19 Baishak, 2081 / 1 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

चारघरेमा भेटिएको दुर्लभ हिउँ चितुवा चिडियाखाना ल्याइयो 




चारघरेमा भेटिएको दुर्लभ हिउँ चितुवा चिडियाखाना ल्याइयो 

काठमाडौं, १२ माघ । पूर्वी नेपाल मोरङ जिल्लाको उर्लाबारी नगरपालिका-१ चारघरेमा दुर्लभ वन्यजन्तु हिउँ चितुवा फेला परेको छ । अहिले चितुवालाई उद्धार गरी सदर चिडियाखानामा ल्याएर सार्वजनिक गरिएको हो ।  
समुद्र सतहबाट एक सय ४६ मिटर उचाइमा बाँसको झ्याङमा बसेको अवस्थामा भाले हिउँ चितुवा फेला परेको हो । 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतले सदर चिडियाखानामा पत्रकार सम्मेलन गरी हिउँ चितुवासहित उसको अवस्थाका बारेमा विवरण सार्वजनिक गरेको छ ।

विभागका वरिष्ठ इकोलोजिष्ट श्यामकुमार शाहले पाटेबाघको बासस्थानको उचाइमा हिउँ चितुवा देखिनु अस्वाभाविक र अध्ययन अनुसन्धानको विषय बनेको बताएका छन् । यही गएको माघ ९ गते देखिएको उक्त चितुवालाई संरक्षणमा सक्रिय विभिन्न संस्थाका प्रतिनिधिको सक्रियतामा उद्धार गरी सदर चिडियाखाना जाउलाखेल ल्याइएको हो ।

उक्त हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज भएको, बाहिरी कुनै किसिमको चोट नदेखिएको र अवस्था समान्य रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बताएको छ । विज्ञहरूले उर्लाबारीमा हिउँ चितुवा कसरी आइपुग्यो भन्ने बारेमा अनुसन्धान थालिएको  बताएका छन् ।

नेपालमा हिउँ चितुवा पूर्व कञ्चनजङ्घाबाट पश्चिम अपि नाम्पा संरक्षण क्षेत्रसम्म मुख्यगरी हिमाली क्षेत्रमा पाइन्छ । नेपाललगायत मध्य तथा दक्षिण एसियाका १२ देशमा पाइने हिउँ चितुवा स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक एवं प्राकृतिक खाद्य शृङ्खलाको उच्च तहमा रहेको प्रजाति हो ।
 



Related News


यसमा तपाइको मत


Comments