06 Chaitra, 2080 / 19 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कला


आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, २३ करोड बिगो दाबी

आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर, २३ करोड बिगो दाबी


काठमाडौं, १५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका बहालवाला सचिव मधुकुमार मरासिनीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

६ वर्षअघि खरिद भएको नेसनल पेमेन्ट गेटवे (एनपीजी) अहिलेसम्म प्रयोगमा आउन नसकेको अवस्थामा अख्तियारले मरासिनीसहितका सरकारी अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो।

यो मुद्दामा अख्तियारले सचिव मरासिनीविरुद्ध २३ करोड रुपैयाँ बिगो दाबी गरेको छ। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख छँदा मरासिनीले नीति तथा कार्यक्रममा समावेश नभएको र राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको शीर्षकमा छड्के बाटोबाट बजेट दिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार, बजेट प्रविष्टिका नियमित चरणहरुमा पर्ने कुनै पनि कार्य नगरी/नगराई, यससम्बन्धी तयारीका आवश्यक कागजातसमेत समावेश नगरी/नगराई आफूमातहत तथा माथिल्लो निकाय/अधिकारीलाई जानकारी पनि नदिई बजेट सिलिङभन्दा बाहिर गई रातो किताबमा बजेट घुसाएको पाइएको छ। 

एनपीजी खरिद गर्दा आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी स्वीकृत गरे गराएको अख्तियारले जनाएको छ। एनपीजी २५ करोडमा खरिद गरी गराई सरकारको सम्पत्ति गैरकानुनी रुपमा हानिनोक्सानी तथा दुरुपयोग गरेको भन्ने उजुरीपछि अनुसन्धान सकेर अख्तियारले मुद्दा दायर गरेको हो। 

अख्तियारले सचिव मरासिनीसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन कार्यकारी निर्देशकसमेतको मिलेमतो र योजनामा उक्त हिनामिना भएको पनि निष्कर्ष निकालेको छ। 

अख्तियारले तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन उपनिर्देशक/कार्यकारी निर्देशक तथा हाल नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको हो।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश प्रसाद पोखरेल भन्ने रमेश पोखरेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निम बहादुर वली, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इन्जिनियर राम शरण गायकविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाइएको छ।


 


चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित


काठमाडौं, ५ चैत । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । शनिवार काठमाडौँमा सम्पन्न संघको १९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
निरौलाले अध्यक्ष पदकी निकटतम प्रत्यासी रेजिना उप्रेतीलाई २६ मतले हराए । कूल खसेको मत ४६८ मध्ये निरौलाले २३५ मत प्राप्त गरे भने उप्रेतीले २०९ मत प्राप्त गरिन् । २६ मत बदर भयो ।

संस्थाको स्थापनाकालदेखि नै निरौलाले महासचिव र उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । अघिल्लो कार्यसमितिमा उनी उपाध्यक्ष र प्रवक्ता थिए ।

उपाध्यक्षमा कविता गेलाल र शिवहरि बैरागी विजयी भए । महासचिवमा सबिन श्रेष्ठ निर्वाचित भए । सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भए । सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी थिइन् ।


सदस्यमा शीतल केसीले सर्वाधिक ३०२ मत प्राप्त गरी विजयी बने । अन्य सदस्यहरूमा गोपाल ढकाल ‘छन्दे’, उद्धवप्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुस्बु खड्का, सरिता राजोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा निर्वाचित भए ।


तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ


काठमाडौं, ३ पुस । नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका कलाकार पल शाहले सफाई पाएका छन् । जिल्ला अदालत तनहुँका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले उनलाई सफाई दिएको हो ।
उनलाई जिल्ला अदालत नवलपुरले पनि जबरजस्ती करणीको मुद्दामा सफाई दिएको थियो । तर बालयौन दुरुपयोग सम्बन्धी अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्ति वापत जरिवाना तोकेको थियो । शाह अहिले तनहुँ कारागारमा छन् ।
 


५२ सर्वोत्कृष्ट प्रतिभाहरुले पाए चौथो हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड

५२ सर्वोत्कृष्ट प्रतिभाहरुले पाए चौथो हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड



काठमाडौं, १५ कात्तिक । चौथो हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड सम्पन्न भएको छ । हिमालयन नेपाली इभेन्ट्स प्रा.लि.को आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार अवार्ड कार्यक्रम सम्पन्न भएको हो ।
बागमती प्रदेश सांसद राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्ड वितरण कार्यक्रम कलाकार, पत्रकार तथा बौद्धिक व्यक्तित्वहरुको उपस्थिति थियो ।

चौथो हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड तामाङ म्हेन्दोमाया तर्फ सर्वोत्कृष्ट म्हेन्दोमाया गायक सागर एस वाईबा, गायिका रमला पाख्रिन, म्हेन्दोमाया म्युजिक भिडियो निर्देशक राज किङ वाईवा, सर्वोत्कृष्ट लोक तथा दोहोरी गायक नविन पौडेल तथा गायिका रितु तामाङ, सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष रमेश बाबु थापा तथा महिला रीना थापा मगर भएका छन् ।

त्यस्तै सर्वोत्कृष्ट पप गायक कमल खत्री तथा गायिका मेलिना मैनाली, सर्वोत्कृष्ट सेलो गायक विश्व दोङ तथा गायिका जितु लोप्चन, सर्वोत्कृष्ट भिडियो निर्देशक होम गुरुङ, सर्वोत्कृष्ट भिडियो एडिटर राज कुमार मगर, सर्वोत्कृष्ट संगीत संयोजक सुनिल परियार भएका छन् ।

यस्तै सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायन पुरुष येश कुमार तथा महिला दिपा लामा राई, आधुनिक गायन तर्फ सर्वोत्कृष्ट गायक सुनिल कटुवाल तथा गायिका अनु अधिकारी, सर्वोत्कृष्ट आधुनिक भिडियो मोडल पुरुष सन्तोष राई, महिला रुपा लामा, सर्वोत्कृष्ट आधुनिक म्युजिक भिडियो निर्देशक शान्त कुमार राई, म्हेन्दोमाया युवा गायक राइजिङ रमेश गोम्जा, नव लोक तथा दोहारी गायिका शर्मिला तामाङ, आधुनिक गीत संगीतकार प्रकाश लामालगायत ५२ विधामा ५२ सर्वोत्कृष्ट प्रतिभाहरुले चौथो हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड पाउन सफल भएका छन् ।


 मनोज गजुरेलले गरे विवाह

 मनोज गजुरेलले गरे विवाह



काठमाडौं, २५ असोज । चर्चित हास्यकलाकार मनोज गजुरेलले विवाह गरेका छन् । न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग उनले सोमबार विवाह गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको बताएका छन् । मनोज र मञ्जुले भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन् ।

दोस्रो विवाह गरेका मनोजको पहिलो विवाह चार वर्षअघि सम्बन्ध विच्छेदमा टुंगिएको थियो । पहिलो श्रीमतीका तर्फबाट मनोजका एक छोरा र एक छोरी छन् ।


 


उदाउँदै अनि अस्ताउँदै...

उदाउँदै अनि अस्ताउँदै...


रुपा थापा 

कहि कतै छुटेका छन्

यादहरूका सागरमा तैरिरहने

ती माेतिका दानाहरू

उदाउँदै अनि अस्ताउँदै

बगिरहेका जीवनका धारामा

चुप चाप खिइद‌ै गएका

ती पदचापहरूलाई

फेरि पनि सम्झनु त छदैछ

भेटिदैनन ती दाैतरीहरू

जसरि भेटिएनन हातबाट छुटेपछि

क्षितिजमा उडेका ति बेलुनहरू

यति खेर डाडा माथि

फेरि घाम अस्ताउँदैछ

म मुस्कुराउदै कुरिरहेछु

भाेलिकाे एउटा बिहानी

जहाँ गाैथलिका बचेराहरू

समयका बेगलाई पखेटामा लिएर

त्यसरी नै उडिरहेछन

म समयकाे तुफानसँगै

पाैठेजाेरि खेलेर उभिएकाे

त्यहि एउटा बुढेा वृक्ष हुँ

जाे जीवनका अनगिन्ति घुम्टिहरू छिचाेलेर

बिस्तारै बिस्तारै ढल्दैछु

समयकाे चक्रमा

जीवनका अनगिन्ति गितहरू

यसरी नै गुन्जिरहेछन

आउनु र जानुकाे बीचमा

जीन्दगीकाे चाैतारिमा

केही सम्झनाहरूलाई छाडेर

रुपा थापाको फेसबुकबाट


 वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन


काठमाडौं, २३ वैशाख । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा उनको निधन भएको हो। गायक प्रधानको छातिमा सामान्य समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना गरिएको थियो। सामान्य ज्वरो र छातिमा समस्या देखिएपछि कोरोना आशंका गरिएको भए पनि उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। 

प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो त्यो गाउँको’, ‘‘पर लैजाउ फूलहरु’, लगायतका गीत चर्चित छन्। 

८३ वर्षीय प्रधानको जन्म सन् १९३८ मा सिन्धुपाल्चोकको चौतारामा भएको थियो। प्रधान आमा प्राणदेवी प्रधानको प्रेरणामा संगीतमा लागेको बताउथे। 

नेपाली गीत शक्तिका शिखर व्यक्तित्व प्रधानले विभिन्न राष्ट्रिय सम्मान पाएका थिए। २०२१ सालमा तत्कालीन राजा महेन्द्र शाहको हातबाट उत्कृष्ट गायक सम्मान, राजा वीरेन्द्रबाट २०४४ सालमा गोर्खा दक्षिण बाहु चौंथो र २०५३ सालमा विख्यात त्रिशक्ति पट्ट तेस्रोसँगै गायक प्रधानले छिन्नलता पुरस्कार, भुपालमान सिहं कार्की पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, नारायण गोपाल संगीत पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कारलगायत दर्जनौ सम्मान र पुरस्कार पाएका थिए।  


 रहेनन् भारतीय अभिनेता राजीव कपूर 

 रहेनन् भारतीय अभिनेता राजीव कपूर 


काठमाडौं, २७ माघ । भारतीय अभिनेता राजीव कपूरको निधन भएको छ । उनको मंगलबार हृदयाघातका कारण निधन भएको उनका ठूला दाजु रणधीर कपूरले बताएको बीबीसीले जनाएको छ । 
५८ वर्षका राजीव राज कपूरका कान्छो छोरा हुन् भने रणधीर कपूर र ऋषि कपूरका भाइ हुन् । उनले राज कपूरको फिल्म ‘राम तेरी गंगा मैली’ बाट फिल्मी यात्रा शुरु गरेको थिए ।  ऋषि कपूरको निकै चर्चित फिल्म ‘प्रेम ग्रंथ’ लाई राजीव कपूरले निर्देशन गरेका थिए । 


 ‘महारानी’लाई मदन पुरस्कार, ठटाललाई  जगदम्बाश्री 

 ‘महारानी’लाई मदन पुरस्कार, ठटाललाई  जगदम्बाश्री 


काठमाडौं, ४ असोज । यस वर्षको मदन पुरस्कार ‘महारानी’ उपन्यासका सर्जक चन्द्रप्रकाश बानियाँलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले बानियाँको उपन्यास ‘महारानी’लाई मदन पुरस्कार दिने निर्णय गरेको हो।  
विसं २०७५ को मदन पुरस्कार पनि योगेश राजको ऐतिहासिक उपन्यास ‘रणहार’ लाई प्रदान गरिएको थियो । मदन पुरस्कारका लागि १५१ पुस्तक प्राप्त भए पनि सात पुस्तक छनोटमा परेका थिए । तिनमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुङ्गानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १–३), ललित विष्टको मोहपथ र शारदा शर्माको यात्रामा कृति पनि मदन पुरस्कार सूची २०७६ मा छनोटमा परेका थिए ।     

त्यस्तै, सभाले गत छ दशकदेखि नेपाली गीत–सङ्गीत क्षेत्रमा समर्पित रही विशिष्ट योगदान पु¥याएवापत गायिका तथा सङ्गीतकार शान्ति ठटाललाई २०७६ सालको जगदम्बा–श्री पुरस्कार दिने निर्णय गरेको छ । ।     
विसं २०७५ को जगदम्बाश्री पुरस्कार वैरागी काइँलालाई प्रदान गरिएको थियो । विसं २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलो पल्ट २०१३ सालदेखि मदन पुरस्कार दिन थालेको हो । विसं २०१३ मा गद्यविधामा सत्यमोहन जोशीको ‘हाम्रो लोकसंस्कृति’, चितरञ्जन नेपालीको ‘ जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा बलराम जोशीको ‘अधिकविभक स्थिरविद्युत् उत्पादक’ लाई पुरस्कार प्रदान गरेको थियो ।     
यस्तै २०४५ सालदेखि गुठीले जगदम्बाश्री पुरस्कार दिन थालेको हो । सो पुरस्कार पहिलो पटक गायक तथा सङ्गीतकार नारायणगोपाललाई प्रदान गरिएको थियो ।   बानियाँ र ठटाललाई गुठीले एक कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गर्नेछ।  
 
 


देशभरको मौसम आंशिकदेखि सामान्य बदली

देशभरको मौसम आंशिकदेखि सामान्य बदली



काठमाडौं, ४ असोज । आइतबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ । अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आंशिक बदली रहेको छ । आइतबार दिउँसो देशभर आंशिकदेखि सामन्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

हेर्नुहोस् 

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ।

हालको मौसमको अवस्था (Present Weather Status):

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आँशिक बदली रहेको छ ।

 आगामी तीन दिनको मौसम पूर्वानुमान 

असोज ४ गते (आइतबार)

दिउँसो : देशभर आँशिक देखि सामन्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको    

 राती : देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको    

 असोज ५ गते (सोमबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  । 

 राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको   साथै प्रदेश  नं १, प्रदेश  नं २ र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ।

असोज ६ गते (मंगलबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  । प्रदेश  नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ।

 राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको   प्रदेश  नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours): 

उल्लेखनीय चेतावनी छैन ।