments