22 Baishak, 2081 / 4 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


प्राधिकरणद्वारा पुनर्निर्माणमा खटिएका १९ प्राविधिक कारबाहीमा

प्राधिकरणद्वारा पुनर्निर्माणमा खटिएका १९ प्राविधिक कारबाहीमा


काठमाडौं, असार १५ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणमा खटिएका १९ जना प्राविधिकलाई कारबाही गरेको छ । भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानीय तहमा खटाइएका प्राविधिकहरुले भूकम्पपीडितलाई अनेक तबरले ठगी गरेको आरोपमा प्राधिकरणले उनीहरुलाई कारबाही गरेको हो ।

भूकम्प पीडितहरुबाट गैरकानूनी रुपमा रकम असुल गरेको, भूकम्प पीडितहरुलाई दुःख दिएको, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको हस्ताक्षर किर्ते गरी हाजिर सिफारिस गरेको, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र जिल्ला आयोजना कार्यान्वयन इकाईले दिएका निर्देशनहरु पालना नगरेका कारण उनीहरुलाई कारबाही गरिएको हो । प्राविधिकहरुको करार संझौता भंगगरी नियमानुसार कार्वाही गरिएको छ ।

कारबाहीमा पर्नेमा १२ जना इन्जिनियर, पाँच जना सबइन्जिनियर र दुई जना असिष्टेण्ट सबइन्जिनियर रहेका छन् । तीमध्ये नुवाकोटमा कार्यरत आठ जना प्राविधिक छन् भने काभ्रेपलाञ्चोकमा कार्यरत तीन जना, सिन्धुपाल्चोकमा कार्यरत दुई जना, दोलखामा कार्यरत दुई जना, धादिङमा कार्यरत दुई जनासँगै भोजपुर र सोलुखुम्बुमा कार्यरत एक–एक जना रहेका छन् ।
 


भोजपुरमा १५ सय भूकम्पपीडितले पाए नयाँ घर

भोजपुरमा १५ सय भूकम्पपीडितले पाए नयाँ घर


भोजपुर, असार १५ । जिल्लामा भूकम्पबाट क्षति भएका एक हजार पाँच सय घरको पुनर्निर्माण सम्पन्न भएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइको तथ्यांक अनुसार एक हजार पाँच सय ६९ जनाले निर्माणकार्य सम्पन्न गरी तेस्रो किस्ताबापतको रकम समेत बुझेका छन् । त्यस्तै दुई हजार ८९ घर सकिने अवस्थामा पुगेका कार्यालयले जनाएको छ । 

भूकम्पले क्षति भएका पाँच हजार चार सय ४९ घरमध्ये हालसम्म पाँच हजार एक सय ४२ ले पहिलो किस्ता लगेका छन् भने तीन हजार छ सय ५८ जनाले दोस्रो किस्ता लिएका छन् । भूकम्पले पाँच हजार चार सय ४९ घर पूर्ण रुपमा क्षति भए पनि पाँच हजार एक सय ७२ ले मात्र सम्झौता गरेका थिए । 

त्यस्तै, जिल्लाभर चार सय ५२ प्रवलीकरणका लाभग्राही रहेकामा अहिलेसम्म दुई सय १४ लाभग्राहीले सम्झौता गरेर पहिलो किस्ता लगेका छन् । कार्यालय प्रमुख राजनराज रेड्डीले जतिसक्दो चाँडो पुनर्निर्माण सक्ने काम भइरहेको बताएका छन् । 


समाजवादी पार्टीका अध्यक्ष भट्टराई हलो जोत्दै

समाजवादी पार्टीका अध्यक्ष भट्टराई हलो जोत्दै


काठमाडौं, असार १५ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई हलो जोत्दै रोपाई महोत्सवमा सहभागी भएका छन् । हरेक वर्ष असार १५ लाई धान दिवसको रुपमा मनाइदै आइएको अवसर पारेर आज भट्टराई गोरखाको पालुङटार नगरपालिकास्थित खोप्लाङ–ज्योतिचौरमा रहेको आफ्नै खेतमा रोपाईँ गर्न पुगेका हुन् ।

भट्टराईले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको फोटोमा उनी खेतमा गोरु साउँदै गरेका देखिन्छन् भने ह्याट, हाफ बाहुले कमिज र कट्टुमा  हिलाम्मे देखिन्छन् । भट्टराईले आफ्नो फेसबुकमा हो हो तारे हो हो ! हो हो माले होहो ! भन्दै असारे कामको रमाइलो माहोल झल्किने फोटो राखेका छन् । 


महिलालाई निर्ब्याजी ऋण दिइदैँ

महिलालाई निर्ब्याजी ऋण दिइदैँ


ललितपुर, असार १५ । ललितपुर महानगरपालिका ५ नम्बर वडाका अध्यक्ष विकासमान श्रेष्ठले उद्यम गर्न चाहने महिलालाई निर्ब्याजीमा एक लाख रुपैयाँसम्म सहयोग गरिने बताएका छन् । लगनखेलमा शनिबार आयोजित महालक्ष्मी महिला समुहको पाचौँ बार्षिक साधारणसभामा उनले सो जानकारी गराएका हुन् । 

महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउने प्रयास बारेको प्रशंग कोट्याउँदै वडा अध्यक्ष श्रेष्ठले भने, ‘महिला समुहमा आवद्ध ईच्छुक महिला सदस्यहरुलाई उद्यम गर्नका लागि दुई बर्षमा सावा फिर्ता गर्ने गरी  वडाले अब एक लाखका दरले निर्ब्याजीमा बिज रकम उपलब्ध गराउने छ ।’ उनले उक्त बिज रकमबाट वडावासी महिलाहरुलाई अर्थिक रुपमा आत्मनिर्भर बनाउन सघाउ पुग्ने दावी समेत गरे । 

त्यसैगरी, वडा सदस्य समेत रहेकी महालक्ष्मी महिला समुहकी अध्यक्ष मैया रिजालले समूहमा आवद्ध महिलाहरुलाई दिइदैँ आएको विभिन्न तालिमबाट उनीहरु विगतको तुलनामा आत्मविश्वासी देखिएको बताइन् । कार्यक्रममा महिला सदस्य शोभादेवी प्रधान श्रेष्ठ, वडा सदस्यद्वय अशोक श्रेष्ठ, पुनम निरौला, थसिखेल महिला समुहकी अध्यक्ष बसन्ती रिजाललगायतले मन्तव्य राखेका थिए ।


मूल्य अभिवृद्धि कर फिर्ता नभए आन्दोलन गर्ने चेतावनी

मूल्य अभिवृद्धि कर फिर्ता नभए आन्दोलन गर्ने चेतावनी


जनकपुर, असार १५ । आज जनकपुरमा पत्रकार सम्मेलन गरी नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २ ले मूल्य अभिवृद्धि कर फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले आन्तरिक राजस्व मूल्य अभिवृद्धि करको नियम ४१ (ग)मा गरिएको संशोधन होटल व्यवसायीहरुमाथिको प्रहार भन्दै तत्काल सो दफा फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएकोे हो ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २ का महासचिव मोहनप्रसाद शर्माले होटल व्यवसायीहरुले प्रयोग गर्ने डिजेल र खाना पकाउने एलपी ग्यासमा आन्तरिक राजस्व विभागले कर कट्टा हुने व्यवस्थालाई उल्ट्याएर व्यवसायीको ढाड सेक्ने गरि ल्याउन लागेको कानुनले दोहोरो मारमा पर्नेे बताए । 

सरकारले गर्न लागेको संशोधन प्रक्रिया कुनै पनि व्यवसायीको हितमा नरहेको महासंघका प्रदेश २ अध्यक्ष हिरालाल गौतमले बताए । उनले सरकारले यो नीति परिवर्तन वा संशोधन नगरे भ्रमण वर्ष २०२० समेत नराम्ररी प्रभावित हुने भन्दै ट्याक्स वृद्धि भएसँगै मूल्य वृद्धि गर्न बाध्य हुने बताए ।
 


जोगबनी हडतालले गर्दा नेपाल आउने सयौं ट्रक रोकिए सीमापारी

जोगबनी हडतालले गर्दा नेपाल आउने सयौं ट्रक रोकिए सीमापारी


मोरङ, असार १३ । जोगबनी हडतालका कारण यतिबेला नेपाल भित्रिने मालवाहक सयौं ट्रक र कन्टेनर सीमावर्ती बजार जोगबनीमा रोकिएका छन् । भारतको अररिया जिल्लाको सीमावर्ती बजार जोगबनीमा तीन दिनदेखि गरिएको हडतालका कारण भारतका विभिन्न सहरबाट आएका मालवाहक सयौं ट्रक र कन्टेनर सीमावर्ती बजार जोगबनीमा नै रोकिएका हुन् । 

जोगबनीबजारको सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले हडताल गरेका हुन् । जुन, हडतालले विराटनगर भन्सार कार्यालयको राजस्व असुलीसमेत प्रभावित भएको छ । रानी भन्सार कार्यालयका सूचना अधिकृत मणिराम पौडेलका अनुसार जोगबनीमा रानी नाकाबाट हुने आयात–निर्यात ठप्प हुँदा दैनिक १५ करोड रुपैयाँ नोक्सानी भएको छ । 

विराटनगर भन्सार कार्यालयले चालू आवमा ४२ करोड ५३ करोड ११ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भएपनि ११ महिनाको अवधिमा ३२ अर्ब १५ करोड ४८ लाख रुपैयाँमात्र राजस्व संकलन गरेको छ ।


विभागद्वारा कर छली गर्ने तीन जनाविरुद्ध मुद्दा दायर

विभागद्वारा कर छली गर्ने तीन जनाविरुद्ध मुद्दा दायर


काठमाडौं, असार १३ । राजश्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा सागर एण्ड साधना बिजनेस प्रालिका सञ्चालकसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उनीहरु विरुद्ध चार करोड ६४ लाख ४३ हजार रुपैयाँ जरिवाना तथा तीन वर्ष कैद माग दाबीसहित आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
सागर एण्ड साधना बिजनेस प्रालिका सञ्चालक लिलाबहादुर घिमिरे र गङ्गाबहादुर घिमिरेले मालसामानको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण तथा उत्पत्तिको मुलुकसमेत फरक पारी न्यून मूल्यको कारोबार घोषणा गरी कर छली गरेकाले मुद्दा चलाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जनाए । 
राजश्व चुहावट गर्ने कार्यमा दीपेन्द्रराज पाण्डेले भन्सार एजेन्टको प्रतिनिधि भई कार्य गरेकाले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार उनी विरुद्धसमेत मुद्दा चलाइएको मैनालीले जानकारी दिए । अनुसन्धानमा मेची भन्सार कार्यालयबाट ख्यातिप्राप्त ब्रान्डका मालवस्तुलाई सामान्य ब्राण्डका र अर्कै मालवस्तु भनि पैठारी गरेर राजश्व चुहावट गरेको पाइएको विभागले जनाएको छ ।

विभागले दुई करोड ३२ लाख २१ हजार रुपैयाँ बिगो बराबरको मालवस्तु जफत गरी सोको दोब्बर हुने चार करोड ६४ लाख ४३ हजार रुपैयाँ जरिवाना तथा तीन वर्ष कैद माग दाबी गरिएको जनाएको छ । उनीहरुले मेची भन्सार कार्यालयबाट जाँचपास गराई पैठारी गरेका जुत्ता उत्पत्तिको मुलुक इन्डोनेसिया, भियतनाम हुनुपर्नेमा चीन मात्र उल्लेख गरेको तथा ख्यातिप्राप्त ब्रान्ड अन्य माल वस्तुसमेत राजश्व चुहावट गर्ने दुरासय राखी मालसामानको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, गुणस्तर एवं मालवस्तुको उत्पत्तिको मुलुकसमेत फरक पारी न्यून मूल्यको कारोबार देखाइ कर छल्ने प्रपञ्च रचेको विभागको आरोप छ । 


कुटो बोकेर सरसफाईमा जुटे उपराष्ट्रपति पुन

कुटो बोकेर सरसफाईमा जुटे उपराष्ट्रपति पुन


काठमाडौं, असार १३ । उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) सरसफाई कार्यमा जुटेका छन् । महिनाको एक दिन श्रममा खट्ने बताएका उपराष्ट्रपति पुन आज बिहान लौनचौरस्थित उपराष्ट्रपति कार्यालय र निवास परिसरमा परिसरको सरसफाई जुटेका हुन् । 

उपराष्ट्रपतिले आफ्ना सहयोगी, सुरक्षाकर्मी र कर्मचारीहरुसहित ग्रीनहाउस परिसरको सरसफाई गरेका छन् । हाफ पाइन्ट, टिसर्ट लगाई कुटो बोकी सफाईमा निस्केका उनले महिनाको कम्तिमा एक दिन श्रममा खट्ने बताएका छन् । 
 


यार्सागुम्बा राजश्वका विषयमा विवाद भएपछि कर्मचारीहरुबीच कुटाकुट

यार्सागुम्बा राजश्वका विषयमा विवाद भएपछि कर्मचारीहरुबीच कुटाकुट


जाजरकोट, असार १३ । शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाका कर्मचारीहरुबीच कुटाकुट भएको छ । यार्सागुम्बा संकलनकर्ताबाट राजश्व उठाएर कार्यालयमा फर्किएका चार जना कर्मचारीले मदिरा सेवन गरेर कार्यालयमा गई कुटाकुट मच्चाएका हुन् । 

उक्त कुटपिटबाट कार्यालयका प्रमुख प्रमोदकुमार यादव घाइते भएका छन् । आक्रमणमा संलग्न भएको भन्दै सात कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । यार्सागुम्बा संकलनकर्ताबाट टोलीमा सात जना कर्मचारी रहेका थिए । 

असार ८ गते बिहान सेनाको सुरक्षासहित निकुञ्जको पोष्टबाट आएका सात कर्मचारीले कार्यालय प्रमुख यादवलाई दुनैस्थित बैंकमा रकम जम्मा गर्न अनुमति मागेका भए पनि कार्यालय प्रमुखले पूरै हिसाब नहेरी जम्मा नगर्न अनुरोध गरेपछि कर्मचारी र कार्यालय प्रमुखबीच विवाद बढेको थियो । कार्यालय प्रमुखको आग्रह विपरीत सात कर्मचारीले निकुञ्जमा उठाएको ७० लाख रुपैयाँ रकम बैंकमा जम्मा गरिसकेको पाइएको छ । रकम जम्मा गरी आएका सात जना कर्मचारीलाई सुलिगाड निकुञ्जको कार्यालयमा बिहान ११ बजे सुरक्षाका लागि खटिएको सेनाले जाँच गर्दा थप विवाद भएको थियो । जाँचपछि शान्त रहेका कर्मचारी देवेन्द्र जिसी, मनिकृष्ण पाण्डे, हरि रावल, डिल्ली सुनार, महेश्वर रावल, खगेन्द्र भण्डारी, प्रकाश बुढाले बेलुकी मदिरा सेवन गरेर कार्यालय प्रमुख यादवमाथि हातपात गर्नुका साथै अपशब्द बोलेर आक्रमण गरेको प्रमुख सूचना अधिकारी छत्र खड्काले बताए । 

निकुञ्जबाट आएका सात जना कर्मचारीले र कार्यालयमा रहेका कार्यालय प्रमुख यादव, गोपाल खनाल, छत्र खड्का, अरुण चौधरीमाथि आक्रमण गरेको आरोप लागेको छ । झगडालाई नियन्त्रणमा लिनका लागि निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाले बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिएको बताइएको छ । उता सात जना कर्मचारीले आफूहरुलाई सेनाले कुटपिट गरेको आरोप लगाएका छन् । 

बैंकमा रकम जम्मा गरेको भन्दै आफूहरुमाथि कार्यालय प्रमुखको निर्देशनमा सेनाले कुटपिट गरेको आरोप लगाएका छन् । अहिले कार्यालय प्रमुखमाथि कुटपिट गरेको भन्दै सात जना कर्मचारी प्रहरीको नियन्त्रणमा रहेका छन् । निकुञ्जले हातपातमा संलग्न कर्मचारीलाई जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरी पक्राउ गर्न लगाएको हो । पक्राउ परेकामध्ये दुई जनालाई आर्थिक अनियमितता गरेको भनी पटक पटक जिल्ला प्रशासन कार्यालयले स्पष्टिकरण सोधिएको निकुञ्जले बताएको छ । 

यता पक्राउ परेका कर्मचारीलाई छुटाउनका लागि आधिकारिक ट्रेड युनियनले ज्ञापनपत्र बुझाउँदै प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीलाई तत्काल नछोडे कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् । यो वर्ष डोल्पामा तीन करोड रुपैयाँ राजश्व संकलन भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए । 


महिलालाई सिरिन्ज घोच्दै फरार हुने होटल व्यवसायी पक्राउ

महिलालाई सिरिन्ज घोच्दै फरार हुने होटल व्यवसायी पक्राउ


काठमाडौं, असार १३ । महिलाहरुलाई श्रृखलावद्ध रुपमा सिरिन्ज घोची फरार हुने व्यक्ति पक्राउ परेका छन् । प्रहरीले आक्रमणमा संलग्न महाराजगञ्जमा होटल व्यवसाय गर्ने सन्तोष कार्कीलाई पक्राउ गरेको हो । 

पछिल्लो समय महिलाहरुमाथि श्रृखलाबद्ध रुपमा शंकास्पद् ‘सिरिन्ज’ आक्रमण भएपछि धेरै मानिस त्रासमा पर्दै आएका थिए । आक्रणकारी पक्राउ नपर्दा पीडितलगायत धेरै जना आफूलाई पनि त्यस्तो घटना पर्ने हो कि भन्ने तनावमा थिए । 

रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एआईभीविरुद्धको एआरटी औषधिसमेत चलाइएको र हेपाटाइटिसविरुद्धको भ्याक्सिन दिइएको छ ।

आफूमाथि सिरिन्ज आक्रमण भएको भन्दै केही युवतीले उजुरी दर्ता गराएपछि प्रहरीले अनुसन्धान थालेको थियो । पक्राउ परेका कार्कीले ढल्कु र पकनाजोल क्षेत्रको घटनामा आफ्नो संलग्नता स्वीकारेका छन् । उनले सिरिन्ज नभई सुरमा काठको सुइरो र पछि ढलान किलोले घोचेको बयान दिएका छन् । तर आक्रमण गर्नुको कारण भने ‘रमाइलो’का लागि भनेका छन् । उनको बयानलाई भने प्रहरीले विश्वास गरिसकेको छैन र अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार महाराजगञ्जमा होटल व्यवसाय गर्ने उनी राति १० बजे होटल बन्द गरेर मोटरसाइकलमा सोह्रखुट्टे, टंकेश्वर हुँदै नैकापस्थित कोठामा जान्थे । घर जाने क्रममा बाटोमा एक्लै भेटिएका महिलाहरुलाई आक्रमण गर्थे । घटनामा प्रयोग भएको बा४७प १३३१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार यसबारे थप अनुसन्धान भइरहेको छ ।