newsajako.com
काठमाडौं, १३ भदौ । नयाँ जनै फेर्दै र रक्षाबन्धन डोरो नाडीमा बाँध्दै आज (बिहीबार) जनैपूर्णिमा मनाइँदै छ । यस्तै, आजै गाईजात्रा पनि मनाइँदै छ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाउने गरिन्छ ।
यस वर्ष बिहीबार बिहान सूर्योदयमा पूर्णिमा तिथि र त्यसपछि भाद्र शुक्ल परेवा तिथि लाग्ने भएकाले जनैपूर्णिमा र गाईजात्रा एकै दिन मनाउन लागिएको हो । शुक्रबार बिहानैदेखि द्वितीया तिथि लाग्ने भएकाले परेवा तिथिमा मनाउनुपर्ने गाईजात्रा अघिल्लो दिनै मनाउनुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
जनैपूर्णिमालाई रक्षाबन्धन वा ऋषितर्पणी पनि भन्ने गरिन्छ । जनै लगाउने तागाधारीहरूले ऋषिको सम्झना गर्दै विभिन्न जलाशय, खोला, नदी, कुवा तथा धारामा गई गोबर, तुलसीको मोठको माटो, कुश, अपमार्गले स्नान गरी विशेष मन्त्रबाट मन्त्रिएको जनै लगाउने गर्छन् । ‘यज्ञोपवितं परमं पवित्रम्, प्रज्ञापतेर्यत्सहजम् पुरास्तात, आयुष्यार्मग्नम प्रतिमुन्च शुभ्रम, यज्ञोपवितं बलामस्तु तेज’ भन्ने मन्त्र उच्चारण गरी जनै लगाउने गरिन्छ ।
यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु, महेश्वरको पूजा गरी जनै मन्तरेर ( विधीपूर्वक जनैको पुजा आजा गरि मन्त्र उच्चारण गरिने र त्यसका सबै धागोको एक एक पुजा गरिने) त्यसलाई धारण गर्ने प्रचलन छ । ठाउँठाउँमा पुरोहितले विधि पु¥याएर पूजा गरेको जनै र रक्षाबन्धन धारण गराइदिने प्रचलन पनि छ ।
राजधानीको पशुपतिनाथको मन्दिर ’round बिहानैदेखि जनै फेर्न आउने र डोरो बाँध्नेको भीड लाग्ने गर्छ । पुरोहितले आआफ्ना जजमानका घरमा गई डोरो बाँधिदिने चलन पनि छ । कोटेश्वर, त्रिपुरेश्वर, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, कालेश्वर, तिलेश्वर, भक्तपुरको डोलेश्वर तथा विभिन्न जलाशय र पुरोहितका घरघरमा जनै मन्तरिने परम्परा छ ।
गाईलाई नगर परिक्रमा गराउँदै र विभिन्न व्यांग्यात्मक प्रदर्शन गर्दै आज (बिहीबार) काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न सहरमा गाईजात्रा पर्व पनि मनाइँदै छ । विशेषगरी, नेवार समुदायले मनाउने गाईजात्रामा गाई या गाईको चित्र अंकित तस्बिर लगाएका मानिसलाई नगर परिक्रमा गराउने चलन छ । गाईलाई नगर घुमाउनाले एक वर्षभरी मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउँछ भन्ने विश्वास छ ।
मरेका मान्छेको घरबाट गाई या गाईको तस्बिर लगाएर हिँड्नेलाई निकालेर नगर घुमाउँदा मृतआत्मा यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने विश्वास छ । व्यांग्यात्मक प्रदर्शन, नाटक प्रदर्शन तथा लाखेनाच पनि गाईजात्राका दिन देखाइने गरिन्छ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाउने गाईजात्रा भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाउने परम्परा छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेशपाई मुक्ति पाउने पुराणमा उल्लेख छ ।
ललितपुरको पाटनसँगै अन्य सहरमा तथा काठमाडौंको बसन्तपुरसहित अन्य स्थानमा गाईजात्रा मनाइन्छ । यस्तै भक्तपुरमा गाईजात्राको दिन ताहामच्चा र साँचा बनाउनुका साथै घिन्ताङ्घिसी र माँक प्याखँ (बाँदर नाच) देखाउने चलन छ । गाईजात्रा पर्व धुलिखेल, बनेपा, दोलखा, त्रिशूली, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौंडा, लमजुङ, पोखरालगायतका नेवार बस्ती रहेका स्थानमा मनाइन्छ । गाईजात्राका दिन हाँस्यव्यंग्य कलाकारहरूले मुलुकको राजनीति तथा सामाजिक विकृति विसंगतिप्रति व्यंग्य गर्दै मनोरञ्जनात्मक कार्यक्रम गर्दै छन् ।