14 Mangshir, 2080 / 30 November , 2023
काठमाडौं, १ मंसिर । मलेसियास्थित नेपाली दूतावासले मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ। नेपाली श्रमिकहरु कार्यरत रहेको सहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदूत डिल्लीराज पौडेलले बताएका छन्।
बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीको जोहरवारुमा राजदुत पौडेलले अस्थायी घुम्ती सेवाको उद्घाटन गरे।
गैरआवासाय नेपाली संघ लगायत नेपाली संघ संस्थाहरुसँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिएको हो। एक हजारभन्दा धैरे नेपाली उपस्थित भएको कार्यक्रममा २ सय ८० जना श्रमिकले राहदानी सम्वन्धी सेवा लिएका थिए।
घुम्ती सेवामा राहदानीसम्बन्धी सेवाका साथै दूतावासबाट प्रवाह गरिने विभिन्न सेवाहरु प्रदान गरिएको नेपाली दुतावासले जनाएको छ। घुम्ती सेवा उद्घाटनका क्रममा राजदुत पौडेलले नेपाली श्रमिकहरु कार्यरत कम्पनीहरुको स्थलगत निरीक्षण, सेवा सुविधाबारे श्रमिकहरुसँग अन्तर्क्रिया तथा सम्वन्धित कम्पनी व्यवस्थापनसँग छलफलसमेत गरेका थिए।
सुरक्षा गार्ड तथा सरसफाइ सम्वन्धी कम्पनीहरुमा कार्यरत नेपाली श्रमिकहरुको गुनासो आएपछी उनले सम्वन्धित कम्पनी व्यवस्थापनसँग छलफल गरेका थिए।