06 Chaitra, 2080 / 19 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आर्थिक


पेट्रोल र डिजेलको मूल्य घट्यो 

पेट्रोल र डिजेलको मूल्य घट्यो 


काठमाडौं, ३ चैत । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो । 
निगमले आजदेखि लागू हुनेगरी पेट्रोलको १ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो।  जसअनुसार काठमाडौँमा आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ पर्ने निगमले जारी गरेको निगमको विज्ञप्तिमा उल्लेख छ ।


एनआईसीबाहेक १७ बैंकले घटाए ब्याजदर

एनआईसीबाहेक १७ बैंकले घटाए ब्याजदर


काठमाडौं, ३० फागुन । वाणिज्य बैंकहरुले चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । फागुनको तुलनामा धेरै बैंकले ब्याजदर चैतमा घटाएका छन् । बैंकहरुले प्रकाशित गरेको ब्याजदर अनुसार फागुनको तुलनामा औसतमा चैतमा ब्याजदर घटेको छ । फागुनमा बैंकहरुको ब्याजदर औसतमा ७.७५ प्रतिशत रहेको थियो । चैतमा ७.२४ प्रतिशत रहेको छ । १७ वटा बैंकले ब्याजदर घटाउँदा २ वटाको स्थिर रहेको छ भने एनआईसी एशिया बैंकले बढाएको छ । 

एनआईसी एसिया बैंकको ब्याजदर फागुनमा ८ प्रतिशत रहेको थियो । चैतमा भने फागुनको तुलनामा ०.५४ प्रतिशतले बढेर ८.५४ प्रतिशत पुगेको छ । प्रभु बैंक र ग्लोबल आईएमई बैंकले भने फागुनको ब्याजदरलाई नै चैतमा पनि कायम गरेका छन् । फागुनमा प्रभुको ७.५ र ग्लोबलको ७.६ प्रतिशत ब्याज रहेको थियो । चैतमा पनि यही नै कायम हुने छ ।

बैंकले अपेक्षा अनुसार कर्जा प्रवाह गर्न नसक्दा निक्षेपको ब्याजदर सस्तो हुँदै गएको छ । निक्षेपमा सबैभन्दा न्यून ब्याजदर कृषि विकास बैंकको रहेको छ । चैतमा बैंकको ब्याजदर ५.६६ प्रतिशत रहेको छ ।  बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ । फागुन महिनामा २० वटै वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको छ ।

चैत महिनाका लागि प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती तर्फ ७.२५ प्रतिशत र संस्थागत तर्फ ६.६ प्रतिशत बनाएको छ । नेपाल बैंकले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत, माछापुच्छ्रेले व्यक्तिगत तर्फ ७.७५ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत ब्याजदर तोकेका छन् ।

यस्तै, सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेप तर्फ ७.२५ प्रतिशत र संस्थागत तर्फ ६.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५.३५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले पनि व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेका छन् । 

सिटिजन बैंकले व्यक्तिगत मुद्दती तर्फ ७.७५ प्रतिशत र संस्थागत तर्फ ६.१५ प्रतिशत, नबिल बैंकले व्यक्तिगत तर्फ ७.२५ प्रतिशत र संस्थागत तर्फ ६.२५ प्रतिशत बनाएका छन् । कुमारीले व्यक्तिगततर्फ ७.५१ प्रतिशत र संस्थागत तर्फ ६.५१ प्रतिशत, सिद्धार्थ र लक्ष्मी सनराइजले व्यक्तिगत तर्फ ७.५ प्रतिशत र संस्थागत तर्फ ६.५ प्रतिशत बराबरी, हिमालयन बैंकले व्यक्तिगत तर्फ ७.५ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत ब्याज प्रदान गर्ने भएका छन् ।

एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेप तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत, नेपाल एसएसबीले व्यक्तिगत तर्फ ७.०१ प्रतिशत र संस्थागत तर्फ ६.०१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत तर्फ ७ प्रतिशत र संस्थागत तर्फ ६ प्रतिशत र एभरेष्ट बैंकले व्यक्तिगत तर्फ ६.५ प्रतिशत र संस्थागत तर्फ ५.५ प्रतिशत ब्याज प्रदान गर्ने भएका छन् । 

माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव १५ प्रतिशतसम्म थियो । फागुनमा भने सोही प्रकृतिको निक्षेपमा अधिकतम ब्याजदर नै ८.५० प्रतिशतमा झरेको थियो । चैतका लागि एनआईसी एसियाबाहेक सबै बैंकको व्यक्तिगत मुद्दतीको ब्याजदर ७.७५ प्रतिशतभन्दा तल झरेको छ ।


फाँटवारी तथा प्रमाणहरु नबुझाउने ३२ कम्पनीको नाम सार्वजनिक

फाँटवारी तथा प्रमाणहरु नबुझाउने ३२ कम्पनीको नाम सार्वजनिक


काठमाडौं, २९ फागुन । आन्तरिक राजस्व कार्यालय ललितपुरले ३२ वटा कम्पनीलाई १५ दिन भित्र फाँटबारी तथा प्रमाणहरु बुझाउन निर्देशन दिएको छ । कार्यालयले मंगलबार एक सूचना प्रकाशित गर्दै कागजात, फाँटबारी तथा प्रमाणहरु बुझाउन निर्देशन दिएको हो ।

विभिन्न समयमा इमेल, फोन सम्पर्क गरेर कार्यालयमा उपस्थित हुन आग्रह गर्दा पनि सम्पर्कमा नआएपछि कम्पनी र सञ्चालकको नामसहित सार्वजनिक सूचना जारी गरेको हो ।

करदाताहरुले आय\कर विवरण बमोजिमको खरिद\बिक्री कारोवार बमोजिमको आम्दानी \खर्च र सम्पत्ति\दायित्वलाई प्रमाणित गर्ने खरिद बिक्री खाता, बिल भर्पाई प्रमाण तथा बैक स्टेटमेन्टहरु लगायत कारोवारसँग सम्वद्ध अन्य आवश्यक कागजातहरु १५ दिन भित्र पेस गर्नु पर्ने छ।

जारी सूचनामा भनिएको छ, 'यस कार्यालयको कार्यक्षेत्र अन्तर्गत दर्ता रहेका करदाताहरूको कारोवारको अनुसन्धान तथा छानविन सम्वन्धी काम कारवाही गर्नुपर्ने सम्वन्धमा करदाताहरुको कार्यालयको दर्ता अभिलेखमा रहेको ठेगानामा हुलाकबाट रजिष्ट्री गरी पत्राचार गरिएको तथा सम्पर्क नम्बरमा सम्पर्क गर्दा हालसम्म सम्पर्क हुन नसकेको ईमेल ठेगाना उपलब्ध भएकाको हकमा ईमेल समेत गरिएको साथै कुनै करदातासँग कार्यालयबाट सम्पर्क गर्दा सम्पर्क भएतापनि ति करदाता कार्यालयमा उपस्थित भई कार्यालयमा कागजात, फाँटवारी तथा प्रमाणहरु पेश नगरेकोले यो सूचना प्रकाशित गरिएको छ ।'

तोकिएको म्यादभित्र माग गरिएको फाँटवारी तथा कागजातहरु पेश नगरे कार्यालयमा उपलब्ध तथ्याङ्क तथा सूचनाहरुको आधारमा आयकर ऐन, २०५८ को दफा १०१, मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २० तथा अन्तःशुल्क ऐन, २०५८ को दफा १० (घ) बमोजिम कर निर्धारण गरिने कार्यालयले जनाएको छ । 


यस्तो छ देशको ७ महिनाको आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)

यस्तो छ देशको ७ महिनाको आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)


काठमाडौं, २८ फागुन ।  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को सात महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । तथ्यांकअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ । यस्तै आयात २.३ प्रतिशत, निर्यात ७.१ प्रतिशत र कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ । 
यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.६ प्रतिशतले र अमेरिकी डलरमा १९.१ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.२९७ अर्ब ७२ करोडले बचतमा रहेको बैंकले जनाएको छ । 
यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.१८४४ अर्ब ९४ करोड र अमेरिकी डलरमा १३ अर्ब ८९ करोड रहेको छ भने नेपाल सरकारको खर्च रु.६८६ अर्ब ७५ करोड र राजस्व परिचालन रु.५६७ अर्ब ४० करोड रहेको छ । बैंकका अनुसार  विस्तृत मुद्राप्रदाय ७.० प्रतिशतले बढ्नुका साथै वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.७ प्रतिशतले बढेको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.० प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ४.१ प्रतिशतले बढेको छ । यस्तै वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.७ प्रतिशत रहेको पनि बैंकले जनाएको छ ।


सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट


काठमाडौं, २५ फागुन । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । शुक्रबार बिहान सर्वोत्तमको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।

कम्पनीले गत १३ फागुनमा सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्कासन गरेको थियो । प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले निष्कासित आईपीओमा न्युनतम ५० कित्तामा आवेदन दिनुपर्ने थियो ।

त्यसमा ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ताका लागि आवेदन दिएका थिए । त्यसमध्ये ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले शेयर पाएका छन् भने २६ जनाले ५१ कित्ताका दरले शेयर पाएका छन् ।
 


पचरौता नगरपालिकाका वडाध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पचरौता नगरपालिकाका वडाध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं, २४ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको पचरौता नगरपालिका वडा नं ४ का वडाध्यक्ष कन्हैयालाल यादवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पचरौता ४ मा रहेको कच्ची वा पक्की सडक बाटो नभएको खेतीयोग्य जमिन रहेको भनी गलत सिफारिसको आधारमा राजस्व छली गरेको आरोपमा बिहीबार काठमाडौं विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।

आरोप पत्रमा यादवसहित जग्गा बिक्रीकर्ता बिध्या यादव, जग्गा खरिदकर्ता बृजकिशोर प्रसाद यादव र अवधकिशोर प्रसाद यादवलाई प्रतिवादी बनाइएको छ । साथै, उनीहरुविरुद्ध ८ लाख ११ हजार ९५१ रुपैयाँ बिगोसहित सजाय माग गरिएको आयोगले जनाएको छ ।


सुनको भाउ हालसम्मकै उच्च मूल्यमा

सुनको भाउ हालसम्मकै उच्च मूल्यमा


काठमाडौं,२२ फागुन । सुनको भाउ ऐतिहासिक उचाइमा पुगेको छ। मंगलबार सुनको भाउ तोलामा २,००० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
यसअघि सुनको भाउ प्रतितोला २२ हजार रुपैयाँसम्म पुगेको थियो। मंगलबार सो रेकर्डलाई तोड्दै सुनको भाउले नयाँ रेकर्ड बनाएको हो।
यस्तै चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४४५ रुपैयाँ पुगेको महासँघले जनाएको छ। सोमबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा खरिदबिक्री भएको थियो।


सरकार र दुग्ध किसानबीच पाँच बुँदे सहमति

सरकार र दुग्ध किसानबीच पाँच बुँदे सहमति


काठमाडौं, २० फागुन । आन्दोलनरत दुग्ध किसान र नेपाल सरकारबीच ५ बुँदे सहमति भएको छ । सरकार र दुग्ध किसानबीच सहमति भएसँगै आन्दोलनका स्थगन भएको छ ।सहमति अनुसार दुग्ध उत्पादक कृषकहरूलाई दुध बिक्री गरे बापत पाउनुपर्ने रकम निरन्तरता दिँदै २०८० पुस मसान्तसम्मको रकमको भुक्तानी प्रत्येक उद्योगीहरूले यही २०८० साल चैत्र २१ सम्म गरिसक्ने भनिएको छ । त्यस्तै प्रत्येक उद्योगले सहकारीबाट खरिद गरिरहेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी निरन्तर खरिद गरिरहने पनि सहमति भएको छ ।
केन्द्रीय दुग्ध सहकारी संघ लि. नेपालले दुग्ध उत्पादक कृषकहरूबाट दूध बिक्री गरे बापत दुग्ध उद्योगहरूबाट पाउनुपर्ने रकम लामो समय देखि रोकिएकोले उक्त रकमको भुक्तानीको माग राखी फागुन ८ गतेदेखि विभिन्न किसिमबाट आन्दोलनका कार्यक्रम गरिरहेको थियो ।


भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ


काठमाडौं, १७ फागुन । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ। आइओसीले बिहीबार नेपाललाई नयाँ मूल्य पठाएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २१ पैसा र डिजेलमा ८५ पैसा बढाएर पठाएको छ।

त्यस्तै खाना पकाउने ग्यासमा भने प्रतिसिलिन्डर २१ रूपैयाँ ६६ पैसा बढाएर पठाएको हो। भारतबाट मूल्य बढेर आए पनि नेपाली बजारमा हाल यी पदार्थको मूल्य यथावत रहने निगमले जनाएको छ।

हाल निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि देशका विभिन्न ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ।


 


आदनचुलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आदनचुलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं, १६ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको  आदनचुली गाउँपाालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित १० जनाविरुद्ध आर्थिक हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले पाण्डेसहित उनीहरुविरुद्ध ४२ लाख, २९ हजार ३५८ रुपैयाँ हिनामिना गरेको भन्दै आरोपपत्र दायर गरेको हो ।
आयोगले पाण्डेहित इन्जिनियर मकरध्वज शाही, सवइन्जिनियर जयराम छत्याल, योजना शाखामा रहेका सरफाई टेक्निसिन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपाली, वडा नम्बर ३ का वडाअध्यक्ष दत्त विष्ट, गाउँपालिका उपप्रमुख सौमती रावल ऐडी, अनुगमन समिति सदस्य मानबहादुर टमटा र धनसरा टमाटा, उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाया र कोषाध्यक्ष सिर्जना बुमीविरुद्ध आरोपपत्र दायर गरेको हो ।  

प्रेस विज्ञप्ति:- मिति २०८०।११।१६ गते।

——————————————

जिल्ला हुम्ला, आदनचुली गाउँपालिका वडा नं. ३ स्थित ढकनीकुनादेखी मुढेघट्टसम्म सिँचाई योजानामा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिल प्रसाद पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सव-इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपालीसमेतले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत निर्माण कार्य गरी गराई, झुट्टा नापी किताब, उपभोक्ता समिति सम्बन्धि बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी गराई सोही झुट्टा बिल भरपाई र कागजातको आधारमा वास्तविक फिल्डमा भएको कामभन्दा बढी रु.४२,२९,३५८।८९ उपभोक्ता समितिलाई भुक्तानी गरी सरकारी रकम हानिनोक्सानी पुर्‍याएको पुष्टि हुन आएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिमको कसुर भएको हुँदा निजहरु उपर बिगो रु.४२,२९,३५८।८९ (बयालीस लाख उनन्तीस हजार तीन सय अन्ठाउन्न रुपैयाँ र उनान्नब्बे पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम जरिवाना र कैद गरी विगो असुल उपर हुन मागदाबी लिइएको छ।

अदानचुली गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष दत्त विष्टले आ.व. २०७४/०७५ को ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण योजनाको फिल्डमा वास्तविक काम भएको भन्दा बढी रु.४२,२९,३५८।८९ (बयालीस लाख उनन्तीस हजार तीन सय अन्ठाउन्न रुपैयाँ र उनान्नब्बे पैसा) बरावरको काम भएको भनी सिफारिस गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले निज उपर ऐ.ऐ. दफा ८ को उपदफा (३) मा उल्लेख भएबमोजिम जरिवाना र कैदको सजाय हुन मागदाबी लिइएको छ।

त्यसै गरी अदानचुली गाउँपालिकाका उप-प्रमुख सौमति रावल ऐडी, अनुगमन समिति सदस्य मान बहादुर टमटा भन्ने मान्या टमटा र धनसरा टमटाले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण योजनाको अनुगमन गरी फिल्डमा वास्तविक भएको भन्दा बढी काम सम्पन्न भएको भनी गलत प्रतिवेदन पेश गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजहरुउपर उक्त कसुरमा ऐ.ऐ. दफा १९ को उपदफा (२) बमोजिम जरिवाना र कैदको सजाय हुन मागदाबी लिइएको छ।

साथै, ढकनीकुनादेखि मिढेघट्टसम्म सिँचाइ योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीले अदानचुली गाउँपालिका, हुम्लासँग भएको सम्झौता विपरितको कार्य गरी फिल्डमा वास्तविक भएको भन्दा नापी किताब, उपभोक्ता सम्बन्धी बिल र कार्यसम्पन्न प्रतिवेदनमा बढी काम भएको मूल्याङ्कन गराई भुक्तानी माग गरी रु.४२,२९,३५८।८९ (बयालीस लाख उनन्तीस हजार तीन सय अन्ठाउन्न रुपैयाँ र उनान्नब्बे पैसा) सरकारी रकम हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजहरुलाई सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिमको सजाय गरी बिगो रकम जफत हुन मागदाबी लिई आज विशेष अदालत,काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।