24 Shrawn, 2077 / 8 August , 2020

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

विचार/अन्तरवार्ता


'प्रिय सरकार, कोरोनाको उपदेश तीतो हुन लाग्यो'

'प्रिय सरकार, कोरोनाको उपदेश तीतो हुन लाग्यो'


-डा.रवीन्द्र पाण्डे-
कोरोना संक्रमणबाट बच्नको लागि के गर्नुपर्छ भनेर सबै नागरिकलाई थाहा भइसकेको छ । मोबाइलको रिङटोन, स्वास्थ्य मन्त्रालयका प्रवक्ताको ठाडो उपदेश, संचारमाध्यमदेखि विज्ञहरुको अर्ति एकै छ 'मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, हात धोइरहने ।'

सरकारी संयन्त्रको आरोप छ 'नागरिकले मास्क लगाएनन्, सामाजिक दुरी कायम गरेनन्, हात धोएनन्, जनता अनुशाशित बनेनन् ।'
नागरिकको आरोप छ 'सरकारले उचित ठाउँमा परीक्षणको दायरा बढाएन, अस्पतालमा क्षमता वृद्धि गरेन, अरबौं रुपैयाँ के गर्यो के गर्यो ।'

अहिलेको युगमा सबैभन्दा अप्रिय विषय हो, 'उपदेश' । उपदेशकर्ताले आफुलाई सर्वज्ञाता र आफुबाहेक अन्यलाई केहि थाहा नभएको भन्ने भ्रम रोग पालेर बसेको हुन्छ । एकै उपदेश पटकपटक दिँदा श्रोता वा दर्शक वाक्क दिक्क हुन्छन् भन्ने उसले बुझ्दैन । उपदेशको जति हाइ डोज हुन्छ, त्यसले त्यति नै काम गर्न छोड्छ ।

अहिलेको युग भनेको अन्तरक्रियाको युग हो । मनोबैज्ञानिक संवादको युग हो । हामी सबैले मैले केहि कुरा जानेको छु, मेरो कुरा सुन्नेले मैलेभन्दा धेरै कुरा जानेका हुन्छन् भन्ने मानसिकता विकास गर्नु जरुरी छ ।

नागरिकलाई मास्क लगाएनन् भनेर आरोप लगाउनुको कुनै अर्थ छैन । राज्यले मास्क उत्पादक संस्थालाई मेसिन तथा कच्चापदार्थ ल्याउन छुट दिने, केटाकेटीको लागि कार्टुन भएका रमाइला मास्क उत्पादन गर्ने, किशोरकिशोरीको लागि फेन्सी मास्क उत्पादन गर्ने, खेलप्रेमीको लागि खेलाडीको फोटो भएका मास्क उत्पादन गर्ने, जेष्ठ नागरिकको लागि धार्मिक आस्था प्रतिबिम्बित मास्क उत्पादन गर्ने तथा ती मास्कलाई अन्त्यन्तै सस्तो मुल्यमा उपलब्ध गराउनुपर्दछ ।

 कपडाको मास्क तथा सर्जिकल मास्कलाइ २-३ रुपैयाँमा उपलब्ध गराउने हो भने धेरै व्यक्तिले मास्क लगाउँछन् । हरेक सेवाग्राही कार्यालय, चोक, निर्माणस्थल, स्वास्थ्य संस्था आदिमा नि:शुल्क मास्क वितरण गर्ने तथा मास्कलाई रहर र फेसनको विषय बनाउने हो भने मास्क लगाउनेको संख्या ह्वात्तै बढ्छ । त्यस्तै स्यानिटाइजर र साबुनलाई सरकारले एकदम सस्तोमा उत्पादन गराएर ५-५ रुपैयाँमा सर्वसुलभ गराउने हो भने प्रयोगकर्ताको संख्या ह्वात्तै बढ्नेछ ।

 सामाजिक संघसंस्थामार्फत मास्क, साबुन तथा स्यानिटाइजर निम्न आय भएका तथा प्रयोग नभएका क्षेत्रमा नि:शुल्क वितरण गर्ने हो भने जनतालाई लो डोजको सल्लाहले पनि काम गर्छ ।

कर तिर्ने, लाइसेन्स तथा बिलबुक नबिकरण गर्ने, विद्युतको बिल तिर्ने, वडामा तिरो तिर्ने, मालपोतको काम, अस्पतालको पालो आदिलाई हरेक बैंकबाट तिर्न मिल्ने, फोनबाट समय लिनसक्ने र छरितो रुपमा सेवा पाउने अवस्थाको राज्य तथा सम्बन्धित निकायले ब्यवस्था गर्ने हो भने कुनै पनि व्यक्तिलाई भीड गर्नु जरुरी हुने छैन | राज्यले सयौं वर्षदेखि सामाजिक दुरीमा राखेको वर्ग व्यक्तिगत दुरी कायम गर्न अभ्यस्त छ ।

 त्यस्तै भीडभाड हुने स्थान तथा गल्लीमा ब्यापार गर्नेलाई ४-५ सिफ्टको समय तालिका अनुसार खोल्ने अनुमति दिने हो भने त्यहाँको भीड घटाउन सकिन्छ । सरकारले स्थानीय निकायसंग समन्वय गरेर ससाना तर महत्वपूर्ण कुराको ब्यवस्थापन गर्न सक्छ । यी २ नदीको मिलन कहिले होला ?

लामा यातायात (निजि तथा सरकारी)लाई संक्रमणरहित बनाएर एक सिटमा एकजना यात्री राख्ने हो भने जोखिम कम हुन्छ । घुँडा र कुम जोडेर बस्नुपर्ने टेम्पु तथा माइक्रोबसमा सरकारले अमिन पठाएर व्यक्तिगत दुरी नाप्यो भने जनता सुरक्षित हुनेथिए । माइक्रोबसलाई एम्बुलेन्स तथा टेम्पुलाई अन्य सामान बोक्न प्रयोग गर्न सकिन्छ |
चाडपर्व कसरी मनाउने ? हामीलाई थाहा छ सरकार । भोको पेट र रित्तो आङले चाडपर्व मनाउन पाइन्छ कि पाइन्न सरकार ? लौ न, एक डोज उपदेश पाउँ ।

सकभर घरभित्र बस्ने कसको मन हुँदैन र ? मुसा दौडने रित्ता भाँडा, चौबिसै घण्टा भोक लाग्ने केटाकेटी, अभावले उत्पन्न अशान्ति अनि पैसो माग्न आउने साहुभन्दा चर्का आफन्त ‘ सकभर घरभित्र ‘ बस्दैनन् । उनीहरु घरभित्र बसे पो हामी पनि ‘ सकभर घरभित्र ‘ बस्ने थियौं ।

समाजवाद उन्मुख संबिधान तथा कम्युनिष्ट सरकार भएको मुलुकमा गरिब तथा सर्बहारा वर्गले राहत पाउँदैनन्, सिटामोल र जीवनजल नपाएर मृत्युवरण गर्छन् तथा सरकारका परममित्र ठूला ब्यवसायीले कर र ब्याजमा सहुलियत पाउँदैनन् भने सरकार पाल्ने नागरिकको आँखामा मोतिबिन्दु लाग्न सक्छ ।

 मोतिबिन्दु लागेका जनताले चुनाव चिन्ह नचिन्ने खतरा बढ्न सक्छ । भनिन्छ नि – एक माघले कोरोना जाँदैन, उपदेशले पेट भरिँदैन ।

(डा.पाण्डे जनस्वास्थ्य विज्ञ हुन् ।)


टुसा उमारेर खाँदा पोषकतत्त्वमा वृद्धि, पचाउन सजिलो

टुसा उमारेर खाँदा पोषकतत्त्वमा वृद्धि, पचाउन सजिलो


-डा.अरुणा उप्रेती-

टुसा स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । महत्त्वपूर्ण सांस्कृतिक पहिचान बोकेको क्वाँटी जनैपूर्णिमा पर्वको विशेष आहारका रूपमा रहँदै आएको छ । परम्परागत रूपमा यसले जाडो आउन सुरु गरेको सन्देश पनि दिन्छ ।

जाडोका वेला टुसा उमारेको खानेकुराले मानव स्वास्थ्यमा एकदमै फाइदा गर्छ भन्ने कुरा हाम्रा पुर्खालाई जानकारी थियो ।

वैज्ञानिक रूपमा फाइदा गर्छ भन्ने जानकारी नभए पनि उनीहरूको परम्परागत ज्ञानले स्वास्थ्यमा लाभ पुर्याउने थाहा भएरै क्वाटी खाने प्रचलन अविच्छिन्न रहिआएको हो र यसको निरन्तरताका लागि सांस्कृतिक रूप दिइएको हुनुपर्छ ।

कसरी फाइदाजनक ?

टुसा उमारेको क्वाटी प्रोटिनको खानी हो । किनभने, यसमा थुप्रै किसिमका गेडागुडी मिसाइएका हुन्छन् । टुसा उम्रेपछि क्वाँटीमा भएका तत्त्वहरू प्रोटिन, सूक्ष्म पोषकतत्त्व, क्याल्सियम, भिटामिन २० गुणा बढ्न जान्छन् । त्यसैले सय रूपैयाँको सुक्खा क्वाँटी ल्याएर टुसा उमारेर खाने हो भने ४ सय रूपैयाँसम्मको फाइदा लिन सकिन्छ ।

क्वाटी जीवन्त खाना हो, जुन पचाउन पनि निकै सजिलो हुन्छ । यत्तिकै खाँदाभन्दा टुसा उमारेर खाँदा पचाउन सजिलो हुन्छ । दाल, गेडागुडीको सेवन गर्दा शरीरमा ग्यास उत्पन्न हुन सक्ने सम्भावना हुन्छ । तर, क्वाटी बनाएर खाएपछि शरीरमा ग्यास बन्ने सम्भावना ज्यादै न्यून हुन्छ ।

यस्ता व्यक्तिलाई क्वाँटीको विशेष आवश्यकता

बालबालिकालाई कुपोषण तथा गर्भवती महिलाको शरीरमा प्रोटिनको कमी नहोस् भनेर क्वाटी खान दिने गरिन्छ । प्रोटिनको कमी नभएपछि महिलालाई रक्तअल्पता पनि हुन पाउँदैन ।

गर्भवतीमा रगतको कमी नभएपछि भ्रूण वा पेटको बच्चा पनि राम्रो हुन्छ । गर्भवतीमा मात्र नभएर सुत्केरी भएपछि पनि क्वाटीको सेवनले आमा र बच्चा दुवैलाई फाइदा पुर्याउँछ ।

यसको रस खाँदा पर्याप्त मात्रामा शरीरमा चाहिने क्याल्सियम, प्रोटिन प्राप्त हुन्छ, त्यसकारण सुत्केरी महिलालाई ज्वानो तथा क्वाटीको रस खुवाउने हाम्रो जुन परम्परागत छ, त्यो एकदमै वैज्ञानिक छ ।

कोही व्यक्ति कुनै रोग तथा शरीरमा समस्यापछि तंग्रिन लागेका वेला पनि क्वाटीको रसले धेरै फाइदा पुर्याउँछ । जो व्यक्ति शाहाकारी जीवनशैली अपनाउँछन्, माछा–मासु खाँदैनन्, उनीहरूका लागि क्वाटी अति उपयोगी हुन्छ , प्रत्येक साताको दुई–तीनपटक खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । यो पौष्टिकताले भरिपूर्ण भोजन हो ।

यसरी खाँदा थप लाभ

क्वाटीलाई विभिन्न तरिकाले पकाएर खान सकिन्छ । सुप बनाएर वा तरकारीका रूपमा पनि यसको प्रयोग गर्न सकिन्छ ।

क्वाटीलाई पिसेर पिठोमा मिलाएर बालबालिकाका लागि खाजा खाजा तयार गर्दा यसको पौष्टिकता एकदमै बढ्न जान्छ । टुसा उमारेको चना बालबालिकालाई खुवाइयो भने प्रोटिनको मात्र पर्याप्त हुन्छ । टुसा उमारेको कुनै पनि खाद्यवस्तुलाई जीवन्त खानेकुरा भनिन्छ ।

अन्य फाइदा

क्वाटी शक्तिवर्धक एवम् पौष्टिक आहार हो । । क्वाटीको सेवनले–
– आवश्यक ऊर्जा प्राप्त हुन्छ ।
– रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
– कब्जियतको समस्या हटाउँछ ।

(डा.उप्रेतीकाे फेसबुकबाट साभार)

 


'फेरि १५ दिन कडा लकडाउन गरौँ’

'फेरि १५ दिन कडा लकडाउन गरौँ’


-डा.रवीन्द्र पाण्डे-

सुरक्षा सतर्कता तथा आवतजावत नियमन गर्ने काममा गम्भीर नहुनुको कारण अहिले नेपालका अधिकांश जिल्लामा कोरोना संक्रमणको प्रकोप बढेको छ । उत्तर प्रदेश, बिहार तथा पश्चिम बंगालमा कोरोना संक्रमणको आगो बलिरहेको अवस्थामा सिमानाशिल नगर्नु हाम्रो लागि प्रत्युत्पादक बनेको छ ।
संक्रमणको फैलावटलाई अध्ययन गर्ने हो भने अहिले प्रदेश नम्बर २ कोरोना संक्रमणको तेस्रो चरणमा अर्थात् सामुदायिक संक्रमणमा प्रवेश गरेको छ ।

त्यस्तै पश्चिम बङ्गाल र उत्तर प्रदेशसँग जोडिएका केहि जिल्लामा सामुदायिक संक्रमणको पूर्वरुप देखा परेको छ । बिराटनगर, इटहरी, कपिलवस्तु, कैलाली पहाडी जिल्ला बझाग, दैलेख लगायत जिल्लाहरु क्लस्टर अफ केसेसबाट अघि बढ्दैछन् । इलाम, स्याङ्जा लगायतका जिल्लामा दर्जनौं प्रहरीमा संक्रमण देखिएको छ । संक्रमित क्षेत्रबाट सुरक्षित ठाउँ खोज्दै काठमाडौं उपत्याका लाखौँ व्यक्ति भित्रिएका छन् ।

४० लाख स्थिर जनसंख्या रहेको काठमाडौं उपत्यकामा अहिले ६० लाख स्थिर र १० लाख आवतजावत गर्ने जनसंख्या भएको अनुमान गर्न सकिन्छ ।
अहिलेपनि बिभिन्न भित्रि बाटोबाट बिना रोकटोक दैनिक हजारौ व्यक्तिहरु काठमाडौं आइरहेका छन् । काठमाडौंमा संक्रमितको लहरो समाउँदा भारतबाट आएका वा संक्रमित क्षेत्रबाट आएका व्यक्तिले संक्रमण बढाएको देखिएको छ ।

उपचार गर्न, काम गर्न, पढ्न वा अन्य उद्देश्यले काठमाडौं आउनुपर्ने हुन्छ । तर यो विषम परिस्थितिमा काठमाडौं आउने हरेक व्यक्तिको पिसिआर परीक्षण गरेर रिपोर्ट आउनेबेलासम्म होल्डिंग सेन्टरमा राखेर प्रवेश गर्न अनुमति दिने, लुकेर आउने बाटोमा आवतजावत प्रतिबन्ध लगाउने तथा गम्भीर बिरामीलाई सिँधै अस्पताल पुर्याउने ब्यबस्था गरेको भए यो परिस्थिति आउने थिएन ।

अबको बाटो के त ?

काठमाडौं उपत्यका, काठमाडौं आउने बाटोका क्षेत्र, भारतसँग सिमाना जोडिएका जिल्लाहरु तथा संक्रमण फैलिएका पहाडी जिल्ला तथा अन्य ठूलो जनघनत्व भएका सहरमा १५ दिन कर्फ्यु लगाउनु जरुरी छ ।

पुरानो मोडेलको लकडाउनले अहिलेको स्थितिलाई धान्न सक्दैन । १५ दिन कर्फ्यु लगाउँदा आवतजावत बन्द हुन्छ, संक्रमित या निको हुन्छन् या अस्पताल जान्छन् तर स्वस्थ व्यक्तिलाई संक्रमण सार्न सक्दैनन् ।

यो १५ दिनको कर्फ्युले हालसम्मको संक्रमणलाई ब्यबस्थापन गर्छ । कर्फ्युको अवधिमा सरकारले माथि उल्लेखित क्षेत्रमा ब्यापक परीक्षण बढाएर नेपाललाई रेड जोन, एल्लो जोन तथा ग्रीन जोन छुट्याउने, सिमाबासीलाई राहत दिएर सुरक्षाकर्मी र सिमाबासीको २४ सै घण्टा गस्ती बढाउने, सिमानाका अबैध बाटा बन्द गर्ने, आवतजावतको मोडेल तयार गर्ने, संक्रमित क्षेत्रमा सुरक्षित आइसोलेसन सेन्टरको प्रबन्ध गर्ने, हरेक अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक उपचार, आइसीयु, भेन्टिलेटर, अक्सिजन, ब्लड तथा जनशक्तिलाई तालिम (आइसीयु र भेन्टिलेटर अपरेट गर्न) दिने ।
कर्फ्युको समयमा निम्न आय भएका व्यक्तिलाई राहत र अन्य व्यक्तिलाई राज्यले दिनुपर्ने सहुलियत दिने गर्नुपर्छ ।

यो १५ दिनपछि आवतजावतमा कडाइ गर्ने, मास्क नलगाउने वा सहि तरिकाले नलगाउनेलाई ५ हजारको जरिवाना गर्ने, ५ जनाभन्दा धेरै ब्यक्तिसँगै हिँडेमा, भीडभाड गरेमा तथा भोजभतेर गरेमा ५ हजार जरिवानाको ब्यबस्था गर्ने ।

सरकारी तथा निजि प्रयोगशालामार्फत दिनमा ३० हजार व्यक्तिको परीक्षण गरिरहने र जनस्वास्थ्य चेतनाका प्रभावकारी कदम अबलम्बन गरेमा हामी कोरोना भाइरसको भिक्टिम हुनुपर्दैन ।

यदि हामीले गम्भीर भएर कडा लकडाउन वा कर्फ्यु १५ दिन सहन सक्यौं भने हालसम्मको संक्रमणलाई ब्यबस्थापन गर्न सक्छौं र आगामी दिनमा आवातजावत तथा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्यौं भने हामी कोरोना संक्रमणको चपेटाबाट मुक्त हुने बाटोमा अग्रसर हुनेछौं ।

हामीले बिर्सिनु हुँदैन कि विकसित देशले समेत संक्रमणको छाल नियन्त्रण गर्न नसकेको अवस्थामा हाम्रो जस्तो कमजोर स्वास्थ्य प्रणाली भएको देशले सामुदायिक संक्रमण थेग्न सक्दैन । हामी सबै गम्भीर भएर कोरोना संक्रमण नियन्त्रण गर्न एकजुट हुनुको विकल्प छैन ।

(डा.पाण्डे जनस्वास्थ्य विज्ञ हुन् ।)


'वीरगंज लगायत सामुदायिक संक्रमण भएका ठाउँमा यसरी कोरोना नियन्त्रण गरौँ'

'वीरगंज लगायत सामुदायिक संक्रमण भएका ठाउँमा यसरी कोरोना नियन्त्रण गरौँ'


-डा. रवीन्द्र पाण्डे-
पर्सा (वीरगंज) मा कोरोना संक्रमण समुदायमा फैलिएको छ । हामी सबै स्पष्ट हुनु जरुरी छ कि पर्साको अवस्था सामुदायिक संक्रमण हो । यो क्लस्टर केसेस होइन । कन्ट्याक्ट ट्रेसिंग गर्दा मात्र हैन, त्यहाँ आफैले पैसा तिरेर कोरोना जांच गर्दा पनि धेरै व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ । 

पर्साका स्वास्थ्यकर्मी, मेयर, सांसद, उद्योगका मजदुर, कैदी, ड्राई पोर्टमा मात्र होइन सहर तथा गाउँ सबैतिर कोरोना संक्रमणको महामारी चलेको छ । ट्राभल हिस्ट्री नभएका, संक्रमितसंग सम्पर्क नभएका तथा घरमै बसेका व्यक्तिमा पनि संक्रमण पाइएको छ ।

यो महामारीलाई समयमै नियन्त्रण नगर्ने हो भने ठूलो क्षति हुनसक्छ । बारा, सप्तरी, मोरंग, कपिलबस्तु, दैलेख लगायत बिभिन्न ठाउँमा क्लस्टर अफ केसेसबाट सामुदायिक संक्रमण हुँदैछ । यसको लागि निम्न लिखित पहल तुरुन्तै गर्नु जरुरी छ ।

१. सामुदायिक संक्रमण देखिएका र उन्मुख ठाउँमा कर्फ्यु लगाउने । सरकारले जनतालाई खाना, पानी, औषधि आदिको ब्यबस्था एबम परीक्षणको लागि स्वाव संकलन घरघरमा गएर गर्ने ।

२. सिमाना १०० % शिल गर्ने ।

३. काठमाडौं लगायत बिभिन्न ठाउँबाट सयौं स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा परिचालन गर्ने ।

४. सुरक्षा निकायलाई बाक्लो संख्यामा परिचालन गर्ने ।

५. स्कुल, क्याम्पस, होटेल, पार्टी प्यालेस, सामुदायिक भवन तथा सरकारी भवनमा सुरक्षित तथा ब्यबस्थित आइसोलेसन वार्ड बनाउने |

६. गम्भीर बिरामीलाई अस्पताल तथा मेडिकल कलेजमा भर्ना गर्ने | आइसीयु, भेन्टिलेटर, अक्सिजन, ब्लड आदिको तुरुन्तै प्रबन्ध गर्ने |

७. एक घर ; एक पिसिआर होइन, प्रत्येक व्यक्तिको पिसिआर परीक्षण गर्ने | संक्रमितलाई तुरुन्त आइसोलेसनमा राख्ने, कन्ट्याक्ट ट्रेसिंग तुरुन्त गर्ने ।

८. संक्रमण नियन्त्रणमा नआएसम्म १ जना व्यक्तिलाई पनि घर बाहिर निस्किन नदिने | प्रकोप फैलिएको समयमा भाइरस सर्ने सम्भावना सामान्य अवस्थामा पनि धेरै हुन्छ |

९. आम नागरिक धैर्य, संयमित तथा आशाबादी भएर बस्ने | यो कडाइ हाम्रै लागि भएको हो भनेर सोंच्ने |

१०. कारणबस घरबाहिर निस्किनु पर्ने परिस्थिति भएमा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने, न्युनतम ६ फिटको दुरी हरेक व्यक्तिसंग पालना गर्ने, भीडभाडमा नजाने, घरलाई चाहिने सामान एकैपटक किन्ने |

११. हामी जति बाहिर जान्छौं, त्यति नै संक्रमित हुने जोखिम हुन्छ | तसर्थ जीवनरक्षाको लागि केहि कष्ट सहेर भएपनि घरभित्र बस्ने |

१२. स्थानीय निकाय, प्रदेश सरकार, संघीय सरकार, सामुदायिक तथा निजि संस्था संबैले उदार भएर राहत, परीक्षण र उपचारमा लाग्ने |

१३. हरेक नागरिकलाई एम्बुलेन्स र अस्पतालको फोन नम्बर दिएर गाह्रो पर्यो भने तुरुन्त अस्पताल पुर्याउने व्यवस्था गर्ने ।

१४. जेष्ठ नागरिक र दीर्घबिरामीलाई सकभर घरभित्र पनि आइसोलेसनमा राख्ने अर्थात छुट्टै कोठामा राख्ने |

१५. कोरोना संक्रमणबाट बच्ने उपायका पम्प्लेट, मास्क, साबुन, ह्याण्ड स्यानिटाइजर, थर्मोमिटर, सिटामोल, जीवनजल आदि घरघरमा वितरण गर्ने |


रोग–प्रतिरोधात्मक शक्ति कसरी बढाउने ?

रोग–प्रतिरोधात्मक शक्ति कसरी बढाउने ?


-डा.अरुणा उप्रेती-
मेरो बिहान शुरु हुन्छ कागती–पानी, टुसा उमारेको मेथी, आलस, मुङ्रेलो र फर्सीको दानाबाट । त्यसपछि मरिच, कागती र थोरै चिनी राखी पकाएको चिया । यस्तो चियामा स्वादको लागि बिरेनून पनि राख्न सकिन्छ ।

अदुवा र दालचिनीको धूलो मिसाएमा अझ स्वादिष्ट हुन्छ । यस्तो चियाले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ भन्ने त अनुभव थियो, कोरोनाको महामारीका बेलामा यसको अझ बढी महत्व रहेछ भन्ने पनि बुझियो । कोरोना संक्रमणको यस अवधिमा रोगसँग लड्ने शक्ति बढाउने बीउ, बियाँहरु र यस्तै अन्य वनस्पतिहरूको धेरै खोजी हुन थालेको छ ।

भारतस्थित लखनौको लोकबन्धु अस्पतालमा आयुर्वेदका विशेषज्ञ डा.अदिल रइस र उनको समूहले कोरोना संक्रमण भएका २५ जनालाई यस्तै खालको उपचार गरेको थियो । उनीहरुलाई जडीबुटीको रस बिहान–बेलुका ५० मिलिलिटर दिइएको थियो । उनीहरुलाई नियमित योग गर्न लगाएर अदुवा, गुर्जोको काँढा दिइएको थियो । साथै रोगसँग लड्ने शक्ति बढोस् भनेर संक्रमितलाई सहजै पच्ने खानेकुरा दिइएको थियो ।

कोरोना पोजेटिभ भएका ती व्यक्तिहरुलाई ७ दिनसम्म यस्तो उपचार गरेपछि जाँच गर्दा उनीहरूको शरीरमा कोरोना नरहेको पाइयो । उपचार सफल भयो तर यसका बारेमा अन्य थुप्रै अनुसन्धान हुन त बाँकी नै छ । जे होस्, कोरोनाको संक्रमणबाट जटिलता नहोस् भनेर यो प्रयोग गर्न सकिन्छ भन्ने जानकारी भयो (नवभारत टाइम, २०२०, ४ जुन) ।

आधुनिक औषधिहरूले कोरोना संक्रमणबाट हुने जटिलता र असमयमा हुने मृत्युबाट बचाउन सहयोग गर्ने पक्का हो । तर हाम्रा वरिपरि रहेका र बिर्सिएका बीउ एवं वनस्पतिले चाहिँ मानवशरीरको रोग–प्रतिरोधात्मक शक्ति बढाएर कोरोना मात्र होइन अन्य विभिन्न संक्रमणबाट बच्न केही सहयोग गर्न सक्छन् भन्ने ज्ञान आयुर्वेदले दिन्छ ।

उदाहरणको लागि क्षयरोगका कीटाणुले पनि रोग–प्रतिरोधात्मक क्षमता कम भएका बालबालिका, महिला, पुरुषलाई आक्रमण गर्छ र क्षयरोगी बनाउँछ । क्षयरोगको उपचार गर्दा औषधिको साथसाथै पोषणयुक्त खाना, सफा हावा, घाम आदिको पनि ठूलो महत्व हुन्छ । त्यसै गरी कोरोनाको संक्रमण भइहाले पनि उपरोक्त तथ्यलाई ध्यानमा राख्नै पर्छ ।

भिटामिन ‘सी’को प्रयोगले संक्रमणबाट बचाउँछ । भिटामिन ‘सी’मा रोग–प्रतिरोधात्मक शक्ति हुन्छ । भिटामिन ‘सी’को खोजी गर्दै औषधि पसलहरुमा पुग्नुभन्दा पहिले आफ्नै घरमा भिटामिन ‘सी’ भएका वस्तुहरू के छन् भनेर हेर्दा बेस हुन्छ । प्रायः सबै फलफूलमा धेरथोर भिटामिन ‘सी’ पाइन्छ । कागती, अमला, लप्सी भिटामिन ‘सी’का राम्रा स्रोत हुन् ।

त्यसै गरी टुसा उमारेको केराउ, मटर, चना आदिमा पनि पर्याप्त भिटामिन ‘सी’ पाइन्छ । यिनलाई काँचै सलाद बनाएर खाँदा प्रोटिन, लौहतत्व र भिटामिन ‘सी’ पाइन्छ । यसले रोगसँग लड्ने शक्ति प्रदान गर्छ ।

त्यस्तै गाउँघरमा सजिलै पाइने आलस, फर्सीको बियाँ, सूर्यमुखी फूलको बियाँ पनि सूक्ष्म पौष्टिक तत्वका भण्डार हुन् । दिनदिनै अलि–अलि प्रयोग गर्दा यी पदार्थले शरीरमा रोग–प्रतिरोधात्मक शक्ति बढाउँछन् ।


अबको निकासः भूमिका परिवर्तन

अबको निकासः भूमिका परिवर्तन


-डा.विन्दा पाण्डे-
नेकपाको नेतृत्व विवाद सतहमा आएको तीन महिना नाघेको छ । २६ महिना अगाडि दुई पार्टी एकीकरण भएर नेकपा बन्यो ।
एउटा लामो समय लोकतान्त्रिक प्रक्रियाबाट अगाडि बढेको नेकपा ९एमाले० र अर्को दशक लामो सशस्त्र आन्दोलनबाट आएको नेकपा (माओवादी केन्द्र) बीचको एकता आफैमा सहज थिएन । तर, भयो । आफ्ना दलगत स्वार्थभन्दा जनआकाङ्क्षा र मुलुकको रूपान्तरणलाई शिरमा राखेर सोच्ने हो भने कस्तै अप्ठेरोमा पनिसँगै जान सकिन्छ भन्ने नजिर स्थापित भयो ।
तर, एकतापछि कार्यविभाजन लगायतको निर्णय प्रक्रियामा आन्तरिक असहमति देखिन थाल्यो । समस्याको समयमा नै निर्मुलन नगरी अगाडि बढ्दा असहमतिको चाङ चुलिँदै गयो । कामको कुरा न त विधान अनुसार पूरा भयो ।

न कमिटीका निर्णयहरु नै कार्यान्वयन भए । मनोगत रुपमा आपसी सम्बन्ध, सहमति र समझदारीमा देखिएका दरारको समयमा निराकरण नहुदा असन्तुष्टिका चुलिँदा चाङ २०७७ वैशाख को अध्यादेश घटनासँगै प्रष्फुटित हुन पुग्यो ।

दुई पार्टीका फरक स्कूलिंगवाट आएका पार्टीबीच एकताको २६ महिना बितिसक्दा पनि सदस्यताको टुंगो लगाउने, विभाग-निकायहरुलाई पूर्णता दिने र आबद्ध संगठनहरुबीच एकता समेत टुंगिएको छैन ।

अध्यादेशका विपक्षमा स्थायी कमिटी सदस्यले हस्ताक्षरसहित बैठकको मागपछि सरकारले दुवै अध्यादेश फिर्ता लियो । तर, विवाद सकिएन । छोटो वैठक वसेर तत्कालको समस्या समाधानको सहमति त भयो । तर, त्यसले समस्या टारेको नभई, सारेको मात्र अवस्था रह्यो ।

अन्ततः २०७७र७८ को नीति कार्यक्रम र विनियोजित बजेट पारित भएसँगै असार १० गतेबाट स्थायी कमिटीको बैठक सुरु भयो । उक्त बैठकका लागि विविधसहित तय गरिएका सातवटा विषयमध्ये सीमाना सम्बन्धि विषयमा हुँदै गरेको छलफल टुंगोमै नपुर्याई बीचमा उब्जिएको एजेण्डा ुअध्यक्ष र प्रधानमन्त्रीको राजीनामाु को मागमा बैठक रुमल्लिन पुग्यो । विधानतः स्थायी कमिटीले न त अध्यक्ष हटाउन सक्थ्यो न प्रधानमन्त्री । तर, पनि नीति, विधि र विधानको कुरा गर्ने स्थायी कमिटी विविधकै विषयमा रुमल्लिएर तीन हप्ता बितेको छ ।

विधिसम्मत निकास: एकता महाधिवेशन

“एक व्यक्ति एक मुख्य जिम्मेवारी“ अलि पहिलादेखि नै उठ्दै आएको विषय हो । अहिले थप मुखरित भएपछि एकल अध्यक्ष बनाउने बाटोे खोज्नु जरुरीछ । त्यसको विधिसम्मत उपाय सक्दो छिटो एकता महाधिवेशन हो भन्ने ठाउँमा छलफल पुगेको छ । पार्टी विधानको धारा १८ अनुसार ९क० एकता महाधिवेशनसम्मका लागि केन्द्रीय कमिटी नै सर्वोच्च निकाय हुने व्यवस्था छ । धारा १७ ९ख० एकताको महाधिवेशन दुई वर्षभित्र सम्पन्न गरिसक्ने र यसको स्थान, मिति र प्रतिनिधित्व केन्द्रीय कमिटीले तोके बमोजिम हुने व्यवस्था छ ।

विधानत तोकिएको समयमा महाधिवेशन नभएपछि आगामी चैत्र २५ देखि ३० गतेको लागि महाधिवेशनको मिति तय गरिएकोछ । (ग) एकता महाधिवेशन सहमति र समझदारीकासाथ सञ्चालन गर्ने र यसको विधि, प्रक्रिया र संरचना महाधिवेशनले नै तय गर्न सकिने व्यवस्था छ । यसकारण पनि, छिटो महाधिवेशन गर्न चाहने हो भने केन्द्रीय कमिटीको वैठकले मिति अगाडी सार्न सकिन्छ ।

यसका लागि सचिवालय वा स्थायी कमिटीले ठोस प्रस्ताव तयार गरी केन्द्रीय कमिटीबाट अनुमोदन गराएर महाधिवेशनमा जानु नै विधिसम्मत निकास हुन सक्दछ । दुई पार्टीका फरक स्कूलिंगवाट आएका पार्टीबीच एकताको २६ महिना बितिसक्दा पनि सदस्यताको टुंगो लगाउने, विभाग-निकायहरुलाई पूर्णता दिने र आबद्ध संगठनहरुबीच एकता समेत टुंगिएको छैन ।

नेता कार्यकर्ताबीच तेल(पानीको अवस्था अझै कायम छ । यो अवस्थामा एकता महाधिवेशनले केन्द्रदेखि अन्तरघुलनको प्रक्रियालाई मातहतसम्म पनि सहजता प्रदान गर्न सक्नेछ । नेतृत्व मिलानका लागि मात्र होइन, अबको २२ महिनामा हुने स्थानिय निर्वाचनलाई मध्यनजर राखेर हेर्दा समेत पार्टी कामलाई व्यवस्थित गर्दै कार्यकर्तालाई अन्तरघुलित रुपमा परिचालन गर्न पनि सक्दो छिटो एकता महाधिवेशन आवश्यक छ ।

हामी अहिले संधिवान कार्यान्वयन र सुशासनको अभियानमा पनि छौँ । महाधिवेशन गरेर अगाडि बढ्दा पार्टी एकीकरणका क्रममा सम्वोधन गर्न नसकिएको संविधानको धारा २६९ ९४–ग० को ुदलको विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिबिम्बित गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको हुनुपर्नेु र धारा ९३८–४० अनुसार 'राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने” भन्ने व्यवस्थालाई प्रतिबिम्वित गर्दै दल दर्ता सम्बन्धी ऐनको दफा ९१५–३० मा ' सामाजिक विविधता प्रतिबिम्वित हुने गरी सदस्यहरुमध्येबाट समितिमा समानुपातिक सहभागिता गर्नुपर्नेु र (४)सबै तहको समितिमा कम्तीमा एक तिहाइ महिला सदस्य समावेश गर्नुुपर्ने” व्यवस्थाको समेत कार्यान्वयन हुनेछ ।

यसो हुँदा नेकपा राष्ट्रको कानुन र आफ्नो वैधानिक व्यवस्थाको कार्यान्वयन मार्फत आन्तरिक सुशासनको बाटोमा एक कदम अगाडि बढ्न सहयोग पुग्नेछ । जसले, अन्य दलका लागि समेत सकारात्मक दबाव सिर्जनामा भूमिका खेल्नेछ ।

समस्याको समाधान: भूमिका परिवर्तन

नेकपाको पहिलो पुस्ताका नेताहरु औसतमा चार दशकभन्दा बढी उच्च नेतृत्वमा रहिसकेका छन् । यस बीचमा झण्डै आधा दर्जन नेताले पार्टी वा सरकार वा दुवैको कार्यकारी नेतृत्व समेत समालिसकेका छन् ।

हिजो अत्यन्तै हार्दिक, सौहार्द, आत्मीय र विश्वासिलो सम्बन्धमा बाँधिएर काम गर्दाको समयमा त्यो पिँढीले गरेको योगदान र देखाएको त्याग अनुकरणीय र अविस्मरणीय छदैछ । जसले मुलुकमा निरंकुश पंचायत मात्र होइन, राजतन्त्र नै अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यौँ । सात दशकदेखि माग हुँदै आएको संविधानसभाबाट संविधानको घोषणा गर्दै आधारभूत रुपमा राजनीतिक अधिकारलाई संस्थागत गर्न सफल भयो । त्यस अभियानमा दिएको सफल नेतृत्व, निःस्वार्थ त्याग र योगदानका लागि नेतृत्वप्रति हार्दिक आभार र सलाम गर्नै पर्दछ ।

आज हामी आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको संक्रमणको चरणमा छौँ । 'हिजो आफ्नो जीवनभन्दा बढी माया गरिएका र आदर्श ठानिएकाु नेतृत्व आज ुपद, प्रतिष्ठा, सुखभोग र अवसरको लागि आपसमा अस्वस्थ प्रतिष्पर्दामा छन्' भन्ने कुराले आम जनतामा निरासा र कार्यकर्तामा आक्रोस बढ्न थालेको कुराप्रति नेतृत्व सजग हुन आवश्यक छ ।

गुटगत क्रियाकलापका कारण देखिएको तिक्तता, अविश्वास, शंका र मनमुटाव सिर्जित दरार र असमझदारी सतहमा छर्लंगै छ ।
हिजो व्यक्तिभन्दामाथि राष्ट्र र परिवारभन्दा महान जनता” भनेर हिँडेको नेतृत्वले राज्यप्रणाली परिवर्तनको लक्ष्य त प्राप्त गर्यो । तर परिवर्नतवाट स्थापित नयाँ प्रणालीको वलियो जग हाल्ने र विकास गर्ने प्रक्रियामा हिजोको त्यो त्याग, आचरण र चरित्र आम रुपमा नदेखिनुको परिणाम पुस्ताप्रति नै जनविश्वास गुम्नु आजको वास्तविकता हो । जुन, राम्रो कुरा होइन ।

अव गुम्दै गरेको विश्वासको पुर्नआर्जन र भत्केकोे प्रणालीको पुनरव्यवस्थापन जरुरीछ । यसको लागि नेतृत्व तहका सवैले म र मेरो को गुटगत दायरा तोड्नु पर्छ ।

कार्यकर्ता विचको खण्डिकरण छोड्नुपर्छ । पार्टी निर्माणमा ुहामी र हाम्रोु अनि राष्ट्रको सन्दर्भमा आम नाागरिकको बीचबाट योग्यता, क्षमता र विविधता आधारित मापदण्ड बनाइ उपयुक्त पात्र चयनको प्रणालीगत विधि र प्रक्रियाको विकास समयको माग, नागरिकको चाहना र लोकतान्त्रिक प्रणालीकोे मर्म पनि हो भन्ने कुरालाई स्वीकार्नुपर्छ ।

यस सन्दर्भमा लोकतान्त्रिक दल र जन निर्वाचित संस्था तीनै तह का रुपमा कति गर्यौ रु कति चुक्यौ रु आज जुन बिन्दुमा छौँ, त्यही धरातलमा उभिएर वस्तुगत रुपमा गरिएका निर्णय, बनेका योजना र प्राप्त नतिजाको विधिसम्मत विश्लेषण हुन आवश्यक छ ।

आज नेतृत्व जसरी प्रस्तुत हुदैछ, कार्यकर्तापंक्ति मर्माहत छ । नागरिकमा आक्रोस पूर्ण निरासा छ । यो अवस्थामा रुपान्तरणका लागि भन्नैपर्छ, अब एकता महाधिवेशन गरी पार्टीको कार्यकारी जिम्मेवारी नया पुस्तामा हस्तान्तरण गर्न शीर्ष नेतृत्व तयार हुनु पर्दछ । र, दोस्रो पुस्ता भनिने पंक्ति अब ुमिलेर खाऊ, बँचेको भाग देऊु भन्ने अवस्थाको अन्त्य गर्दै पहिलो पुस्तालाई सम्मानपुर्वक उपल्लो तहको अभिभावकीय भूमिकावाट कामको सुपरिभिजनको आग्रह गर्दै कार्यकारी दायित्व लिन तयार हुनुपर्छ ।

अन्यथा, नेपाली जनताले मनैदेखि दिएको मतको सम्मान हुनसक्ने देखिँदैन । यो पार्टीलाई यहाँसम्म ल्याउन लाखौँ कार्यकर्ताले बगाएको पसिना र रित्याएको काखको सम्मान हुने सक्दैन । युवा पुस्ताले खर्चिएको कलकलाउँदो उमेर र भरभराउदो सपना निरासामा परिणत हुनेछन ।

असंख्य योद्धाहरुले पार्टीका नाममा मुलुकका लागि झेलेका अपांगता, मानसिक विक्षिप्तता र अक्षम्य आपराधिक तहको यौन दुराचार विरुद्ध उजुरी र उपचार समेतको अभावमा पिएका आँसुले क्षमा गर्ने छैन ।

तिनै योद्धाहरुलाई सम्झेर पनि नेतृत्वले अब “म र मेरो” को सोच त्याग्दै नयाँ पुस्ताका योग्यतम उत्तराधिकारीलाई नेतृत्व हस्तान्तरण गरी राजीखुशी अभिभावकीय भुमिकाको लागि योजनावद्ध तयारी गर्नैपर्दछ ।

अग्रजले भर गर्ने र जनताको विश्वास जित्नेु पुस्तामा जिम्मेवारी हस्तान्तरण नै सफल नेतृत्वको 'मानक र मापक' दुवै हुन भन्ने मान्यतालाई अब प्रणालीकै रुपमा स्थापित गरिनुपर्दछ ।

(प्रतिनिधिसभा सांसद डा. पाण्डेको ब्लगबाट साभार)।


'मैले बुझेको देश फरक छ'

'मैले बुझेको देश फरक छ'


हेमन्त गिरी

मलाई थाहा छ मैले यो लेखे बापत गाली खान्छु । उस्तै परे मलाई देशद्रोही पनि भनिएला !

देशको माटोमा कैयौं वर्ष कोदालो चलाएको मलाई कैलै ब्याकग्राउन्डमा चन्द्र सूर्य झण्डा राखेर फोटो खिच्नु पर्छ वा कविता पढेको भिडियो बनाउनु पर्छ जस्तो लागेन । मलाई कैलै झण्डा समातेर फोटो खिचेमा बढी राष्ट्रभक्त भइन्छ जस्तो लागेन । कैलै छिमेकी देशलाई गाली गरेर वा मन नपरेका देशलाई गाली गरेर राष्ट्रवादी भइन्छ जस्तो लागेन । न ह्रितिक रोशन कान्ड न लिपुलेक काण्ड, मेरो रगत कैलै उम्लेन । न त नाकाबन्दीमा नै म आक्रोशित भएँ ।

मलाई लाग्छ देशलाई माया गर्नु भनेको देशलाई बुझ्नु पनि हो । देशमा शासन गर्नेहरूलाई बुझ्नु पनि हो । मैले बुझेको देश अलि फरक छ । मैले बुझेको देशमा बढी झूठ,भ्रम,अफवाह र मिथ्या बिक्छ । यी चिजहरू बेच्नेलाई यसकारण सजिलो छ कि हामी ती चिजहरू सजिलै किनिदिन्छौं । डिस्काउन्ट पाए हामी क्वालिटी मतलब गर्दैनौं ।

नयाँ नक्शा जारी भएको कती भयो हेर्नुस् त ! त्यो भूमिमा आफ्नो हक दावी गर्न के के गर्यो सरकारले अहिले सम्म थाहा पाउनुभाछ ? वार्ता गर्यो कि, सेना लगेर राख्यो कि, भारतीय नागरिकता लिएका त्याहाँका नागरिकका नागरिकता फिर्ता गर्न लगाएर नेपाली नागरिकता दियो कि ? के गर्यो अहिले सम्म ? मैले चाहिं केही थाहा पाएको छैन (तपाईंलाई थाहा छ भने भन्दिनुहोला) । तर फ्याट्ट अयोध्या काण्ड आइदियो बजारमा (हुन त परराष्ट्रले विज्ञप्ती नै निकालिसक्यो) । के जरुरी थियो यो समयमा यस्तो काण्ड ? नक्शामा दावी गरिएको भूमि फिर्ता लिन कुनै पहल नगर्ने तर नयाँ नयाँ काण्ड सृजना गरेर तपाईंलाई अलमल्याउने काम भएको तपाईं चाल पाउनुहुन्न ?

मैले माथि भनेको छु नि नेपालमा झूठ,भ्रम,मिथ्या र अफवाह बिक्छ भनेर ! अरू सबै बाटो सकिए पछी मानिसले ‘मिथ’ समाउँछ । अर्थात धर्म र इतिहास सम्बन्धी त्यान्द्रो समाएर समाज संग खेल्न खोज्छ । किनकि चतुर राजनीतिज्ञलाई थाहा हुन्छ- राष्ट्रवाद,जात र धर्मको कुरा उठाएर पब्लिक सेन्टिमेन्ट क्यास गर्न सके आफू सर्भाइभ गर्न सकिन्छ । र अहिले भएको पनि त्यही हो । शासकले तपाईंको तातो खुनमा यस्ता थर्मोमीटर बारम्बार लगाइरहन्छन अनि तपाईं पनि एक सय चार डिग्री जोरोलाई राष्ट्रवाद हो भन्ने भ्रममा जीवनभर थला परिरहनु हुन्छ ।

हद नै पार गरिरहेका भारतीय च्यानल अलि अँस्ती बन्द भए । तपाईंलाई बहुत खुसी लाग्यो होला । तर मलाई ठीकै मात्र लाग्यो । खास खुसी त त्यो बेला लाग्नेछ- जती बेला भारतीय चामल बन्द हुन्छ । एकपटक किचन देखि ट्वाइलेट सम्म, आँगन देखि छत सम्म ध्यान दिएर हेर्नुस त- के के सामान भारत बाट आएका रहेछन ? हुन त पैसा दिएर किनेको हो भन्नुहोला ! तर यो बुझ्नुस तपाईं पैसा तिर्नकै लागि पनि दुश्मनको पसलमा चहिं जानुहुन्न । या अन्त नै जानुहुन्छ या बाध्य भएर तेश्रो व्यक्तिलाई ‘जा न फलानोको बाट किनेर ल्याइदे’ भन्नुहुन्छ । तेश्रो व्यक्तिले कमिसन नै खाए पनि सहन बाध्य हुनुहुन्छ । किनकि तपाईं आत्मनिर्भर हुनुहुन्न ।

हो, तिनै तेश्रो व्यक्ति नेता हुन । हामी लाचार उपभोक्ता । हामीलाई यिनीहरूले यसरी बाध्य बनाइदिएका छन कि हामीमा यस्तै बेमौसमी राष्ट्रवादको पारो चढाइदिन्छन बेला बखत र आफू सत्ता अनि शक्तीको सिंढी चढ्छन । ल मान्नूस्, राम नेपालमै जन्मेका हुन, त्यसले तपाईंको भान्सा देखि बाथरूम सम्म, आँगन देखि छानो सम्म के फरक पार्छ ?!

मूर्ख हुनुको पनि एउटा ‘लिमिट’ हुन्छ साथीहरू । आफ्नो आर्थिक,पारिवारिक,समाजिक हैसियत कहाँ पुग्यो ख्याल छैन, दैनिक कती दाजुभाई दिदी बहिनीले देश छोडिरहेछन मतलब छैन,, अलिकती ठाउँ पायो वा अलिकती नेताले उचाल्दियो कि झण्डा समातेर, खुकुरी देखाएर के के न देशभक्त देखाको छ आफुलाई, बुद्धिजीवी भनाउँदा बाट नै चाहिंदै नचाहिने कुरामा बहस चर्काएको छ, उद्यमशील र सृजनशील समयलाई अनावस्यक बहसमा लगाएको छ ! मानौं कि सबथोक पुगेको छ जस्तो !

गुन्द्रुक चाइना बाट प्याक भएर आउन थाल्यो, रामकै मूर्ति पनि चाइनाले नै बनाइदिन्छ, चन्द्र सूर्य झण्डा इण्डिया बोर्डर नजिकका देशीहरूले छापेर पठाइदिन्छन,मोबाइल कोरिया गको साथीले पठाइदिन्छ, आमाले घरको करेसोमा ढाड मर्काइरहन्छिन, ऊ चाहिं शहरको डेरामा बस्छ, इण्डियन चामलमा चाइनीज गुन्द्रुकको झोल हालेर खान्छ अनि त्यही चन्द्र सूर्य टीशर्ट लगाएर लाइभमा बस्छ र चोर औंलो ठड्याएर कोरियन मोबाइल बाट भन्छ- खबरदार ! लिपुलेक हाम्रो हो, बुद्ध हाम्रो हो, राम हाम्रो हो, अयोध्या हाम्रो हो.. सप्पै हाम्रो हो !!

घरबेटी बाहिर बाट चिच्याउँछ- ए बेकुफ, कामधाम गरे त घरभाड़ा तिर्थिस् कि ! कोठा भित्र एक्लै कराउँदा कराउँदा बहुलाउलास् भन्ने डर भओ !!


'कुन समुदायमा काेराेना संक्रमण छ भन्ने तथ्य अज्ञात छ'

'कुन समुदायमा काेराेना संक्रमण छ भन्ने तथ्य अज्ञात छ'


-डा.रवीन्द्र पाण्डे-

नेपालमा कोरोना संक्रमण ९० प्रतिशत आयातित रहेको, भारतबाट आएका नेपाली नागरिक असुरक्षित यात्रा गर्दै धेरै दिनमा नेपाल प्रवेश गरेका, क्वारेन्टीनमा बसेर आफ्नो गाउँ जाँदा संक्रमण सार्न सक्ने अवधि पूरा भएको, स्थानीय निकायले कडाइ गरेको तथा लकडाउनको कारण संक्रमण समुदायमा फैलिन नपाएको अवस्था हो ।

सक्रिय उमेरका व्यक्तिमा संक्रमण भएको हुँदा मृत्युदर ०.२ प्रतिशत मात्र हुनु हाम्रो लागि सन्तोषजनक अवस्था हो । संक्रमण समुदायमा फैलिएर जोखिम वर्गमा पुगेको भए वा पुगेमा मृत्युदर फरक हुने थियो वा हुनेछ ।

स्वास्थ्य मन्त्रालयले परीक्षणको दायरा साँघुरो गर्दै गएको छ । जसको कारण कुन समुदायमा संक्रमण छ, कुन समुदायमा संक्रमण छैन भन्ने तथ्य अज्ञात छ ।

उदाहरणको लागि लकडाउन अन्त्य भएकै दिन राजबिराजमा स्वास्थ्यकर्मीसहित ७ जनामा संक्रमण देखिएकाले सप्तरी जिल्लामा लकडाउन मात्र होइन, कर्फ्यू घोषणा गरिएको छ ।

लकडाउनको अवस्था जाँच गर्न कम्तिमा पनि काठमाडौं लगायत शहरका सुकुम्बासी बस्ती, इँटाभट्टा, फोहोर उठाउने तथा व्यवस्थापन गर्ने समूह, कवाड संकलक, मासु काट्ने ठाउँ, तरकारी बजार, चोकका खुद्रा पसल, सडक बालबालिका तथा मगन्ते व्यक्तिहरू पुनःस्थापना भएका ठाउँ, रोहिंग्या लगायतका शिविर, २–३ फिटे गल्लीभित्रका चियापसल, खाजा पसल तथा भट्टी लगायत जनचेतना कम भएका ठाउँमा परीक्षण गर्नुपर्नेमा सचेत वर्गमा परीक्षण गरेर समय र स्रोत खर्च गरियो । यसबाट जे नतिजा आउँथ्यो, त्यहि आयो ।

सिमावर्ती जिल्ला र पहिले कोरोना संक्रमण फैलिएका गाउँहरूमा व्यापक परीक्षण गर्नुपर्छ । पुलिङ मेथड, डाइरेक्ट पीसीआर प्रविधि, आरटी पीसीआर, सिटीस्क्यान आदि परीक्षणबाट दैनिक ३०–४० हजार व्यक्तिको परीक्षण गर्न यही स्रोत र साधनले सम्भव थियो र छ ।

अमेरिका लगायत धेरै देशले पुलिङ टेस्ट गरेर परीक्षणको दायरा फराकिलो बनाएको सन्दर्भमा नेपालमा पुलिङ मेथडलाई बेवास्ता गर्नुको मुख्यकारण स्वास्थ्य मन्त्रालयको खरिदमा रमाउने प्रवृतिको उपज हो भनेर सबैले मनमनै बुझेका छन् ।

यसरी परीक्षणको दायरा बढाएर रेड, एल्लो र ग्रीन जोनमा स्थानीय तह वा जिल्लालाई वर्गीकरण गर्न सम्भव थियो । यही नतिजाको आधारमा लकडाउन खोल्ने वा कायम राख्ने निर्णय गर्नु वैज्ञानिक हुने थियो । अझै पनि यो मोडेल अपनाउन अत्यावश्यक छ ।

हामीले बिर्सिनु हुँदैन कि परीक्षण एकपटक मात्रै गर्ने विषय होइन । यो समुदायमा नियमित र पटक–पटक गरिरहनुपर्दछ । आज नेगेटिभ देखिएको व्यक्ति वा समूह अर्कोपटक पोजेटिभ देखिन सक्छ ।

सार्वजनिक यातायातमा यात्रुको चाप पूर्ववत देखिँदैछ, बजारमा उस्तै भीड छ । सही तरिकाले मास्क लगाउने व्यक्तिको संख्या घट्दैछ तथा व्यक्तिगत दूरी कायम भएको छैन ।

सरकारले यी सुरक्षाका उपायमा अनुगमन तथा जरिवानाको व्यवस्था गरेमा लकडाउन व्यवस्थापन सुरक्षित रुपमा हुनेछ । सार्वजनिक यातायात चलेपछि विश्वका धेरै शहरमा कोरोना संक्रमण निकै बढेको हामी सबैलाई जानकारी छ ।

सुरक्षा विधि अपनाएको र नअपनाएको अनुगमन गर्नको लागि प्रत्येक बसमा १ जना सुरक्षाकर्मी राख्नु जरुरी छ । माइक्रोबस, टेम्पोजस्ता साना र साँघुरा साधनमा व्यक्तिगत दूरी कायम गर्न असम्भव हुन्छ । तसर्थ ती साना साधनलाई कृषि एम्बुलेन्स वा अन्य सामान बोक्ने प्रयोजनको लागि चलाएर लामा बसलाई मात्र यात्रुको लागि सञ्चालन गर्नु सुरक्षित हुनेछ ।

लामो दूरीका सवारीसाधन चलाउने निर्णय होलसेलमा गर्नु सुरक्षित छैन । भारतको सीमा जोडिएका जिल्लाबाट संक्रमण कम भएका जिल्लामा लामो दूरीका बस चलाउँदा भारतीय नागरिक तथा संक्रमित व्यक्ति समेत बसमा हुनसक्छन् । लामो समयसँगै यात्रा गर्दा स्वस्थ व्यक्तिलाई संक्रमण सर्ने उच्च जोखिम हुन्छ । ती संक्रमित समुदायमा घुलमिल भएपछि सामुदायिक संक्रमणको जोखिम बढ्नेछ ।

आन्तरिक उडान ग्रीन जोनबाट ग्रीन जोनमा मात्र सञ्चालन नगरेमा संक्रमण थप फैलिने जोखिम रहन्छ ।

कोरोना भाइरस विरुद्धको खोप हामीले सन् २०२१ को मध्यतिर मात्र पाउनेछौं । त्यो बेलासम्म सरकार र जनताको एकता, सतर्कतातथा सुझबुझ निर्णयको जरुरी छ । सरकार इमान्दार र जनता अनुशाशित भएको खण्डमा कोरोना संक्रमणलाई परास्त गर्न सकिन्छ ।
अन्तर्राष्ट्रिय उडान २ अवस्थामा मात्र सञ्चालन गर्नुपर्दछ ।

१. विदेशबाट नेपालीलाई आफ्नो देशमा ल्याउनको लागि

२. नेपालमा फसेका विदेशी तथा नेपालीलाई सम्बन्धित देश पुग्न उपयुक्त ट्रान्जिटमा पुर्‍याउनको लागि । महामारीको यो स्थितिमा जसरी हामी विदेशमा घुम्न जाँदैनौं, त्यसैगरी विदेशी पर्यटक नेपाल भ्रमण गर्न आउँदैनन् । पर्यटन मन्त्रालयले यो तथ्य बुझेर परिपक्व कदम चालोस् ।

भारत, बंगलादेश लगायत कोरोना संक्रमण व्यापक भएका देशको अवस्था हामीले बुझ्नु जरुरी छ । अहिले भारतका सरकारी तथा निजी अस्पताल कोभिड १९ का बिरामीले खचाखच छन् ।

भारतका अस्पतालमा जनरल बेड, आईसीयू बेड, भेन्टिलेटर तथा अक्सिजनको अभाव भएको छ । भारतका निजी अस्पतालले प्रतिदिन १ लाखसम्म कोभिडका बिरामीबाट असुलेका समाचार आइरहेका छन् । त्यस्तै मध्यम खालका निजी अस्पतालमा आइसोलेसन बेडको प्रतिदिन चार्ज १० हजार भारु, आईसीयू बेडको प्रतिदिन चार्ज १५ हजार भारु र आईसीयू, भेन्टिलेटर बेडको प्रतिदिन चार्ज १८ हजार भारु रहेको इन्डिया टुडेले जनाएको छ । सरकारी अस्पतालका गल्ली समेत खचाखच छन् ।

यस्तो अवस्थामा भारत तथा नेपालबीच लामो दूरीका यातायात वा हवाइजहाज सञ्चालन गर्ने हो भने हजारौं भारतीय उपचारको लागि, कोरोनाबाट बच्नको लागि, मनोरञ्जन र घुमफिरको लागि नेपाल आउन सक्छन् । हाम्रा अस्पतालले त्यो चाँप थेग्न एवं स्वास्थ्यकर्मी र अन्य बिरामीलाई सुरक्षित बनाउन सक्ने अवस्था छैन । अन्य आगन्तुकबाट समुदायमा संक्रमण फैलिने सम्भावनालाई नजरअन्दाज गर्नु हुँदैन । यो तथ्यलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्दछ र उडान सञ्चालनलाई उद्धारको रुपमा मात्र प्रयोग गर्नुपर्दछ ।

विश्वका धेरै देशले आफ्नो समुदायमा कोरोना भाइरसविरुद्ध कति प्रतिशत जनतामा एन्टिबडी बिकास भएको भनेर परीक्षण गरेका छन् । उदाहरणको लागि भारतको दिल्लीमा त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले गरेको सर्भेमा २३.४८ प्रतिशत जनतामा संक्रमण भएर इम्युन भएको पाइएको छ । जर्मनीमा १५ प्रतिशत जनसंख्या इम्युन भएको बताइएको छ । हाम्रो देशका सबै जिल्लामा गुणस्तरहीन किट प्रयोग गरेर ३ लाखभन्दा धेरै जनतामा आरडीटी परीक्षण गरेर कुनै पनि सर्भे नहुनु तथा इम्युन पपुलेसन थाहा नहुनु अत्यन्तै दुखद पक्ष हो । अब पनि नेपालमा गुणस्तरीय किट ल्याएर समुदायमा एन्टिबडी चेक गर्ने हो भने हाम्रो प्रतिरोध संख्या थाहा हुने थियो ।

नेपालसँग सिमाना जोडिएका भारतका ४ राज्यमध्ये यूपी, बिहार र पश्चिम बंगालमा कोरोना संक्रमण फैलिएको छ । जसको कारण ती प्रदेशका धेरै जिल्लामा लकडाउन गरिएको छ । खुला सिमानाको कारण जंगल, खेत, अवैध बाटो आदिबाट भारतीय नागरिकहरू नेपाल छिर्ने ठूलो सम्भावना छ । यो आवतजावत रोक्नको लागि सुरक्षाकर्मी र सिमावासीको २४ सै घण्टा गस्ती अपरिहार्य छ ।

भारतमा कोरोना संक्रमण असोजसम्म उच्च विन्दुमा पुग्ने तथा मंसिरसम्म नियन्त्रणमा आउने आकलन गरिएको छ । यो अवस्था कायम रहंदा लाखौं नेपाली स्वदेश आउने सम्भावना छ । दशैं लगायत चाडपर्वअघि भारतबाट २–३ लाख नेपाली स्वदेश आउने अनुमान गर्न सकिन्छ । उनीहरूलाई १ हप्ता होल्डिङ सेन्टरमा राख्ने, त्यसपछि पीसीआर टेस्ट गर्ने अनि संक्रमितलाई आइसोलेसन केन्द्र तथा संक्रमण रहितलाई होम क्वारेन्टीन बस्ने गरी आफ्नो थातथलोमा पठाउने व्यवस्थाको लागि सरकार तयारी अवस्थामा बस्नु जरुरी छ ।

हवाईमार्गबाट नेपाल आउने नेपाली तथा विदेशीलाई होल्डिङ सेन्टरमा राख्ने तथा ५ दिनपछि पीसीआर परीक्षण गर्ने व्यवस्था सरकारले तत्काल गर्नु जरुरी छ ।

सरकारले आफ्नो, कर्मचारीतन्त्रको वा विज्ञ कार्यकर्ताको मात्र भर नपरेर देश र जनतालाई निस्वार्थ ढंगबाट माया गर्ने विज्ञहरूसँग सघन छलफल गरेर यो महामारीसँग लड्नको लागि फराकिलो छाती गराउनु अत्यावश्यक छ ।

बेलायत, अमेरिका, युरोप, इरान, चीन, कोरिया, भारत लगायतका देशमा कोरोना संक्रमणको दोस्रो चरणको चर्चा चलिरहेको छ । जाडो शुरू हुने बेलामा नेपालमा सधै मौसमी रुघाखोकी फैलिन्छ । त्यो समयमा कोरोना संक्रमण समुदायमा फैलिने तथा उस्तै लक्षण भएका मौसमी रुघाखोकी र कोरोना संक्रमण छुट्याउनको लागि ठूलो संख्यामा पीसीआर परीक्षणको क्षमता विकास गर्नुपर्ने अवस्था छ । यसको लागि सरकारी, सामुदायिक तथा निजी ल्याबलाई तयारी अवस्थामा राख्नु जरुरी छ ।

आसन्न तीज, दशैं, तिहार, छठ आदि चाडपर्वमा मान्छेको जमघट रोक्नको लागि स्थानीय तहलाई प्रशिक्षित गर्नु र जनचेतना विस्तार गर्नु जरुरी छ । सरकारले रेडियो, टेलिभिजन, पत्रिका, अनलाइन पोर्टल आदिमा कोरोना संक्रमण रोकथामका विज्ञापन, टेलिसिरियल (महजोडी लगायत जनताले विश्वास गर्ने कलाकारमार्फत) तथा पोस्टरको उत्पादन, प्रकाशन तथा प्रसारण गर्नु अत्यावश्यक छ ।

कोरोना भाइरस विरुद्धको खोप हामीले सन् २०२१ को मध्यतिर मात्र पाउनेछौं । त्यो बेलासम्म सरकार र जनताको एकता, सतर्कतातथा सुझबुझ निर्णयको जरुरी छ । सरकार इमान्दार र जनता अनुशाशित भएको खण्डमा कोरोना संक्रमणलाई परास्त गर्न सकिन्छ ।

यस्तो विषम परिस्थितिमा पनि भ्रष्टाचार गर्ने, कमिसन खाने तथा गुणस्तरहीन सामग्री ल्याउने ज्ञात व्यक्तिहरूलाई कारबाही नगर्नुले जनतामा निरासा छाएको छ । सरकारले आफ्नो, कर्मचारीतन्त्रको वा विज्ञ कार्यकर्ताको मात्र भर नपरेर देश र जनतालाई निस्वार्थ ढंगबाट माया गर्ने विज्ञहरूसँग सघन छलफल गरेर यो महामारीसँग लड्नको लागि फराकिलो छाती गराउनु अत्यावश्यक छ ।


डा. पाण्डे जनस्वास्थ्य विज्ञ हुन् ।

 

 


 ‘सामाजिक न्यायमा निष्पक्षता छैन ?’

‘सामाजिक न्यायमा निष्पक्षता छैन ?’


-प्रा.डा.युवराज संग्रौला-

न्याय सत्य खोज्ने प्रक्रिया हो। अहिले हामिले प्रयोग गरेको न्याय प्रणाली उपनिवेशी न्याय प्रणालीबाट आएको हो । अहिले पनि उपनिवेशिनै छ। भारतबाट भौतिक उपनिवेश गयो । तर हाम्रा न्याय क्षेत्रमा गाडिएको उपनिवेशी न्याय प्रणाली कहिलेपनि गएन। 
जनताको आस्था न्याय प्रणालीप्रति शुन्य छ।

छट्पटी गर्नु बाहेक केहि छैन। सबै कुरा औपचारिकतामा सकिन्छ। नियुक्ति, कार्यविधि, फैसला सबै। तर पनि यहि क्षेत्रमा म निरन्तर लागि रहेको छु। मलाइ बिस्वास छ, अब आउने पुस्ताले यसलाई बदल्ने छ। हामीले गरेको फोहोर नयाँ पुस्ताले सोर्ने छ। तर बीस वर्ष लाग्छ। भोलि इतिहास लेखिने छ। इतिहासबाट डराउन सिक्नु सबैका लागि कल्याण हुन्छ।

१. न्याय प्रणालीमामा सामाजिक न्यायको अवधारणा जिरो छ। कम्पनीले ब्यक्तिका विरुद्ध मौलिक हक उलंघनका मुद्धा हाल्छ्न । तत्काल पेसी पर्छ। विकासका योजना रोक्ने अन्तरिम आदेश जारी हुन्छ्न् । धनीका मुद्दा हेर्ने कमर्सियल इजलास छ्न्, वकालत सेवा होइन ब्यापार भएको छ। न्यायाधीश गोजीका लिस्टबाट मध्यरातमा नियुक्त हुन्छ्न। राम्रा जति न्यायाधीश डामिन्छ्न। विचारा बनेका छ्न् । छोराछोरी पढाउन जागिर कायम राखेर बसेका छ्न्।

२. एक पटक एक आततायी श्रीमतीले आफू बच्न घच्याट्दा लागेको चोटले लोग्ने मरेछ । विचारा त्यो महिलालाई जोगाउन सकिएन। उनी सजाय भोग्दा भोग्दै टि बि लागेर मरिन। दाङमा झुट्टो मुद्दामा फसाएको बिजय शर्माको पीडा सुन्छु ।  फोन उठाउन मन लाग्दैन। पुलिसले भात खाएको पैसा माग्दा झगडा परेर जिउ मास्ने बेच्ने मुद्दा लागेकी महिला जेलमा सडेको देखेको छ। कम्पनीले भ्याट नतिरेको आरोपमा इन्जिनियरले जेल भोग्नु पर्ने बाध्यता छ। गरिब जति जेलमा छ्न् । सामाजिक न्यायको एक शब्द उच्चारण कहि हुँदैनन् ।

सरकार कम्युनिष्टको, बारमा कम्युनिस्ट, महान्यायाधिवक्ताको अफिस कम्युनिस्टको नेतृत्वमा। किन गरिब मात्र जेलमा, अनि किन धनीको सजाय मात्र कम हुने ? आफुलाइ मार्क्सबादी विज्ञानको विद्यार्थी भन्न लाज लाग्छ। न्याय काङ्ग्रेस, कम्युनिष्ट, वकिल, न्यायाधीश, नेता कर्मचारी सबैको कठ्पुतली बन्यो। आएरले एउटा फैसला लेखेका छन्, जब समाजमा न्याय मर्छ समाजमा मानिसको हालत पोखरीबाट बाहिर निकालेको माछा जस्तै हुन्छ।

३.जुरिमेट्रीक्स लागाएर अध्ययन गर्दा दुई ठकुरी न्यायाधीशले गरेका फैसलाले एउटा रोचक तथ्य बाहिर ल्यायो। एक जनालार्इ भरुवा बन्दुकले मारेको रहेछ। अर्कोमा हसियाले घाँटी काटेर मारेको रहेछ। मार्ने र मर्ने साथीहरू। फैसलामा बन्दुक घातक हतियार मानिएनछ। हसिया चैँ घातक भएछ। बन्दुक हान्नेलाइ सजाय घटाइएछ। हांसिया हान्नेलाई सर्बस्व भएछ। किनकी घरमा बन्दुक भित्तामा झुन्ड्याउने बाबुसाहेबहरुलाई नाथे भरुवा बन्दुक घातक नलाग्नु स्वाभाविक कै हो। तेसैले रन्जन कोइरालाले सजाय घटी पाउनु ठूलो कुरा होइन। उनी हिजोका डीआइजी हुन् । माथी भनिएकी महिलाको समाजमा के महत्व ?

४.हामीले चलाएको न्यायको श्रोत मेडिसन, चर्चिल, जोहन लक, कोलम्बस, स्तटुवार्ट मिल, म्याकाउले, मैन, अस्टिन बाट आएको छ। जोहन लकले भने, दक्षिण अमेरिका र उतर अमेरिकाका आदिबाशी अपराधी मान्छे बाट मानबलाइ जोगाउन उनिहरुलाइ मार्दा अपराध हुँदैन। चर्चिलले भने खरायो जस्तो नानी पाउने इन्डियन मर्दा किन आपत्ति ? अंग्रेज महिलालाई छुँदा बीस वर्ष सजाय र सेता मालिकले कामदार महिला बलात्कार गर्दा महिलाले शुद्ध चरित्र प्रमाणित गर्नु पर्ने। गरिबलाई न्याय कमन ल मा छैन। अमेरिकामा २७ लाख कैदी, ९० प्रतिशत काला गरिब र आदिबासी।

५. न्याय गर्न अबधारणा चाहिन्छ। कृष्ण आयर र भगवतीमा सामाजिक न्यायको अवधारणा थियो । हाम्रोमा त न्यायाधीश जागिर हो। न्याय जागिर हो। तेसैले रन्जनले न्याय पाउँछन्, गरिबले पाउँदैनन् । बिजय शर्मा जेलमा धनी र पदवाला जति बाहिर। हाम्रो अदालतमा सबैथोक छ। सामाजिक न्याय र न्यायमा निष्पक्षता छैन। तेसैले यो अड्डा हो। न्यायालय ?

प्रा.डा.संग्रौलाको फेसबुकबाट साभार


सरकारले हवाइ उडानलाई यसरी निर्णय गर्नुपर्थ्यो ?

सरकारले हवाइ उडानलाई यसरी निर्णय गर्नुपर्थ्यो ?


-डा.रवीन्द्र पाण्डे-
हालै बसेको मन्त्रिपरिषद बैठकले आगामी भाद्र १ गतेदेखि आन्तरिक तथा अन्तराष्ट्रिय उडान संचालन गर्ने निर्णय गरेको छ । होलसेलमा गरिएको यो निर्णय नेपालको लागि प्रत्युत्पादक बन्न सक्छ । 
कोरोना समुदायमा नफैलिएको कारण हालसम्म नेपाल सुरक्षित छ । अन्तर्राष्ट्रिय उडान गर्ने बित्तिकै नेपाल कोरोना संक्रमणबाट सुरक्षित छ भनेर भारत लगायत बिभिन्न देशबाट ठूलो संख्यामा संक्रमितहरु नेपाल आएमा समुदायमा कोरोना संक्रमण फैलिने खतरा हुनेछ । 
ज्ञातव्य छ भारतमा असोजभर कोरोना संक्रमण फैलिएर कार्तिकबाट नियन्त्रण उन्मुख हुने अध्ययनले बताएका छन्  ।

सरकारले हवाइ उडानलाई यसरी निर्णय गर्नुपर्थ्यो 

१. भाद्र १ गतेदेखि संक्रमण कम भएका जिल्लामा आन्तरिक उडान गर्ने  ।

२. असोज १ देखि नेपाली कामदार भएका देशमा तथा कोरोना संक्रमण नियन्त्रण भएका देशमा मात्र अन्तराष्ट्रिय उडान संचालन गर्ने ।

३.कार्तिकदेखि क्रमशः संक्रमण नियन्त्रण भएका देशबाट हवाइ संचालनको अनुमति दिने ।

यो महामारी र सम्भावित सेकेन्ड वेभ (कार्तिक / मङ्सिरदेखि सुरु हुनसक्ने) को लागि हामी पूर्ण रुपमा तयारी गर्नुपर्ने अवस्था छ । चाडपर्वको लागि २-३ लाख नेपाली भारतबाट आउन सक्ने तथा करिब १ लाख नेपाली अन्य देशबाट नेपाल आउने सम्भावना छ ।

उहाँहरुलाई राख्ने होल्डिङ सेन्टर÷ क्वारेन्टाइन व्यस्थित गर्ने, परीक्षणको क्षमता बढाउने तथा संक्रमितलाई राख्नको लागि आइसोलेसन सेण्टरको प्रबन्ध गर्ने काम सकेर मात्र निर्णय गर्नु बुद्धिमानीपूर्ण निर्णय हुनेछ । 

हामीले यो तथ्य नबिर्सौं, नेपालमा कोरोना संक्रमण हराएको छैन । ठूला सहर, संक्रमित गाउँ तथा बोर्डर क्षेत्रमा ब्यापक परीक्षण गरेर निचोडमा नपुग्ने बेलासम्म अपरिपक्व निर्णय नगरौं । सरकारको फितलो अनुगमन हाल चलेका सार्वजनिक यातायातले देखाएका छन्  ।

अर्को कुरा महामारी अन्त्य नहुन्जेलसम्म बिकसित देशबाट कुनै पनि पर्यटक नेपाल भ्रमणमा आउने छैनन् । न त हामीहरु भ्रमण गर्न कुनै देशमा जानेछौं ।

नेपाली कामदार, विद्यार्थी तथा बाहिर रहनुभएका नेपालीलाई आफ्नो देश आउनको लागि सहजीकरण गर्ने उद्देश्य राखेर मात्र हवाईजहाज संचालन गर्नु सुरक्षित हुनेछ ।

डा.पाण्डे जनस्वास्थ्य विज्ञ हुन् । 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti