14 Mangshir, 2080 / 30 November , 2023
काठमाडौं, १४ कात्तिक । टी–२० विश्वकप एसिया छनोटको खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै भेट्टाएको हो ।
नेपालको जीतका लागि कुशल मल्लले बिस्फोटक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले । उनले ३४ मा सात छक्का र दुई चौकासहित ६५ रन बनाए । साथै ओपनर कुशल भुर्तेलले चार छक्का र चार चौकाको सहयोगमा महत्वपूर्ण ४३ रन र आशिफ सेखले दुई छक्का र एक चौकाको सहयोगमा ३२ रन बनाए । त्यसैगरी सन्दीप जोराले १८ र कप्तान रोहित पौडेल र विवेक यादवले दुई/दुई रन बनाए ।
मलेसियाका लागि मोहम्मद अमिरले तीन र पवनदीप सिंहले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६५ रन बनायो । मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् । उसका लागि ओपनर एवम् विकेटकिपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए । उनले ४९ बलमा दुई छक्का र आठ चौका प्रहार गरे । साथै जुवैदी जुल्किल्फले २४, शाविन मेनाइडी र विजय उन्नीले समान १३/१३ रन बनाए ।
नेपालका लागि अविनाश बोहोराले चार विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा रोहित पौडेलले एक/एक विकेट लिए ।
यो जितसँगै नेपाल समूह ए बाट सेमिफाइनल पुगेको छ ।