19 Baishak, 2081 / 1 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देश


तीन लाख भारतीय रुपैयाँसहित युवक पक्राउ

तीन लाख भारतीय रुपैयाँसहित युवक पक्राउ


जलेश्वर, असोज २६ । महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा सशस्त्र प्रहरीले तीन लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ बस्ने २२ वर्षीय राजकुमार साह रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीले जानकारी दिए ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार शनिबार बेलुका अन्दाजी ६ बजेतिर ज७प ३३९५ नंको मोटरसाइकलमा चढी तीन लाख भारु बोकेर मटिहानीबाट जलेश्वर जाँदै गरेको अवस्थामा मटिहानी नपा–९ स्थित जलसागर पोखरी नजिकै खटिएका सशस्त्र प्रहरीले शङ्का लागि जाँच गर्दा स्रोत नखुलेको भारुसहित उनलाई पक्राउ गरिएको हो ।

भारतीयसहित पक्राउ परेका युवक साह अवैधरूपमा नेपाली–भारुको सटही कारोवार गर्ने गरेको प्रहरीले आशङ्का गरेको छ भने उनलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले बताए ।


चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग

चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग


काठमाडौं, असोज २६ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीलाई सहजरूपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा शनिबार एक विज्ञप्ति जारी गरी नेपाल–चीन व्यापारलाई अझ मजबुत र दिगो बनाउन व्यवसायीलाई सहजरूपमा नाकासम्म प्रवेश गर्न दिनुपर्ने माग गरेको हो । हाल नाका जोडिएका जिल्लाका जनतालाई मात्र नागरिकताको आधारमा नाकासम्म जान दिने व्यवस्था गरिएको छ ।
 
महासङ्घका अध्यक्ष नरेश कटुवालले चीनबाट नेपालमा धेरै सामान आयात हुने भएकाले व्यवसायीलाई व्यवसायको सहजताका लागि मल्टिपल भिसाको व्यवस्था गर्नुपर्ने बताए। उनले भने, ‘मल्टिपल भिसाको व्यवस्था गरेसँगै व्यापार व्यवसायमा सहज हुनेछ ।’

महासङ्घले चीनबाट नेपाल आउने सामान छुटाउनका लागि नाकासम्म पुग्न अस्थायी पासको व्यवस्था गर्नसमेत माग गरेको छ । अस्थायी पासको व्यवस्थासँगै सामान हराउने वा चोरी हुने क्रम रोकिने महासङ्घको ठहर छ । 


बडादशैंको आज पाँचौं दिन,  टीकाको साइत २१ गते मङ्गलबार बिहान १०ः२३ बजे 

बडादशैंको आज पाँचौं दिन,  टीकाको साइत २१ गते मङ्गलबार बिहान १०ः२३ बजे 


काठमाडौं, असोज १६। हिन्दूधर्मालम्बीहरू महान पर्व आज आज बडादशैंको पाँचौं दिन देवी स्कन्दमाताको पूजा–आराधना गरेर मनाइदै छ ।

नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । स्कन्दमाता यस्ती दैवी शक्ति हुन् जसले व्यवहारिक ज्ञानलाई कर्ममा बदल्नको लागि प्रेरणा दिने गर्दछिन् ।

हामी जतिबेला सही एवं व्यवहारिक ज्ञानबाट लिप्त हुन्छौं त्यतिबेला हामीभित्र स्कन्द तत्वको उदय हुन्छ । देवी स्कन्दमाता पनि यही व्यवहारिक ज्ञानकी स्रोत हुन् । स्कन्द तत्व देवीको एउटा अर्को स्वरुप मात्र हो ।

कतिपय अवस्थामा हामीसँग ज्ञान त हुन्छ । तर, त्यो ज्ञानको प्रयोजन वा क्रियात्मक प्रयोग भएको पाईंदैन । तर, कतै हामी सैद्धान्तिक ज्ञानको क्रियात्मक प्रयोग तत्कालै गरेको पाउँछौं । हामी विद्यालयमा पढेको ज्ञानलाई जसरी दैनिक जीवनमा प्रयोगमा ल्याउने गर्दछौं । हामीले सैद्धान्तिक रुपमा सिकेको ज्ञानलाई जसरी व्यवहारमा उतार्ने गर्दछौं त्यहाँ पनि स्कन्द तत्व भेटिन्छ । त्यसैले स्कन्दमाता सही व्यवहारिक ज्ञान र क्रियाकी प्रतीक हुन् । हामीले यी देवीको पूजासँगै यो विषयलाई ध्यान दिनु पर्दछ ।

यसैगरी, बडादशैँको टीकाको साइत असोज २१ गते मङ्गलबार बिहान १०ः२३ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको यो साइतलाई गुठी संस्थान काठमाडौं जिल्ला शाखाले बडादशैँ मनाउने सूचनाका लागि जानकारी गराएको छ ।

महानवमीको दिन हनुमानढोकास्थित तलेजु मन्दिर बिहान ४ बजेदेखि नै सर्वसाधारणको दर्शनका लागि खुला हुने व्यवस्था गरिएको छ ।
हनुमानढोका दरबार गद्दी बैठक छेउको कडेल्चोक भगवतीमा पनि भक्तजनले दर्शन गर्न सक्नेछन् । पशुपतिस्थित राजराजेश्वरीमा लगाइएको होमको प्रसाद पनि भक्तजनले लगाउन पाउनेछन् । यहीँ रहेको पाँचटाउके महादेव दर्शनका लागि राजराजेश्वरी पीठ खुला गरिएको छ ।


भुजुङ पर्यटन महोत्सव सम्पन्न

भुजुङ पर्यटन महोत्सव सम्पन्न


लमजुङ, असोज १६ । ‘भुजुङ पर्यटन महोत्सवमा सहभागी बनौँ, नेपाल भ्रमण वर्ष २०२० सफल पारौँ’ भन्ने मूल नाराका साथ भुजुङ पर्यटन महोत्सव बुधबार सम्पन्न भएको छ । 

क्व्होलासोथर गाउँपालिका–४ भुजुङमा सञ्चालित सो तीनदिने महोत्सवमा सांस्कृतिक झाँकी, स्थानीय हस्तकला सामग्री र स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तु प्रदर्शनी, स्थानीय खानाका परिकारको चमेनागृह सञ्चालन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुद्वारा लोकदोहोरी गीत प्रस्तुतलगायत मुख्य आकर्षणको रुपमा रहेको थियो । 

नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउँदै गाउँमा धेरैभन्दा धेरै सङ्ख्यामा पर्यटन ल्याउनका लागि महोत्सवको आयोजना गरिएको महोत्सव मूल समारोह समितिका अध्यक्ष तुलबहादुर गुरुङले बताए । 

भुजुङ गाउँमा विसं २०६४ सालबाट घरवास (होमस्टे) समेत सञ्चालनमा आएको छ । अहिले २२ घरवास सञ्चालनमा रहेका छन् । आगामी पाँच वर्षभित्र ५० वटा घरवास सञ्चालन गर्ने लक्ष्य लिएको भुजुङ ग्रामीण व्यवस्थापन समितिले जनाएको छ । 
यस गाउँमा ९० प्रतिशत गुरुङ र बाँकी दलितहरुको बसोवास छ । ५०० घरधुरी रहेको यस गाउँमा करीब तीन हजार जनसङ्ख्या रहेको छ । भुजुङ गाउँको पश्चिमतर्फ पसगाउँ र सिङदीगाउँ, दक्षिणमा तामुगाउँ र पूर्वमा दक्षिण एशियाकै नमूना घलेगाउँ, घनपोखरागाउँ रहेको छ । त्यस्तै उत्तरतर्फ मिदिमखोलाको शिर, घना वनजङ्गल र लमजुङ हिमाल रहेको छ । 

भौगौलिक, प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण यो गाउँ बेँसीशहरदेखि करीब ३२ किलोमिटर टाढा रहेको छ । बेँसीशहरबाट ग्रामीण कच्ची सडक पार गर्दै सवारी साधनले साँढे तीन घण्टामा त्यहाँ पुग्न सकिन्छ । 


भरतको बिएमएल मुन्जल विश्वविद्यालयले पाँचौं विद्यार्थी भर्ना समारोह सम्पन्न

भरतको बिएमएल मुन्जल विश्वविद्यालयले पाँचौं विद्यार्थी भर्ना समारोह सम्पन्न


काठमाडौं, साउन ११ । भारतको एक प्रतिष्ठित शैक्षिक संस्था, बिएमएल मुन्जल विश्वविद्यालय (बिएमयू), हिरो ग्रुपको गैरनाफामुलक विश्वविद्यालयले शनिबार नेपाली विद्यार्थीका लागि पाँचौं भर्ना समारोहको आयोजना गरेको छ ।

बिएमयूले सन् २०१४ देखि नेपाली विद्यार्थीहरु भर्ती गर्दै आइरहेको छ । यस कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरु आफ्नो अभिभावक र शिक्षकहरुसँग भ्रमण गर्ने अपेक्षा गरिएको छ । सन् २०१९ का लागि ‘द राइज अफ इन्डिस्ट्री ४.०– एक शिक्षा जसले युवाहरुलाई भविष्यको कामका लागी तयारी गर्दछ’ भन्ने नारा रहेको छ । कार्यक्रमको शुरुवात कमन फाउण्डेसन प्रा.लि.का सीईओ सन्तोष प्याकुरेलको स्वागत मन्तव्यबाट गरेका थिए । त्यसपश्चात बिएमएल मुन्जल विश्वविद्यालयका भाइस चान्सलर डा. मनोज अरोडाले विश्वविद्यालय र त्यहाँको शिक्षाको बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नेपाली विद्यार्थीहरुका लागि भर्ना गर्ने प्रकृया र छात्रवृत्तिका विषयमा बिएमएल मुन्जल विश्वविद्यालयका निर्देशक अमित शर्माले जानकारी गराएका छन् । यस कार्यक्रमले नेपाली विद्यार्थीहरुलाई भारतमा उच्च शिक्षा हासिल गर्नका लागि गेटवेको काम गरेको छ ।

बिएमएल मुन्जल विश्वविद्यालय पूर्ण रेजिडेन्सल तथा सह–शैक्षिक निजी विश्वविद्यालय हो जुन भारतको नयाँ दिल्ली नजिकै गुडगावमा अवस्थीत छ । विश्वविद्यालयले भारतमा अभिनव शिक्षण, अध्ययन र अनुसन्धानको वातावरण स्थापना गरेको छ । क्याम्पसको स्टेट–अफ–आर्ट प्रयोगशाला र वर्कशपले विद्यार्थीहरुलाई सामाजिक समस्याहरुको वास्तविक समाधानहरु खोज्न मात्र सहयोग नगरेर देश तथा विदेशका उच्च स्तरीय अनुसन्धानकर्तालाई बिएमयूमा आउन प्रत्सोहान गरेको छ । सीमेन्स, सेल, आईबीएम, इन्टेलल्याण्ड हिरो मोटर कर्पोरेसनको साझेदारीमा भएका प्रयोगशालाहरु उल्लेखनीय छन् ।

कार्यक्रममा डा. मनोज अरोडाले बिएमयूमा नेपाली विद्यार्थीहरुको प्रभावशाली उपलब्धी र विदेशी विश्वविद्यालयहरुसँग सहकार्य गरेर कसरी विद्यार्थीहरुलाई भारतमा उच्च शिक्षाको पहुँच कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा जानकारी गराएका छन् । बिएमएल मुन्जल विश्वविद्यालयका भाइस चान्सलर डा. अरोडाले भने, ‘अन्तर्राष्ट्रिय बेन्चमार्कको शिक्षा र सीप प्रदान गर्नका लागि बिएमयूमा विश्वभरका विविध समुदायका विद्यार्थीहरु रहेका छन् । हामीले बिएमयूका विद्यार्थीहरुलाई उद्योग तयारी व्यक्तित्वहरु बनाउँछौं जो स्नातकको पहिलो दिनदेखि नै नेतृत्वदयी जिम्मेवारी समाल्न योग्य हुनेछन् । बिएमयू नेपाली विद्यार्थीहरुको भाईचारादेखि निकै प्रसन्न छ । हाम्रो नेपाली विद्यार्थीहरुले निकै राम्रो गरिरहेका छन्, एक जना नेपालमा सफल उद्यमी भइसकेका छन् भने अर्को एक जना अमेरिकी आधारित भारतको डिल्लमा रहेको एमएनसीमा सफल डेटा एनालिस्ट भइसकेका छन् ।’

विश्वविद्यालयको अनुभवमा आधारित अध्ययन मोडल रहेको छ जसले विद्यार्थीहरुलाई भविष्यमा नेतृत्व गर्न योग्य हुने गरि रुपान्तरण गर्ने उद्देश्य लिएको छ । यस मोडलमा, मुख्य कम्पनीका इन्डिस्ट्री लिडरहरु संकायका हिस्सा रहेका छन् जसले विद्यार्थीहरुलाई वर्तमान रियल लाइफ केश स्टडीहरु प्रयोग गरेर बिजनेस म्यानेजमेटको भिन्नताहरु सिकाउछन् । विद्यार्थीहरु व्यावहारिक कार्य समस्याहरुमा काम गर्दै, एकसाथ ज्ञान र अनुभव विस्तार गरेर उद्योगका लागि तयार बनाइन्छ । 

शैक्षिक वर्ष २०१९–२०२० देखि बिएमयूले ८ वटा स्नातक पाठयक्रमहरु थपेको छ जसअन्तर्गत बिएससी (हन्स), अर्थशास्त्र, बिज्नेस एनालिक्टसमा बिबिए, बिबिए–एलएलबी र बीए–एलएलबी रहेका छन् । विश्वविद्यालयले बी टेक पाठयक्रमहरुमा पनि विशेषज्ञता संचालन गरेको छ जसमा मेकानिकल इन्जिनियरिङमा अटोमोबाइल इन्जिनियरिङ र रोबोटिक्स तथा अटोमेसनमा विशेषज्ञता, सिभिल इन्जिनियरिङमा कनस्ट्रक्सन म्यानेजमेन्ट र स्मार्ट सिटी तथा सस्टेनेवल म्यानेजमेन्टमा विशेषज्ञता, इलेक्ट्रोनिक्स तथा कम्यूनिकेसन इन्जिनियरिङमा इन्टरनेट अफ थिङमा विशेषज्ञता र कम्प्यूटर साइन्स तथा इन्जिनियरिङमा साइबर सेक्यूरिटी तथा डेटा साइन्स तथा आर्टीफिस्यल इन्टिलिजेन्समा विशेषज्ञता प्रदान गर्दछ ।


विप्लवका चार कार्यकर्ता पक्राउ

विप्लवका चार कार्यकर्ता पक्राउ


दमौली, असार ३१ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उक्त समूहका कास्की जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, रुकुम घर भएका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन राई र कास्कीको अन्नपूर्ण गाउँपालिका घर भएका कार्यकर्ता सन्तोष विक छन् । 

राजद्रोहको मुद्दामा गत असार ४ गतेदेखि तनहुँ प्रहरीको हिरासतमा रहेका उनीहरुलाई अदालतले सोमबार फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ बमोजिम साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।

उनीहरु विरुद्ध स्याङ्जा जिल्ला अदालतमा राजद्रोहको मुद्दा दर्ता भएका कारण जिल्ला प्रहरी कार्यालय स्याङ्जाको पत्रअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहँुका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । लामिछानेका अनुसार पक्राउ परेका चारैलाई स्याङ्जा पठाइनेछ । 

गत असार ४ गते चारै जनालाई प्रहरीले पोखराको मुस्ताङचोकबाट पक्राउ गरी तनहुँ ल्याएको थियो । बन्दी प्रत्यक्षीकरणको रिटमा उच्च अदालत पोखराले उनीहरु सबैलाई रिहा गर्न असार ३ गते आदेश दिएको थियो ।

अदालतको आदेशमा रिहा भएका उनीहरु तनहुँ जिल्ला अदालतमा राजद्रोहको मुद्दा दर्ता भएका कारण पोखराबाट पक्राउ परेका थिए । त्यसअघि गत जेठ २५ गते कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।


बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ६७ पुग्यो

बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ६७ पुग्यो


काठमाडौँ, असार ३० । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आज अपरान्हसम्म ६७ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विपद्मा परी काठमाडौँमा तीन, मकवानपुरमा छ, ललितपुर, रौतहट र भोजपुरमा पाँच/पाँच, ओखलढुङ्गा, सिरहा र सिन्धुलीमा चार÷चार, खोटाङ, धनुषा र काभ्रेपलाञ्चोकमा तीन÷तीन, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा दुई÷दुई तथा इलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा एक÷एक गरी ६७ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमध्ये २६ महिला र ४१ पुरुष छन् । बाढी तथा पहिरोमा परी ३२ जना बेपत्ता भएका छन् । बेपत्ता भएका १४ महिला र १८ पुरुषको खोजी भइरहेको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी डोल्पामा नौ, सिन्धुलीमा चार, इलाम र मोरङमा तीन÷तीन, महोत्तरी र मकवानपुरमा दुई÷दुई तथा काठमाडौँ, ललितपुर, झापा, सुनसरी, पर्सा, रौतहट, धनुषा, धादिङ र दाङमा एक÷एकजना बेपत्ता भएका छन् । विपद्मा परी ३९ घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रभावित जिल्लाबाट एक हजार ४४५ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।    पहिरो तथा बाढीका कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले अवरोध हटाएर सञ्चालनमा ल्याएको छ । त्यस्तै ललितपुर, मकवानपुर, रामेछाप, मुस्ताङ, मनाङ, ओखलढुङ्गा, भोजपुर, रौतहट, महोत्तरी, पाल्पा, कालिकोटलगायत स्थानमा भएको अवरोध हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ । महोत्तरीको बर्दिवास नगरपालिका–१ र ४ जोड्ने पूर्व–पश्चिम राजमार्गमा रहेको भप्सी खोलामा अस्थायी डाइभर्सन निर्माण गरिएको भए पनि पानीको बहाव बढ्दा पुनः अवरुद्ध भएको छ । 


बाढीको त्रासले रातभर जाग्राम, मुटु काँप्छ भन्दै भक्कानिए कैलालीका स्थानीय

बाढीको त्रासले रातभर जाग्राम, मुटु काँप्छ भन्दै भक्कानिए कैलालीका स्थानीय


कैलाली, असार ३० । जब वर्षायाम शुरु हुन्छ तब कैलालीका धेरैजसो ठाउँका बासिन्दाको मुटु काँप्छ । उनीहरू वर्सेनी आउने बाढीबाट त्रसित छन् । बाढी आउला कि भनेर नदी किनारमा रातभर पालैपालो जागाराम बस्छन् । वर्षा हुन थाल्यो भने स्थानीयवासी नजिकै रहेको नदीको बहाव हेर्न पुग्छन् । यदी रातिको समयमा वर्षा भइरहेको छ भने उनीहरू पालैपालो रातभरी जाग्राम बसेर नदीको बहाव हेर्ने गर्छन् । 

विगतका वर्षमा बाढीबाटपीडित बनेका घोडाघोडी नगरपालिका–१० खल्ला गाउँका दिलीपसिंह बोहरा पानी पर्न थालेपछि कान्द्रा नदीमा आएको बाढीले सुतिरहेको समयमा आफ्नो घर बगाएको पीडा सम्झिनुहुन्छ । उहाँ भन्नुहुन्छ,  “पानी पर्न थाल्यो की मुटुले ठाउँ छाड्न थाल्छ । विगतमा घर बगाउँदा   राम्रोसँग सुत्न, खान नपाएको पीडा फेरि बल्झन्छ कि भनी पिर लागेर आउँछ ।”

बाढीको त्रासमा रहेको यसक्षेत्रका अधिकांश पुरुष तथा युवा रोजगारीका लागि भारतलगायत विभिन्न मुलुकमा रहेका कारण महिला, वृद्ध तथा बालबालिका मात्रै गाउँमा छन् । घुम्नि भाकलका रिताकुमारी थारुले भनिन्  “घरका पुरुष जति धन कमाउन परदेशमा हुन्छन् । यहाँ हामी बाढीको त्रासमा छौँ । कसैले हाम्रो पीडा सुन्दैनन् । पानी पर्ना साथ मुटुले ठाउँ छाड्छ ।” बमढीबाट प्रभावित घोडाघोडी–९ रत्तिपुरका बासिन्दा पनि वर्षा शुरु भएसँगै त्रसित हुने गर्छन् । उनीहरूको पीडा पनि उस्तै छ ।

चुरेको सिरानमा रहेको यस गाउँका बासिन्दा बाढी आउने डरले जाग्राम बस्ने गरेको पिडा सुनाउँछन् ।  स्थानीयवासी श्याम चौधरी वर्षायामसँगै हरेक वर्ष बाढीले गाउँ डुबाउने गरेको बताए ।  सधैँ बाढीको समस्याबाट गुज्रिएका यहाँका बासिन्दाले बस्ती स्थानान्तरणको माग गर्दै आएका छन् । विसं २०६८ को बाढीबाट घरबारबिहीन भएका घुम्निभाकलका दिलबहादुर नेपालीले भने “सधैँ यही बाढीको समस्या आइरहन्छ । हरेक वर्ष झै यसवर्ष पनि हामी गाउँले मिलेर तीन सय मिटर लामो जैविक तटबन्ध निर्माण गरेका छौँ ।  तर, प्रत्येक वर्ष गाउँले बनाउने तटबन्ध बाढीले बगाउने गरेको छ ।” 

विगतका कैयौँ वर्षदेखि निरन्तर बाढीको चपेटामा पर्ने भजनी नगरपालिकाको लालबोझीका बासिन्दा पनि बाढीको डरले रातभर सुत्दैनन् । स्थानीयवासी हरिराम चौधरीले भने “वर्सेनी बाढी आउँछ हामी आफ्नो ज्यान त जसोतसो गरेर जोगाउँछौ तर, आफ्नो ज्यान जोगाउने ध्यानमा कहिलेकाहीँ बस्तुभाउ र अन्नबाली जोगाउन सक्दैनौँ । 


सप्तरीमा ३५ सय घर डुबानमा, कम हुँदै पानीको बहाव

सप्तरीमा ३५ सय घर डुबानमा, कम हुँदै पानीको बहाव


राजविराज,  असार ३० -  चार दिनदेखिको अविरल वर्षाका कारण विभिन्न खोलामा आएको बाढीले ठाउँ–ठाउँमा बाँध भत्काउँदा सप्तरीको साढे तीन हजार घर डुबानमा परेका छन्। सप्तकोशी, त्रियुगा, खाँडो, महुली, जिता, बलान, भलुवाही, सुन्दरी, खडक, चापिनलगायतका नदी र खोलामा आएको बाढीले तीन हजार ५०० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। ३०० भन्दा बढी घर परिवार विस्थापित हुँदा १२ हजार मानिस प्रभावित भएको एसपी मनोजकुमार यादवले बताए। जिल्ला प्रहरी कार्यालयका अनुसार ५० घरमा पूर्ण रुपले क्षति भएको छ भने डुबानका कारण ३०० घरका मानिस विस्थापित भएका छन्।

बाढीको पानीले घेरिएका ८०० जनालाई प्रहरीले रबर बोट, डोरी, लाइफ ज्याकेट प्रयोग गरी उद्धार गरेको छ। विस्थापित परिवार नजिकैको उच्चस्थलमा रहेको विद्यालय र बाँधमा पाल टाँगेर आश्रय लिएर बसेका छन्।पानीले घेरिएको तिलाठी कोइलाडी गाउँपालिका ५ टिकुलियामा बाढीको तीब्र बेगका कारण डोरीको सहाराले आवतजावत गर्दै स्थानीय। 

सप्तरीका ९ नगरपालिका र ९ गाउँपालिका कुनै न कुनै रुपमा बाढीले प्रभावित रहेको जनाउँदै एसपी यादवले हनुमाननगर कंकालिनी र सप्तकोशी नगरपालिका तथा तिलाठी कोइलाडी र तिरहुत गाउँपालिका अति प्रभावित बनेको बताए। राजविराज र बोदे बर्साइन नगरपालिका, महदेवा र खडक गाउँपालिकाका केही वडा बढी प्रभावित भएका छन्। अन्नपूर्णमा खबर छ । 

हनुमाननगरदेखि डलवासम्म मात्र ११० घरपरिवार विस्थापित भएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बर्साइनका इन्स्पेक्टर बिनुप श्रेष्ठले जानकारी दिए। विस्थापित परिवारका अधिकांश बुहारी माइत गएका छन्। अन्य मानिस उच्च बाँधमा आएर बसेको तिलाठी कोइलाडी ५ का लखन रायले बताए।

आइतबार बिहानदेखि वर्षा केहीबेर रोकिँदै पुनः सुरु हुने गरेकाले विस्थापितको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ। बाढीबाट हुने क्षति न्यूनीकरण तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रभावित क्षेत्रमा परिचालित रहेको तथा अहिलेसम्म कुनै मानविय क्षति नभएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।

बाढीले त्रियुगा, खाँडो, महुली खोला लगायतले भत्काएको बाँध सेना, प्रहरी र स्थानीय मर्मतसम्भारमा जुटेका छन्। खाँडो नदीमा बाढीको भेल अत्यधिक रहेकाले तिलाठीमा भने बाँध मर्मत कार्य सम्भव हुन नसकेको तिलाठी कोइलाडी गाउँपालिका १ नम्बर वडा अध्यक्ष दिनेश्वर मिश्रले बताए।

यता सप्तकोशी नदीमा आइतबार साँझ पानीको बहाव घटेर दुई लाख १७ हजार दुई सय ८४ क्विसेक प्रतिसेकेन्ड रेकर्ड गरिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ। सप्तकोशी नदीमा पानीको बहाव उच्च भई ओभरफ्लो हुन थालेपछि राति सबा १२ बजेदेखि तीन घण्टासम्म कोसी ब्यारेजका ५६ वटै ढोका खोलिए पछि पानीको बहाव कम भएको स्थानीय आकाशराज भण्डारीले बताए।

पानीको वहाब कम भएपछि अहिले २७ वटा ढोका मात्र खोलिएको कन्ट्रोल रुमले जनाएको छ।


अविरल वर्षापछि आएको बाढी र पहिराका कारण प्रभावितहरुलाई यसरी वितरण गरिँदैछ राहात

अविरल वर्षापछि आएको बाढी र पहिराका कारण प्रभावितहरुलाई यसरी वितरण गरिँदैछ राहात


काठमाडौं असार २९  -   काठमाडौं-सरकारले अविरल वर्षापछि आएको बाढी र पहिराका कारण प्रभावित भएको क्षेत्रमा उद्धार र राहतमा जुट्न सरकारी तथा गैरसरकारी सङ्घसंस्था, सुरक्षा निकाय तथा स्थानीय समुदायलाई आग्रह गरेको छ । प्रभावित तथा सम्भावित जोखिममा रहेका व्यक्ति, परिवार तथा समुदायको तत्काल उद्धार तथा सुरक्षित आश्रयस्थलको व्यवस्था अझ प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, विभिन्न सङ्घसंस्था र समुदायलाई एकजुट हुन आह्वान गरेको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आजको बैठकले विपद् व्यवस्थापन समितिका विषयगत क्षेत्रलाई प्रभावित र जोखिममा रहेको व्यक्तिको राहत तथा आश्रयस्थलको व्यवस्थापनका लागि परिचालित हुन र संयुक्त राष्ट्रसङ्घ आवासीय प्रतिनिधिको कार्यालयलाई आवश्यक समन्वय गर्न अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको विशेष उपस्थितिमा गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेका उक्त बैठकले स्वास्थ्य, खानेपानी, सरसफाइ, आवास समन्वय तथा व्यवस्थापन, शीघ्र पुनर्लाभ, बन्दोबस्ती, सञ्चार, शिक्षा, कृषि, पोषण, संरक्षणको संयुक्त र छुट्टाछुट्टै बैठक राखी कार्य आरम्भ गर्न मातहतका निकायलाई निर्देशनसमेत दिएको छ ।

बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार सम्बन्धित मन्त्रालय, विभाग, सुरक्षा निकाय, मानवीय क्षेत्रमा क्रियाशील सङ्घसंस्था, निजी क्षेत्र समेतलाई आवश्यक स्रोत तथा साधनसहित उच्च सतर्कतामा रहने र आवश्यक उद्धार, राहत तथा प्रतिकार्यमा जुट्न निर्देशन दिएको छ । 

बैठकले आपत्कालीन सामग्रीको मौज्दात राख्न र सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा माग गर्दा उपलब्ध गराउन खाद्य संस्थान, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, मानवीय सहायता समूह तथा सङ्घसंस्था र सरोकारवाला निकायलाई तयारीमा रहनसमेत निर्देशन दिने निर्णय गरेको छ । 

बैठकले स्थानीयस्तरमा स्थानीय तहले र जिल्ला विपद् व्यवस्थापन समितिले तथा प्रदेश सरकारसँग समन्वय गरी तत्काल राहतका कार्य अगाडि बढाउन निर्देशन दिने तथा थप स्रोतसाधनको आवश्यकता परेमा जिल्ला विपद् व्यवस्थापन समितिले गृह मन्त्रालयलाई अनुरोध गर्ने र निर्देशनअनुसार उद्धार र राहतका कार्य सञ्चालन गर्नसमेत आग्रह गरेको छ । 

राहत कार्यमा एकद्वार प्रणालीअनुसार जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा स्थानीय निकायबाट उपलब्ध गराउने, तत्कालीन खाद्यान्न पानी, औषधि, त्रिपालजस्ता अत्यावश्यक वस्तु स्थानीय तह र प्रदेशसँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराउन व्यवस्था मिलाउने निर्णयसमेत उक्त समितिले गरेको छ । 

थप अत्यावश्यक सामग्री र खाद्यान्न आवश्यक पर्दा जिल्ला विपद् व्यवस्थापन कोषबाट रकम खर्च गरी निकासा माग गर्न निर्देशन दिने, अवरुद्ध भएका सडक, पुल, विद्युत्, टेलिफोन, खानेपानी जस्ता आधारभूत आवश्यकताका पूर्वाधार शीघ्र सञ्चालन गराउन तत्काल सम्बन्धित मन्त्रालय, विभाग र कार्यालयले आवश्यक कार्य गर्नसमेत बैठकले सम्बद्ध निकायलाई निर्देशन दिएको छ । 

विषयगत क्षतिको विवरण सङ्कलन गरी विषयगत मन्त्रालय तथा विभागले अद्यावधिक गरी प्रतिकार्य तथा पुनर्लाभका तत्कालीन तथा दीर्घकालीन योजना समन्वयात्मकरुपमा अगाडि बढाउने, नेपालमा विपद् निरन्तर भइरहने भएकाले कुनै पनि पूर्वाधार संरचना निर्माण गर्दा जोखिम संवेदनशीलतालाई मूल प्रवाहीकरण गर्ने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ । बैठकले विपद्मा परी ज्यान गुमाउनेप्रति चीर शान्ति र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।