17 Baishak, 2081 / 29 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पत्रपत्रिकाबाट


ओली नेतृत्वको सरकारलाई साथ दिने ठाकुरको निष्कर्ष

ओली नेतृत्वको सरकारलाई साथ दिने ठाकुरको निष्कर्ष


जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई साथ दिने निष्कर्षमा पुगेका छन् । जसपाले राखेका मागलगायत विषयमा मंगलबार प्रधानमन्त्री ओलीसँग भएको छलफलपछि ठाकुर यस्तो निष्कर्षमा पुगेको उनी निकट नेताहरुको दाबी छ ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवलगायतको समूह भने कुनै पनि अवस्थामा ओली नेतृत्वको सरकारलाई साथ दिन नहुने पूर्ववत् अडानमा कायम छन् । अध्यक्ष ठाकुरले मंगलबार प्रधानमन्त्री अ‍ोलीसँग करिब ३ घण्टा छलफल गरेका थिए । भेटमा जसपाका नेता सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण पनि सहभागी थिए । उनीहरु जसपा–सरकार संयुक्त कार्यदलका सदस्य पनि हुन् ।

प्रधानमन्त्रीसँगको भेटमा जसपाले राखेका मागसम्बन्धमा बुँदागत छलफल भएको नेताहरुले बताएका छन् । जसपाका पाँच वटै माग पूरा गर्न प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको र केही माग पूरा गर्न प्रक्रियासमेत अघि बढाएको ठाकुर निकट नेता डा. सुरेन्द्र झाले बताए । सरकारले माग पूरा गर्न प्रक्रिया अघि बढाइरहेका बेला जसपा सरकार विरोधी गठबन्धनमा नलाग्ने सहमति भएको जानकारी उनले दिए ।

आजको नागरिक दैनिकमा समाचार छ ।


देउवा उत्साहित : नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र

देउवा उत्साहित : नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र


सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा काँग्रेसका पूर्व तथा वर्तमान पदाधिकारीको बुधबार बसेको बैठकमा सभापति देउवाले नया“ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै गएको ब्रिफिङ गरेका हुन् । कांग्रेसका एक नेताले देउवाको भनाइ उद्धत गर्दै भने – अन्योलता र आशंका हट्दै गएको छ, केही दिनभित्र परिणाम आउँछ । देउवाले बैठकमा माओवादीले सर कारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराएका थिए ।

२० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा पहल गर्दै आएको छ । सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्या पुग्ने सुनिश्चित भएलगत्तै संसद्मा अविश्वासको प्रस्ताव दर्ता गर्ने गरी कांग्रेस अगाडि बढेको छ ।

कांग्रेसले माओवादी केन्द्र, जनता समाजवादी पार्टीभित्र डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसद र नेपाल पक्षका सांसदको साथ पाउने अवस्था सिर्जना भएकाले सरकार बन्ने अवस्था बनेका निष्कर्ष निकालेको हो ।

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

 


नेपालको हवाई रुट प्रयोग गरी तेस्रो मुलुक यात्रा गर्ने भारतीयले एनओसी लिन नपर्ने

नेपालको हवाई रुट प्रयोग गरी तेस्रो मुलुक यात्रा गर्ने भारतीयले एनओसी लिन नपर्ने


नेपालको हवाई रुट प्रयोग गरी तेस्रो मुलुकतर्फ यात्रा गर्ने सबै भारतीयले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्ने अनिवार्य प्रावधान दुई महिनाका लागि खुकुलो बनाइएको छ । नेपालस्थित भारतीय दूतावासको आग्रहमा परराष्ट्र र गृह मन्त्रालयले नेपालको बाटो प्रयोग गरेर तेस्रो मुलुक जाने भारतीयलाई एनओसी लिन नपर्ने व्यवस्था मिलाएका हुन् । 

यसअघि एनओसी नलिएका भारतीयले तेस्रो मुलुक जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न पाउँदैन थिए । काठमाडौँस्थित भारतीय दूतावासमा एनओसी लिने भारतीयको घुइँचो बढेपछि दूतावासले छोटो समयका लागि नयाँ व्यवस्था गरिदिन सरकारसँग आग्रह गरेको थियो । 

नयाँ निर्णयअनुसार वैशाख ९ देखि असार ५ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जाने भारतीयलाई एनओसी आवश्यक पर्दैन । 

यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 


कोठा नम्बर ९०१ को बैठक : एक घण्टा ओलीमात्रै बोले, नेपाल सुनिरहे

कोठा नम्बर ९०१ को बैठक : एक घण्टा ओलीमात्रै बोले, नेपाल सुनिरहे


एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ । काठमाडौंस्थित होटल मेरियटको कोठा नम्बर ९०१ मा बुधबार २ घण्टा चलेको छलफलमा भने नेपालले पार्टी जोगाउन ओलीसँग अनुरोध गरे ।

छलफलमा सुरुको एक घण्टा ओलीमात्रै बोलेको त्यहाँबाट फर्किएपछि नेता नेपालले निकटस्थहरूलाई ब्रिफिङ गरेका छन् । ‘उहाँले एमाले र माओवादीबीचको एकीकरणको पृष्ठभूमिदेखि कुरा गर्नुभयो, त्यसपछि नेकपामा भएका गतिविधि, एकअर्कालाई गरेको कारबाहीका सबै कुरा उठाउनुभयो,’ नेपालले आफूनिकट नेताहरूलाई भने, ‘मैले उहाँका कमजोरीबारे बताएँ, एकताका लागि पहल गर्नुस् भनें । कुनै ठोस प्रस्ताव आएन, अर्को पटक फेरि बस्ने भनेर उठ्यौं ।’

नेता नेपालले २०७५ जेठ ३ अघिको अवस्थाबाट पार्टीलाई फुटबाट जोगाउन सम्भव हुने बताएका थिए । जवाफमा ओलीले नयाँ परिस्थितिमा एमाले निकै अगाडि बढिसकेको बताएका थिए । ‘नेकपामा आफ्नो बहुमत हुँदा तपाईंहरूले मलाई चार पटक कारबाही गर्नुभयो, पार्टीको साधारण सदस्यबाट समेत निकाल्नुभयो, म भुइँमा पछारिएको मान्छे, धूलो टकटक्याउँदै उठें,’ ओलीको जवाफ उद्धृत गर्दै उनीनिकट स्रोतले कान्तिपुरलाई भन्यो, ‘निर्णयहरू यथावत् छन्, गुटगत वार्ता भन्दा पनि आउने १० गतेको बैठकमा सहभागी हुन आउनुस् म आग्रह गर्छु, त्यहीं छलफल गरौं ।’ उनीहरू दुई घण्टा सँगै बसे पनि आपसी गुनासोमै समय बिताएको सम्बद्ध स्रोतहरूको भनाइ छ । 

आजको कान्तिपुर दैनिकमा समाचार छ ।


भिजिट भिसामा मलेसिया गएर लुकेका वैशाख ९ सम्म स्वदेश नफर्किए कडा कारवाही

भिजिट भिसामा मलेसिया गएर लुकेका वैशाख ९ सम्म स्वदेश नफर्किए कडा कारवाही


विगत एक वर्षदेखि भ्रमण भिसामा मलेसियामा गई स्वदेश नफर्किएका नेपाली यही वैशाख ९ गते बुधबार (२१ अप्रिल) सम्म मलेसिया छाड्नुपर्ने भएको छ । मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसा आफ्नो देश आएका तर भिसा नवीकरण वा परिवर्तन नगरेकालाई २१ अप्रिल अर्थात् आगामी बुधबार ९ गतेसम्म देश छोड्न आदेश दिएको हो ।

भ्रमण भिसामा मलेसिया गई रोजगारीमा लाग्न नसकेकाले अप्रिल २१ भित्र आफ्नो मुलुक वा कुनै तेस्रो मुलुक गइसक्नुपर्नेछ । २१ अप्रिलसम्म पनि मलेसिया नछोड्नेले मलेसियाको कडा अध्यगमन नियमानुसार कारबाही भोग्नुपर्नेछ । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियाले भ्रमणमा जाने विदेशीलाई सुरुमा ९० दिनको भिसा जारी गर्ने गरेको छ । भ्रमण भिसामा गएका विदेशी स्वदेश नफर्किनेको सङ्ख्या बढेपछि मलेसियाले २१ अप्रिलसम्मको अवधि दिएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार उक्त अवधिभित्र स्वदेश फर्किने वा मलेसिया छोडेर अर्को देश जानेलाई मलेसिया अध्यागमनले सामान्य जरिवाना तिराएर सहयोग गर्नेछ तर त्यसपछि पनि मलेसिया बस्नेलाई भने धेरै जरिवाना तिराउन सक्नेछ । मलेसियामा रहेको नेपाली दूतावासले राहदानी नभएकाले दूतावासमा आई ३६० रिङ्गिट तिरेर ट्राभल डकुमेन्ट बनाउन सकिने जानकारी गराएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।


एमसीसी पास गराएर सत्ता टिकाउने दाउमा ओली

एमसीसी पास गराएर सत्ता टिकाउने दाउमा ओली


प्रतिनिधिसभाको अधिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाको सर्वदलीय बैठकमा सभामुखको आलोचना गरेका छन् । ओलीले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभालाई विजनेस नदिएको भन्दै आलोचना गरेका हुन् । सरकारले विजनेस नदिइकन बैठकको कार्यसूचीमा कुनै पनि विषय राख्न नमिल्ने संसदीय अभ्यास छ ।

संसदीय अभ्यासविपरीत प्रधानमन्त्री ओलीले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायत विषयलाई सभामुखले आड्काएको बताएका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवासा बेलाएको सर्वदलीय बैठकमा सभामुखले एमसीसी अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा पेस नगर्नु संविधानविपरीत भन्दै आलोचना गरे ।

बैठकमा एसीसी सदनबाट पास गर्नुपर्ने विषय आएपछि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायतले विरोध गरेका थिए भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भने उनीहरुले गरेको विरोधप्रति आपत्ति जनाएका थिए ।

प्रधानमन्त्री ओली आफ्नो सत्ता जोगाउन एमसीसीलाई पारित गर्ने तयारीमा देखिएका छन् । संसदबाट एमसीसी पास गराएर अन्तर्राष्ट्रिय शक्ति केन्द्रलाई खुसी पार्ने र सत्ता टिकाउने दाउमा प्रधानमन्त्री ओली रहेका छन् । प्रम ओलीले बनाएको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता झलनाथ खनाल र माधव नेपाल, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने सहभागी भएनन् ।

आजको नागरिक दैनिकमा समाचार छ ।

 


‘देउवाकै नेतृत्वमा गठबन्धन सरकार बनाउने विषयमा समझदारी बन्छ’

‘देउवाकै नेतृत्वमा गठबन्धन सरकार बनाउने विषयमा समझदारी बन्छ’


काठमाडौँ । नयाँ सत्ता समीकरणमा लगभग सहमतिनजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौतालाई संसद्बाट अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा अड्किएका छन् ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरूबीच शनिबार भएका छुट्टाछुट्टै संवादमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउनेमा सहमति जुटे पनि देउवाले एमसीसी सम्झौता अनुमोदन गर्ने विषयलाई सहमतिको अंग बनाउनुपर्ने बताएपछि निष्कर्षमा पुग्न नसकेको स्रोतहरूले बताए । ‘अरू विषय लगभग सहमतिनजिक पुगिसकेको छ, एमसीसीबारे कुरा मिलेको छैन,’ स्रोतले भन्यो, ‘त्यसमा पनि एकमत बने आइतबार साँझसम्म देउवाकै नेतृत्वमा गठबन्धन सरकार बनाउने विषयमा समझदारी बन्नेछ ।’

देउवाले एमसीसी सम्झौता अनुमोदन नभए आफूलाई अप्ठ्यारो हुने बताएका थिए । माओवादीले भने सरकार बन्नुअघि र यथावत् अवस्थामा सम्झौता अनुमोदन गर्न नसकिने अडान राखेको छ । ‘हामी सहमतिको निकै नजिक पुगेका छौं, एमसीसीलाई साइडमा राख्ने हो भने आइतबार साँझसम्म गठबन्धन सरकार बनाउने सहमति जुट्नेछ,’ माओवादी उच्च स्रोतले भन्यो, ‘त्यसो हुन सकेन भने पनि हामी अब अरू पर्खिन सक्दैनौं, समर्थन फिर्ता लिइहाल्छौं ।’

यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

 


हेलचेक्र्याइँका कारण ह्वात्तै बढ्यो कोरोना, सुदूरमा नयाँ भेरियन्ट

हेलचेक्र्याइँका कारण ह्वात्तै बढ्यो कोरोना, सुदूरमा नयाँ भेरियन्ट


काठमाडौँ ।  हेलचेक्र्याइँका कारण फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ । सोमबार ५ सय ५९ जना संक्रमित थपिएका छन् । 

यति मात्रै होइन, शून्यमा झरेको दैनिक मृत्युदर दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो । 

लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा तीन जेष्ठ नागरिकको ज्यान गएको छ । कैलालीको गौरीफन्टा नाकामा चैत १५ गतेसम्म परीक्षण गर्दा पोजिटिभ देखिएकामध्ये २० जनाको स्वाब नमुनामा तीन जनामा अर्को भेरिएन्टको कोरोना भेटिएको छ । 

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 


सरकारको अनुमान सही साबित हुँदै

सरकारको अनुमान सही साबित हुँदै


यो वर्षको सुरुवातमा जति त्रास थियो अहिले अन्त्यमा पनि डर कायमै छ । कोरोनाको पहिलो लहर जेठको दोसो सातादेखि बढेर असारको पहिलो साता उच्च बिन्दुमा पुगेको थियो । साउनको पहिलो सातामा न्यून भएको संक्रमण पुनः बढ्दै कात्तिकको दोस्रो सातामा उच्च बिन्दुमा पुग्यो । कात्तिक ५ गते सबैभन्दा बढी ५ हजार ७ सय ४३ संक्रमितको पहिचान भएको थियो । कात्तिक १० मा संक्रमण दर सबैभन्दा बढी ३५ प्रतिशतसम्म पुग्यो ।

त्यसपछि माघको पहिलो सातामा कम भए पनि चैत दोस्रो सातादेखि फेरि संक्रमण बढ्न थालेको हो । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य मापदण्ड पालना नभएमा आउँदो जेठ–असारमा संक्रमण दर उच्च बिन्दुमा पुग्ने सरकारको आकलन रहेको प्रतिनिधिसभाको चैत २३ को बैठकमा जानकारी गराइसकेका छन् । पछिल्लो केही दिनयता सरकारको अनुमान सही साबित हुँदै गएको छ ।

यो वर्षको सुरुवातमा संक्रमितको संख्या कमै थियो । लकडाउन र आवतजावत बन्द भएकाले सबैजसो घरभित्रै हुँदा संक्रमण फैलिन पाएको थिएन । वर्षको अन्त्यमा फरक यति हो, लकडाउन छैन । कोरोना नभएकै जस्तै आवतजावत खुकुलो छ । विद्यार्थी संक्रमितको संख्या बढेपछि स्कुल, कलेजलगायतका शैक्षिक संस्थाहरू बन्द गर्ने वा खोल्ने विषयमा बहस जारी छ । सिनेमा हल, नाटकघर यथावत् रूपमा चलेका छन् ।

सरकारको विरोधमा होस् या समर्थनमा हुने प्रदर्शन जारी छन् । ‘टोलमा एक–दुई जना भेट्दा पनि कोरोना छ कि भनेर शंका गर्थे,’ सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले भने, ‘संक्रमण बढ्दै गयो । संक्रमितले नै कोरोना केही होइन रहेछ भनेपछि संक्रमण फैलिँदै जाँदा पनि डर कम हुँदै गयो ।’

आजको कान्तिपुर दैनिकमा समाचार छ ।


बढ्दै प्रदूषण : घरभित्रै बसे पनि सुख नपाउने, गम्भीर असर गर्ने खतरा

बढ्दै प्रदूषण : घरभित्रै बसे पनि सुख नपाउने, गम्भीर असर गर्ने खतरा


नेपालमा देखिएको प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खतरा देखिएको छ । सुक्खा मौसममा मौसमी हावाले ल्याउने प्रदूषणसँगै देशभित्र प्रकोपझैँ फैलिएको डढेलोपछिको प्रदूषणले जघन्य असर पु¥याउने प्रस्ट छ । मङ्गलबार साँझ झ्यालबाट बाहिर नाक निकाल्न नहुने कडा वायु प्रदूषण काठमाडौँलगायतका विभिन्न सहरमा बढेको थियो । यस समयमा काठमाडौँ उपत्यकाको भक्तपुर र भैँसेपाटीमा वायु प्रदूषण उच्च भयो ।

भक्तपुरमा वायु प्रदूषणको स्तर सबैभन्दा बढी ४८० सूचकाङ्क पुगेको थियो । धनगढीमा ४७७ र भैँसेपाटीमा सूचकाङ्क ३३३ पुगेको वातावरण विभागको वायु गुणस्तर अवलोकन प्रणालीले जनाएको छ । बुधबार बिहानदेखि मध्यान्हसम्म वातावरण थोरै उज्यालियो । अपरान्हपछि उस्तै गाढा बन्न पुग्यो । यस्तै अवस्था कायम रहे मानिस घरभित्रै बसे पनि सुख पाउनेछैनन् । भित्रै बस्दा पनि आँखा पोल्ने, घाँटी खि¥याउने जस्ता समस्यासँगै बालबालिका र ज्येष्ठ नागरिकमा समस्या पर्न थालेको काठमाडौँवासी बताउँछन् ।

सिमरा, भरतपुर पोखरालगायतका स्थानमा वायु प्रदूषण उच्च बन्दै गएको छ । वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले हरेक दिन दिउँसो केही कम प्रदूषण देखिए पनि आगामी दिनमा प्रदूषण थप बढ्ने बताए । उनका अनुसार यसै विषयमा वन तथा वातावरण मन्त्रालयमा थप छलफल भएको छ । सोमबार एकै दिन देशका आठ सय स्थानमा डढेलो लागेको थियो । आइतबार ७२८ स्थानमा डढेलो लागेको थियो । मङ्गलबार अपराह्न केही घटेको डढेलो बुधबार बिहान फेरि बढेको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।