20 Baishak, 2081 / 2 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बैदेशिक रोजगार


ईपीएस परीक्षामा थप २० हजारको आवेदन

ईपीएस परीक्षामा थप २० हजारको आवेदन


काठमाडौं, २३ पुस । कोरियन भाषा परीक्षा (ईपीएस) मा थप २० हजार ९०४ जनाले आवेदन दिएका छन् । उच्च अदालत पाटनको आदेशसँगै वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले उत्पादनतर्फ पुनः आवेदन माग गरेको थियो । त्यसमा त्यो सङ्ख्याको आवेदन परेको हो ।
उच्च  अदालत  पाटनले  शुक्रबार बालकुमारी घटनापछि पानीजहाज बनाउने काम (सिप बिल्डिङ) का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन क्षेत्रको परीक्षा आवेदनबाट वञ्चित नगराउन आदेश दिएको थियो । त्यसपछि गत पुस १६ गते पुनः आवेदन खुला गरेको थियो ।
उत्पादनतर्फ थप आवेदनसहित अहिलेसम्मकै धेरै एक लाख ६४ हजार ७१६ जनाको आवेदन परेको ईपीएस शाखाले जनाएको छ ।सो शाखाका अनुसार गत साउनमा भएको सिप बिल्डिङको परीक्षामा सहभागी हुन पुस १६ देखि १८ सम्म आवेदन माग गरिएको थियो । 
 


युरोपमा पनि संस्थागत रुपमा कामदार पठाउने कानूनी बाटो खुला

युरोपमा पनि संस्थागत रुपमा कामदार पठाउने कानूनी बाटो खुला


काठमाडौं, २२ पुस । व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर युरोप जाने प्रवृत्ति बढिरहेका बेला सरकारले संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत कामदार पठाउनको लागि कानुनी बाटो खुला गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि २०८०’ ल्याएसँगै संस्थागत माग पत्र प्रमाणीकरण प्रक्रियाको बाटो खुलेको हो ।

कार्यविधिमा मागपत्र जाँचबुझ गरी प्रमाणीकरण गर्नका लागि श्रम मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा ५ सदस्यीय मागपत्र प्रमाणीकरण समिति हुने उल्लेख छ ।

समितिमा रोजगारदाताले कामदारलाई उपलब्ध गराउने पारिश्रमिक एवम् सेवा सुविधा र विगत तीन महिनाको पारिश्रमिक वितरणको अवस्था, कामदारको कार्यस्थल, आवास, स्वास्थ्य र सुरक्षासम्बन्धी अवस्था, रोजगारदाता कालोसूचीमा परे नपरेको विवरण, रोजगारदाताको वैधानिकता, रोजगारदाताले श्रम गन्तव्य मुलुकको सरकारबाट प्राप्त नेपाली कामदार र माग गर्न दिएको स्वीकृतिसम्बन्धी कागजात पेस गर्नुपर्ने हुन्छ ।

त्यसरी मागपत्र प्रमाणीकरण भएमा खाडी क्षेत्र र मलेसियाका रोजगारदाताले एकसय जनाभन्दा कम कामदार लैजान चाहेमा ४० हजार रुपैयाँ, एकसयभन्दा माथिका लागि ६० हजार रुपैयाँ पेस गर्नु पर्ने हुन्छ । त्यस्तै, पूर्वी एसिया, जापान, कोरिया, इजरायल लगायतका देशहरुमा एकसयभन्दा कमका लागि ५० हजार र एकसयभन्दा बढीका लागि ७५ हजार रुपैयाँ पेस गर्नुपर्नेछ । युरोप तथा बाँकी अरु देशमा एकसयभन्दा कमका लागि ३५० यूएस डलर र एकसयभन्दा बढीका लागि ५ सय डलर राजस्व बुझाउनुपर्ने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिमा संस्थागत माग पत्र पेस भएको १५ दिनभित्र दूतावासले प्रमाणीकरण नगरेमा सिधै श्रम मन्त्रालयले हेर्ने व्यवस्था गरिएको छ । यसअघि वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५ अनुसार दूतावासबाट मागपत्र प्रमाणित भएपछि मात्रै कामदार भर्ना प्रक्रिया शुरु हुन्थ्यो । अब संशोधित व्यवस्थाअनुसार युरोपसहित गन्तव्य देशको रोजगारदाताले नेपाली कामदार ल्याउनको लागि नेपाली दूतावासमा मागपत्र प्रमाणीकरणका लागि पेस गर्नुपर्ने हुन्छ ।


वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लाखौँ ठगी, तीन जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै लाखौँ ठगी, तीन जना पक्राउ


काठमाडौं, १९ पुस ।  वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लाही मलंगवा घर भई हाल काठमाडौँ शान्तिनगर बस्ने बलराम कुमार महतो, झापा घर भई टोखा बस्ने गणेशकुमार कुलुङ राई र नुवाकोट घर भई हाल टोखा बस्ने रचना थापा रहेका छन् । बलरामकुमार महतोले जीवछकुमार शाहसमेत २ जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भन्दै ४ लाख ९४ हजार ५ सय रुपैयाँ ठगी गरेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको भनाई छ । त्यस्तै, गणेश राईले जापान पठाइदिन्छु भन्दै भक्तबहादुर राई समेत २ जनासँग ६ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए ।
उता २२ वर्षीया रचना थापाले रामचन्द्र कार्कीलाई पोर्चुगल पठाइदिन्छु भन्दै ९ लाख ९० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन बनेकी थिइन् । पक्राउ गरिएका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उपरीक्षक रेग्मीको भनाई छ ।


रूस र युक्रेनको श्रम स्वीकृति बन्द

रूस र युक्रेनको श्रम स्वीकृति बन्द


काठमाडौं, १९ पुस । सरकारले युद्धग्रस्त रूस र युक्रेनको श्रम स्वीकृति बन्द गरेको छ । दुवै देशबीच युद्ध चलिरहेका बेला सरकारले दुवै देशका लागि श्रम स्वीकृति दिन बन्द गरेको हो ।
वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै अर्को व्यवस्था नहुँदासम्मका लागि श्रम स्वीकृति स्थगन गरेको जनाएको छ । रूसी सेनामा गएका नेपालीले ज्यान गुमाइरहेको घटना सार्वजनिक भएपछि श्रम स्वीकृति बन्द गरिएको छ ।
 


पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको आरोपमा महिला पक्राउ

पोर्चुगल पठाइदिने भन्दै ठगी गरेको आरोपमा महिला पक्राउ


काठमाडौं, १९ पुस । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै करिब १० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा नुवाकोटको पंचकन्या गाउँपालिका २ घर भई हाल काठमाडौंको टोखा–११ मनमैजु बस्ने २२ वर्षीया रचाना थापा रहेकी छन्।

रचनाले रामचन्द्र कार्कीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु, त्यसको लागि प्रतिव्यक्ति १२ लाख रुपैयाँ लाग्छ, पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक १ लाख ३० हजार रुपैयाँ तलव हुन्छ भनी प्रलोभनमा पारेकी थिइन्।

पीडितबाट पटकपटक गरी ९ लाख ९० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पुस १८ गते मनमैजुबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।


वैदेशिक रोजगारी:रोमानिया, कतार र स्लोवेनिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारी:रोमानिया, कतार र स्लोवेनिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ


काठमाडौं, १८ पुस । रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार रूपैयाँ ठगी गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२४ बाङगेमुढा बस्ने ५० वर्षीय ढाल बहादुर बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

बुढाथोकी समेतले १४ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई फुड प्याकिङमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२५ असनबाट पक्राउ गरेको हो । 
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

यसैबीच कतार पठाइदिन्छु भन्दै २ लाख ९४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ गोठाटार बस्ने २२ वर्षीय कैलाश गिरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

गिरीले १ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाई मासिक ८० हजार रूपैयाँ तलबमा ड्राईभरको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोठाटारबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

यसैबीच स्लोवेनिया पठाइदिन्छु भन्दै २ लाख ८० हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१३ बस्ने २५ वर्षीय अजय राज शाही र गोरखा चुमनुव्री गाउँपालिका-४ घर भएकी ३५ वर्षीया छिमी सुनिन रहेका छन् ।  

उनीहरूले १ जनालाई वैदेशिक रोजगारीका लागि स्लोवेनिया पठाई फ्याक्ट्रीमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नैकापबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

 


 


क्यानडामा रोजगारी दिलाउने नाममा १० करोड ठगी

क्यानडामा रोजगारी दिलाउने नाममा १० करोड ठगी


काठमाडौं, १७ पुस ।  वैदेशिक रोजगारीका नाममा लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर कोन्ज्योसोम गाउँपालिका वडा नम्बर १ बस्ने ४७ वर्षीय लालबहादुर लामालाई शंखमुलबाट पक्राउ गरेको हो।

लामाले काठमाडौंको सी स्टार ट्रेनिङ सेन्टर खोली ठगी गरेको देखिएको छ। वैदेशिक रोजगारीको लागि लिथोनिया, क्यानडा, सिंगापुरजस्ता मुलुकहरूमा आकर्षक तलबको प्रलोभनमा युवाहरूबाट ५ लाखदेखि १५ लाखसम्म लिएकोमा ठगी गरेको भन्दै उजुरी परेको थियो।

उनले विभिन्न व्यक्तिबाट १० करोडभन्दा बढी रकम उठाएको अनुसन्धानमा खुलेको छ। ट्रेनिङ सेन्टरबाट ९९७ थान राहदानीसमेत बरामद भएको प्रहरीले जनाएको छ। 
 


ईपीएस परीक्षाका लागि आवेदन फारम भर्ने म्याद २ दिन थप

ईपीएस परीक्षाका लागि आवेदन फारम भर्ने म्याद २ दिन थप


काठमाडौं, १७ पुस । ईपीएस परीक्षाका लागि आवेदन फारम भर्ने म्याद २ दिन थप गरिएको छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले आवेदन फारम भर्ने म्याद पुस २० गतेसम्मका लागि थप गरेको हो । 
कोरियामा पानी जहाज निर्माण क्षेत्रका लागि आवेदन दिएकाहरूलाई उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन म्याद थप गरिएको हो ।
यसअघि उनीहरूका लागि आवेदन दिने समय १६ गतेदेखि १८ गतेसम्मका लागि तोकिएको थियो । वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै २ दिन म्याद थप गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।


 


रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या दश पुग्यो

रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या दश पुग्यो


काठमाडौं, १७ पुस । रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार स्याङजाका हरि अर्याल, धादिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाहको रुस–युक्रेन युद्धका क्रममा ज्यान गएको हो । यो संगै रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या दश पुगेको छ ।

राजकुमार र भरतको ३ डिसेम्बरका दिन मृत्यु भएको खबर २८ डिसेम्बरका दिन प्राप्त भएको परराष्ट्र स्रोतको भनाई छ । हरि अर्याल भने गत नोभेम्बर २९ (मंसिर १३) देखि सम्पर्क विहीन भएकोमा सोही दिन मृत्यु भएको अनुमान गरिएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१४, मान्खुका हरि यसअघि नेपाली सेनामा कार्यरत थिए । तीन वर्ष सेनामा काम गरेका उनी राजीनामा दिएर रुसतिर लागेका थिए ।
 


ईपीएस विवादः प्राविधिक समिति गठन गर्ने सहमति

ईपीएस विवादः प्राविधिक समिति गठन गर्ने सहमति


काठमाडौं, १७ पुस । ईपीएसमा देखिएको विवादका विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालस्थित दक्षिण कोरियाली राजदूतसँग छलफल गरेको छ ।

मंगलबार बिहान मन्त्रालयमा भएको छलफलमा विवाद समाधानका लागि एउटा प्राविधिक समिति बनाउने सहमति भएको छ । मन्त्रालयका प्रवक्ता राजीव पोखरेलका अनुसार दुवै पक्ष सम्मिलित प्राविधिक समितिमार्फत समस्या समाधान गर्ने सहमति भएको हो । छलफलमा कोरियाली राजदूत एच.ई. तेयोङले ईपीएस विवादमा सञ्चार माध्यममा आएका विषयहरूमा ध्यानाकर्षण भएको बताएका थिए ।