22 Baishak, 2081 / 4 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


१८ वर्षीय यादवलाई ६ वर्ष कैदको फैसला 

१८ वर्षीय यादवलाई ६ वर्ष कैदको फैसला 


राजविराज, असार ११ । सप्तरी जिल्ला अदालतले बालिका बलात्कार गर्ने एक युवकलाई मंगलबार ६ वर्ष कैदको फैसला सुनाएको छ । मंगलबार जिल्ला न्यायाधीश नन्दकिशोर प्रसाद यादवको इजलासले जिल्लाकै बोदे बर्साइन नगरपालिका वडा नम्वर ७ मानराजाका १८ वर्षीय घुरन कुमार यादवलाई ६ वर्ष कैद सजाय र ५० हजार रुपैयाँ क्षतिपूर्ति  भराउने फैसला सुनाएको हो । 

जिल्ला अदालतको आदेशमा यादव २०७५ बैशाख ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थिए । घरमा कोही नभएका बेला २०७४ चैत ९ गते १६ वर्षीया किशोरीको घरमा प्रवेश गरी बलात्कार गरेको आरोपमा पीडितले २०७४ चैत १० गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दर्ता गरेका थिईन् ।


लोकसेवाको आवेदन भर्नेको संख्या पुग्यो साढे तीन लाखबढी

लोकसेवाको आवेदन भर्नेको संख्या पुग्यो साढे तीन लाखबढी


काठमाडौं, असार ११ । लोकसेवाको आवेदन भर्नेको संख्या साढे तीन लाखभन्दा बढी पुगेको छ । लोकसेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन विवादित बने पनि आवेदन दिनेहरु संख्या भने दिनहुँ बढिरहेको छ । विज्ञापन खुलेपछि २८ दिनमा तीन लाख ८३ हजार चार सय ९५ जनाले आवेदन भरिसकेका छन् ।

स्थानीय तहका लागि खुलाइएको विज्ञापन समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन स्थगित गर्न निर्देशन दिएको छ । विज्ञापनलाई लिएर सर्वोच्च अदालतमा रिटसमेत परेको छ । 

आवेदन दिनेमध्ये खुलामा तीन लाख ७८ हजार छ सय २२, महिलातर्फ ९२ हजार तीन सय ६०, आदिवासी जनजातितर्फ ३९ हजार दुई सय ३२ हजार, मधेशीतर्फ २२ हजार चार सय ७३, दलिततर्फ दुई हजार सात सय ९७, अपांगतर्फ एक सय ३७ र पीछडिएका क्षेत्रतर्फ एक सय सात जनाको आवेदन परेको छ, जुन संख्या आज बिहान ११ बजेसम्मको हो । आवेदन दिने समय अझै एक सातासम्म भएकोले यो संख्या अझै बढ्नेछ ।

आयोगले नौ हजार एक सय ६१ पदमा जेठ १५ गते विज्ञापन खुलाएको थियो । आयोगले विज्ञापन खुलाउँदा ५५ प्रतिशत खुला र ४५ प्रतिशत समावेशी बनाउनुपर्ने संवैधानिक व्यवस्था छ । जसअनुसार, नौ हजार एक सय ६१ संख्यामध्ये समावेशीका लागि त्यसको ४५ प्रतिशत अर्थात चार हजार एक सय २२ पद हुनुपर्ने थियो । तर आयोगले दुई हजार दुई सय ६२ मात्रै समावेशीका लागि छुट्याएको भन्दै सत्तापक्ष र प्रतिपक्ष दुबैले विरोध गर्दै आएका छन् ।


प्रदेशले समाजिक रुपान्तरणलाई पहिलो प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री राउत

प्रदेशले समाजिक रुपान्तरणलाई पहिलो प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री राउत


♦ रामनारायण यादव

जनकपुर, असार ११ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाजिक रुपान्तरणलाई पहिलो प्राथमिकतामा राखेर अघि बढिरहेको बताएका छन् । बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत महिलाको लागि शुरु गरिएको लोकसेवा तयारी कक्षाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

महिलाहरु सशक्त नभएसम्म समाजिक रुपान्तरण सम्भव नहुने र समाजिक रुपान्तरण नभएसम्म प्रदेश समृद्ध नहुने भन्दै मुख्यमन्त्री राउतले प्रदेश समाजिक रुपान्तरणको महत्वपूर्ण चरणमा प्रवेश गरेको समेत दाबी गरे । साथै, उनले प्रदेश सरकारले सरकारी सेवामा महिलाहरुको पहुँचलाई सुनिश्चित गर्न लोकसेवा तयारी कक्षा संचालन गरेको उल्लेख गरे । उनले प्रदेश सरकारले महिलाहरुको सशक्तिकरणको लागि बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरीलाई शिक्षा, बीमा, साइकल वितरण, सामुदायिक विद्यालयहरुमा छात्रामैत्री शौचालयको निर्माण जस्ता कार्यक्रमहरु अघि सारेको बताए ।

मुख्यमन्त्री राउतले छोरीहरुलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत पहुँच बढाउन प्रदेश प्रहरी र निजामति सेवामा ५० प्रतिशतको आरक्षण गर्ने मुलुककै पहिलो प्रदेश बनेको समेत बताए । कौटिल्य इन्स्टिच्युटसँगको सहकार्यमा प्रदेश सरकारले पहिलो चरणमा एक सय एकजना महिलालाई लोकसेवाको तयारी गराउन लागेको जनाइएको छ । 

त्यसैगरी, राजर्षि जनक क्याम्पसका प्रमुख धर्मेन्द्र झाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्य सचिव दिपक सुवेदीसहितका वक्ताहरुले सम्बोधन गरेका थिए ।


पाँचथरमा गएराति गएको पहिरोबाट दर्जनौं घरपरिवार विस्थापित

पाँचथरमा गएराति गएको पहिरोबाट दर्जनौं घरपरिवार विस्थापित


पाँचथर, असार ११ । पाँचथरको याङवरक गाँउपालिका–२ स्थित फलैँचाको चिङ्मा, बेतेनी, मुक्लाबुङ र धिमालेमा पहिरो गएको छ । अविरल बर्षाका कारण गएराति १ बजेदेखि जान शुरु भएको पहिरोका कारण दर्जनौं घरपरिवार विस्थापित भएका हुन् । 

स्थानीयका अनुसार पहिरोका कारण चिङ्माका पहलमान राईको घर पुरिएको छ । उनको घरमा भएका पशु चौपायाहरु समेत पुरिएको छ । पहिरोका कारण तीनवटा टोलका मानिसहरु विस्थापित भएको बताइएको छ । प्रहरीका अनुसार विस्थापितहरुको यकिन विवरण आउन बाँकी रहेको छ । घटनास्थलमा सीमा प्रहरी चौकी च्याङथापु र प्रहरी चौकी फलैँचाको प्रहरी टोली खटिएको छ । 


भारतको धौलीगंगा बाँध खोलिने भएकोले सतर्क रहन आग्रह

भारतको धौलीगंगा बाँध खोलिने भएकोले सतर्क रहन आग्रह


बैतडी, असार ११ । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् आयोजनाको बाँध शुक्रबार खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार असार १३ गते राति १२ बजेदेखि साउन १४ गते बेलुका ६ः३० बजेसम्म ‘सिफ्ट फ्लशिंग’, सरसफाइको कार्य हुने भएकाले महाकाली नदीमा जलस्तर बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको हो ।

बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले सिफ्ट फ्लशिंगको लागि बाँधको ढोका खोलिएपश्चात् महाकाली नदीमा पानीको सतह बढ्न जाँदा तटीय क्षेत्रमा जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् । महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मत घाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालयले एक सूचनासमेत प्रकाशन गरेको छ ।  यही असार १४ गते बेलुकासम्म बाँध खोलिने भएकाले पनि १५ गते बेलुकासम्म तटीय क्षेत्रमा बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्नसमेत प्रजिअ पौडेलले आग्रह गरे । 

परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण उक्त क्षेत्रका नागरिकलाई पनि नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगा परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्व सतर्कता अपनाउन सजिलो भएको छ । वि.सं.२०७० मा धौलीगंगाकै बाँधका कारण दार्चुला सदरमुकाममा अर्बौंको क्षति भएको थियो ।


महिला चेम्बरद्वारा ‘सफल उद्यमीको सिर्जना’ विषयक कार्यक्रम सम्पन्न

महिला चेम्बरद्वारा ‘सफल उद्यमीको सिर्जना’ विषयक कार्यक्रम सम्पन्न


काठमाडौं, असार १० । नेपाल महिला चेम्बरले सफल उद्यमीको सिर्जना बिषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । जमलस्थित नाचघरमा आज आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा उद्यमशीलता विज्ञ तथा उत्प्रेरक आशुतोष तिवारीले सफल उद्यमी बन्न अपनाउनुपर्ने सावधानी, अबलम्बन गर्नुपर्ने उपायलगायतका बिषयमा जानकारी गराउनुको साथै सहभागीहरुले राखेका जिज्ञासाको जवाफ दिएका थिए । 

प्रस्तुत सवाल जवाफका क्रममा उत्प्रेरक तिवारीले सफल ब्यवसायी बन्न धैर्यता, आत्मविश्वास, सहकार्यको भावना, उद्यमी र कामदारबीच समधुर सम्बन्ध, सेयरधनीबीच समझदारी, परिकल्पनाकार उद्यमीप्रति सम्मान, निर्यातमुखी सोच र उद्यम आवश्यक रहने कुराप्रति जोड दिएका थिए ।  

त्यसैगरी, नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले सफल उद्यमी बन्न उत्प्रेरणा दिने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउदै नेपाल महिला चेम्बर उद्यमशिलताको विकासका निम्ती लागि पर्दै जाने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बरका पदाधिकारीहरु, नेपाल महिला चेम्बरकी उपाध्यक्ष सुश्मा शर्मा, सचिव लिमा अधिकारी, उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन, महिला उद्यमीलगायतको बाक्लो उपस्थिति रहेको थियो । त्यस्तै, कार्यक्रममा सुशिला आर्ट एकेडेमीले सांस्कृतिक प्रस्तुती गरेको थियो ।  


औषधि व्यवसायी संघद्वारा वृद्धवृद्धालाई सहयोग

औषधि व्यवसायी संघद्वारा वृद्धवृद्धालाई सहयोग


लमजुङ, असार १० । नेपाल औषधि व्यवसायी संघ लमजुङले आफ्नो ४६औँ स्थापना दिवसको अवसरमा वृद्धवृद्धालाई सहयोग गरेको छ । संघल सो अवसरमा स्वास्थ्य परिक्षण तथा खाद्यान्न वितरण कार्यक्रम आयोजना गरी सर्वोदय सेवाश्रममा रहेका वृद्धवृद्धालाई रक्तचाप र सुगरलगायत स्वास्थ्य परिक्षण गरी खाद्यान्य तथा फलफूल वितरण गरेको हो ।

संघका अध्यक्ष धनु देवी पियाको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलिया थिए भने उपाध्यक्ष देवानन्द खनालले स्वागत तथा कार्यक्रमको बारेमा जानकारी दिएका थिए । महासचिव ईश्वर जोशीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा लमजुङका औषधि व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।


 


‘हिरो अफ दि युथ सोसियल इन्टरपिनर अवार्ड’बाट समाजसेवी गुरुङ सम्मानित

‘हिरो अफ दि युथ सोसियल इन्टरपिनर अवार्ड’बाट समाजसेवी गुरुङ सम्मानित


काठमाडौं, असार १० । समाजसेवी जगतबहादुर गुरुङ ‘हिरो अफ दि युथ सोसियल इन्टरपिनर अवार्ड’बाट सम्मानित भएका छन् । काठमाडौंमा आयोजित राष्ट्रिय पर्यटन पत्रकार संघको छैठौँ बार्षिक साधारणसभामा गुरुङलाई सम्मान गरिएको हो । 

उक्त कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले खादा, माला र मेडलसहित सम्मानपत्र दिएर उनलाई सम्मान गरेका थिए । सम्मानित भएपछि गुरुङले आफूलाई थप जिम्मेवारी थपिएको महसुस भएको बताए । उनले अझै शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफू सधैं सक्रिय रहेर काम गरिरहने बताए । 

दुःख कष्ट, अपाङ्गता, शिक्षा, स्वास्थ्य, जोखिम वा विपत्तिमा परेका नेपालीको उद्धार गर्ने, नेपालीहरूको एकताका लागि सक्रिय भूमिका निर्वाह गर्ने, देशको इज्जत एवं गौरव बढाउने, कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउनेलगायत थुप्रै कार्यहरुमा संलग्न गुरूङको सामाजिक काममा ठूलो योगदान रहदैं आएको छ ।

सोही अवसरमा पर्यटनमा लागेर विभिन्न क्षेत्रमा क्रियाशिल अन्य विभिन्न व्यक्तित्वहरुलाई पनि सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । सो अवसरमा संघले नेपालको पर्यटन र भिजिट ट्वान्टी ट्वान्टीलाई मध्येनजर गर्दै बहस कार्यक्रम समेत संचालन गरेको थियो ।


बन्दले शैक्षिक संस्था र लामो दूरीको यातायात बढी प्रभावित

बन्दले शैक्षिक संस्था र लामो दूरीको यातायात बढी प्रभावित


काठमाडौं, असार १० । नेत्रविक्रम चन्द(बिप्लव) समुहको आजको बन्दले देशभरका शैक्षिक संस्था र लामो दूरीका यातायात प्रभावित भएका छन् । सर्लाहीमा प्रहरी कारवाहीमा मारिएका आफ्ना जिल्ला नेता कुमार पौडेलको हत्याको विरोधमा विप्लव समुहले गरेको आजको बन्दको असर शैक्षिक संस्था र लामो दुरीको यातायातमा बढी परेको हो । 

आज शैक्षिक संस्था पूर्णरुपमा बन्द भएका छन् भने लामो दूरीका सवारीसाधन पनि ठप्प छन् । प्रहरीका अनुसार काठमाडौं उपत्यकामा बाहिरबाट आएका सवारी साधन प्रवेश गरेका छैनन् भने काठमाडौंमा पनि सवारी साधन कम चलेका छन् । टिकट काउन्टर फाट्टफुट्ट खुलेको प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार १ नम्बर प्रदेशमा सवारी साधनहरु चलेका छैनन् । बाहिर जाने सवारी साधनहरु नछुटेको, काउन्टरहरु बन्द रहेको र शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द रहेको बताइएको छ । प्रदेश दुईमा लामो दूरीका सवारी साधन चलेका छैनन् । तर बजार, कारखाना ७५ प्रतिशतजति खुल्ला रहेको प्रहरीले जनाएको छ । ३ नम्बर प्रदेशमा लामो दूरीका सवारी साधन चलेका छैनन् । काभ्रेका काउन्टर सबै खुलेका छन् भने अन्य स्थानमा बन्द छन् । गण्डकी प्रदेशमा लामो दूरीका सवारी साधन नचलेको, बजारहरु फाट्टफुट्ट चलेको, काउन्टरहरु सबै बन्द रहेको, शैक्षिक संस्थाहरु सबै बन्द रहेको, छोटो दूरीका सवारी साधनहरु बजार एरियामा केही चलेको प्रहरीले जनाएको छ । ५ नम्बर प्रदेशमा लामो तथा छोटो दूरीका सवारीसाधन नचलेको, काउन्टरहरु सबै बन्द रहेको, शैक्षिक संस्था फाट्टफुट्ट चालु रहेको, बजार, पसल र होटल खुलेका र अन्य व्यवसाय बन्द रहेका छन् । 

कर्णाली प्रदेशका कुनै पनि जिल्लामा लामो दूरीका सवारी साधन नचलेको, काउन्टरहरु सबै बन्द रहेको, कालिकोट र हुम्लामा शतप्रतिशत खुला रहेको अन्य जिल्लाहरुमा फाट्फुट्ट चलेको, शैक्षिक संस्थाहरु बिहान खुलेको बताइएको छ भने सुदूरपश्चिम प्रदेशमा रात्री चलेका सवारी साधनहरुलाई स्कर्टिङ गरी गन्तव्य स्थानतर्फ लगिएको छ भने लामो दूरीका सवारी साधनहरु नचलेको, लोकल पनि नचलेको, काउन्टरहरु सबै बन्द रहेको, शैक्षिक संस्थाहरु फाट्टफुट्ट चलेको प्रहरीले जनाएको छ । 


पौडेल मृत्यु प्रकरणः गृहमन्त्रीको कुरा सत्तापक्षकै सांसदले पत्याएनन

पौडेल मृत्यु प्रकरणः गृहमन्त्रीको कुरा सत्तापक्षकै सांसदले पत्याएनन


काठमाडौं, असार ९ । सर्लाहीका बिप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज कुमार पौडेलको हत्या प्रहरी मुठभेडमा भएको भन्दै गृहमन्त्री रामबहादुर थापाले दिएको बयानलाई नेकपाकै सांसदले अस्वीकार गरेका छन् । संसदको राज्यव्यवस्था समितिको आजको बैठकमा पौडेलको हत्या प्रकरणलाई लिएर सत्तापक्षकै सांसदहरुले गृहमन्त्री र प्रहरी प्रशासनको शैलीमाथि प्रश्न उठाएका हुन् । 

गत असार ५ गते सर्लाहीमा बिप्लव नेतृत्वको नेकपाका जिल्ला नेता पौडेलको मृत्युमा प्रहरीले मुठभेड भने पनि सांसदहरुले त्यसलाई कलाबिहिन नाटक भनेका छन् । कतिपय सांसदहरुले यो घटनापछि सरकारले नै पुन द्वन्द्व सिर्जना गर्न खोजेको आरोप समेत लगाएका छन् ।

सोमबार समितिले गृहमन्त्री थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालाई बैठकमा डाकेर छलफल गरेको थियो । छलफलमा गृहमन्त्री थापाले प्रहरीसँगको मुठभेडमा पौडेलको मृत्यु भएको दाबी पेश गरेपनि सांसदहरुले प्रतिप्रश्न गर्दै सरकारको भनाईमा अविश्वास प्रकट गरेका थिए । गृहमन्त्री थापाले प्रहरीको गस्तीमा रहेका बेला दुइटा अन टेस्ट लेखिएको मोटरसाइकलमा आएका चार जना व्यक्तिले प्रहरीलाई लक्षित गरी फायर गरेकाले प्रहरी टोलीले आत्मरक्षाका लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमा मृत्यु भएको भनेका थिए । 

नेकपाकी सांसद रेखा शर्माले ‘संकटकालका बेला आफू एक वर्ष आर्मीको क्याम्पमा बसेको उल्लेख गर्दै भित्र हातखुट्टा भाँचेर बाहिर लगेर मुठभेड भन्ने गरिएको देखेको उल्लेख गर्दै’ गृहमन्त्रीलाई घटना पुष्टि गर्न चुनौती दिइन् । उनले कुमार पौडेलको हात चार–पाँच ठाउँमा भाँचिएको फोटो सार्वजनिक भएको भन्दै त्यसबारे गृहमन्त्रीको जवाफ मागिन् ।’ यो घटनाको राम्रोसँग छानबिन हुनुपर्छ’, शर्माले भनिन्, ’यो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा प्रोत्साहन भैरहेको छ ।’

नेकपाकै सांसद एवम् पूर्वगृहमन्त्री जनार्दन शर्माले पनि पौडेलको पहिला हातखुट्टा भाँचेर गोली हानिएको अवस्था कसरी मुठभेड हुनसक्ने बताए । शर्माले गृहमानन्त्री थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल उपस्थित बैठकमा भने, ‘के गोली हानेपछि भाँच्चियो हातखुट्टा ? यस्तो घटनाले विद्रोहमा जनतामा असन्तुष्टि आउँछ ।’ उनले आफूहरू विगतमा निहत्था मारिएको भन्दै गृहमन्त्रीलाई प्रश्न गरे, ‘के हामी त्यही प्रवृत्ति दोहोर्याउन चाहन्छौं ?’ उनले प्रहरीले कानुनी कारबाहीमा साथ हुने तर हत्यामा साथ नहुने बताए । यो मुठभेड हो भन्ने लाग्दैन’, शर्माले भने । साथै, उनले बिप्लवले मुठभेड चाहेकाले सरकारले त्यतातिर लैजान नहुने बताए । उनले गृहमन्त्रीलाई प्रहरीको गल्ती सुधार्न लाग्न आग्रहसमेत गरे । 

त्यसैगरी, नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले पनि घटनाबारे परिवारबाट फरक विवरण आएको भन्दै घटनाको निष्पक्ष छानबिन गर्न र फेरि देशलाई द्वन्द्वमा लाने काम नगर्न आग्रह गरिन । त्यस्तै, सांसदद्वय रेखा शर्मा, दिलेन्द्रप्रसाद बडु, यशोदा सुवेदी, महेश्वरजंग गहतराज, रामसहायप्रसाद यादव, मिना पाण्डे, झपट रावल, तिर्था गौतमलगायतले पौडेलको मुठभेडमा मारिएको नभई प्रहरीको नाटक भएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए । 

सांसदहरुको प्रश्नको जवाफ दिंदै गृहमन्त्री थापाले विप्लवसँगको समस्या गम्भीर समस्या भन्दै राजनीतिक रुपमै हल गर्नुपर्छ भनेर प्रयत्न भइरहेको उल्लेख गरे । मन्त्री थापाले सुझावको ध्यानाकर्षण भएको बताउदै छानविन गर्ने जानकारी पनि गराए ।  राज्यव्यवस्था समितिको बैठकले मन्त्री थापालाई एक हप्ताभित्र घटनाको प्रतिबेदन बुझाउन निर्देशन दिएको छ ।