23 Baishak, 2081 / 5 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अन्तराष्ट्रिय


गुडिरहेको रेलभित्र गोली चल्दा चार जनाको मृत्यु

गुडिरहेको रेलभित्र गोली चल्दा चार जनाको मृत्यु


एजेन्सी । भारतमा चलिरहेको रेलभित्र गोली चल्दा ४ जनाको मृत्यु भएको छ। रेलवे सुरक्षा बल (आपीएफ)का एक जवानले गोली प्रहार गर्दा ४ जना मारिएका हुन्। 
स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले लेखेअनुसार मारिनेमा रेलवे सुरक्षा बलका सहायक निरीक्षक (असई) पनि छन्।

सोमबार बिहान ५ बजे आसपास महाराष्ट्रको पालघर रेलवे स्टेशन नजिकै आरपीएफका जवान चेतन कुमार चौधरीले आफ्नो एस्कर्ट ड्युटी इञ्चार्ज असई टीकाराम मीनामाथि गोली चलाएका थिए।

आफ्नो स्वचालित हतियारबाट असईमाथि गोली चलाएका उनले त्यसपछि अर्को बोगीमा छिरेर यात्रुमाथि गोली प्रहार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। घटनामा सहायक निरीक्षक टीकाराम मीना र ३ जना यात्रु गरी ४ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन्। पालघर मुम्बईबाट करिब १०० किलोमिटर टाढा छ।
 


राष्ट्रपति बाजुमलाई तत्काल रिहा गर्न राष्ट्र संघको आग्रह

राष्ट्रपति बाजुमलाई तत्काल रिहा गर्न राष्ट्र संघको आग्रह


एजेन्सी । नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई तत्काल रिहा गरी संवैधानिक व्यवस्था पुनःस्थापित गर्न संयुक्त राष्ट्र संघले आग्रह गरेको छ । सैन्य कब्जाबाट आफूहरू स्तब्ध बनेको संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले विनासर्त राष्ट्रपति बाजुमलाई रिहा गरिनुपर्ने, सुरक्षा सुनिश्चित हुनुपर्ने तथा संवैधानिक व्यवस्था र विधिको शासन बहालीका लागि सबै प्रयास गरिनुपर्ने बताएका छन् । 

बाजुमलाई सैन्य गार्ड सदस्यले अस्ति बुधबारदेखि नियामीमा बन्दी बनाएका छन् । लगत्तै उनीहरूले संविधान र सबै संस्थाहरू निलम्बन गर्ने, सीमाहरू बन्द गर्ने र रातको समयमा कर्फ्यु लगाउने घोषणा गरेका थिए । तर बन्दी बनेका राष्ट्रपति बाजुमले लोकतन्त्र जोगाउने प्रतिबद्धता जनाएका छन् । सामाजिक सञ्जालमार्फत उनले लोकतन्त्रका लागि लड्ने दृढता व्यक्त गरेका हुन् । 
 


नाइजरका राष्ट्रपति सुरक्षाकर्मीको कब्जामा

नाइजरका राष्ट्रपति सुरक्षाकर्मीको कब्जामा


एजेन्सी । नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई असन्तुष्ट सुरक्षाकर्मीले कब्जामा लिएका छन् । सुरक्षा गार्डका सदस्यहरूले राष्ट्रपति निवास र कार्यालयमा प्रवेश नै बन्द गरी राष्ट्रपतिसमक्ष आफ्ना माग राखेका छन् । उनीहरुको असन्तुष्टि र माग खुलाइएको छैन ।
पश्चिम अफ्रिकी समूह (इकोवास) ले यो घटनालाई ‘कु’ को प्रयास भनेको छ । साथै इकोवासले घटनाको निन्दा गरी राष्ट्रपतिलाई तत्काल विना सर्त रिहा गर्न आग्रह गरेको छ । सन् २०२१ मा फ्रान्सको निकट सहयोगी मानिएका बाजुम चुनावमा विजयी भएका थिए ।
नाइजरको सेनाले नियन्त्रणमा रहेका राष्ट्रपतिसहित सबै सदस्यलाई तत्काल विना सर्त रिहा गर्न र स्थितिलाई सामान्य बनाउन आग्रह गरेको समाचार संस्था एएफपीले जनाएको छ । 


हत्याको  दोषि ठहर गर्दै साउदीमा  दाइ र बहिनीलाई मृत्युदण्ड

हत्याको दोषि ठहर गर्दै साउदीमा  दाइ र बहिनीलाई मृत्युदण्ड


एजेन्सी । साउदी अरब सरकारले सोमबार आफ्ना दुई नागरिकलाई मृत्युदण्डको सजाय दिइएको जनाएको छ । यो सजाय दाइ र बहिनीलाई दिइएको हो । उनीहरू आफ्ना आमाबुबा र दाजुभाइको हत्यामा दोषी ठहर भएका थिए । 

अल अरेबियाको समाचार अनुसार अब्दुल्ला अजिज बिन फहेद बिन गजाया अल हरेथी र उनकी बहिनी ओहुदले आफ्नी आमा र दुई भाइको खानामा निद्राको औषधि मिसाएका थिए । त्यसपछि दुवैले आमा र भाइलाई सुतिरहेको अवस्थामा गोली हानेका थिए । भोलिपल्ट अर्का भाइलाई पनि गोली हानिएको थियो । 

अपराध गरेपछि दुवैले मिलेर शवलाई एक ठाउँमा लगेर आफ्ना बुबालाई त्यहाँ बोलाएको र उनलाई पनि गोली हानेर हत्या गरेको जनाइएको छ । उनीहरूले अपराध लुकाउनका लागि आगलागीका कारण मृत्यु भएको देखाउन आफ्नै घरमा समेत आगो लगाएका थिए । 


विश्वसनीय प्रतिपक्षविना नै कम्बोडियामा आमचुनाव

विश्वसनीय प्रतिपक्षविना नै कम्बोडियामा आमचुनाव


एजेन्सी । कम्बोडियामा विश्वसनीय प्रतिपक्षविनानै आमचुनाव भएको छ । त्यहाँको राष्ट्रिय सभाका लागि १ सय २५ जना सांसद चयन गर्न हरेक पाँच वर्षमा चुनाव हुनेगर्छ । यो चुनावमा सत्ताधारी दलविरुद्ध विश्वसनीय प्रतिपक्ष प्रतिस्पर्धामा थिएन ।

सत्तारुढबाहेक अन्य १७ वटा दल सहभागी भए पनि ती सबै साना र नयाँ वा सत्तारूढ दलसँग गठबन्धन गरेका पार्टी हुन् । वर्तमान प्रधानमन्त्री सामदेक टेचो हुन सेनको सत्तारुढ दल कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले हिजो भएको चुनावमा सहज जित हासिल गरेको दाबी समेत गरेको छ ।

सीपीपीका प्रवक्ता सोक आइसानले मतपरिणाम आफूहरुको पक्षमा रहेको बताउनुभयो । गएको मे महिनामा एक मात्र प्रतिपक्षी दल क्यान्डललाइटलाई सेन नेतृत्वको सरकारले चुनावमा भाग लिन अयोग्य घोषित गरेको थियो ।


इण्डोनेशियाको सुलावेसी टापुमा अब कुकुर–बिरालोको मासु बेच्न नपाइने 

इण्डोनेशियाको सुलावेसी टापुमा अब कुकुर–बिरालोको मासु बेच्न नपाइने 


एजेन्सी । इण्डोनेशियाको सुलावेसी टापुको कुख्यात पशु बजारमा अब कुकुर-बिरालोको मासु बेच्न नपाइने भएको छ। मासुका निम्ति पाशविक रुपमा ती पशु मारिएका भन्दै पशुअधिकारवादीले त्यसको अन्त्यका लागि वर्षौँदेखि कुकुर-बिरालो बचा अभियान थालेका थिए। 

चमेरा, मुसा, सर्प र बाँदरको मासुसँगै कुकुर र बिरालोको मासु पनि बिक्रीमा राखिने गरेको थियो तर हिजो शुक्रबारदेखि कुकर, बिरालोको मासु बेच्न नपाइने प्रतिबन्धात्मक आदेश जारी भएपछि त्यो रोकिएको छ। 

विगतमा निर्दयी बनेका पशुबजारका व्यापारी यसपटक भने कुकुर र बिरालाको मासु नबेच्न सहमत भएका पशुअधिकारकर्मी संस्था ह्युमेन सोसाइटी इन्टरनेश्नलले शुक्रबार जारी गरेको वक्तव्यमा जनाइएको छ। 


उत्तर कोरियाद्वारा पूर्वीसागरमा दुई वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा पूर्वीसागरमा दुई वटा क्षेप्यास्त्र प्रहार


एजेन्सी । उत्तर कोरियाले पूर्वी सागरमा दुई वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। उत्तर कोरियाली सेनाले प्रहार गरेको मिसाइल कुन प्रकारको हो त्यसबारे दक्षिण कोरियाले विश्लेषण गरिरहेको जनाइएको छ। उत्तर कोरियाले एक साताभित्र दोस्रो पटक मिसाइल प्रहार गरेको हो। 
दक्षिण कोरियाली मिडियाले संयुक्त चिफ अफ स्टाफ (जेसीएस) लाई उद्धृत गर्दै भनेको छ, 'उत्तर कोरियाले बुधबार पूर्वी सागरमा दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो, जसको दक्षिण कोरियाली सेनाले विश्लेषण गरिरहेको छ। 

जापानी र दक्षिण कोरियाली सेनाहरूले भनेका छन् - उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको छ जसरी अमेरिकी ब्यालेस्टिक मिसाइल पनडुब्बी ४० वर्षमा पहिलो पटक दक्षिण कोरियाको बन्दरगाहमा आइपुगेको थियो।

दक्षिण कोरिया र अमेरिकाले आयोजना गरेको न्यूक्लियर कन्सल्टेटिभ ग्रुप (एनसीजी) को उद्घाटन बैठकको एक दिनपछि उत्तर कोरियाले मिसाइल प्रहार गरेको हो।  एनसीजी बैठक दक्षिण कोरियाप्रति अमेरिकाको विस्तारित प्रतिरोधलाई बलियो बनाउन आयोजना गरिएको थियो।

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार एक साताअघि प्योङयाङले ह्वासोङ-१८ ठोस इन्धन अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) परीक्षण गरेको थियो। गत वर्षदेखि, दक्षिण कोरियाले १२ औं आईसीबीएम सुरु गरेको जनाएको छ।
 


भारतमा गरिबको संख्या १३ करोड ५० लाखले घट्यो

भारतमा गरिबको संख्या १३ करोड ५० लाखले घट्यो


एजेन्सी । भारतमा गरिबीको रेखामुनि रहेकाको जनसंख्या घटेको छ। सन् २०१५/१६ देखि २०१९-२१ को बीचमा १३ करोड ५० लाख मानिस गरिबीको रेखाभन्दा माथि आएका छन्। नीति आयोगले जारी गरेको राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपीआइ) का अनुसार, आयमा आएको वृद्धिले ठूलो जनसंख्या गरिबीको रेखाभन्दा माथि पुगेका हुन्।
भारतमा बहुआयामिक गरिबीको हिस्सा सन् २०१५/१६ मा २४.८५ प्रतिशतबाट घटेर सन् २०१९-२१ सम्म १४.९६ प्रतिशतमा झरेको छ। यसले स्वास्थ्य, शिक्षा र जीवनस्तरमा आएको सुधारलाई जनाउँछ।

यसबाहेक पोषण, बाल मृत्युदर, आमाहरुको स्वास्थ्य, स्कुलमा उपस्थिति संख्या, खाना पकाउन उपयोग हुने इन्धन, खानेपानी, गुणस्तरीय बिजुली र आवासमा आएको सुधारलाई पनि संकेत गर्छ।

नीति आयोगका प्रमुख कार्यकारी बीबीआर सुब्रमण्यमले भारतले सन् २०२३ मा हासिल गर्ने भनेर राखेको लक्ष्यमा त्यसअघि नै सफल भएको बताए।


अमेरिकामा पढ्दा लिएको ऋण तिर्नु नपर्ने

अमेरिकामा पढ्दा लिएको ऋण तिर्नु नपर्ने


एजेन्सी । अमेरिकामा बाइडेन प्रशासनले ८ लाख बढी विद्यार्थीको ऋण मिनाहा गर्ने घोषणा गरेको छ। बाइडेन प्रशासनले गरेको घोषणाअनुसार ८ लाख ४ हजार विद्यार्थीले युनिभर्सिटी पढ्दा लिएको ३९ अर्ब डलर ऋण मिनाहा हुने भएको छ। यो निर्णयले ती विद्यार्थीको परिवारसँग जोडिएका ३ करोड ७० लाखभन्दा बढी मानिस लाभान्वित हुने भएका छन्।

अमेरिकामा विद्यार्थीलाई युनिभर्सिटी अध्ययन गर्दा २० वर्षदेखि २५ वर्षमा तिर्ने गरी सरकारले आफैँ जमानी बसेर बैंकमार्फत ऋण सहुलियत दिएको हुन्छ। अमेरिकाको शिक्षामन्त्री मिगेल कार्डोनाका अनुसार बाइडेन प्रशासनले आज एक घोषणामार्फत ती विद्यार्थीको ऋण मिनाहा गरेको छ। यस्तो घोषणा अमेरिकी उच्च अदालतले कानुनी हुने बताएसँगै बाइडेन प्रशासनले घोषणा गरेको हो।


युक्रेनले तत्काल नेटोको सदस्यता नपाउने

युक्रेनले तत्काल नेटोको सदस्यता नपाउने


एजेन्सी । युक्रेनले तत्काल उत्तर एट्लान्टिक सन्धी सङ्गठन (नेटो) को सदस्यता नपाउने निश्चित भएको छ । लिथुआनियाको राजधानी विलनियसमा दुई दिनसम्म भएको नेटो सम्मेलनमा युक्रेनको सदस्यता मुख्य विषय बनेको थियो । तर, स्वीडेन नेटोको नयाँ सदस्य बन्ने निश्चित भए पनि युक्रेनलाई सदस्यता दिनेबारेमा भने सम्मेलनले कुनै निर्णय गरेन ।
नेटोमा आबद्ध देशहरूले रुससँगको लडाइँमा युक्रेनलाई थप सैन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनलाई नेटो सदस्यताको बाटोमा सहयोग गर्ने बताउनुभएको छ । त्यस्तै, नेटोका प्रमुख जेन्स स्टोल्टनबर्गले यो बैठक ऐतिहासिक भएको तर युक्रेनलाई सदस्यता दिनेबारे कुनै निर्णय नभएको बताएको बीबीसीले जनाएको छ ।

युक्रेनले सदस्यता पाउन पहिले आर्थिक, राजनीतिक र सैन्य मापदण्डहरु पूरा गर्नुपर्नेछ । सन् १९४९ मा स्थापना भएको नेटोमा शुरुवाती समयमा अमेरिका, बेलायत, क्यानडा, फ्रान्सलगायत १२ देश सहभागी थिए । त्यसपछि युरोप र उत्तर अमेरिकासहित ३१ सदस्य पुगेको छ । अब स्वीडेन पनि थपिएको छ ।