11 Ashwin, 2080 / 28 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देश


पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिवविरूद्ध भ्रष्टाचारको मुद्दा

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिवविरूद्ध भ्रष्टाचारको मुद्दा


काठमाडौं, ११ असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा.प्रदीप ढकालविरूद्ध साढे एक करोड भ्रष्टाचारको मुद्दा दायर भएको छ।
आयोगले सोमबार विशेष अदालत काठमाडौंमा उनीविरूद्ध एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ती आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।
ढकालले उक्त कोषमा सदस्यसचिव रहँदा एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ती आर्जन गरेको अख्तियारको आरोप छ। अख्तियारले २०७४ साउन ३२ गतेदेखि २०७९ जेठ ३० गतेसम्म आर्जन गरेको सम्पत्ति माथि जाँच गर्दा उक्त रकम गैरकानुनी रहेको खुलेको हो।

उनले सो अवधिमा ६ करोड ३९ लाख ९३ हजार ३१२ रुपैंया आम्दानी तथा ७ करोड ८४ लाख ५ हजार ९४ रूपैंया खर्च तथा लगानी गरेको देखिएको र बैधानिक श्रोत खुल्न नसकेको १ करोड ४४ लाख ११ हजार ७८१ रूपैंया रहेको हुँदा त्यतिनै बिगो रकम कायम गरी जरिवाना तथा कैद सजायको मागदाबीसहित मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।


 


सबै प्रदेशमा वर्षाको सम्भावना

सबै प्रदेशमा वर्षाको सम्भावना


काठमाडौं, ११ असार । सोमबार सबै प्रदेशमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईमा हावाहुरी पनि आउने सम्भावना देखिएको जनाइएको छ। 
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस क्रममा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। साथै दिउँसो मधेश प्रदेशका धेरै स्थान र बाँकी तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ।  यस्तै राति पनि कोशी,  बागमती र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी भूभागका  थोरै ठाउँमा मेघगर्जन÷चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस क्रममा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। साथै राति कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थान र बाँकी तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ। 
 


यी प्रदेशमा  आज भारी वर्षाको सम्भावना

यी प्रदेशमा  आज भारी वर्षाको सम्भावना


काठमाडौं,१० असार । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज भारी वर्षाको सम्भावना रहेको  छ । गएराति अछाम, गुल्मीलगायतका क्षेत्रमा ठूलो पानी परेको हुँदा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । त्यस्तै गण्डकीका पनि थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज काठमाडौं उपत्यकासहित, कोशी र मधेस प्रदेशमा मौसम आंशिक बदली हुने अनुमान छ । आज देशभरकै मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै आज दिउँसोपख कतैकतै मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ ।

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल कोशी र मधेश प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा सामान्य देखि पूर्णतया बदली  रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

२०८० आषाढ १० गते (आइतबार) 

दिउँसो:  देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ।  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती: कोशी र मधेश प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य देखि पूर्णतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ।

 २०८० आषाढ ११ गते (सोमबार) 

दिउँसो:  देशभर सामान्य बदली रहनेछ।  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ।

  राती: कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । कोशी,  बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका  थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८० आषाढ १२ गते (मंगलबार) 

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रहनेछ।  बागमती र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ।

राती: कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । कोशी,  गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ( Warning / Advisory for next 24 hours)

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।

भारी वर्षा र मेघ-गर्जन/चट्याङ्गका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहाव(debris flow) का कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।


लमजुङको भलायखर्क केन्द्रविन्दु भएर भूकम्प

लमजुङको भलायखर्क केन्द्रविन्दु भएर भूकम्प


काठमाडौं,८ असार ।  लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको थियो । यसअघि गत असार ५ गते बिहान दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।
 


कोशी प्रदेशका ३ जिल्लामा बाढी–पहिरोको वितण्डाः  १ जनाको मृत्यु, २६ जना सम्पर्कविहीन

कोशी प्रदेशका ३ जिल्लामा बाढी–पहिरोको वितण्डाः  १ जनाको मृत्यु, २६ जना सम्पर्कविहीन


काठमाडौं, ३ असार । मनसुन प्रणाली शुरु भएसँगै नेपालमा मनसुनी प्रकोपको कहर समेत शुरु भएको छ। अभिरल वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा बाढी र पहिरोले जनजीवन प्रभावित बनेको छ। 
कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढी र पहिरोमा परी १० जना बेपत्ता छन्। १ जनाको मृत्यु भएको छ भने १६ जना सम्पर्कविहीन भएका छन्। 
हेवा खोलामा आएको बाढीले बगाएर संखुवासभामा १ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका–५ मा एक जनाको शव भेटिएको छ। मृतकको पहिचान हुन बाँकी छ। 

हेवा खोलामा बाढी आउँदा १८ जना सम्पर्कविहीन भएकामा २ जना सम्पर्कमा आएका छन्। १६ जना अझै सम्पर्कविहीन रहेका डीएसपी गोदारले जानकारी दिए। 

चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि बाढी आएको हो। बाढीले हेवा खोला जलविद्युत्मा क्षति पु¥याएको छ। सोही जलविद्युत् आयोजनामा कार्यरत १६ जना मजदुर सम्पर्कविहीन भएका हुन्। 

ताप्लेजुङमा एकै परिवार ३ सहित ४ जना बेपत्ता
शनिबार रातिको वर्षासँगै आएको पहिरोले घर बगाउँदा ताप्लेजुङमा एकै घरका ३ जना बेपत्ता भएका छन्। 

सिदिङ्वा गाउँपालिका–६ मेहेलेका स्थानीय यादव बुढाथोकीको घर पहिरोले बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता भएका हुन्। 

यस्तै,  मेहेलेकै भरत तामाङ समेत बेपत्ता भएका छन्। खोला छेउमा रहेको घरमा बाढी पसेपछि आमाबुवालाई सुरक्षित स्थानमा सारेर फर्किने क्रममा भरत बेपत्ता भएका स्थानीय कमल कडरियाले जानकारी दिएका छन्। 

सिदिङ्वा गाउँपालिका उपप्रमुख बन्दना कडरियाका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा अिहले साब्लाखु प्रहरी चौकीको टोली पुगेको छ। वर्षा जारी रहेका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको गाउँपालिका उपप्रमुख कडरियाले जानकारी दिइन्। 
बाढी र पहिरोले ताप्लेजुङका धेरैजसो सडक पूर्णरूपमा अवरुद्ध भएका छन्। यस्तै,  याम्फुदिन, खेवाङ, मेहेले, सुरुम्खिम, आङ्खोपसहितका ठाउँमा विद्युत् आपूर्ति समेत ठप्प भएको छ। 

वर्षासँगै आएको बाढीले सिदिङ्वा गाउँपालिकाको आङ्खोपमा ३ घर बगाएको छ। इङ्वाखोलामा आएको बाढीले प्रेम सेलिङ, महेश्वर सेलिङ र गणेश सेलिङको घर बगाएको छ। 
बाढी बस्तीमा बसेपछि आङ्खोपका स्थानीयहरु घर छाडेर सुरक्षित स्थानमा गएका छन्।  
यस्तै, मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ। मध्यरातमा बाढी आएपछि बजारका अधिकांश स्थानीय अन्तै सरेका छन्। बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्णरूपमा अवरुद्ध बनेको बताइएको छ।
मैवाखोला–२ र ५ नं वडा जोड्ने खार्तेखोलाको झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। 
पाँचथरमा ६ जना बेपत्ता
शनिबार रातिको अविरल वर्षापछि आएको बाढीले बगाउँदा पाँचथरमा ६ जना बेपत्ता भएका छन्। बाढीका कारण ठूलो परिमाणमा भौतिक संरचनामा पनि क्षति पुगेको छ। 
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीले फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने हेवा खोला माथिको पुल बगाइदिएको छ। 
हेवा खोलामा आएको बाढीले ६ जना बेपत्ता भएको खबर प्राप्त भएको प्रहरीले जानकारी दिएको छ। 
हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ गाउँपालिका–७ का दिलकुमार तामाङ र फिदिम नगरपालिका १० का सन्जोग लोवा बेपत्ता भएका छन्। उनीहरू स्थानीय हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए।
त्यस्तै बाढीले फिदिम–४ हेवाखोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक जना, फालेलुङ–३ मा १ जना र फिदिम–४ माझीटारमा २ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। 

बाढीले फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा २ वटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।


भित्रियो मनसुन, देशभर फैलिन केही दिन लाग्ने 

भित्रियो मनसुन, देशभर फैलिन केही दिन लाग्ने 


काठमाडौं, ३१ जेठ । यस वर्षको मनसुन प्रणाली बुधबारबाट नेपाल प्रवेश गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी प्रदेश, पूर्वी मधेस, बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकीका पूर्वी भूभागमा मनसुन पुगेको छ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। तर, यसपटक एक दिन ढिलो मनसुन भित्रिएको हो। मौसमविद्  गोविन्द झाका अनुसार हाल पोखरासम्म मनसुनको प्रभाव छ, तर त्यसभन्दा पश्चिमका क्षेत्रमा पुग्न केही दिन लाग्नेछ। 


मनसुन भित्रिन अनुकूल वातावरण बन्दै    

मनसुन भित्रिन अनुकूल वातावरण बन्दै    


काठमाडौं, २८ जेठ । पछिल्लो डेढसाता मुलुकका धेरै स्थानमा अधिकतम् तापक्रमले नयाँ कीर्तिमान राख्दा बढेको अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको थियो । गर्मीका कारण तराई–मधेशमा कृषिदेखि आम मानिसको जनजीवन अस्तव्यस्त हुँदा संसद्देखि सामाजिक सञ्जालसम्म विभिन्न प्रतिक्रिया र आवाज उठेका थिए । सबैको एउटै जिज्ञासा थियो गर्मी कहिलेदेखि कम हुन्छ । अब केही दिनभित्रै नेपालमा मनसुन प्रवेदश गर्दैछ ।     
नेपालमा मनसुन भित्रिने समय (जेठ ३०) नजिक पुग्दा त्यसका लागि अनुकूल वातावरण बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ३० वर्षको मौसमी विश्लेषणअनुसार नेपालमा मनसुन भित्रिने समय जेठ ३० गते र बाहिरिने समय असोज १५ गते रहेको देखिन्छ ।

यस वर्षको मनसुन भित्रिने पूर्वसन्ध्यामा पश्चिमी वायुका साथै बङ्गालको खाडीको जलवाष्पयुक्त हावा र विहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको देखिएको छ । यसले निर्धारित समयकै आसपास नेपालमा मनसुन भित्रिन्छ भन्ने सम्भावना बढेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए ।     

उनले भने, ‘शनिबारदेखि नै कोशी प्रदेशमा तापक्रम घटिरहेको छ, बादल बनिरहेको छ र मनसुनका लागि आवश्यक अनुकूल वातावरण बन्दै गएको अवस्था देखिन्छ ।’ आन कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।     

साथै कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले बताए । देशभर वृद्धि भएको अधिकतम् तापक्रम आजदेखि कम हुँदै जाने र पश्चिम तराई क्षेत्रमा बढेको तापक्रम केही दिन स्थिर रहने महाशाखाको भनाइ छ ।     
   
   
 


तापक्रमले धेरै ठाउँमा ‘रेकर्ड ब्रेक’गर्दै

तापक्रमले धेरै ठाउँमा ‘रेकर्ड ब्रेक’गर्दै


काठमाडौं, २६ जेठ । नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् ।

उनका अनुसार यस वर्ष यही जेठ २४ गतेसम्मको तथ्याङ्कमा सबैभन्दा बढी ४३ दशमलव आठ डिग्री तापक्रम रेकर्ड भएको छ । सन् २०२३ को यो सबैभन्दा बढी मापन हो । यसअघि नेपालमा सन् १९९५ को जुन ५ मा धनगढीमा ४६ दशमलव चार डिग्री तापक्रम मापन भएको थियो । यो नेपालकै सबैभन्दा बढी मापन हो । यसपालि तराईका जिल्लाका साथै पहाडी क्षेत्रमा पनि विगत केही वर्षको तुलनामा रेकर्ड ब्रेक भएको पाइएको छ ।

नेपालमा जेठ १६ गतेदेखि तापक्रम बढ्न थालेकामा पछिल्ला तीन दिनदेखि भने  तापक्रम ह्वात्तै बढेको छ । यो क्रम तराईका क्षेत्रमा बढी देखिएको छ । अहिले ती क्षेत्रका अधिकांश स्थानमा ४० डिग्रीभन्दा माथि नै तापक्रम रहेको छ । तातो हावाको लहर बढेपछि जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यही १९ गते पहिलो पटक तातो हावाको लहरसम्बन्धी  विशेष बुलेटिन जारी गरेर जानकारी गराएको थियो । त्यसपछि २४ गते अर्को बुलेटिन जारी गरेर सचेत गराएको थियो ।

मौसमविद् शान्ति कँडेलले सन् २०२३ को तापक्रम विश्लेषण गर्दा धेरै स्थानमा अधिकतम तापक्रमको ‘रेकर्ड ब्रेक’ भइसकेको बताउनुभयो । नवलपुरको दुम्क्यौलीमा ४३ दशमलव आठ डिग्री तापक्रम पुगेको र बुधबारसम्मको तथ्याङ्कमा यो रेकर्ड यस वर्षकै सबैभन्दा बढी मापन हो । नवलपुरको दुम्क्यौलीमा भने पहिलो पटक ‘रेकर्ड ब्रेक’ भएको हो । यसअघि त्यहाँ सन् १९७९ मा ४३ दशमलव ७ डिग्री तापक्रम पुगेको थियो । उहाँका अनुसार तराईमा मात्रै होइन पहाडी क्षेत्रमा पनि तापक्रमले ‘रेकर्ड ब्रेक’ गरेको छ ।

ओखलढुङ्गामा सन् १९९९ मा सबैभन्दा बढी ३० दशमलव ९ डिग्री तापक्रम रेकर्ड भएकामा यसपालि त्यहाँ पनि ‘रेकर्ड ब्रेक’ भएर ३१ दशमलव नौ डिग्री पुगेको छ । धरानमा सन् २०१३ मा सबैभन्दा बढी ३८ दशमलव आठ डिग्री तापक्रम मापन गरिएकामा यसपालि सन् २०२३ को जुन ७ (हिजो बुधबार) ३९ दशमलव तीन डिग्री पुगेको थियो ।

यस्तै इलामको कन्याममा सन् १९९३ मा २९ डिग्री रेकर्ड भएकामा यसपालि यही ५ तारिखमा ३० डिग्री मापन भई ‘रेकर्ड ब्रेक’ भएको कँडेलले बताइन् ।

यसपालि मुलुकका सबैजसो भूभागमा औसतभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने अनुमान यसअघि नै सार्वजनिक गरिएको थियो । मनसुन १३ जुनमा प्रवेश गर्ने औसत समय भए पनि एक दुई दिन ढिला हुने देखिएको छ । मनसुन अहिले भारतको केरला आइपुगेको छ । यसपटक मनसुन भित्रिए पनि केही दिन पानी परेर फेरि सुक्खा हुने देखिएको मौसमविद्को भनाइ थियो ।  अर्का मौसमविद् बिनु महर्जनले नेपालको पूर्वी भेगमा आज केही मौसममा बदली भए पनि अन्य क्षेत्रमा तापक्रम बढी नै रहेको बताइन् । 
 


मनसुनी वायु केरला आइपुग्यो, नेपाल आइपुग्न बाह्र दिन लाग्ने

मनसुनी वायु केरला आइपुग्यो, नेपाल आइपुग्न बाह्र दिन लाग्ने


काठमाडौं, २५ जेठ ।  । यसपटककाे मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस बर्षको मनसुनी वायु भारतको दक्षिणी भाग केरला आइपुगेको छ ।  
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुनी वायु नेपालमा सरदर १२ दिनपछि आइपुग्छ । तर, कहिलेकाँही एक दुई दिन अघि वा पछि पनि हुन सक्ने उनको भनाइ छ । 
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार केरला आइपुगेको मनसुनी वायु नेपालमा सरदर १२ दिनपछि आइपुग्छ ।


अझै ५ दिन देशभर गर्मी बढ्ने

अझै ५ दिन देशभर गर्मी बढ्ने


काठमाडौं , २४ जेठ । पछिल्लो एक साता यता बढिरहेको गर्मी अझै ५ दिन बढ्ने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर बढिरहेको गर्मी अझै ५ दिन कायम रहन सक्ने बताएको छ।

तातो हावा चलिरहेकाले महाशाखाले तराई क्षेत्रमा ५ दिनसम्म अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ। महाशालाले लु लाग्ने सम्भावना रहेको जनाएको छ।

‘अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढिरहेको छ,’ महाशाखाले प्रकाशित गरेको विशेष बुलेटिनमा भनिएको छ, ‘तराई मधेशका जिल्लाहरूमा तातो हावा तथा लूको सम्भावना छ। त्यसैले त्यसबाट बच्न सतर्कता अपनाउन अनुरोध छ।’

हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन गर्दा तत्काल मनसुन भित्रिने सम्भावना नभएको महाशाखाले जनाएको छ। तराई, पहाड तथा खोँचहरुमा समेत अझै तापक्रम वृद्धि हुनसक्ने महाशाखाले अनुमान गरेको छ।

महाशाखाका अनुसार बुधबार नवलपुरको दुम्कौलीमा सबैभन्दा धेरै गर्मी भएको छ। दुम्कौलीमा बुधबार अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ। जेठ २२ गते पनि दुम्कौलीको तापक्रम ४३.८ डिग्री सेल्सियस नै थियो ।

महाशाखाले बढ्दो गर्मीका कारण मानव स्वास्थ्यमा पर्नसक्ने असर र त्यसबाट जोगिने उपायहरु समेत सुझाएको छ।

 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom