17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पत्रपत्रिकाबाट


काेराेना ग्राफ : एक मिनेटमा एक संक्रमित

काेराेना ग्राफ : एक मिनेटमा एक संक्रमित


काठमाडौं । प्रत्येक मिनेटमा एक जनामा कोरोना संक्रमण देखिने गरेको पाइएको छ । गत १ देखि ११ वैशाखसम्म आधार मान्दा प्रत्येक ‘एक मिनेटमा एक जना’मा संक्रमण देखिन थालेको छ । यही गतिमा संक्रमित बढ्दै गए केही दिनमै संक्रमण नियन्त्रणबाहिर जानसक्ने जनस्वास्थ्य विज्ञले औंल्याएका छन् ।

पछिल्लो ११ दिनमै ८० हजार ९ सय ७ जनामा परीक्षणक्रममा १६ हजार ९ सय ४९ मा संक्रमण देखिएको छ । यो अवधिमा मात्रै कोरोनाबाट ७८ जनाको मृत्यु भएको छ ।

केही दिनयता संक्रमित मृतक संख्यासमेत उकालो लाग्दोक्रममा छ । शनिबार मात्रै तीन महिनायताकै १४ संक्रमितको मृत्यु भएको छ ।

संक्रमणदर बढ्दै गए भएका संरचना धान्न सक्ने अवस्था नभएको सरकार आफैंले बताइसकेको छ । मुख्यतः भारतमा संक्रमणदर बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको हो । हाल, भारतमा दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण देखि“दै आएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

 


बिहीबार बिहानबाट यसरी बिग्रियो कुरा

बिहीबार बिहानबाट यसरी बिग्रियो कुरा


विभाजनको डिलमा पुगेको नेकपा एमालेलाई जोगाउन कसरत भए पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नै अडानमा रहेका कारण संकटको गाँठो झनै कसिएको छ । बुधबारको भेटघाटलाई बिहीबार समेत निरन्तरता दिए पनि वार्तामा कुनै प्रगति हुन सकेन ।

बुधबार दुवै नेता लचिलो देखिए पनि बिहीबार बिहानैदेखि वातावरण बिग्रिएपछि दिउँसोको वार्ता फलदायी हुन नसकेको हो । बिहीबार बिहान ओलीले माधव नेपालले पार्टी विभाजन गरिसकेको, अर्को पार्टी खोलेर हिँड्दा आफूले सम्झाइबुझाइ गरेको जस्ता अभिव्यक्ति दिएपछि वातावरण बिग्रिन पुग्यो ।

‘फागुन २८ गतेका निर्णय मानेर जानुपर्ने भनेपछि अन्य विषयमा प्रवेश गर्ने कुरै भएन,’ वार्तापछि नेपालले आफूनिकट नेतालाई जानकारी दिँदै भने, ‘ओलीले अझ बिहीबार जुन अभिव्यक्ति दिए, त्यो निकै आपत्तिजनक थियो । पार्टी विभाजन गर्ने भनिएको पनि छैन, नयाँ दल खोल्ने कुरा पनि छैन तर ओलीले नयाँ दल खोल्न लागेको भनेर प्रचार गरे । त्यसले पार्टी मिलाउनेभन्दा पनि राजनीतिक चालबाजीमात्रै देखियो ।’

ओलीको बिहीबारको अभिव्यक्तिबाट उनी विवाद मिलाउन चाहँदैनन् वा उनको नजिक रहेका व्यक्तिहरु पार्टी मिल्नु हुँदैन भन्ने पक्षमा छन् भन्ने संकेत मिलेको बताउँदै नेपालले आफूनिकटका नेताहरुलाई ब्रिफिङ गरे । 

आजको नागरिक दैनिकमा समाचार छ ।


भरिए काठमाडौं उपत्यकाका अस्पताल, लकडाउन गर्न सुझाव

भरिए काठमाडौं उपत्यकाका अस्पताल, लकडाउन गर्न सुझाव


काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएकाआइसियु र शयया भरिएका छन्। शयया भरिएपछि अस्पतालहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन्।  

कोरोना बिरामीको उपचारका लागि व्यवस्था गरिएका शयया भरिभराउ भएपछि अन्यत्र रेफर गर्नुपरेको पाटन अस्पताल कोभिड १९ उपचार संयोजक डा। विमल पाण्डेले बताए। पाटन अस्पतालमा कोभिडका बिरामीको उपचारका लागि १ सय ९० वटा सामान्य र २१ वटा आइसियु शयया छुट्याइएको छ। ‘तीन दिनदेखि सबै शयया प्याक छन्, आएका बिरामीलाई मन्त्रालयमा फोन गरेर अन्यत्र रेफर गरेका छौं’ डा।पाण्डेले भने। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोभिडका बिरामी बढेपछि शयया भरिभराउ भएको जनाएको छ। 

दोस्रो लहरको कोरोना संक्रमणपछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड हुने कार्यक्रम जारी राखेकाले संक्रमण तीव्र रूपमा फैलिरहेको उनीहरूले औंल्याएका छन्। सरकारले उपचारका लागि शयया बिस्तार गरे पनि जनशक्ति व्यवस्थापनमा चुनौती हुने स्थिति रहेको वीर अस्पतालका कोभिड उपचार चिकित्सक डा. कार्कीले बताए। ‘शययामात्र भएर हुँदैन, उपचारका लागि जनशक्ति पनि तयारी हुनुपर्छ, त्यो सम्भव देखिँदैन’, उनले भने। सरकारले संक्रमणको चेन ब्रेक गर्न कम्तीमा दुई साताका लागि लकडाउन गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। ‘अब कम्तीमा दुई साताका लागि लकडाउन नगरेमा नियन्त्रण सम्भव देखिँदैन’, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड उपचार संयोजक डा. पाण्डेले भने।  

यो समाचार आजको नागरिक दैनिकमा छ । 


कोभिड संक्रमितको उद्धारका लागि हेलिकोप्टर प्रयोग गरिने

कोभिड संक्रमितको उद्धारका लागि हेलिकोप्टर प्रयोग गरिने


कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको उद्धारका लागि कर्णालीका विकट क्षेत्रमा हेलिकोप्टरको व्यवस्था गरिने भएको छ । 

बिहीबार प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कम्तीमा १० वटा एम्बुलेन्स तत्काल भाडामा लिएर सञ्चालन गर्ने र माथिका विकट क्षेत्रको हकमा हेलिकोप्टरसहितको व्यवस्था गर्ने निर्णय गरेको हो । 

भौगोलिक विकटताका कारण कर्णालीमा सर्वसाधारणको सहजै स्वास्थ्य संस्थासँग पहुँच पुग्दैन । महामारीमा उपचार नपाएर नागरिकको मृत्यु हुनसक्ने जोखिमलाई ख्याल गर्दै प्रदेश विपद् व्यवस्थापन केन्द्रले उक्त निर्णय गरेको हो ।

यो समाचार आजको नागरिक दैनिकमा छ । 

 

 


नेपालको अक्सिजन भारततिर

नेपालको अक्सिजन भारततिर


दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्र रुपमा फैलिएसँगै नेपालबाट अक्सिजन भारत निर्यात हुन थालेको छ । भारतमा संक्रमितको संख्या ह्वात्तै बढेर अक्सिजन अभाव देखिन थालेपछि निकासीका लागि व्यवसायीले यहाँका बजारबाट अक्सिजन र त्यससँग सम्बन्धित सामाग्री उठाइरहेको रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेले बताए । 

व्यवसायीका अनुसार नेपालमा अक्सिजन हाल पुग्दो मात्रामा रहे फनि माग बढिरहेको छ । संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । संक्रमितको संख्या दिनहुँ बढिरहेको छ भने अस्पताल भर्ना भएका अधिकाशंलाई अक्सिजन दिनुपरिरहेको छ । 

यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 


ओली–नेपाल वार्ता : के थियो ओलीको अफर ?

ओली–नेपाल वार्ता : के थियो ओलीको अफर ?


नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल म्यारियटमा बिहीबार ओली र नेपालबीच ‘वान टु वान’ छलफल भएको हो । दुई नेताबीच बुधबारसमेत छलफल भएको थियो । तर, दुवै नेता आ–आफ्नै अडानमा अडिग भएपछि कुनै सहमति जुट्न सकेन । जसका कारण विवाद झन्झन् बढने देखिएको छ ।

एमाले स्रोतका अनुसार छलफलका क्रममा नेता नेपालले पार्टीलाई एकताबद्ध बनाउन २ जेठ २०७५ मा फर्किनुपर्ने अडान राखेका थिए । तर, प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले एमाले धेरै नै अघि बढिसकेकाले पछाडि फर्किन नसकिने अडान राखेका थिए ।

‘दुवै नेता आफ्नै अडानमा हुनुहुन्छ । नेकपा एकता हुनुभन्दा अघिल्लो मितिमा फर्किएर पार्टी एकता जोगाउँदै अघि बढनुपर्ने अडानमा वरिष्ठ नेता नेपाल हुनुहुन्छ,’ एमाले स्रोतले भन्यो, ‘तर अध्यक्ष केपी ओलीले एमाले धेरै नै अघि बढिसकेकाले अब पछाडि फर्किन नसकिने र यही अवस्थामा मिलेर जानुको विकल्प नभएको बताउँदै आउनुभएको छ ।’

नेपालसहितका नेताहरूलाई पार्टीबाट ६ महिनाका लागि गरिएको निलम्बनको निर्णयमा पुनर्विचार गर्न सकिने अध्यक्ष ओलीले संकेत गरे पनि शुक्रबार (आज) बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी हुनुपर्ने सर्त अघि सारेका छन् । तर, नेपालले ओलीको प्रस्ताव अस्वीकार गर्दै २ जेठमै फर्किनुपर्ने आफ्नो पुरानै अडान दोहोर्‍याएका छन् ।

‘तपाईंहरू भोलि (शुक्रबार)को बैठकमा आउनुभयो भने यसअघि मैले ६ महिनाका लागि पार्टीबाट गरिएको निलम्बन फुकुवा गर्छु’ छलफलमा ओलीले भने । तर, नेता नेपालले ओलीको सो प्रस्ताव अस्वीकार गर्दै २ जेठको अवस्थामा नफर्किंदासम्म आफूहरू बैठकमा आउन नसक्ने बताएका छन् ।

आजको राजधानी दैनिकमा समाचार छ ।

 


अस्पतालमा बेड अभाव भएपछि भुइँमा राखेर उपचार

अस्पतालमा बेड अभाव भएपछि भुइँमा राखेर उपचार


कोरोना भाइरस संक्रमण दिनदिनै तीव्र गतिमा फैलिरहेको छ। देशभर पछिल्लो २४ घण्टामा बिहीबार २ हजार ४ सय २८ संक्रमित थपिँदा २ सय ५२ जना मात्रै निको भएका छन्। सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तर, कोरोनाको दोस्रो लहरको सुरुआतमै संक्रमितको उपचारमा समस्या देखिन थालेको छ। कोरोना विशेष अस्पतालमा बेड अभाव हुन थालेको छ। 

दाङको बेलझुन्डीस्थित लुम्बिनी प्रदेशस्तरीय कोरोना विशेष अस्पतालमा बेड अभाव हुँदा कतिपय बिरामी भुइँमा बसेर उपचाररत छन्। यहाँ भएका बेड संक्रमितले भरिभराउ भए पनि उपचारको अर्को व्यवस्था हुन सकेको छैन। व्यवस्थापक द्रोणबहादुर ओलीले २५ बेड क्षमताको अस्पतालमा आन्तरिक व्यवस्थापनबाट ३८ बेड पुर्‍याएर बिरामीको उपचार गरिरहेको बताए। तर, बिरामीको संख्या दिन–प्रतिदिन बढ्दै गएपछि भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आइपरेको व्यवस्थापक ओलीको भनाइ छ।

‘अस्पतालको ढोकामा आएर बिरामी बसेपछि हामीले बेड छैन भनेर कसरी फर्काउनु ?’, ओलीले भने, ‘प्रदेशस्तरीय अस्पताल भनेपछि अन्य जिल्लाबाट पनि बिरामी आएका छन्। हामीले कसरी मिलाएर उपचार गराउने हो समस्या भएको छ। अक्सिजन बिना उपचार सम्भव छैन। भुइँमा राखेर उपचार गर्न पनि गाह्रो भयो। सरकारले यसमा चासो दिनुपर्यो।’

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 


नब्याएको बाच्छीले दूध दिन थालेपछि...

नब्याएको बाच्छीले दूध दिन थालेपछि...


झापाको गौरादह नगरपालिका–३  का राजन पन्तको घरमा पालेको गाईको बाच्छीले  नब्याइकन नै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन् ।  नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म मानिसको   भीड लाग्न थालेको छ  । “चिकित्सा  विज्ञानलाई आश्चर्यमा पार्ने गरी आफ्नै  गोठमा  बाँधेर पालेको २१ महिनाको बाच्छीले दूध दिन थालेपछि  अचम्म  लाग्यो,”  पन्तले भने ।

पशु चिकित्सकलाई जाँच गराउँदा गाईले गर्भधारण नगरेको  पाइएको  गाईधनी  पन्तले  बताउँदै  भने,  “घरमा  बाँधेर  पालेको बाच्छी २१ महिनाको मात्र  भयो  । यसलाई  कहीँ  लगिएको पनि छैन  ।” “एक हप्तादेखि बाच्छीको अचानक फाँचो ह्वात्तै बढ्यो  । थुनसमेत  ब्याएको गाईको जस्तो पघ्रेर आए । बाच्छीको थुन गानिन  थालेपछि  हामीले  दुहुन थाल्यौँ । उसले आरामले दूध दिन थाल्यो,” गाईधनी पन्तले भने । 

अहिले दैनिक एक पटक दुहुने गरेको र दूध  अलि  पातलो  र  पहेँलो  रहेको  पनि  उनले  बताए  ।  बिगौती  दूध  भएकाले  घरमा  कसैले  पनि  नखाएको  दूध  बाख्र्राका  पाठालाई  दिने गरिएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

 


मेरियट बैठकको ब्रिफिङ : एक अर्काप्रति शंका कायमै

मेरियट बैठकको ब्रिफिङ : एक अर्काप्रति शंका कायमै


एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि बुधबार एकल वार्ता भएको छ । लामो समयदेखिको संवादहीनता तोड्दै बुधबार साँझ दुवै नेताबीच ६ बजेदेखि ७ः४५ सम्म एकल भेटघाट भएको हो ।एक घण्टा ४५ मिनेट वार्ता गरेपछि होटल मेरियटबाट बाहिरिएका ओली र नेपाल प्रफुल्ल मुद्रामा देखिएका थिए । वार्तामा के के विषयमा कुरा भयो भन्नेबारे दुवै पक्षले बाहिर ल्याएका छैनन् । वार्तामा ओलीले नेपाललाई नि:सर्त पार्टीभित्र आउन र काम गर्न आग्रह गरेको तर नेपालले फागुन २८ को निर्णय खारेज गर्दै पार्टीलाई २०७५ जेठ २ को अवस्थाबाट अघि बढाउँदा कसैलाई पनि आपीत्त नहुने बताएको स्रोतको दाबी छ ।

 

स्रोतका अनुसार दुवै नेता एक अर्काप्रति आस्वस्त भएर बाहिर आएका छैनन् । उनीहरुमा शंका कायमै छ । बुधबारको भेटघाटले शंका निवारण गर्नेभन्दा पनि संवाद शुरु भएको तहमा मात्र लिनुपर्ने ब्रिफिङ दुवै नेताले आफू निकटलाई गरेका थिए ।

लामो समयदेखि ओलीसँग टाढा रहेका नेपाललाई ओलीले नै फोन गरेर भेटौँ भनेका थिए । नेपालले बालुवाटार नआउने बताएपछि होटलमा भेटघाटको व्यवस्था गरिएको थियो ।

आजको नागरिक दैनिकमा समाचार छ ।

 


नयाँ सरकारको चाबी प्रचण्डको हातमा

नयाँ सरकारको चाबी प्रचण्डको हातमा


प्रतिनिधिसभा विघटनपछि सरकारविरुद्ध सडक आन्दोलन गरेको माओवादीले संसद् पुनःस्थापित भएको दुई महिना पुग्दा समेत समर्थन फिर्ता लिन सकेको छैन । माओवादीको पटक–पटक बसेको स्थायी कमिटीको बैठकले निर्णय लिन नसकेपछि समर्थन फिर्ता लिने अधिकार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय गरेको छ ।

बुधबार बसेको माओवादीको बैठकले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कहिलेदेखि फिर्ता लिने भन्ने निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने– ‘समर्थन फिर्ताको औपचारिक पत्र कहिले दिने भन्ने बारेमा अध्यक्षले निर्णय गर्नुहुनेछ, जुन छिट्टै हुन्छ ।’नेकपा माओवादी केन्द्रको समर्थन कायमै रहेकाले केपी शर्मा ओली नेतृत्वको सरकार बहुमतमा रहेको छ । एमाले र माओवादी केन्द्रलाई फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले अगल–अलग गर्ने फैसला गरे पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायमै राखेको छ ।

माओवादीले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय नमानेपछि सांसद पद नै नरहने गरी कारबाही गरेको छ । तर, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेपछि सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

 

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।