17 Baishak, 2081 / 29 April , 2024
काठमाडौं, ४ वैशाख । पञ्चांगअनुसार हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन पर्ने नवदुर्गाको पूजाआराधना गरी आज चैते दसैं पर्व मनाइँदै छ। आज विभिन्न शक्तिपीठ एवं दुर्गाभवानी देवीका मन्दिरमा पूजा गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ।
वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैते दसैं पर्व मनाउने पौराणिक चलन छ। यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दसैं हो।
चैते दसैं अवसरमा काठमाडौं उपत्यका देवी मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। हनुमानढोकामा आज बलिसहितको पूजा गरिन्छ।
चैते दसैंमा अष्टमी र नवमीलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ। अष्टमीको दिन देवी उपासना र बलिसहित पूजा गरिन्छ। नवमीको दिन त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमीका रुपमा मनाउने गरिन्छ।
चैते दसैंमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ। अष्टमीको दिनलाई चैते दसैं र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा रामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिन्छ।
बडादसैंमा जस्तै चैते दसैंमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ। काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालीकास्थान, वज्रयोगिनीलगायत उपत्यका बाहिरका पीठमा आज विशेष पूजा हुन्छ।
शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरे शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ। हनुमानढोका दरबारको दसैंघरमा चैते दसैंका दिन विशेष पूजा गरिन्छ।