22 Baishak, 2081 / 4 May , 2024
काठमाडौं, १८ भदौ । श्रीलंकाको क्यान्डीमा भएको एसीसी एसिया कप अन्तर्गत भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ। सोमबार साँझ भएको समूह चरणको अन्तिम खेलमा भारतसँग १० विकेटले पराजित भएसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ।
पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल सोमबार भारतसँग पनि पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतविरुद्ध ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० रन बनाएको थियो।
जवाफी २३१ रनको लक्ष्य पछ्याएको भारतले ब्याटिङ गर्दा वर्षा भएपछि खेल रोकिएको थियो। निरन्तर वर्षा भएपछि राति साढे १० बजेपछि मात्र खेल सुरु भयो।
तर खेल २३ ओभरमा झारिएको थियो। उक्त ओभर अनुसार १४५ रनको लक्ष्य पाएको भारतले २०.१ ओभरमै लक्ष्य पूरा गर्यो।
यसअघि एक खेलमा जित र एक खेलमा अंक बाँडेको पाकिस्तान सुपर फोरमा पुगिसकेको छ। नेपाललाई हराएसँगै भारत पनि सुपर फोरमा पुगेको छ।
नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ५८ रनको योदान दिए भने सोमपाल कामीले ४८ रन जोडे। कुशल भुर्तेलले ३८ रन जोडेका थिए। मध्यक्रममा आएका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
भारतका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले अर्धशतकीय पारी खेले। नेपालविरुद्ध शर्माले ५९ बलको सामना गर्दै ७४ रन जोडे भने गिलले ६२ बलमा ७६ रन जोडे।
नेपाली बलर मध्ये पूर्व कप्तानसमेत रहेका सन्दीप लामिछाने महँगा सावित भए। उनले चार ओभर बलिङ गर्दै ३९ रन खर्चिए।