16 Baishak, 2081 / 28 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बाढीपीडितको उद्धार र राहतमा सामाजिक सञ्जाल




बाढीपीडितको उद्धार र राहतमा सामाजिक सञ्जाल

काठमाडौं: सामाजिक सञ्जालमा अहिले फोटोपत्रकार नरेन्द्र श्रेष्ठले खिचेको एउटा तस्बिरले राम्रै चर्चा पाएको छ। तस्बिरमा बाढीका कारण मृत्युवरण गर्न बाध्य आठ वर्षीय भतिजालाई काकाले कोसीमा बगाउँदै गरेको देखिन्छ। बाढीले सबै ठाउँ जलमग्न भएर जलाउने/पुर्ने ठाउँ नभएपछि काकाले भतिजालाई कोसीमा बगाएका हुन्।

जोसुकैलाई मर्माहत गराउने उक्त तस्बिर अहिले तराईमा बाढीपीडितले बेहोर्नुपरेको वास्तविकता बुझाउन पर्याप्त छ। सामाजिक सञ्जालमै नरेन्द्रको अर्को तस्बिर पनि भाइरल बनेको छ। तस्बिरमा बाढीप्रभावित एक युवकको आधाभन्दा बढी शरीर पानीमा डुबेको छ। तर पनि उनले काँधमा खसी बोकेका छन् भने एक हातले गाईसमेत डोर्याइरहेका छन्।

बाढीपीडितका यस्ता दर्जनौं तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन्। यी तस्बिरले बाढीप्रभावित हजारौं पीडितको पीडा व्यक्त गरिरहेका छन् । यी तस्बिरले देशविदेशबाट ‘सेन्टिमेन्ट' बटुलिरहेका छन्।

बढीपीडितका तस्बिर मात्र होइन, उनीहरूका दुःखपीडा समेटिएका भिडियो पनि उत्तिकै भाइरल बनेका छन्। अहिले बाढी आइरहँदा सेल्फी खिचेर पोस्ट गर्ने जमात पनि उत्तिकै छ। सामाजिक सञ्जालमा पोस्ट भएका फोटो र भिडियोले सरकारलाई उद्धार तथा राहतका लागि दबाब दिएका छन् नै, नेता, कलाकार, सर्वसाधारण सबैलाई उद्धार एवं राहतका लागि जुट्नसमेत दबाब सिर्जना गरेका छन्।

फोटो र भिडियोमार्फत पोखिएका पीडाले सामाजिक सञ्जाल अहिले शोकमग्न लाग्छ। समवेदना एवं राहतका लागि आह्वान, सहयोग प्रकट र गुनासाले सामाजिक सञ्जाल भरिएका छन्। ‘बाढीको त्रासदीबाट प्रभावितलाई बचाउन उद्धार तथा राहतमा सबै जुटौं, सँगै जुटौं, सधैं जुटौं र अहिल्यै जुटौं'भन्ने भाव सामाजिक सञ्जालमा यत्रतत्र छन्। सामाजिक सञ्जालमार्फत नै बाढीपीडितको नाममा सहयोग गर्नेदेखि समूह बनाएर उद्धारका लागि खटिने पनि धेरै छन्।

दुई वर्षअघि आएको भूकम्प र लगत्तैको भारतीय नाकाबन्दीको समयमा पनि सामाजिक सञ्जाल पीडाले भरिएको थियो । सो समयमा सामाजिक सञ्जालबाटै सहयोग घोषणा गर्ने, सहयोगका लागि अपील गर्ने गरिएको थियो। यसले प्रभावितलाई ठूलै राहत पनि दिएको थियो। हुन त अन्य विपत्तिमा पनि सामाजिक सञ्जालबाट सहयोगका लागि अपिल गरिँदै आएको छ। तर भूकम्प र नाकाबन्दीको समयमा सहयोग जुटाउन सामाजिक सञ्जाल प्रयोगकर्ता निकै सक्रिय देखिएका थिए। सोही समयदेखि पीडितको पीडामा मल्हम लगाउन सामाजिक सञ्जालको प्रयोग बढेको हो।

सामाजिक सञ्जाल नभएको भए उद्धार कार्य यति सहज नहुने कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान महासंघ)का अध्यक्ष विनोद ढकालको भनाइ छ। यसले सामाजिक सञ्जालमा मानिसको पहुँचलाई पनि दर्साएको उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत बाढीपीडितका लागि पर्याप्त सहयोग जुटेको उनले बताए। सामाजिक सञ्जालमार्फत कलाकारदेखि आममानिसले पनि सहयोगको घोषणा गरेको उनको भनाइ छ।


सहयोगको एउटा उदाहरण सामाजिक सञ्जालमा चर्चामा रहेको ‘भरिएको बाल्टिन'हो। पूर्वस्वास्थ्यमन्त्री तथा कांग्रेसका युवा नेता गगन थापाले आफ्नो ट्विटरमा भिडियोसहितको सहयोग अपील गर्दै ‘भरिएको बाल्टिन'कार्यक्रम अघि बढाएका छन्। उक्त बाल्टिनमा एउटा म्याट, कम्बल, त्रिपाल, लता कपडा, खाद्यान्न, औषधि, पीयूष, टर्चलाइट र एउटा मग हुनेछ। यो एक बाल्टिन पीडित परिवारलाई प्रदान गरिनेछ। यसका अतिरिक्त साधारण रूपमा लत्ताकपडा, औषधि, आर्थिकलगायत सहयोग लिएर जाने मानिस, संघसंस्था पनि बढ्दैछन्।

बाढीपीडितका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत सहयोगका लागि अपीलसमेत गरेका छन्। उनले पनि ट्विटरमा भिडियो सार्वजनिक गर्दै केही दिनदेखि अविरल परेको वर्षाका कारण तराई र भित्री मधेससहित देशका विभिन्न स्थानमा आएको बाढीपहिरोले भएको धनजनको क्षतिबाट आफू मर्माहित भएको उल्लेख गरेका छन्।

यस दुःखद घडीमा बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारप्रति श्रद्धाञ्जलिसमेत व्यक्त गरेका छन्। ‘मैले बाढीपहिरोको चपेटामा परेकालाई उद्धार, स्थानान्तरण एवं राहत उपलब्ध गराउन स्थानीय प्रशासनलगायत सरकारका सम्पूर्ण निकाय परिचालन गर्न निर्देशन दिएको छु', प्रधानमन्त्री देउवाले भिडियोमा भनेका छन्, ‘उद्धारका लागि सबै सुरक्षा निकाय प्रभावित क्षेत्रमा खटिइसकेका छन्। यो विपद्को घडीमा सबैलाई उद्धार तथा राहतका लागि एकजुट हुन अपील गर्छु।'

सामाजिक सञ्जालमार्फत अन्य पार्टीका नेताले पनि सहयोग तथा उद्धारमा जुट्न अपील गरेको पाइएको छ। एमाले युवा नेता योगेश भट्टराईले पार्टीले गरेको निर्णय सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।

विपत्तिमा परेका दिदीबहिनी तथा दाजुभाइको उद्धार, सहयोग तथा राहतमा जुट्न उनले आह्वान गरेका छन्। नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, कांग्रेस सांसद उदयशमशेर राणा, परराष्ट्रमन्त्री कृष्णबहादुर महरालगायतले पनि सामाजिक सञ्जालमार्फत सहयोग र एकजुट हुन अपील गरेका छन्। यसले सामाजिक सञ्जालको महत्व र प्रयोगलाई पनि दर्साएको छ।



Related News


यसमा तपाइको मत


Comments