16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

एनआईसीबाहेक १७ बैंकले घटाए ब्याजदर




एनआईसीबाहेक १७ बैंकले घटाए ब्याजदर

काठमाडौं, ३० फागुन । वाणिज्य बैंकहरुले चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । फागुनको तुलनामा धेरै बैंकले ब्याजदर चैतमा घटाएका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर अनुसार फागुनको तुलनामा औसतमा चैतमा ब्याजदर घटेको छ । फागुनमा बैंकहरुको ब्याजदर औसतमा ७.७५ प्रतिशत रहेको थियो । चैतमा ७.२४ प्रतिशत रहेको छ । १७ वटा बैंकले ब्याजदर घटाउँदा २ वटाको स्थिर रहेको छ भने एनआईसी एशिया बैंकले बढाएको छ । 

एनआईसी एसिया बैंकको ब्याजदर फागुनमा ८ प्रतिशत रहेको थियो । चैतमा भने फागुनको तुलनामा ०.५४ प्रतिशतले बढेर ८.५४ प्रतिशत पुगेको छ । प्रभु बैंक र ग्लोबल आईएमई बैंकले भने फागुनको ब्याजदरलाई नै चैतमा पनि कायम गरेका छन् । फागुनमा प्रभुको ७.५ र ग्लोबलको ७.६ प्रतिशत ब्याज रहेको थियो । चैतमा पनि यही नै कायम हुने छ ।

बैंकले अपेक्षा अनुसार कर्जा प्रवाह गर्न नसक्दा निक्षेपको ब्याजदर सस्तो हुँदै गएको छ । निक्षेपमा सबैभन्दा न्यून ब्याजदर कृषि विकास बैंकको रहेको छ । चैतमा बैंकको ब्याजदर ५.६६ प्रतिशत रहेको छ ।  बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ । फागुन महिनामा २० वटै वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको छ ।

चैत महिनाका लागि प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती तर्फ ७.२५ प्रतिशत र संस्थागत तर्फ ६.६ प्रतिशत बनाएको छ । नेपाल बैंकले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत, माछापुच्छ्रेले व्यक्तिगत तर्फ ७.७५ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत ब्याजदर तोकेका छन् ।

यस्तै, सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेप तर्फ ७.२५ प्रतिशत र संस्थागत तर्फ ६.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५.३५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले पनि व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेका छन् । 

सिटिजन बैंकले व्यक्तिगत मुद्दती तर्फ ७.७५ प्रतिशत र संस्थागत तर्फ ६.१५ प्रतिशत, नबिल बैंकले व्यक्तिगत तर्फ ७.२५ प्रतिशत र संस्थागत तर्फ ६.२५ प्रतिशत बनाएका छन् । कुमारीले व्यक्तिगततर्फ ७.५१ प्रतिशत र संस्थागत तर्फ ६.५१ प्रतिशत, सिद्धार्थ र लक्ष्मी सनराइजले व्यक्तिगत तर्फ ७.५ प्रतिशत र संस्थागत तर्फ ६.५ प्रतिशत बराबरी, हिमालयन बैंकले व्यक्तिगत तर्फ ७.५ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत ब्याज प्रदान गर्ने भएका छन् ।

एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेप तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत, नेपाल एसएसबीले व्यक्तिगत तर्फ ७.०१ प्रतिशत र संस्थागत तर्फ ६.०१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत र एभरेष्ट बैंकले व्यक्तिगत तर्फ ६.५ प्रतिशत र संस्थागत तर्फ ५.५ प्रतिशत ब्याज प्रदान गर्ने भएका छन् । 

माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव १५ प्रतिशतसम्म थियो । फागुनमा भने सोही प्रकृतिको निक्षेपमा अधिकतम ब्याजदर नै ८.५० प्रतिशतमा झरेको थियो । चैतका लागि एनआईसी एसियाबाहेक सबै बैंकको व्यक्तिगत मुद्दतीको ब्याजदर ७.७५ प्रतिशतभन्दा तल झरेको छ ।




यसमा तपाइको मत


Comments