06 Chaitra, 2080 / 19 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घटना/दुर्घटना


फरार थुनुवालाई नियन्त्रणमा लिने क्रममा लडेर प्रहरी जवानको मृत्यु

फरार थुनुवालाई नियन्त्रणमा लिने क्रममा लडेर प्रहरी जवानको मृत्यु


काठमाडौं, २८ फागुन । दार्चुलामा एक प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सोहन चौधरीको ज्यान गएको हो । प्रहरीको थुनामा रहेका महाकाली नगरपालिका–१ का उमेशसिंह कुँवर हतकडीसहित भागेपछि समात्न जाँदा लडेर सोमबार उनको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।
कुँवरलाई पक्राउ गर्न जाँदा लडेका चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका निम्ति उनलाई अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको सुदूरपश्चिम प्रहरी कार्यालयका एसएसपी दिल्लीराज विष्टले जानकारी दिए ।
 


धादिङमा बस दुर्घटना, ७ जनाको मृत्यु

धादिङमा बस दुर्घटना, ७ जनाको मृत्यु


काठमाडौं, २३ फागुन । धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीमा भएको बस दुर्घटना भएको छ । दुर्घटनमा सात जनाको मृत्यु भएको छ । कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरकत्तो यात्रुवाहक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज बिहान त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन् । 

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार जारी छ । बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 


शालिनको पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘ह्याङ्गिङ’

शालिनको पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘ह्याङ्गिङ’


काठमाडौं, २० फागुन ।  चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टमले देखाएको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै संकेत नभेटिएको स्रोतले बताएको हो ।
विद्यालयको छात्रावासको कोठामा गत १० फागुनमा शालिन मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो । तर, परिवारले अस्पतालको विश्वास नभएको भन्दै दवाव दिएर शव त्यहाँबाट निकालि प्रहरीको रोहबरमा काठमाडौं ल्याएको थियो ।


बेलायतको ‘सपना’ देखाएर ७६ लाख ठगेको आरोपमा युवक पक्राउ

बेलायतको ‘सपना’ देखाएर ७६ लाख ठगेको आरोपमा युवक पक्राउ


काठमाडौं, ११ फागुन । बेलायत पठाउने ‘सपना’ देखाएर ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ्गको बडिगाड गाउँपालिका–९ घर भएका युद्ध बहादुर केसी उर्फ पाण्डप छन् ।
३६ वर्षीय युद्ध बहादुरले ३ जनाबाट ७६ लाख ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रवीन्द्र रेग्मीले बताए । काठमाडौँ महानगरपालिका–२८ स्थित बागबजार बस्ने युद्ध बहादुरले वैदेशिक रोजगारीमा बेलायत पठाउँछु र त्यहाँ पुगेपछि ‘केयर गिभर’मा १० लाख ५० हजार रुपैयाँ तलब आउने आश्वासन दिएका हुन् ।
प्रतिव्यक्ति २६ लाख लाग्छ भनेर ३ जनासँग ७६ लाख लिएपछि उनी सम्पर्कविहीन भएका थिए । आरोपीलाई कारवाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको एसपी रेग्मीले जानकारी दिए । 
 


स्वयम्भूको कोठामा श्रीमती र दुई छोरी मृत भेटिए, जंगलमा श्रीमान्

स्वयम्भूको कोठामा श्रीमती र दुई छोरी मृत भेटिए, जंगलमा श्रीमान्


काठमाडौं, ९ फागुन । स्वयम्भूमा तीन जना मृत फेला परेका छन्। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा बस्ने ओखलढुंगाका एकै परिवारका तीन जना बुधबार बिहान मृत फेला परेका हुन्।

उनीहरूको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ। यो घटनामा श्रीमती र दुई छोरीको हत्या गरेर श्रीमानले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

कोठादेखि करिब दुई किलोमिटर पर रहेको जंगलमा श्रीमान् ३७ वर्षीय राजु घिमिरे मृत फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।
घटनास्थलमा प्रहरी वृत्त स्वयम्भू, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ।

स्वयम्भूको घरमा ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ मृत फेला परेका थिए।

 


कपिलवस्तु दुर्घटना : मृतक १० जनाकै सनाखत, ६ जना भीमदत्त नगरपालिकाका 

कपिलवस्तु दुर्घटना : मृतक १० जनाकै सनाखत, ६ जना भीमदत्त नगरपालिकाका 


काठमाडौं, ३ फागुन । कपिलबस्तुमा बस दुर्घटना हुँदा ज्यान गुमाउने १० जनाकै सनाखत भएको छ।  पूर्वपश्चिम राजमार्गमा पर्ने कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै गएराति १२ बजे सुदूरपश्चिम प्रदेश ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो।

सुनौलो महाकाली यातायातद्वारा सञ्चालित उक्त बस महेन्द्रनगरबाट ४० जना यात्रु लिएर काठमाडौँ आउँदै थियो। 

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका सूचना अधिकारी डीएसपी हरिबहादुर ओलीका  अनुसार दुर्घटनामा ज्यान गुमाउने १० जनाकै सनाखत भएको छ। 

दुर्घटनामा ज्यान गुमाउनेमा रौतहटको चन्द्रपुर नगरपालिका ३ पौराहीका ४६ वर्षीय नारायण भण्डारी, सल्यानको सेमिखाल- ३ का ४१ वर्षीय अर्जुनकुमार योगी, भारतको उत्तर प्रदेशका ५५ वर्षीय सकिल अहमद मुसलमान, कञ्चनपुरको महेन्द्रनगर- १ का करिव २७ वर्षीय राहुल राम कामी, कञ्चनपुरकै भिमदत्त नगरपालिका- ४ का करिब १७ वर्षीय किशोर उमेश भण्डारी, भिमदत्त- ६ कf २७ वर्षीय सञ्जु थापा (महिला), भिमदत्तकै २१ वर्षीया खगेश्वरी खाती, भिमदत्त- २ का २२ वर्षीय सुदीप भट्ट, कञ्चनपुरकै पुनर्वास नगरपालिका- ९ बीचफाँटाकी विमला देवी भट्ट र सोही ठाउँका विसन दत्त भट्ट छन्। 


उनीहरुमध्ये धेरैको घटनास्थलमै र केहीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते हुने २८ जनामध्ये गम्भीर अवस्थाका ९ जनालाई थप उपचारको लागि बुटवल रिफर गरिएको छ।

यी हुन् दुर्घटनाका गम्भीर घाइते
गम्भीर घाइते ९ जनालाई बुटवल रेफर गरिएको छ। उनीहरुको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। 

बुटवल रेफर हुनेमा नेपाली सेनामा कार्यरत लोकबहादुर कार्की, दुर्घटनामा परेको बसका चालक कञ्चनपुरका पूर्णबहादुर चन्द, सोही बसका सहचालक कञ्चनपुरकै केशव हमाल, कैलाली बेलडागीका २४ वर्षीय महेश सुनार, राप्ती सोनारी- २ बाँकेका २३ वर्षीय सुशिल कुँवर, गुल्मी मालिका- ७ का २९ वर्षीय अर्जुन कार्की, भीमदत्त नगरपालिका कञ्चपुरका सन्तोष चौधरी, बैतडीका २२ वर्षीय राजेश दयाल र मितेस सुनार छन्। 

यी हुन् अन्य घाइते
गोरखाको शहिद लखन गाउँपालिका –७ वस्ने वर्ष ३० का मनोज विक, दार्चुलाको शैल्य शिखर नगरपालिका–३ का २४ वर्षीय नवीन भट्ट नेपाली, कन्चनपुरकाे भीमदत्त न.पा. १४ वस्ने वर्ष ३३ की गिता कुँवर, उनका छोरा वर्ष १२ का नवीन कुँवर, ओखलढंगा झारपुर गा.पा. वडा नं नखुलेको वर्ष १९ का बिसन भुजेल, कन्चन्पुरकाे शुक्लाफाँटा न.पा. ११ वस्ने वर्ष ३१ का मोहन सिङ लोहार, काठमाडौँ माहानगरपालिका– ३ वस्ने वर्ष ४१ का अनिल तन्डुकार, कन्चनपुरकै भीमदत्त न.पा. १६ वस्ने वर्ष ५४ की नारायणी थापा, साेही ठाउँका वर्ष २८ का दिपेन्द्र बोहोरा, कैलाली लम्किचुहा न.पा.–१ वस्ने वर्ष २७ की रेखा आचार्य, कन्चनपुर भीमदत्त न.पा.–१८ वस्ने वर्ष ४१ की शान्ति सिङ, कैलालीका वर्ष ३२ को गणेश काफ्ले, उनकी श्रीमती वर्ष २७ कि रेखा आचार्य, उनीहरुकी छोरी वर्ष ३ कि सृष्टि, भारत उत्तर प्रदेश मुद्राबास वस्ने बर्ष ३५ का मोहमद रिजन, भारतकै वर्ष ५४ का अनिस मनियार, धादिङ सिप्ले गा.पा.–२ वस्ने वर्ष २५ का कृष्ण नेपाली, कन्चनपुर भीमदत्त न.पा. १९ बस्ने बर्ष २० का सुमन बिष्ट, कन्चनपुर भीमदत्त न.पा. – १ बस्ने वर्ष २० का मनोज सिँह धामी, साेही ठाउँका वर्ष २० का अशोक सिंह र कन्चनपुर भीमदत्त न.पा. ४ बस्ने वर्ष ३६ का ज्ञानेन्द्र पाल छन्। 


क्यानडामा भएको दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु

क्यानडामा भएको दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु


काठमाडौं, २ फागुन । क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीन वटा कारहरू दुर्घटनामा परेको अन्टारियो प्रोभिन्सियल पुलिसले जनाएको अन्टारियोमा रहेका नेपाली बेनुपराज भट्टराईले जानकारी दिए ।


त्यहाँ रहेका नेपालीले दुर्घटनामा पर्नेहरू उच्च शिक्षा अध्ययन गर्न पुगेका नेपालीहरू रहेको उल्लेख गरेका छन् ।

घटनामा १० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । तीमध्ये दुई जनाको अवस्था सिकिस्त रहेको जनाइएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुको युवती रहेको खुलेको छ । स्थानीय प्रहरीले गोपनीयताका कारण उनीहरुको नाम भने सार्वजनिक नगरेको भट्टराईले बताए ।

उनीहरू लण्डनस्थित फेन्सअ अलेजमा अध्ययनरत विद्यार्थी रहेको जनाइएको छ ।स्थानीय एक मोटर पार्ट्स कम्पनीमा आंशिक समय कार्यरत  उनीहरू बिहानीको ड्युटी गर्नका लागि उज्यालो नहुँदै कारमा कार्यस्थलतर्फ गइरहेका बेला दुर्घटना भएको थियो ।

प्रहरीको अनुसन्धान जारी रहेको र मृतकका परिवारलाई पहिले जानकारी दिने प्रक्रियाका कारण आधिकारिक रूपमा उनीहरूको नाम सार्वजनिक नगरिएको हो ।
 


पाल्पामा जिप दुर्घटना : मृतकको संख्या ८ पुग्यो, १८ घाइते 

पाल्पामा जिप दुर्घटना : मृतकको संख्या ८ पुग्यो, १८ घाइते 


काठमाडौं, १ फागुन । पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । १८ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस सिखरडाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्ब शर्माले जानकारी दिए ।

मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका दिनेश घिमिरेले जानकारी दिए । घटनास्थलमा प्रहरी र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।


पाँच करोड फिरौती माग्दै ज्यान मार्ने धम्की दिने दुईजना पक्राउ 

पाँच करोड फिरौती माग्दै ज्यान मार्ने धम्की दिने दुईजना पक्राउ 


काठमाडौं, २५ माघ ।  पाँच करोड रुपैयाँ फिरौती नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका–२, खुर्कोटका लक्ष्मण दर्जी र कुश्मा–१४, आर्थरका दीपकबहादुर क्षेत्री छन् ।

कास्की प्रहरीका अनुसार, उनीहरूले सच्चाई सेवा केन्द्रका सञ्चालक प्रकाशदीप गैह्रेसँग पाँच करोड रुपैयाँ फिरौती मागेका थिए । फोन र म्यासेजबाट परिवारका सदस्य र उनको ज्यान मार्ने धम्की दिएको कास्की प्रहरीका प्रमुख मोहन थापाले जानकारी दिए ।

दर्जी वैदेशिक रोजगारका क्रममा चार वर्षदेखि कतारमा थिए । उनी नेपाल आएको एक महिना मात्र भएको प्रहरीले जनाएको छ । क्षेत्री भने बेरोजगार हुन् ।
 


सुनचाँदी व्यवसायी विश्वकर्मामाथि गोली प्रहार

सुनचाँदी व्यवसायी विश्वकर्मामाथि गोली प्रहार


काठमाडौं, २१ माघ । बर्दघाट नगरपालिका–४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ। सुस्ता गाउँपालिका–१ बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका–१६ स्थित कुकुरमारा नजिकैको शनिबार साँझ ७ बजे आसपासमा अज्ञात समूहले विश्वकर्मामाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।

गोली लागेर घाइते  भएका विश्वकर्माको अहिले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ। विश्वकर्माको पाखुरामा गोली लागेको छ।

गोली प्रहार गर्नेको खोजी जारी रहेको प्रहरीले जनाएको छ। घाइते विश्वकर्माको लु७८प ७४३५ नम्बरको स्कुटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा वडा नं १४ मा फेला परेको छ।