27 Jestha, 2080 / 10 June , 2023
काठमाडौं, १६ चैत । आउँदो वैशाख १ गतेदेखि वैदेशिक रोजगारीमा व्यक्तिगत रूपमा जाने र पुनः श्रम स्वीकृति लिनेहरूको श्रम स्वीकृतिको आवेदन पालिकास्तरमा रहेका रोजगार सेवा केन्द्रले नै भरिदिने भएका छन् ।
अनलाइन प्रणालीबाट आवेदन दिनु पर्ने हुँदा विभिन्न श्रम कार्यालय अघिल्तिर रहेका साइबर र बिचौलियाहरूबाट श्रमिक ठगीमा परेको भन्दै रोजगार सेवा केन्द्रबाट नै आवेदन भरिदिने व्यवस्था गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए।
सरकारले यो व्यवस्था गरेसँग अब वैशाख १ गतेदेखि देशभरका ७५३ वटै पालिकामा रहेका रोजगार सेवा केन्द्रमार्फत श्रम स्वीकृतिको आवेदन दिन सकिन्छ ।
संस्थागत रूपमा वैदेशिक रोजगारीमा जानेहरूको श्रम स्वीकृतिको आवेदन म्यानपावर कम्पनीले नै आवेदन गर्ने भए पनि व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर पहिलो पटक वैदेशिक रोजगारीमा जाने र पुनः श्रम स्वीकृति लिनेहरू आफैँले अनलाइन आवेदन दिन पर्छ ।
तर कयौँ श्रमिक इन्टरनेटको पहुँच, सूचना प्रविधिबारे ज्ञानको अभाव लगायत विविध कारणले अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिनकै लागि मोटो रकम बुझाउन बाध्य छन् । श्रम तथा रोजगार कार्यालय अघिल्तिर श्रमिकको आवेदन भरिदिने भन्दै चर्को शुल्क लिने साइबर र एजेण्टहरु पनि भेटिन्छन् ।
यही समस्यालाई मध्यनजर गर्दै श्रमिकको सहजताका लागि आफ्नो गाउँपालिका वा नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा गएर २०८० सालको वैशाख १ गतेदेखि श्रम स्वीकृतिका लागि आवेदन दिन सकिने व्यवस्था श्रम सचिव अर्यालको अग्रसरतामा बिहीबार प्रधानमन्त्रीस्तरीय निर्णय भएको हो ।