22 Baishak, 2081 / 4 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


तीन तहको सरकारको समन्वयमा अनुभूति हुने गरी काम गर्नुपर्छ : अध्यक्ष प्रचण्ड

तीन तहको सरकारको समन्वयमा अनुभूति हुने गरी काम गर्नुपर्छ : अध्यक्ष प्रचण्ड


काठमाडौं, असार ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तीन तहको सरकारको समन्वयले विकास र समृद्धि सम्भव हुने बताएका छन् । आज माडी नगरपालिकाको तेस्रो नगरसभामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले स्थानीय, प्रदेश र संघ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको बताएका हुन् । 

साथै, अध्यक्ष प्रचण्डले अहिले तीनै तहको समन्वय गर्ने काम भइरहेको समेत बताए । कानून निर्माणको क्रममा रहेका कारण तीन तहको समन्वयमा केही समस्या देखिए पनि पछि समस्या समाधान हुने उनको बताए । अहिलेको परिवर्तन गुणात्मक भएको उनको भनाइ थियो । 

अध्यक्ष प्रचण्डले पहिलाका परिवर्तन मात्रात्मक भए पनि राजा फालेर गणतन्त्र ल्याउनु सानो परिवर्तन नभएको भन्दै अब जनताले विकासमा परिवर्तन चाहेको बताए । पुरानै संरचना र पुरानै कानूनमा काम गर्न कठिन भएको बताउँदै उनले भने, ‘पुराना ऐन कानून र काम गर्ने तरिकामा परिवर्तन नआए नयाँ संरचनाले काम गर्न सकिँदैन ।’ 

त्यसैगरी, माडीका समस्या र सम्भावना विशिष्ट प्रकृतिका रहेको भन्दै अध्यक्ष प्रचण्डले समस्या समाधान गर्दै अघि बढ्ने तर्फ तीनै तह लाग्नुपर्नेमा जोड दिए । माडीका जनताका लागि निकुञ्ज समस्याका रुपमा रहेको भन्दै उनले भने, ‘निकुञ्ज ऐन २०२९ जनताको आवश्यकतालाई महसुस नभइ जनावरको आवश्यकतालाई महसुस गरेर ल्याइएको थियो, अब त्यसलाई संशोधन गरेर निकुञ्ज पनि रहने जनताको माग पनि पूरा हुनेगरी ल्याउने तयारी भइरहेको छ । साथै, ऐन संशोधनका विषयमा मन्त्रालय र विदेशी निकायसँग छलफल भइरहेको छ ।’

अध्यक्ष दाहालले बाँदरमुढे घटनाका पीडितसँग गरिएको सहमतिअनुसार काम अघि बढाउन लागिएको जानकारी दिए । सोही सहमतिअनुसार अहिले सङ्घीय सरकारले घटनाका पीडितहरुको सम्झनामा १० करोड रुपैयाँको उद्यान निर्माणको तयारी थालेको उनले बताए । आफ्नो योजना माडीलाई मणि बनाउने रहेको भन्दै उनले प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्न समेत आग्रह गरे । सबैको सहयोग भएमा केही वर्षमा माडीमा ठूलो परिवर्तन गर्न सकिने उनको भनाई थियो । 

नगर प्रमुख ठाकुर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य रामलाल महतो, नगरपालिकाका प्रवक्ता शिवहरी सुवेदीलगायतले बोलेका थिए ।


समता प्रकरणः मृतक तामाङको खल्तीको सुसाइड नोट उनैले लेखेको प्रमाणित

समता प्रकरणः मृतक तामाङको खल्तीको सुसाइड नोट उनैले लेखेको प्रमाणित


काठमाडौं, असार ९ । बौद्धस्थित समता अस्पतालमा मृत भेटिएकी बिमला तामाङको खल्तीमा भेटिएको सुसाइड नोट उनले नै लेखेको प्रमाणित भएको छ । अनुसन्धान अधिकारीहरूका अनुसार बिमलाले छोरालाई भर्ना गर्दा विद्यालयमा भरेको फाराम र भेटिएको नोटका अक्षर मेल खाएको पत्ता लागेको स्रोतको दाबी छ । 

मृतक बिमलाको गोजीमा भेटिएको उक्त नोटमा अस्पतालकी व्यवस्थापक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी(सञ्जेल), प्रिथकुमारी श्रेष्ठ र संगीता केसीको नाम उल्लेख छ । प्रहरीले उनीहरू तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिएर थुनामा राखी अनुसन्धान गरिरहेको छ । सुसाइड नोटमा उल्लेखित विषयले घटनाको छानबिनमा सहयोग पुग्ने प्रहरीको दाबी छ । 

गत मंगलबार बिहान समता अस्पतालभित्र रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । बिमलाका आफन्तले उनको हत्या भएको दाबी गर्दै दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् । 

त्यस्तै, प्रहरी वृत्त गौशालामा बिमलाका आफन्तले आइतबार अस्पताल संचालक उत्तम सञ्जेललाई समेत पक्रिन माग गर्दै दिनभर प्रदर्शन गरे । बिमलाको हत्या भएको र त्यसमा उत्तमसमेत जिम्मेवार रहेको उनीहरूको दाबी छ । उता प्रहरी वृत्त गौशालाले भने बिमलाको पोस्टमार्टम रिपोर्ट आएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 


इलामका ५२ वटा चिया कारखाना बन्द हुँदै

इलामका ५२ वटा चिया कारखाना बन्द हुँदै


इलाम, असार ९ । इलामको सूर्योदय नगरपालिकाका उद्योगीले चिया उद्योग बन्द गर्ने निर्णय गरेका छन् । नगरपालिकाले तोकेबमोजिम हरियोपत्ती खरीद गर्न नसक्ने भन्दै चिया उद्यमीको सङ्गठन सूर्योदय टि एशोसिएसनले आफू सम्बद्ध ५२ वटा चिया कारखाना बन्द गर्ने निर्णय गरेको हो ।

गत वर्ष चियाको मूल्य निर्धारणसम्बन्धी कार्यविधि, २०७५ बनाएर नगरपालिकाले न्यूनतम हरियोपत्तीको मूल्य प्रतिकिलो ४० कायम गरेको थियो । तर उद्योगीले अहिलेको ‘सिजन’मा उत्पादन भएको चियापत्तीमा गुणस्तरअनुसार तोकेको मूल्य दिन नसक्ने जनाएका छन् । एशोसिएसनले नगरपालिकालाई पत्र पठाएर असार १२ गतेदेखि कारखाना बन्द गर्ने घोषणा गरेको छ । 

उद्योगीले यसअघि हरियो चियापत्तीको गुणस्तरका आधारमा मूल्य दिँदै आएका थिए । यसपटकदेखि उद्योगीसँग कुनै छलफल नगरी नगरपालिकाले एकलौटी ढङ्गले दरभाउ तोकेको भन्दै विरोधस्वरुप उद्योग बन्द गर्नुपरेको कार्यवाहक अध्यक्ष डिल्लीराम श्रेष्ठले बताए । 

सरकारले चिया उद्योगीको पीर मर्कालाई कहिल्यै नबुझेको, राज्यले सेवासुविधा दिनुपर्नेमा उल्टै दरभाउ तोकिँदा उद्योगी धराशायी बन्न पुगेको उल्लेख गर्दै पत्रमा एशोसिएसनले यस सम्बन्धमा नगरपालिकाले पनि सम्बोधन गर्नुपर्ने माग गरेको छ । 


पोर्चुगलमा पत्रकार महासङ्घको उपशाखा गठन

पोर्चुगलमा पत्रकार महासङ्घको उपशाखा गठन


काठमाडौं, असार ८ । नेपाल पत्रकार महासङ्घ पोर्चुगल उपशाखाको तदर्थ समिति गठन गरिएको छ । नेपाली पत्रकारहरुको भेलाबाट समितिको संयोजकमा योगेन्द्रमिलन छन्त्याल चयन भएका छन् ।

समितिको सहसंयोजकमा राजकुमार थापा, प्रवक्ता पेम्बागेलु शेर्पा तथा सदस्यमा भगवान गिरी, यामबहादुर गुरुङ, वासु सत्याल र निरञ्जन सापकोटा छन् । सल्लाहकारमा राजकुमार दिक्पाल र नारायण अर्याल रहेका छन् । 

भेलामा महासङ्घका अध्यक्ष गोबिन्द आचार्यले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने वा सच्याइनुपर्ने धारणा व्यक्त गरेका थिए । उनले महासङ्घ सो मुद्दामा पछाडि नहट्ने बताए । 

ट्युनिसियामा भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको विश्व सम्मेलनमा भाग लिएर नेपाल पत्रकार महासङ्घ युरोप शाखाको आमन्त्रणमा युरोप आएका आचार्यले युरोपमा रहेका पत्रकारहरुसँग भेट गरेका थिए । 

महासङ्घका युरोप शाखाका अध्यक्ष केजिन राइले युरोपमा नेपाली पत्रकारिताको इतिहास र नेपाली पत्रकारको अवस्थाका बारेमा प्रकाश पारेका थिए । उनले युरोपभरि महासङ्घका उपशाखा गठन गरिनुपर्नेमा जोड दिए । 


कर्मचारीसँग सम्बन्धित नीति नियम भताभुंग गरेर नयाँ बनाउन असम्भव : मन्त्री पण्डित

कर्मचारीसँग सम्बन्धित नीति नियम भताभुंग गरेर नयाँ बनाउन असम्भव : मन्त्री पण्डित


काठमाडौं, असार ८ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीसँग सम्बन्धित नीति नियम भताभुंग बनाएर सबै नयाँ गर्ने विषय असम्भव भएको बताएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा मन्त्री पण्डितले विगतमा गरिएको व्यवस्था विभेदकारी भए परिर्वतन गर्दै जान सकिने र भविष्यमा पनि आवश्यकताअनुसार परिर्वतन गर्न सकिने भन्दै विद्यमान सम्पूर्ण नीतिगत व्यवस्थालाई निमिट्यान्न पार्न असम्भव भएको बताएका हुन् । 

बैठकमा पुरानो नीतिलाई निमिट्यान्न पारी सम्पूर्ण नयाँ संरचना गर्छु भन्ने कुरा सम्भव नभएको भन्दै मन्त्री पण्डितले भने, ‘विगतमा गरिएको कुराले विभेद भयो भन्ने स्वीकार्छौं तर सबै कुरा भताभुंग बनाएर, पुरानो घरलाई डोजर लगाएर सम्म बनाएर नयाँ जग खन्ने गरी होइन । अहिले त्यो सम्भव छैन ।’ सरकारको विभिन्न संरचना र संगठन पनि त्योअनुसार तयार नभएको भन्दै उनले विभिन्न पदमा कार्यरत व्यक्तिको कार्यगत स्थिति कहाँ कति परिर्वतन गर्ने भन्नेअनुसार अधिकतमसम्म मिलाएर अघि बढेको उल्लेख गरे । ‘अहिले हामी देख्छौं । एकातिर नेपाल आर्मी, अर्कातिर सशस्त्र प्रहरी, अर्कोतिर जनपद प्रहरी, अर्कातिर अनुसन्धान र अर्कोतिर निजामती छ । यी सबै सरकार त सरकारकै हुन् तर मिल्दैन । त्यसकारण जहाँसम्म मिल्छ, मिल्दै मिलाउँदै जाने कुरामा कुनै दुईमत छैन । सबै भताभुंग गरेर फेरि अर्को आँधी सिर्जना गर्ने गरी अहिले सम्भव छैन । सम्भव भएजति छलफल गरेर ल्याइएको छ,’ उनले भने,  ‘अहिले त्यो गर्यो भने नीतिगत रूपमा विधेयक फिर्ता लैजानुस् भन्नुपर्ने हुन्छ । हामी त्यो ठाउँमा छैनौं ।' 

लामो समयसम्म श्रेणी र तहगत प्रणालीमा छलफल गरेर स्थानीय र प्रदेशमा गएको भन्दै उनले भविष्यमा तत्कालिन वस्तुस्थिति अनुसार परिर्वतन गरेर अघि बढ्न सकिने स्पष्ट पारे । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका लागि विभागिय मन्त्री पण्डितलाई समितिमा बोलाइएको थियो । 


लगातारको वर्षाले जमीन भासिँदा जिससको भवन भत्कियो

लगातारको वर्षाले जमीन भासिँदा जिससको भवन भत्कियो


पर्वत, असार ८ । वर्षाका कारणले गर्दा जिल्ला समन्वय समिति (जिसस) पर्वतको भवन भत्किएको छ । लगातारको वर्षाले जमीन भासिँदा जिससको भवन भत्किएको हो । 

उक्त भवनमा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका दुई वटा कार्यकक्ष पूर्णरूपमा चर्किएर क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालयको विपत् व्यवस्थापन समितिअन्तर्गत सञ्चालनमा आएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बिहान ५ बजेको समयमा जमीन भासिएपछि भत्किएको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी चण्डीका गणमा कार्यरत हवल्दार नरबहादुर भण्डारी सुतिरहेको अवस्थामा उक्त भवन भत्किएको हो । 

भवनबाट धुलो माटो खस्न थालेपछि उठेर हेर्दा भवन चर्किएको र कोल्टे परेको देखेपछि भवन भासिएको पत्ता लागेपछि उक्त स्थानमा रहेका सामान हटाएको भण्डारीले बताए । पाँच मिनेट मात्र ढिला गरी थाहा भएको भए आफ्नो ज्यानसमेत नरहने उनले बताए । 

उक्त भासिएको भवनको निरीक्षण गर्दै कुश्मा नगर प्रमुख रामचन्द्र जोशीले पानीको निकास नभएका कारण पटकपटक यसरी भवन भत्किने, भासिने गरेकाले त्यसको उचित निकासका लागि व्यवस्था गरिने बताए । जिल्ला विपत् व्यवस्थापन समितिमार्फत थप सहयोगका लागि संघीय तथा प्रदेश सरकारसँग बजेट माग गरी दिगो व्यवस्थापन गरिने उनको भनाई छ । जिससको भवन पटकपटक भासिने गरेको छ । विगतमा पनि जिल्ला अनुसन्धान कार्यालय रहेको भवन भासिएको थियो । 


प्रदेशको नाम टुङ्ग्याउने सहमति अन्तिम चरणमा पुगेको छ : मुख्यमन्त्री राई

प्रदेशको नाम टुङ्ग्याउने सहमति अन्तिम चरणमा पुगेको छ : मुख्यमन्त्री राई


उदयपुर, असार ८ । प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेश नं.१ को नाम केही दिनभित्रै सहमतिबाट टुङ्ग्याइने बताएका छन् । प्रेस संगठन उदयपुरले आज बिहान उदयपुरको गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले बताए अनुसार प्रदेश नम्बर १ को नाम सहमतिबाट टुङ्ग्याउने अन्तिम चरणमा पुगेको हो ।

प्रदेशको नाम किरात, कोशी किरात, सगरमाथा, कोशी सगरमाथा प्रदेशलगायतका विकल्पको विषयमा छलफल भएको बताउँदै उनले भने, ‘‘असारको दोस्रो हप्ताभित्र टुङ्गो लगाइसक्छौँ । प्रदेश नं १ को राजधानी विराटनगर राख्ने विषय सबैको सहमतिले पारित भए झैँ प्रदेशको नाम पनि सर्वसम्मत पारित गरिनेछ ।’

त्यसैगरी, मुख्यमन्त्री राईले कृषिबाटै प्रदेशका जनताको समृद्धि गर्नका लागि प्रदेश सरकारले ६० प्रतिशतभन्दा बढी आर्थिक योजना कृषिमा जोड दिएको बताए । अहिले सङ्घीयता र गणतन्त्रमाथि चारैतिरबाट प्रहार हुन शुरु गरेको र वर्तमान सङ्घीय सरकार तथा प्रदेश सरकारलाई असफल बनाउन बाह्य तथा भित्री शक्तिहरुसमेत लागिपरेको कारण प्रजातान्त्रिक र गणतान्त्रिक शक्ति एकजुट हुनु पर्नेमा उनले जोड दिए । 


महासंघले  जिप्रकालाई बुझायो मिडिया विधेयकविरुद्ध संकलित हस्ताक्षर

महासंघले जिप्रकालाई बुझायो मिडिया विधेयकविरुद्ध संकलित हस्ताक्षर


♦ रामनारायण यादव

राजविराज, असार ६ । नेपाल पत्रकार महासंघ शाखा सप्तरीले मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिन दबाबस्वरुप संकलन गरेको पत्रकारहरुको हस्ताक्षर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । संकलित गरिएको पत्रकारहरुको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयका प्रमुख सुरेन्द्र पोडेल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको हो ।

शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खडका नेतृत्वको टोलीले शुक्रबार राजविराजको विभिन्न भाग परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री ओलीलाई सो विधेयक फिर्ता लिन दबाबस्वरुप संकलन गरिएको पत्रकारहरुको हस्ताक्षर बुझाएको हो ।

महासंघले सो विधेयक फिर्ता लिन दबाब दिने उद्देश्यले पत्रकारहरुको हस्ताक्षर अभियान संकलन गरेको थियो । महासंघले सो विधेयक फिर्ता नलिएपछि आगामी असार मसान्तसम्म सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । प्रेसमाथि अंकुश लगाउने गरी आएको सो विधेयक फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने पनि महासंघले जनाएको छ ।


निर्मला हत्याकाण्डः अपराध स्वीकार गर्न लगाउने प्रहरीविरुद्धको चौधरीको उजुरी दर्ता

निर्मला हत्याकाण्डः अपराध स्वीकार गर्न लगाउने प्रहरीविरुद्धको चौधरीको उजुरी दर्ता


काठमाडौं, असार ६ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा १६ दिनसम्म हिरासतमा बसेका विशाल चौधरीले प्रहरीविरुद्ध दिएको उजुरी बल्ल दर्ता भएको छ । हिरासतमा हुँदा आफूलाई यातना दिएको उल्लेख भएको उनको उजुरी दर्ता आज कञ्चनपुर प्रहरीले गराएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बिहीबार उजुरी दिन गए पनि प्रहरीले उनको उजुरी लिन मानेको थिएन् । चौधरीले त्यस बेलाका कञ्चनपुरका डिएसपी कृष्ण ओझा र सालघारीका असई रामसिंह धामीविरुद्ध उजुरी लेखेका छन् । चौधरीले आफू हिरासतमा रहदा डिएसपी ओझा र असई धामीले यातना दिएर अपराध स्वीकार गर्न लगाएको दाबी गरेका छन् । 

त्यसबेला कञ्चनपुरमा पक्राउ परेका उनलाई अनुसन्धान र डिएनए परीक्षणका लागि भन्दै काठमाडौं ल्याइएको थियो । चौधरीसँगै प्रदीप रावल पनि पक्राउ परेका थिए । उनीहरुको बयान लिन आइजिपी सर्वेन्द्र खनाल आफैं सिआइबी पुगेका थिए । हिरासतबाट छुटेपछि उनीहरुले ‘मेरा अगाडि ढुंगो पनि बोल्छ, मैले हत्या गरेको हुँ भन, नत्र मार्छु’ भन्दै यातना दिएको त्यसबेलै बताएका थिए । चौधरी २०७५ पुस ६ गते छुटेका थिए । 

निर्मला पन्तको हत्या गत साउन १० गते भएको थियो । घटना भएको एक वर्ष पुग्नैलाग्दा समेत उनको हत्यारा अझै पत्ता लाग्न सकेको छैन ।


इटहरीका मेयर चौधरीलाई पागलखानामा भर्ती गर्न कांग्रेस सांसदको आग्रह

इटहरीका मेयर चौधरीलाई पागलखानामा भर्ती गर्न कांग्रेस सांसदको आग्रह


मोरङ, असार ६ । इटहरी उपमहानगरपालिका मेयर द्वारिकलाल चौधरीलाई पागलखानामा भर्ती गर्न नेपाली कांग्रेसकी सांसद बिन्दिया कार्कीले आग्रह गरेकी छन् । आज प्रदेश नम्बर १ को प्रदेशसभा बैठकको शून्य समयमा सांसद कार्कीले महिलालाई लाञ्छना लगाउने गरी मेयर चौधरीले दिएको अभिव्यक्तिले सिंगो महिला जगतको अपमान भएको टिप्पणी गर्दै यस्तो आग्रह गरेकी हुन् । 

मेयर चौधरीले महिलाले प्रयोग गर्ने लिपिष्टिक, गर्भ निरोधक औषधी पिल्स पनि यौनधन्दामा लागेका महिलाले खाने भनेर सार्वजनिक मञ्चबाट बोल्दा सरकार किन मौन छ ?, भनी प्रश्न गर्दै सांसद कार्कीले भनिन्, ‘के पार्टीले मेयर चौधरीलाई छाडा साँढेजस्तै गरी डामेर छाडेको हो ?’ उनले प्रश्न गरिन् ‘सक्नु हुन्छ भने सुधार गर्नु पर्यो, कि पागलखानामा भर्ती गर्न सक्नुपर्यो ? नेकपाले के मेयर चौधरीलाई छाडा छाडेको हो ?’

मेयर चौधरीका विषयमा यस्ता धेरै विषय बाहिर आउँदा पनि नेकपाले यस विषयमा चासो नदिएको भन्दै उनले आपत्ति जनाउँदै भनिन्, ‘किन मेयर चौधरीको यतिका बिषय बाहिर आउँदासमेत उसको पार्टी नेकपा मौन छ, कि भन्नु पर्यो हाम्रो पार्टीको नीति सिद्धान्त यही हो भनेर, नत्र किन नेकपाका महिला नेतृहरु पनि यस बिषयमा चुप हुनुहुन्छ ?’ 

मेयर चौधरीले दुई दिनअघि इटहरीको लविपुर चौकमा आयोजित एक कार्यक्रममा महिलाको अस्मितामाथि प्रहार हुने गरी अश्लील शब्द बोलेका थिए । उनले यौनधन्दामा संलग्न महिलाहरुका कारण त्यस क्षेत्रमा मदिरा, महिलाले प्रयोग गर्ने श्रृङ्गार सामग्री र गर्भ निरोध चक्की पिल्सको व्यापार बढेको बताएका थिए । मेयरको उक्त अभिव्यक्तिप्रति महिला सञ्जालले समेत आपत्ति प्रकट गरेको छ भने सामाजिक सञ्जालमा आलोचना भएको छ । यसअघि समेत मेयर चौधरीले पत्रकारलाई धम्की दिएपछि आलोचित भएका थिए ।