21 Baishak, 2081 / 3 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आर्थिक


सर्वसाधारणका लागि तातोपानी नाका खुला

सर्वसाधारणका लागि तातोपानी नाका खुला


काठमाडौं, १५ भदौ । तातोपानी नाका स्थानीय सर्वसाधारणका लागि खुला भएको छ । चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबीच गत मंगलबार तिब्बतको ल्हासामा भएको बैठकमा नाका आजदेखि सर्वसाधारणका लागि पनि खुलाउने सहमति भएको र सोही अनुसार नाका खुल्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सिडओ) रमेश न्यौपानेले जानकारी दिए।
नाका सञ्चालनबारे कुनै औपचारिक कार्यक्रम भने राखिएको छैन। सिडिओ न्यौपानेका अनुसार दुबै देशका नागरिकले आवतजावतका लागि पास पाउनेछन्। उक्त पास कोदारीस्थित अध्यागमन विभागले जारी गर्छ।

जिल्लाभित्रका नागरिकले पाउने पासको अवधि एक वर्ष हुन्छ। नाकामार्फत आवतजावत गर्नेहरुलाई निश्चित ठाउँसम्म पुग्ने अनुमति हुन्छ। तोकिएको ठाउँभन्दा अन्य ठाउँमा जान नपाउने सिडिओ न्यौपानेले जानकारी दिए।


खाना पकाउने एलपी ग्यासको मूल्यमा उच्च वृद्धि, पेट्रोल र डिजेलको कति ?

खाना पकाउने एलपी ग्यासको मूल्यमा उच्च वृद्धि, पेट्रोल र डिजेलको कति ?


काठमाडौं, १४ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो। निगमका अनुसार हाल प्रतिलिटर १७९ रुपैयाँ ५० पैसा रहेको पेट्रोलमा ४ रुपैयाँ वृद्धि भएको छ। डिजेल १६७ रहेकोमा ३ रुपैयाँ वृद्धि गरिएको छ।

निगमले एलसी ग्यासमा भारी वृद्धि गरेको छ। प्रतिसिलिण्डर ग्यासमा २३५ रुपैयाँ बढाएको छ। अब ग्यास प्रतिसिलिण्डर १८ सय ९५ रुपैयाँ पर्नेछ। वृद्धि भएको मूल्य अनुसार बिहीबार राति १२ बजेपछि पेट्रोल प्रतिलिटर १८२ र डिजेल १७० पर्ने निगमले जनाएको छ। 

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा ३ रुपैयाँ १७ पैसा, डिजेलमा २ रुपैयाँ ४८ पैसा र ग्यासमा १८६ रुपैयाँ ४५ पैसाले वृद्धि भएर आएपछि नेपालमा मूल्य बढेको हो।


 


यी ४ जलविद्युत परियोजनाका लागि रु. ३६.३७ अर्बको लगानी स्वीकृत

यी ४ जलविद्युत परियोजनाका लागि रु. ३६.३७ अर्बको लगानी स्वीकृत


काठमाडौं, ८ भदौ ।  लगानी बोर्डको बैठकले ४ वटा जलविद्युत् परियोजनाका लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार लगानी बोर्डको कार्यालयमा बसेको बैठकले रोल्वालिङ खोला, छुजुङ खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजनाका लागि उक्त रकम स्वीकृत गर्ने निर्णय गरेको हो।

बैठकले तमोर जलाशययुक्त जलविद्युत् परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ।

दाङ जिल्लाको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने निर्णय पनि बैठकले गरेको छ। 

यसैगरी बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता रिसेन इनर्जी कम्पनीबाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बैठकमा पेस गरिएको छ। 

बैठकले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषदसमक्ष प्रस्ताव पेस गर्ने निर्णय पनि गरेको छ। 

यस्तै बैठकले ग्रीन क्याल्सियम एमोनियम नाइट्रेट फर्टिलाइजर फ्याक्ट्री स्थापनासम्बन्धमा अध्ययनका लागि मलेसियास्थित रिनिकोला एसडिएन बीएचडीसँग गरिने समझदारीको मस्यौदा स्वीकृत गरेको छ।


भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत कर, नेपालमा पनि मूल्य बढ्ने

भारतले प्याज निर्यातमा लगायो ४० प्रतिशत कर, नेपालमा पनि मूल्य बढ्ने


काठमाडौं, ३ भदौ । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ । उत्पादन घटेकोले आन्तरिक बजारलाई स्थिर राख्न निर्यातमा ४० प्रतिशत कर लगाएको वित्त मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा पछिल्लो हप्ता मात्रै खुद्रा बजारमा प्याजको भाउ झन्डै ६० प्रतिशतले बढेर किलोको ५० भारुसम्म पुगेको छ । यसलाई नियन्त्रण गर्न भारत सरकारले आउँदो डिसेम्बर अन्तिमसम्मका लागि निर्यातमा कर लगाएको हो । भारतले प्याज निर्यातमा पहिलोपल्ट कर लगाएको हो । विश्वमा सबैभन्दा धेरै प्याज निर्यात गर्ने देश भारतले गएको अप्रिल १ देखि अगस्ट ४ सम्ममा नौ लाख ७५ हजार टन प्याज निर्यात गरेको छ ।

यसअघि भारतीय प्याज अरू निर्यातकर्ता देशहरू पाकिस्तान, चीन र इजिप्टको प्याज भन्दा सस्तो थियो । तर अब महँगो भएकोले निर्यात कम हुने र स्थानीय बजारमा भाउ बढ्नबाट रोकिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले प्याज निर्यातमा कर लगाउँदा नेपालमा पनि भाउ बढ्ने व्यवसायीहरू बताउँछन् ।

आज आइतवार कालीमाटी तरकारी बजारमा भारतीय प्याज औसतमा किलोको ६१ रुपैयाँमा बिक्री भइरहेको छ । नेपालले यसअघि नै प्याज आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइसकेको छ । 


कस्तो छ देशको वर्तमान आर्थिक स्थिति ? ( रिपोर्टसहित)

कस्तो छ देशको वर्तमान आर्थिक स्थिति ? ( रिपोर्टसहित)


काठमाडौं, १ भदौ । नेपाल राष्ट्र बैंकले देशको वार्षिक औसत मुद्रास्फीति ७.७४ प्रतिशत रहेको जनाएको छ ।  शुक्रबार राष्ट्र बैंकले गत आर्थिक वर्षको आर्थिक तथा वित्तीय स्थितिको आधारमा सार्वजनिक गरेको तथ्यांकअनुसार आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको उल्लेख छ ।

रिपोर्टअनुसार अघिल्लो वर्ष आयात २४.७ प्रतिशतले र निर्यात ४१.७ प्रतिशतले बढेको थियो । यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.२ प्रतिशत र अमेरिकी डलरमा १२.१ प्रतिशतले बढेको छ ।


रेमिट्यान्स २१.२ प्रतिशतले बढ्यो

रेमिट्यान्स २१.२ प्रतिशतले बढ्यो


काठमाडौं, १ भदौ । विप्रषण (रेमिट्यान्स) आप्रवाह २१.२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाह १२ खर्ब २० अर्ब ५६ करोड भित्रिएको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को आर्थिक तथा वित्तीय स्थितीको तथ्यांक अनुसार यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।  

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो ।  

त्यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो । 

गत वर्षमा खुद ट्रान्सफर २०.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ४८ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ४.३ प्रतिशतले बढेको थियो । 
 


बढ्यो गाडी भाडा, यस्तो छ नयाँ भाडादर

बढ्यो गाडी भाडा, यस्तो छ नयाँ भाडादर


काठमाडौं, ३१ साउन । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएसगैं सार्वजनिक यातायातको भाडा बढेको छ। सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा त्यसभन्दा बढी वा घटी भए विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालितरूपमा अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा बढेको हो।

२०८० साउन १ को डिजेलको औसत बजार मूल्य १ सय ४४ रुपैयाँ ८३ पैसामा २०८० साउन ३१ सम्ममा २१ रुपैयाँ वृद्धि भई औसत बजार मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ ८३ पैसा कायम भएको र उक्त मूल्य पछिल्लो समायोजनका आधार लिइएको मूल्यभन्दा १४.५० प्रतिशत बढी भएकाले साउन ३१ देखि नै लागू  हुने गरी अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।
विभागका अनुसार यात्रुवाहक सवारीसाधनमा ४.७० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ६.८३ प्रतिशत भाडा वृद्धी भएको विभागले जनाएको छ।


जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय

जग्गाको कित्ताकाट पूर्ण रुपमा खोल्ने सरकारको निर्णय


काठमाडौं, ३० साउन । सरकारले जगगाको कित्ताकाट पूर्ण रुपमा खोल्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको आज बसेको बैठकले विभिन्न प्रयोजनले रोकिएको जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको हो। अर्थतन्त्रमै समस्या देखिएकाले जग्गाको कित्ताकाट पूर्ण रुपमा पुरानै अवस्था खोल्ने निर्णय सरकारले गरेको छ। 

जग्गा वर्गीकरण नभएको क्षेत्रमा पनि अब कित्ताकाट हुने भएको छ। आवासीय र व्यापारिक जग्गा ८० वर्गफिटसम्म कित्ताकाट गर्न पाइने र खेतीयोग्य जग्गा १ रोपनीसम्म कित्ताकाट गर्न पाइने गरी प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको थियो। सरकारले वर्गीकरण गरेर छुट्याएको जग्गामा कृषि, आवास र व्यावसायिकका लागि छुट्टाछुट्टै मापदण्ड र व्यावसायिक आवासमा स्थानीय सडकको मापदण्ड पूरा भएको बाटोघाटो भएका जग्गाहरुको मापदण्ड पनि कायम गर्ने गरी नियमावली ल्याउने भएको छ।

यसअघि कृषि जमिन उपत्यकामा ५०० वर्गमिटर र तराई र भित्री मधेसमा ६७५ वर्ग मिटरभन्दा कम कित्ताकाट गर्न नपाइने व्यवस्था थियो। आवासीय जग्गा १३० वर्गमिटरभन्दा कम कित्ताकाट गर्न पाइँदैन थियो।


प्रतिलिटर पेट्रोलमा ५ र डिजेल-मट्टीतेलमा १४ रुपैयाँले बढ्यो मूल्य

प्रतिलिटर पेट्रोलमा ५ र डिजेल-मट्टीतेलमा १४ रुपैयाँले बढ्यो मूल्य


काठमाडौं, ३० साउन । पेट्रोल र डिजेलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु पाँचले बढाएर मूल्य समायोजन गरेको हो । 
    
निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु एक सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य  १६४ दशमलव पाँच रुपैयाँ प्रतिलिटर कायम हुनेछ । इन्डियन आयल कार्पोरेशनबाट आज पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।


 


वैदेशिक रोजगारीमा रहेकालाई चिरख्वा हाइड्रोपावरको आईपीओ बिक्री खुला

वैदेशिक रोजगारीमा रहेकालाई चिरख्वा हाइड्रोपावरको आईपीओ बिक्री खुला


काठमाडौं, २८ साउन ।  चिरख्वा हाइड्रोपावरले आज साउन २८ गतेदेखि आईपीओ बिक्री गरेको छ।  पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले स्थानीयलाई जारी पुँजी ४० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको छ। 

कम्पनीले १०० अंकित दरका कुल ४ लाख कित्ता सेयर स्थानीयका लागि निष्कासन गरेको छ। यो आईपीओमा आयोजनाबाट अति प्रभावित क्षेत्र भोजपुर जिल्लाका स्थानीयले खरिद आवेदन दिन सक्नेछन्। 

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। उनीहरुले भोजपुरमा रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका स्थानीय शाखाहरुबाट आवेदन दिन सक्नेछन्।

स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द छिटोमा भदौ १० गते र ढिलोमा भदौ २५ गते बैंकिङ समयपछि हुनेछ।

यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने सेयरमध्ये १० प्रतिशतले हुन आउने ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन खुला गरेको छ। उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। 

वैदेशिक रोजगारमा रहेकाहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। उनीहरुले भदौ १० गतेसम्म आवेदन दिन पाउनेछन्।