10 Ashwin, 2080 / 27 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैदेशिक रोजगार


वैदेशिक रोजगारीः साउनमा २५ प्रतिशतले बढ्यो रेमिट्यान्स

वैदेशिक रोजगारीः साउनमा २५ प्रतिशतले बढ्यो रेमिट्यान्स


काठमाडौं, ३१ भदौ । चालु आर्थिक वर्षको साउन महिनामा रेमिट्यान्स आप्रवाह २५ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको एक महिनाको तथ्याँक अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा यस वर्ष रेमिट्यान्स २५.८ प्रतिशतले बढेको हो।

साउन एक महिनामा १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२.१ प्रतिशतले घटेर ३९ हजार १५२ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९.५ प्रतिशतले घटेर १६ हजार ४२३ कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो

समीक्षा अवधिमा खुद ट्रान्सफर २६.१ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १८.४ प्रतिशतले बढेको थियो ।


नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, २६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ।
श्रम आप्रवासन सम्बन्धी समस्या र तिनको समाधान सम्बन्धी दुई दिवसीय अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली कामदारहरूले अनेकन समस्या झेल्नुपरेकोमा ध्यानाकर्षण गराउँदै उक्त निर्देशन दिनुभएको हो।
सरकारले पहिलोपटक विदेशस्थित नेपाली राजदूतहरूलाई बोलाएर नेपाली श्रमिक तथा कामदारहरूले भोग्नुपरेका समस्या र कठिनाइहरूबारे छलफल गरेको हो। कार्यक्रममा राजदूतहरूले आफ्नो रिपोर्ट राख्नुका साथै आगामी कार्ययोजनासमेत निर्माण गरिएको छ।
प्रधानमन्त्री प्रचण्डले अन्तरक्रियामा राजदूतहरूले उठाउनुभएका विषयहरू सम्बोधन गर्दै निर्देशित गर्नुभएको छ। सम्बोधनमा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्ध, नेपालको पर्यटन प्रवद्र्धन र विदेशमा कार्यरत नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न जोड दिनुभएको हो।

प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलोपटक गन्तव्य मुलुकहरूका राजदुतहरूसँग छलफल कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दछु। नेपाली श्रमिक तथा कामदारहरूको सुरक्षित र मर्यादित आप्रवासनमा यस प्रकारको छलफलले महत्वपूर्ण योगदान गर्ने मैले विश्वास लिएको छु।

पछिल्लोसमय आन्तरिक रोजगारीमा देखापरेको अप्ठ्यारो अवस्थामा वैदेशिक रोजगारीले देशको युवा जनशक्तिलाई रोजगारी सिर्जनाको क्षेत्रमा सहयोग पु¥याएको छ। र, मुलुकको भुक्तानी सन्तुलनमा सहयोग लगायत पुँजी, सीप र प्रविधिले नेपालको विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र मित्रतामा समेत सहयोग पुगेको छ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरू ठगीमा पर्ने, मानव अधिकारको प्रत्याभूति र समयमै राहत उद्धार हुन नसक्नु र कार्यस्थलका विभिन्न प्रकारका जोखिममा पर्नु लगायतका समस्याहरूको सामना गरिरहेका छन्, यसको सम्बोधन हाम्रो गम्भीर चासोको विषय रहेको छ।

समग्र नेपालीको हकहित संरक्षण हुने, न्यूनतम सेवा सुविधाको प्रत्याभूति हुने, सामाजिक सुरक्षाको सुनिश्चितता र गुनासो सुनुवाइको प्रभावकारी संयन्त्र विकास गर्दै श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न पनि श्रम कुटनीतिलाई थप प्रभावकारी बनाउनु पर्दछ।

कुनै पनि नेपाली नागरिक विदेशी भूमिमा समस्यामा परेको बेला कुटनीतिक नियोगहरूले गुनासो सुन्ुवाई गरेनन् भन्ने अवस्थाको अन्त्य गर्न यहाँहरूको ध्यान जानेछ । म परराष्ट्र मन्त्रालय, राजदुत र श्रम प्रशासनसँग सम्बद्ध सबै निकायहरूलाई नेपालीको हकहितको लागि गम्भीर भएर क्रियाशील हुन निर्देशित गर्दछु।

हामीले एकातिर देशभित्रै आन्तरिक रोजगारीको अवसरहरूमा बृद्धि गर्नुपर्नेछ भने अर्कोतर्फ वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नुपर्नेछ।

मुलुकको समृद्धिका लागि श्रम क्षेत्रको भूमिका महत्वपूर्ण रहन्छ नै, आर्थिक कुटनीतिलाई पर्याप्त ध्यान दिनुपर्दछ। मुलुकको समृद्धिमा योगदान हुने गरी वाह्य लगानी अभिबृद्धि तथा नेपाली उत्पादनको बजारीकरणमा समेत यहाँहरूले पर्याप्त ध्यान दिनुहुनेछ।

नेपालमा पर्यटन विकासमा प्रचुर सम्भावना हुँदाहुँदै पनि हामीले यसको पर्याप्त लाभ लिन सकेका छैनौँ। तसर्थ, विदेशी पर्यटकको आगमन वृद्धिका लागि नेपालको पर्यटन प्रवद्र्धन गर्ने कार्यमा समेत तपाईहरूले महत्वपूर्ण भूमिका खेल्नुहुनेछ।

व्यापार घाटा नेपालको अर्थतन्त्रको ठूलो चुनौतीका रूपमा रहिआएको छ। देशगत तथा वस्तुगत व्यापार विविधिकरण गरी व्यापार सन्तुलनलाई मुलुकको पक्षमा कायम गर्नुपर्ने भएको छ। यसमा यहाँहरूको सक्रिय भूमिका रहनुपर्दछ।

हामीले नेपालीको हकहितलाई ध्यानमा राखेर वैदेशिक मुलुकसँग भएका श्रम सम्झौताहरूलाई पुनरावलोकन गर्न श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र राजदुतहरूले तत्काल प्राथमिकतामा राखी कार्य गर्नुहुनेछ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रदान गरिने सबै प्रकारका कन्सुलर सेवाहरूलाई सूचना प्रविधिमा आधारित बनाउँदै सहज र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न निर्देशन दिन्छु।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने कार्य सुरूवात भइसकेको छ। यसलाई प्रभावकारी गराउँदै गन्तव्य मुलुकमा समेत उपलब्ध सामाजिक सुरक्षाका योजनाहरूमा श्रमिक आवद्ध हुने व्यवस्था मिलाउन प्रभावकारी भूमिका खेल्नुपर्दछ। केही समयभित्रै विदेशमा रहेका सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने सरकारको लक्ष्य रहेकोमा उक्त लक्ष्य हासिल गर्न क्रियाशील रहन सम्पूर्ण राजदूतज्यूहरूमा निर्देशित गर्दछु।

दुईपक्षीय श्रम सम्झौता पुनरावलोकन र विस्तार, मागपत्रको प्रमाणीकरण, कानुनी प्रतिरक्षा, घरेलु कामदारसँग सम्बन्धित समस्याको सम्वोधन, सुरक्षित आवास, अभिलेख नभएका श्रमिकहरूको अभिलेखीकरण लगायतका विषयमा तत्काल कार्ययोजना बनाई यहाँहरूले कार्यप्रारम्भ गर्नुहुनेछ।

विदेशस्थित नेपाली दूतावासको कार्यक्षमताको कमि, साधनस्रोतको अभाव र नेपाली श्रमिकहरूको उद्दारका लागि समेत कठिनाइ भएका लगायतका विषय गम्भीर छन्। यस अन्तरक्रियामा महामहिम राजदूतज्यूहरूले जे–जति विषयहरू उठाउनुभएको छ, ती सबै विषयहरू मैले गम्भीरतापूर्वक सुनेको छु, महत्वका साथ टिपोट पनि गरेको छु। यी विषयहरूलाई सरकारले गम्भीरतापूर्वक लिई समस्या समाधानको पहल गर्नेछ। हिजो र आजको छलफलबाट हामी केही महत्वपूर्ण विषयमा निष्कर्षमा पुगेका छौँ। यस विषयहरूलाई सबै निकाय र पदाधिकारीहरूले पूर्णरूपमा कार्यान्वयनमा लैजान निर्देशित गर्दछु।

यस अन्तरक्रियामा उठेका विषयहरूलाई समेटेर परराष्ट्र मन्त्रालयले कार्य सम्पादन सूचक तयार गरी कार्य सम्पादन सम्झौता हुने प्रवन्ध मिलाउनु हुनेछ। परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा नेपाल सरकारका मुख्यसचिवबाट आवश्यक समन्वय तथा नियमित रूपमा अनुगमन र सुपरीवेक्षण गरी प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। त्यसका आधारमा सरकारले समग्र मूल्यांकनसहित कार्ययोजना बनाएर अगाडि बढ्नेछ।

श्रम गन्तव्य मुलुकमा रहेका तपाई राजदुतहरू तथा यहाँ रहेका मन्त्रालय तथा निकायहरूबीच यस प्रकारको अन्तरक्रियाले श्रम आप्रवासनमा रहेका समस्या सम्वोधन गर्न महत्वपूर्ण सहयोग पुग्नेछ। आगामी दिनमा समेत यस प्रकारको अन्तरक्रियालाई निरन्तरता दिनेछौँ।

अन्त्यमा, दुई दिवसीय अन्तरक्रियाले विदेशमा रहेका नेपाली श्रमिकहरूका समस्या समाधान गर्न, नेपालको कुटनीतिक क्षमतालाई सुदृढ र बिस्तार गर्न, देशभित्र विदेशी लगानीको वातावरण सिर्जना गर्न एवं नेपालको बहुआयमिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दछु, धन्यवाद।

All reactions:

319Madan Bhul and 318 others


क्यानडा पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने युवक पक्राउ

क्यानडा पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने युवक पक्राउ


काठमाडौं, २५ भदौ । क्यानडा पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गर्ने एक युवक पक्राउ परेका छन्। झापा गौरादह नगरपालिका-७ घर भई कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने २४ वर्षीय सुजन पुरी पक्राउ परेका हुन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार साँझ कागेश्वरी मनोहरा नगरपालिका-१ बाट पक्राउ गरेको हो। पुरीविरूद्ध भूमिराज राईले क्यानडा पठाइदिन्छु भन्दै पटक-पटक गरी १० लाख रूपैयाँ ठगी गरेको वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए।

वैदेशिक रोजगारी विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेपछि पुरीलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। पुरीलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाएको एसपी रेग्मीले बताए। 


वैदेशिक रोजगारी: श्रमिक र उनीहरूले भोग्नुपरेका समस्या समाधानमा केन्द्रित अन्तरक्रिया शुरु 

वैदेशिक रोजगारी: श्रमिक र उनीहरूले भोग्नुपरेका समस्या समाधानमा केन्द्रित अन्तरक्रिया शुरु 


काठमाडौं, २५ भदौ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक तथा कामदारहरू र उनीहरूले भोग्नुपरेका समस्या र त्यसको समाधानमा केन्द्रित रहेर २ दिने उच्चस्तरीय अन्तरक्रिया सोमबारबाट शुरू भएको छ । अन्तरक्रियामा सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवज्यूहरू, विदेशस्थित विभिन्न १३ देशका महामहिम नेपाली राजदूतहरू र कुटनीतिज्ञहरू उपस्थित छन् । अन्तरक्रियामा मागपत्र प्रमाणिकरण, जाँचबुझमा रहेका समस्या, वैदेशिक रोजगारीमा हुने ठगी, कार्यस्थलमा श्रमिकले भोगेका समस्या, मानव तस्करीको समस्या, विदेशमा रहेका कागजातविहीन नेपाली श्रमिकका समस्या, फ्रि भिषा फ्रि टिकटको अवस्था र समस्या, इ–भिसा, सिजनेवल भिसाका समस्या, नेपाली कुटनीतिक नियोगको प्रभावकारिता लगायत श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र विश्वासनीय बनाउने विविध विषयमा छलफल भइरहेको छ। यस उच्चस्तरीय अन्तरक्रियाले श्रम बजार व्यवस्थित गर्न र विदेशमा रहनुभएका नेपाली श्रमिक तथा कामदारहरूका समस्या सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।


सदिक्षा ओभरसिस प्रा.लिको १६ औं वार्षिकोत्सवमा खाद्यान्न वितरण

सदिक्षा ओभरसिस प्रा.लिको १६ औं वार्षिकोत्सवमा खाद्यान्न वितरण


न्यूज आजको संवाददाता
काठमाठौं, २५ भदौ ।
काठमाडौं सामाखुसीमा रहेको सदिक्षा ओभरसिस प्रा.लि.ले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा खाद्यान्न वितरण गरेको छ । 

संस्थाले बानेश्वरस्थित विवेक स्वच्छ सेवा केन्द्रमा पुगेर खाद्यान्नका साथै भोजन वितरण गरेको हो । सो अवसरमा ओभरसिसका सञ्चालक दिपक थापाले उक्त केन्द्रलाई खाद्यान्न हस्तान्तरणका साथै भोजन वितरण गरेका थिए । यस्तै संस्थालाई नगद रकम समेत हस्तान्तरण गरिएको छ । 

सदिक्षा ओभरसिसले आफ्नो स्थापना वर्षको अवसरमा हरेक वर्ष सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । 

समाजसेवी एवं म्यानपावर व्यवसायी थापाले विगतमा पनि विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको छन् । कोरोना महामारीको समयमा थापाकै संयोजकत्वमा टोखाका दुई सय घरपरिवारलाई राहत वितरण गरिएको थियो ।

द फस्ट जेनेरशनका संस्थापक समेत रहेका व्यवसायी थापाले आफ्ना स्वर्गीय बुबा टेकबहादुर थापाको पुण्यतिथिको अवसरमा विपी स्टडी युथ सर्कललाई नगद २५ हजार रुपैयाँ सहयोग गरेका थिए ।  यस्तै थापाले ‘हाम्रो युवा नेपाल’लाई नगद पाँच हजार रुपैयाँ सहयोग गरेका थिए । थापाले विगतमा थुप्रै संघसंस्थालाई सहयोग गर्दै आएका छन् ।
 


वैदेशिक रोजगारीः साउदीमा ४२ दिनमा ३८ जना नेपालीको मृत्यु

वैदेशिक रोजगारीः साउदीमा ४२ दिनमा ३८ जना नेपालीको मृत्यु


काठमाडौं, २२ भदौ । साउदी अरेबियास्थित नेपाली दूतावासका अनुसार ४२ दिनमा ३८ जना नेपालीको साउदीमा निधन भएको छ । दूतावासले साउन १ गतेदेखि भदौ १० सम्ममा विभिन्न कारणले साउदीमा ३८ जना नेपाली कामदारको मृत्यु भएको जनाएको छ। गत साता दूतावासले गरेको अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजागारीका लागि साउदी पुगेका ३८ नेपालीको सडक दुर्घटना, आत्महत्या र प्राकृतिक रूपमा मृत्यु भएको जनाएको हो।
कार्यक्रममा  श्रम सहचारी देवेन्द्र कार्कीले वैदेशिक रोजगारका क्रममा साउदीमा ४ लाख नेपाली कामदार रहेको बताए। जसमध्ये ४७० जना जेलमा छन्। ११ हजार १३६ जना गैरकानुनी रूपमा बसोवास गरिरहेका छन्। घरेलु कामदारका रूपमा काम गर्नेको संख्या ७९४ पुगेको छ। महिला कामदार मात्रै साउदीमा ४ हजार १७९ जना छन्। विभिन्न मुद्दा लागेका १७७ जना नेपाली साउदीमा छन्। 

दूतावासका अनुसार अलपत्र परेका श्रमिकको अपेक्षा धेरै रहेको देखिन्छ। तर दूतावासको जनशक्ति, स्रोत साधनको कमीले सम्भावना केही मात्रामा देखिन्छ। दूतावासले एक कर्मचारी बराबर ४८ हजार नेपाली कामदार हेर्नुपर्नेमा अवस्था छ।  

दूतावासका द्वितीय सचिव टिकाराम उपाध्यायले साउदीमा कार्यरत नेपाली कामदारको मृत्यु संख्या बढ्दो रहेकोले यसलाई समाधान गर्न  खानपिन र  स्वास्थ्य सुरक्षामा जोड दिन आग्रह गरे।   नेपालीको शव नेपाल पठाउन कम्तीमा एक महिना लाग्ने उनको भनाइ थियो।  

राजदूत नवराज सुवेदीले उपस्थित व्यक्तिले सोधेका प्रश्नको जवाफ दिँदै नेपाली कामदारको समस्या समाधानका लागि अवस्था परिवर्तन  हुन जरुरी रहेको बताए । उनले समुदाय बीच श्रमिक समस्याका बारेमा विषय केन्द्रित, औपचारिक र सन्देशमुलक कार्यक्रम हुनुपर्ने र दूतावासले यस्ता कार्यक्रम साउदीको विभिन्न शहरमा गर्दै जाने बताए। 

एनआरएन रियाद आरसीसी अध्यक्षय महेश घिमिरेले हालै १३ जना अलपत्र परेका नेपालीलाई खाद्यान्न वितरण गर्नुका साथै ३ जनालाई स्वदेश फिर्ताका लागि हवाई टिकटको व्यवस्था गरेको बताए। 
 


वैदेशिक रोजगारः अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी

वैदेशिक रोजगारः अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी


काठमाडौं, २२ भदौ । अष्ट्रेलिया पठाइदिन्छु भनेर ९ लाख रूपैयाँ ठगी गर्ने महिला पक्राउ परेकी छन्। भक्तपुर मध्यपुर थिमि नगरपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–२६ बस्ने ५० वर्षीया रत्न केशरी श्रेष्ठ पक्राउ परेकी हुन्।
उनलाई  शुक्रबार बिहान ७ बजे काठमाडौं महानगरपालिका–२६ सामाखुसीबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको  टोलीले पक्राउ गरेको हो। ९ लाख रूपैयाँ ठगी गरेको भन्दै श्रेष्ठविरूद्ध आशामाया लामाले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन्।

अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएको थियो। सोही आधारमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 
प्रहरीका अनुसार रत्न केशरीले आशामायालाई २० लाख रूपैयाँमा अष्ट्रेलिया पु¥याइदिने भनेकी रहिछन्। त्यही आधारमा उनले ९ लाख रूपैयाँ  दिएको र पैसा लिएपछि रत्न केशरी सम्पर्कविहीन भएको उजुरीमा उल्लेख  छ।


श्रम मन्त्रालयका प्रवक्ताको हस्ताक्षर गरेर नक्कली प्रेस विज्ञप्ति

श्रम मन्त्रालयका प्रवक्ताको हस्ताक्षर गरेर नक्कली प्रेस विज्ञप्ति


काठमाडौं, २१ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ताको हस्ताक्षर गरेर नक्कली विज्ञप्ति जारी भएको छ । मौसमी कामदार सम्बन्धमा प्रवक्ताको हस्ताक्षरको दुरुपयोग गर्दै नक्कली विज्ञप्ति जारी भएको हो । 
यो विषयमा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै त्यस्तोको पछि नलाग्न सबैमा अनुरोध गरेको छ । 
भदौ २० गते चलानी नम्बर ५०५ लेखी प्रवक्ता/सहसचिवको हस्ताक्षरसहित मौसमी कामदार सम्बन्धमा जारी भएको नक्कली प्रेस विज्ञप्तिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
मौसमी कामदार पठाउने सम्बन्धमा हालसम्म नेपाल सरकार र कोरियाली सरकारबीचमा कुनै पनि सम्झौता नभएको प्रष्ट पारेको छ । मौसमी कामदार पठाउने सम्बन्धी व्यवस्था मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ बमोजिम हुने मन्त्रालयले बताएको छ । 

प्रवक्ता डण्डुराज घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, सामाजिक सञ्जालहरूमा यसरी प्रसारित नक्कली प्रेस विज्ञप्तिमा विश्वास गरी अनावश्यक रुपमा भ्रममा नपर्न मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ ।’ 

आधिकारिक निकायको अनुमतिबिना सामाजिक सञ्जालमा वैदेशिक रोजगार सम्बन्धी विषयमा प्रचारप्रसार गरी सर्वसाधारणमा भ्रम सृजना नगर्न समेत समेत सचेत गराएको छ । 

प्रचलित कानुन विपरीत भएका हुने गतिविधिहरुलाई नियन्त्रण गर्न मन्त्रालय सदैव क्रियाशील रहेको प्रष्ट पारेको छ । 


वैदेशिक रोजगारीः ३० हजार नर्समध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आबद्ध

वैदेशिक रोजगारीः ३० हजार नर्समध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आबद्ध


काठमाडौं, २१ भदौ । वैदेशिक रोजगारीमा विदेशीने ३० हजार नर्समध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आबद्ध रहेको पाइएको छ ।  चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले वैदेशिक रोजगारीमा गएका ३० हजार नर्सहरूमध्ये १० प्रतिशत मात्रै नर्सिङ पेशामा आबद्ध रहेको बताए ।
बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा गिरीले यस्तो जानकारी दिएका हुन् । उनले राष्ट्रिय चिकित्सा शिक्षा ऐन गुणस्तर कायम गर्नका लागि बनेको बताए । राष्ट्रिय चिकित्सा शिक्षा ऐन जनताको चिकित्सा शिक्षामा पहुँच वृद्धि गर्न र शुल्क नियन्त्रणका गर्नका लागि आएको गिरीको भनाइ छ । सरकारले बनाएको नीतिअनुसार सञ्चालन भएका संस्थाहरू कम मात्रै रहेकाले त्यसको लागि नियमन जरुरी रहेको उनले बताए ।


विमानस्थलमा थपिँयो ५०० ट्रली

विमानस्थलमा थपिँयो ५०० ट्रली


काठमाडौं, १९ भदौ । त्रिभुवन विमानस्थलमा ५०० ट्रली थप गरिएको छ। अन्तर्राष्ट्रिय यात्रुको सहजताका लागि भन्दै नयाँ ब्यागेज ट्रली ल्याएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले ५०० ट्रली थप गरेको बताए। विमानस्थलमा अन्तर्राष्ट्रिय आगमनतर्फ पाँच सय नयाँ ब्यागेज ट्रली सञ्चालनमा ल्याएको उनको भनाई छ । अब यात्रुको गुनासोको सम्बोधन हुने उनको भनाइ छ । पुुराना ट्रली मर्मत गरी अपुग भएको अवस्थामा प्रयोगमा ल्याइने उनको भनाइ छ ।
 



Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom