09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अन्तराष्ट्रिय


भारतमा गरिबको संख्या १३ करोड ५० लाखले घट्यो

भारतमा गरिबको संख्या १३ करोड ५० लाखले घट्यो


एजेन्सी । भारतमा गरिबीको रेखामुनि रहेकाको जनसंख्या घटेको छ। सन् २०१५/१६ देखि २०१९-२१ को बीचमा १३ करोड ५० लाख मानिस गरिबीको रेखाभन्दा माथि आएका छन्। नीति आयोगले जारी गरेको राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपीआइ) का अनुसार, आयमा आएको वृद्धिले ठूलो जनसंख्या गरिबीको रेखाभन्दा माथि पुगेका हुन्।
भारतमा बहुआयामिक गरिबीको हिस्सा सन् २०१५/१६ मा २४.८५ प्रतिशतबाट घटेर सन् २०१९-२१ सम्म १४.९६ प्रतिशतमा झरेको छ। यसले स्वास्थ्य, शिक्षा र जीवनस्तरमा आएको सुधारलाई जनाउँछ।

यसबाहेक पोषण, बाल मृत्युदर, आमाहरुको स्वास्थ्य, स्कुलमा उपस्थिति संख्या, खाना पकाउन उपयोग हुने इन्धन, खानेपानी, गुणस्तरीय बिजुली र आवासमा आएको सुधारलाई पनि संकेत गर्छ।

नीति आयोगका प्रमुख कार्यकारी बीबीआर सुब्रमण्यमले भारतले सन् २०२३ मा हासिल गर्ने भनेर राखेको लक्ष्यमा त्यसअघि नै सफल भएको बताए।


अमेरिकामा पढ्दा लिएको ऋण तिर्नु नपर्ने

अमेरिकामा पढ्दा लिएको ऋण तिर्नु नपर्ने


एजेन्सी । अमेरिकामा बाइडेन प्रशासनले ८ लाख बढी विद्यार्थीको ऋण मिनाहा गर्ने घोषणा गरेको छ। बाइडेन प्रशासनले गरेको घोषणाअनुसार ८ लाख ४ हजार विद्यार्थीले युनिभर्सिटी पढ्दा लिएको ३९ अर्ब डलर ऋण मिनाहा हुने भएको छ। यो निर्णयले ती विद्यार्थीको परिवारसँग जोडिएका ३ करोड ७० लाखभन्दा बढी मानिस लाभान्वित हुने भएका छन्।

अमेरिकामा विद्यार्थीलाई युनिभर्सिटी अध्ययन गर्दा २० वर्षदेखि २५ वर्षमा तिर्ने गरी सरकारले आफैँ जमानी बसेर बैंकमार्फत ऋण सहुलियत दिएको हुन्छ। अमेरिकाको शिक्षामन्त्री मिगेल कार्डोनाका अनुसार बाइडेन प्रशासनले आज एक घोषणामार्फत ती विद्यार्थीको ऋण मिनाहा गरेको छ। यस्तो घोषणा अमेरिकी उच्च अदालतले कानुनी हुने बताएसँगै बाइडेन प्रशासनले घोषणा गरेको हो।


युक्रेनले तत्काल नेटोको सदस्यता नपाउने

युक्रेनले तत्काल नेटोको सदस्यता नपाउने


एजेन्सी । युक्रेनले तत्काल उत्तर एट्लान्टिक सन्धी सङ्गठन (नेटो) को सदस्यता नपाउने निश्चित भएको छ । लिथुआनियाको राजधानी विलनियसमा दुई दिनसम्म भएको नेटो सम्मेलनमा युक्रेनको सदस्यता मुख्य विषय बनेको थियो । तर, स्वीडेन नेटोको नयाँ सदस्य बन्ने निश्चित भए पनि युक्रेनलाई सदस्यता दिनेबारेमा भने सम्मेलनले कुनै निर्णय गरेन ।
नेटोमा आबद्ध देशहरूले रुससँगको लडाइँमा युक्रेनलाई थप सैन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनलाई नेटो सदस्यताको बाटोमा सहयोग गर्ने बताउनुभएको छ । त्यस्तै, नेटोका प्रमुख जेन्स स्टोल्टनबर्गले यो बैठक ऐतिहासिक भएको तर युक्रेनलाई सदस्यता दिनेबारे कुनै निर्णय नभएको बताएको बीबीसीले जनाएको छ ।

युक्रेनले सदस्यता पाउन पहिले आर्थिक, राजनीतिक र सैन्य मापदण्डहरु पूरा गर्नुपर्नेछ । सन् १९४९ मा स्थापना भएको नेटोमा शुरुवाती समयमा अमेरिका, बेलायत, क्यानडा, फ्रान्सलगायत १२ देश सहभागी थिए । त्यसपछि युरोप र उत्तर अमेरिकासहित ३१ सदस्य पुगेको छ । अब स्वीडेन पनि थपिएको छ ।


भारतमा पहिरोः एकै परिवारका तीन नेपालीको मृत्यु

भारतमा पहिरोः एकै परिवारका तीन नेपालीको मृत्यु


काठमाडौं, २६ असार । भारतमा पहिरोमा परेर एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ । सिमलाको ठेट क्यार भन्ने ठाउँमा गएको पहिरोमा परेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ टुनिबोटका ४८ वर्षीय दिपबहादुर ओली, उनकी श्रीमती भीमा र १७ वर्षीय छोरा मोहोनको ज्यान गएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले जानकारी दिए । उनका अनुसार उनीहरु हिजो बिहान घर माथिबाट आएको पहिरोमा परेका हुन् । दिपबहादुर ऋण तिर्नका लागि भन्दै एक वर्षअघि मजदुरी गर्न भारत गएका थिए । 
श्रीमती र दुई छोरा भने झण्डै एक महिना अघि मात्रै भारत गएका त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले जानकारी दिए । 
 


बाढी पहिरोका कारण भारतमा २९ जनाको मृत्यु

बाढी पहिरोका कारण भारतमा २९ जनाको मृत्यु


एजेन्सी । मुसलधारे वर्षापछि आएको बाढी पहिरोका कारण भारतमा २९ जनाको मृत्यु भएको छ । हिमाञ्चलमा ९, उत्तरप्रदेशमा ६, उत्तरखण्डमा पाँच, जम्मु कश्मीरमा चार, पञ्जाबमा दुई तथा दिल्ली र लद्दाखमा एक/एक जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यी ठाउँमा मुसलधारे वर्षा भइरहेकाले विद्यालय तथा कलेज बन्द गरिएको छ । यस्तै, बढी प्रभावित क्षेत्रमा रेलवे सेवा पनि बन्द भएका छन् भने केही ठाउँमा रेल गुड्ने मार्ग परिवर्तन गरिएको छ । हिमाञ्चलको मन्डी जिल्लामा तीन वटा पुल बाढीले बगाएको छ ।

यस्तै, मनालीमा सात घरमा क्षति भएको छ । हिमाञ्चल प्रदेशको आपत्कालीन परिचालन केन्द्रका अनुसार झण्डै ३६ घण्टामा १४ ठाउँमा पहिरो गएको छ भने १३ ठाउँमा बाढी आएको छ । सात सयभन्दा धेरै सडक बन्द छन् ।

यस्तै, दिल्लीमा ४१ वर्षयताकै सबैभन्दा ठूलो वर्षा भएको छ । पछिल्लो २४ घण्टामा १ सय ५३ मिलिमिटर वर्षा भएको छ । यसअघि सन् १९८२ मा त्यहाँ ठूलो वर्षा भएको खबरमा उल्लेख छ । यस्तै, चण्ढीगढमा ७० वर्षयताकै ठूलो वर्षा भएको छ । त्यहाँ २४ घण्टामा ३ सय ६५ दशमलव ४ मिलिमिटर पानी परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
 


अमेरिकाले १ सय २० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेन पठाउने

अमेरिकाले १ सय २० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेन पठाउने


एजेन्सी । अमेरिकाले १२० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेनमा पठाउने भएको छ । राष्ट्रपति जो बाइडेनले आफूलाई यो निर्णय गर्न निकै कठिन भएको बताएका छन् । 
उनले युक्रेनमा गोलीगठ्ठा सकिनै लागेकाले क्लस्टर बम पठाउने निर्णय लिन बाध्य भएको बताएका बीबीसीले जनाएको छ । यसअघि अमेरिकाले विवादास्पद क्लस्टर बम आपूर्तिका लागि युक्रेनले गरेको आग्रह स्वीकार गरेको विवरण सार्वजनिक भएको थियो ।
विमानबाट खसालिने वा जमिनबाटै प्रक्षेपण गर्न सकिने यो अस्त्रबाट साना बमहरू निस्किन्छन् । युक्रेनका नेताहरुले अमेरिकी यो कदमको स्वागत गरेका छन् । तर, रुसले भने यसको कडा विरोध गरेको छ । अमेरिकी राष्ट्रपति बाइडेनले सीएनएनसँगको एक अन्तर्वार्तामा यस निर्णयबारे आफूले सहयोगी राष्ट्रसँग छलफल गरेको बताए । 


क्यानडामा कुकुर पनि बन्यो मेयरको उम्मेदवार

क्यानडामा कुकुर पनि बन्यो मेयरको उम्मेदवार


एजेन्सी । क्यानडाको टोरन्टोमा हुन गइरहेको चुनावमा कुकुर पनि उम्मेदवार बनेको छ । मेयर पदका लागि एक सय २० जनाको उम्मेदवारी परेकोमा मोली नामको कुकुरको पनि उम्मेदवारी रहेको बीबीसी हिन्दीले जनाएको छ । 
मोलीका मालिक टप्सी हिप्सले सडकमा पोखिने नुनको विरुद्धमा कुकुरलाई मेयरको उम्मेदवार बनाएको बताएका छन् । जाडोमा सडकको हिउँ पगाल्न प्रयोग गरिने ठूलो मात्राको नुनले कुकुरको खुट्टामा गम्भीर असर गर्ने र यसको बारेमा आवाज उठाउँदा सुनुवाइ नभएपछि कुकुरलाई नै मेयरको उम्मेदवार बनाएको टप्सीले बताएका छन् । 
मोलीको तर्फबाट मालिक टप्सीले चुनाव जितेमा सस्तो आवाज, ठूला व्यवसायहरूमा कर वृद्धि, घर र कार्यालयहरू तताउनका लागि प्रयोग गरिने जिवाश्मा इन्धन प्रणालीमा प्रतिबन्धलगायतका प्रतिबद्धता जनाएका छन् ।


‘रुसमा वाग्नर समूहको विद्रोहले राष्ट्रपति पुटिनको अधिकारलाई चुनौती’ 

‘रुसमा वाग्नर समूहको विद्रोहले राष्ट्रपति पुटिनको अधिकारलाई चुनौती’ 


एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसमा विद्रोही समूह वाग्नरले गरेको विद्रोहले राष्ट्रपति भ्लादिमिर पुटिनको अधिकारमा समस्या देखिएको बताएका छन् ।  उनले निजी सैन्य समूह वाग्नरले गरेको विद्रोहले पुटिनको अधिकारलाई प्रत्यक्ष चुनौती दिएको बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । 

रुसमा भएको विद्रोहलाई लिएर युरोपेली देशहरुसँग परामर्श गरिरहेको अमेरिकाले पहिलो टिप्पणी गरेको हो । रुसमा हुन लागेको विद्रोहका बारेमा अमेरिकी जासुसहरुले केही समय अघि नै राष्ट्रपति जो वाइडेन लगायत उच्च तहमा जानकारी गराइसकेका पनि खबरमा उल्लेख छ ।

रुस सरकारसँग सहमति भएपछि भाडामा सेना उपलब्ध गराउने वाग्नर समूह शिविरमा फर्किएको छ । वाग्नर समूहसँग भएको सम्झौताबारेमा रुसले विस्तृत जानकारी गराएको छैन । तर यस घटनाले रुसले युक्रेन युद्धमा निजी सेना प्रयोग गरी क्रुर लडाइँ गरिरहेकोबारेमा नयाँ बहस शुरु भएको छ ।  


रुसमा वाग्नर समूहको विद्रोह स्थगित

रुसमा वाग्नर समूहको विद्रोह स्थगित


एजेन्सी । रुसमा वाग्नर समूहले विद्रोहलाई स्थगित गरेको छ । वाग्नरका प्रमुख येभगेनी प्रिगोजिन रुस छाडेर बेलारुस प्रस्थान गरेका बीबीसीले जनाएको छ । यसअघि सरकारले सेनाविरुद्धको अपराधमा मुद्दा चलाएकोमा अब मुद्दा फिर्ता लिने पनि खबरमा उल्लेख छ । थप रक्तपात हुन नदिने भन्दै वाग्नर समूह राजधानी मस्को प्रवेश नगरि फर्किएको हो ।
प्रिगोजिनका समर्थकहरू गएराति रोस्तोभबाट फिर्ता भएका छन् । भाडाको यो सैन्य समूह वाग्नरले सबै कार्यक्रमलाई फिर्ता लिएको छ । बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले येभगेनी प्रिगोजिनसँग कुराकानी समेत गरेका थिए । 
 


’टाइटानिक’ जहाजको भग्नावशेष हेर्न पनडुब्बी जहाजमा गएका पाँचै जनाको मृत्यु

’टाइटानिक’ जहाजको भग्नावशेष हेर्न पनडुब्बी जहाजमा गएका पाँचै जनाको मृत्यु


एजेन्सी । एटलान्टिक महासागरमा टाइटानिक जहाजको भग्नावशेष हेर्न पनडुब्बी जहाजमा गएका पाँचै जनाको मृत्यु भएको छ । अमेरिकी कोस्ट गार्डले यसको पुष्टि गरेको हो ।
अमेरिकी कोस्ट गार्डका एक अधिकारीले पनडुब्बीको पाँच भाग टाइटानिक जहाजको एक हजार छ सय फिटमा फेला परेको पुष्टि गरेका छन् । भेटिएको भग्नावशेष विपत्तिजनक विस्फोटसँग मिल्दोजुल्दो रहेको जनाइएको छ । 
टाइटानिक जहाजको भग्नावशेष हेर्न पर्यटक बोकेर गएको पनडुब्बी जहाज गएको आइतवार बेपत्ता भएको थियो । जहाजमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित दुई जना बेलायती–पाकिस्तानी, एक जना बेलायती व्यापारी र एक जना फ्रान्सेली अन्वेषक थिए ।

टाइटानिक जहाज सन् १९१२ को अप्रिलमा आफ्नो पहिलो यात्रामै आइसबर्गमा ठोक्किएपछि डुबेको थियो । त्यस बेला जहाजमा रहेका २२ सय जनामध्ये छ सय सात जनामात्रै बाँचेका थिए । समुद्रमा डुबेको जहाजको भग्नावशेष सन् १९८५ मा पत्ता लागेको थियो । 
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom