newsajako.com
पाल्पा, २२ पुस । पाल्पा रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती मधुवनमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस बिहीबार राति दुर्घटना भएको हो । घटनास्थलमै ६ जनाको मृत्यु भएको पाल्पाको बल्ढेङगढी प्रहरी चौकीले जानकारी दिएको छ ।
बस दुर्घटना हुँदा सत्यवती खुर्साने गाउँका ६ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनी गाहा, २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको हो ।
मृतकमध्ये तीन जनाको शव बसले च्यापेको अवस्थामा भेटिएको छ । प्रहरी तथा स्थानीयले उद्धार गरी घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ भने घाइतेमध्ये दुई जनाको अवस्था सामान्य छ ।