23 Baishak, 2081 / 5 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


महानगरीय प्रहरी वृत्त प्रमुख काफ्लेको सम्मान तथा बिदाई कार्यक्रम (फोटो फिचर)

महानगरीय प्रहरी वृत्त प्रमुख काफ्लेको सम्मान तथा बिदाई कार्यक्रम (फोटो फिचर)


काठमाडौं, असार ३ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोबिन्द राज काफ्लेलाई नयाँबानेश्वर वृत्तबाट आज बिदाई गरिएको छ । टोल छिमेकमा रहदा असल व्यवहार गरी कार्य गरेको भन्दै उनलाई विभिन्न संघ संस्था, व्यक्तिलगायतले सम्मानपत्र प्रदान गरी विदाई गरेका थिए । 

बिदाई कार्यक्रममा सामुदायिक सेवा तथा विकास समाजका का.वा.अध्यक्ष प्रा.डा.पदमराज लामिछाने, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख–प्र.व.उ.उत्तम राज सुवेदी, जिल्ला समन्वय काठमाडौंका उपप्रमुख सरिता दाहाल, काठमाडौं महानगरपालिका वडा नं.३२ का वडाध्यक्ष नवराज पराजुली, म.न.प्र.प्र.कोटेश्वरका प्रमुख प्र.नि.एलिजा गिरी, कामनपा ३२ का वडा सदस्यद्वय हिरादेवी पोखरेल, राजेन्द्र न्यौपाने, गिरिजाप्रसाद फाउन्डेसन काठमाडौं जिल्ला अध्यक्ष अर्जुन पराजुली, सामुदायिक सेवा तथा विकास समाज कोटेश्वरका सदस्य गंगा कार्की, काटेश्वर महादेव क्षेत्र विकास तथा व्यवस्थापन समाजका अध्यक्ष बैजहरि भट्टराई, मनोहरा श्रृजनशील समाजका अध्यक्ष श्याम लामा, दिव्य शक्ति नेपालकी अध्यक्ष रोजिना जंगमलगायतको बाक्लो उपस्थितिमा उनलाई सम्मानपत्र प्रदान गरी बिदाई गरिएको थियो । 


गुठी विधेयक फिर्ताको घोषणा

गुठी विधेयक फिर्ताको घोषणा


काठमाडौं, असार ३ । सरकारले गुठी विधेयक फिर्ताको घोषणा गरेको छ । चौतर्फी दबाब भइरहेको बेला भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज पत्रकार सम्मेलन गरी विधेयक फिर्ता लिने निर्णय भएको जानकारी गराएकी हुन् ।

उक्त विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो । तर गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भइरहेको छ । मन्त्री अर्यालले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विधेयकलाई लिएर विभिन्न जनसमुदायमा विभिन्न भ्रम उत्पन्न गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको जनाउँदै विधेयक फिर्ता लिइएको जानकारी दिइन् । 


लोकसेवा आयोगको विज्ञापनको फारम भर्ने समय लम्बियो (सूचनासहित)

लोकसेवा आयोगको विज्ञापनको फारम भर्ने समय लम्बियो (सूचनासहित)


काठमाडौं, असार ३ । लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदहरुमा खुलाएको विज्ञापनको फारम भर्ने समायावधि थप गरेको छ । आयोगले आज अन्तिम दिन रहेको फारम भर्ने समायवधि एक हप्ता थप गरेको हो ।

अनलाइन फाराम भर्ने उम्मेदवारको चाप अत्याधिक भइ सर्भरमा समस्या देखिएपछि आयोगले दरखास्त दिने समय थप गरेको जनाएको छ ।

आयोगले आज एक सूचना जारी गर्दै आगामी असार १० गतेसम्म फाराम भर्न सकिने जनाएको छ । यस्तै दोब्बर दस्तुर तिरेर १७ गतेसम्म फारम भर्न सकिने पनि आयोगले जनाएको छ । 


भारतीय प्रहरी अनुमति बिना नेपाल पसेकोमा विरोध, विज्ञप्तिमार्फत जनमोर्चाको आपत्ति 

भारतीय प्रहरी अनुमति बिना नेपाल पसेकोमा विरोध, विज्ञप्तिमार्फत जनमोर्चाको आपत्ति 


काठमाडौं, असार ३ । बिना अनुमति भारतीय प्रहरी नेपाल पसेको विरोधमा अहिले विभिन्न नेता, पार्टीलगायतले त्यसको गम्भीर रुपमा छानबिन हुनुपर्ने माग राखेका छन् । आज राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै भारतको छतिसगढ प्रहरी नेपालको अछाम जिल्लामा पुगेको घटनाबारे आपत्ति जनाउँदै त्यसको गम्भीर रुपमा छानबिन हुनुपर्ने माग गरेका हुन् । 

विज्ञप्तिमा अध्यक्ष केसीले भारतीय प्रहरी एउटा सार्वभौम मुलुकमा बिना अनुमति पस्नु अन्तर्राष्ट्रिय कानुनी मान्यता विपरित र सार्वभौम मुलुकविरुद्धको कुरा भएको दाबी गर्दै उक्त व्यवहारको भत्र्सना गरेका छन् । यसले भारतीय साम्राज्यवादको नेपालप्रतिको रवैयालाई थप उजागर गरेको समेत विज्ञप्तिमा जनाइएको छ । 

दुई महिनाअघि अछामका १९ वर्षीय केशव सोनी र भारत छत्तिसगढ कोबार जिल्लाकी १५ बर्षीया किशोरीले भागेर विवाह गरेका थिए । विवाहपछि किशोरी तर्फका आफन्तले छोरी खोजिदिन निवेदन दिएपछि भारतको छत्तिसगढ प्रहरीले भारतका विभिन्न स्थानका साथै नेपालको अछाममा खानतलासी गरेको थियो । सो क्रममा तीन जना भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको समेत विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी, नेकपाका नेता एवं पूर्वगृहमन्त्री भीम रावलले भारतीय प्रहरीले नेपालभित्र छिरेर कारबाही प्रक्रिया अघि बढाएको भन्दै आपत्ति जनाएका छन् । गृहजिल्ला अछाममै रहेका नेता रावलले भारतको एउटा राज्यको प्रहरीले नेपालको भू–भागमा खानतलासीको आदेश जारी गर्नु र त्यसका आधारमा भारतीय प्रहरी भित्रिनु गम्भीर विषय भएको बताए । ‘कुनै विषयमा खानतलासी नै गर्नुपर्ने भए पनि इन्टरपोलमार्फत आउनुपर्छ, नेपाललाई भारतको एउटा राज्यको हैसियतमा पत्र बनाएर खानतलासी गर्न पठाइएको छ । यो गम्भीर विषय हो,’ उनले भने, ‘नेपालको सार्वभौसत्तामाथिको यो गाईजात्रा हो ।’ 

दुई महिनाअघि भागी विवाह गरेका किशोरकिशोरीलाई पक्राउ गर्न आएको भारतीय प्रहरी अधिकारी अशोक पाण्डे नेतृत्वको टोलीलाई जिल्ला प्रहरी कार्यालयमा निगरानीमा राखिएको छ । 

आइतबार अछाम आएको भारतीय प्रहरी टोली नेपाल प्रहरीलाई भेटी सोमबार बन्निगढी जयगढ गाउँपालिकामा पुगेको थियो । त्यहाँबाट किशोरकिशोरीलाई पक्राउ गरी लैजान खोजेपछि गाउँपालिकाको न्यायिक समितिले छिनोफानो गर्ने भन्दै स्थानीयले रोकेका थिए । विवाद नमिलेपछि भारतीय प्रहरीसहित किशोरकिशोरीलाई नेपाल प्रहरीले जिल्ला सदरमुकाम ल्याएको छ । भारतीय प्रहरीले किशोरकिशोरी दुबैलाई लैजान पाउनुपर्ने अडान राखेको छ । तर, नेपाल प्रहरीले अभिभावकबिना किशोरीलाई भारतीय प्रहरीको मात्र जिम्मामा नछाड्ने र नेपाली नागरिक भएकाले सोनीलाई पठाउनै नमिल्ने धारणा राखेको छ । भारतीय प्रहरीले जिद्दी गर्दै दुबैलाई लैजाने भनेपछि नेपाल प्रहरी सशंकित भएको छ । गृह मन्त्रालयको आदेश नआउँदासम्म भारतीय प्रहरी नेपाल प्रहरीकै नियन्त्रणमा हुनेछन् । (प्रतिकात्मक तस्बिर)


संसदमा बोल्न नपाएपछि प्रधानमन्त्रीले  पोखे  ट्वीटमार्फत गुनासो

संसदमा बोल्न नपाएपछि प्रधानमन्त्रीले पोखे ट्वीटमार्फत गुनासो


काठमाडौं, असार ३ । आज संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण बोल्न नपाएपछि ट्वीट गर्दै गुनासो पोखेका छन् । प्रधानमन्त्री ओलीले अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत समसामयिक विषयमा संसद्लाई जानकारी गराउन नपाएकामा आफू दुःखी भएको भन्दै ट्वीटमार्फत गुनासो पोखेका हुन् । 

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै, ‘समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइन । यस घटनाबाट म दुःखी भएको छु ।’

प्रतिनिसभाको आजको बैठक शुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई सम्बोधनका लागि समय दिएपछि कांग्रेसका सांसद्ले रोष्ट्रम घेराउ गरेपछि बैठक स्थगित भएको थियो । प्रधानमन्त्री ओलीले सोही विषयमा आज साँझ पत्रकार सम्मेलन गरेर आफ्ना भनाइ सार्वजनिक गर्ने भएका छन् ।


होटल हायात अनिश्चितकालका लागि गरियो बन्द

होटल हायात अनिश्चितकालका लागि गरियो बन्द


काठमाडौं, असार २ । मजदुर आन्दोलनको कारण देखाउँदै होटल हायत व्यवस्थापना समुहले अनिश्चितकालका लागि होटल बन्द भएको जानकारी गराएको छ । आज नेपाल स्टक एक्सचेन्ज नेप्सलाई पत्र लेख्दै हयातले बन्द भएको जानकारी गराएको हो ।

होटलमा कार्यरत रहेका मजदुरको संगठन अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदुर संघको हडतालका कारण होटल बन्द गर्न बाध्य भएको नेप्सेलाई लेखेको पत्रमा उल्लेख छ ।
 


समुदाय–प्रहरी कार्यक्रमअन्तर्गत बानेश्वरस्थित विभिन्न स्थानमा सीसीटिभि जडान

समुदाय–प्रहरी कार्यक्रमअन्तर्गत बानेश्वरस्थित विभिन्न स्थानमा सीसीटिभि जडान


काठमाडौं, असार २ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर, सामुदायिक विकास समिति, एकिकृत उपभोक्ता संघ एवं सुरक्षित नागरिक समाजको सहकार्यमा काठमाडौं महानगरपालिका–३२ सुविधानगरस्थित विभिन्न स्थानमा सिसिटिभि जडान गरिएको छ । उक्त जडान गरिएका सिसिटिभि क्यामेराको उद्घाटन पूर्वमन्त्री तथा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले गरेका हुन् । साथै उनले उक्त सिसिटिभि क्यामेराको साँचो प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईलाई हस्तान्तरण समेत गरेका थिए । 

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा आज आयोजित सिसिटिभि क्यामेरा उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महान्यायाधिवक्ता खरेलले सिसिटिभि जडानमा सहयोग पुर्याउने विभिन्न संघसंस्थालाई प्रशंसापत्र वितरण गर्दै जडान गरिएका सिसिटिभिले प्रहरीलाई अपराध अनुसन्धान गर्न सहज हुने तथा सुरक्षित समाज निर्माणमा थप सहयोग हुने बताए । अपराध र अपराधीहरु हाम्रै वरिपरि रहने हुनाले प्रहरीलाई अपराधको अनुसन्धान गर्ने क्रममा समुदायको सहयोगी भूमिका हुन जरुरी रहेको उनले बताए । कतिपय अपराधको अनुसन्धानमा अपराधी पत्ता लाग्न समय लागे पनि अधिकांश घटनाका अपराधी पत्ता लागि कानूनी दायरामा आएको समेत उनले उल्लेख गरे । 

सो अवसरमा प्रहरी अतिरिक्त महानिरिक्षक ठूले राईले नेपाल प्रहरीले अंगिकार गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम विगतमा गरिएका कार्यक्रमहरुको अनुभवलाई माझेर परिष्कृत रुपमा आएको हुनाले यसले निरन्तरता पाउने बताए । साथै, उनले यस्ता कार्यक्रममा सम्पूर्ण समुदायको पूर्ण विश्वास र सहयोग प्राप्त हुने अपेक्षा राखे । जडान भएका सिसिटिभि क्यामेराले प्रहरीको काम कार्वाहीमा थप चुस्तता आउने बताउँदै उनले यस्ता प्रविधिको स्थापना गर्ने मात्र नभई निरन्तर मर्मत गर्दै कायम राखी त्यही अनुरुपको प्रहरी सेवा प्रदान गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिए । 

समारोहमा धन्यवाद व्यक्त गर्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले राज्यको उपस्थिति प्रत्येक कुना र कन्दरामा हुन सक्दैन, समाज नियमित रुपमा र नियमसंगत रुपमा चल्नुपर्छ भन्ने मान्यता रहेको हुनाले सिसिटिभि क्यामेराले त्यो मान्यतालाई परिपोषण गर्ने बताए । निष्पक्ष न्याय सम्पादनको निम्ति सिसिटिभि क्यामेराको उल्लेखनीय महत्व रहेको बताउँदै प्रहरी नायव महानिरिक्षक क्षेत्रीले सिसिटिभि मार्फत २०७५ सालमा १६ हजारभन्दा बढि ट्राफिक नियम उल्लंघनमा संलग्नलाई कारवाही गरिएको, ९३ मुद्दामा हिट एण्ड रनमा नम्बर नखुलेका सवारी साधनहरु पछि पहिचान भएका तथा ४६ लुटपाटको घटनामा संलग्नहरुलाई पक्राउ गर्न सफल भएको जानकारी समेत दिए । 

समारोहमा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रहरी नायब उपरीक्षक गोबिन्दराज काफ्लेले कार्यक्रमसम्बन्धी जानकारी दिँदै उक्त क्षेत्रमा कूल ३७ लाख ३५ हजार रुपैयाँको लागतमा हाल ५७ वटा सिसिटिभी जडान गरिएको र १७ वटा जडान गर्ने क्रममा रहेको जानकारी दिए ।

कार्यक्रममा पूर्व गृहसचिव डा.गोबिन्दप्रसाद कुसुम, ३ नम्बर प्रदेश सभाका सांसद दिपेन्द्र श्रेष्ठ र कार्यक्रमका सभापति सामुदायिक विकास समिति सुविधानगरका अध्यक्ष सुमित्रा कडरियाले सुरक्षित समाज निर्माणमा सिसिटिभिको महत्वबारे आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा ३ नम्बर प्रदेशसभाका सांसद राजेन्द्र गुरूङ, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिना, प्रहरी बरिष्ठ उपरीक्षकहरु, सामुदायिक विकास समिति, एकिकृत उपभोक्ता संघ एवं सुरक्षित नागरिक समाजका पदाधिकारीहरु, स्थानीय पदाधिकारीहरु, वडा अध्यक्षहरु, विभिन्न संघसंस्थाका पदाधिकारीहरु, संचारकर्मीहरु लगायत प्रहरी अधिकृतहरुको बाक्लो उपस्थिति रहेको थियो ।


प्रहरीद्वारा सय लिटर घरेलु मदिरासहितका सामग्री नष्ट

प्रहरीद्वारा सय लिटर घरेलु मदिरासहितका सामग्री नष्ट


सप्तरी, असार २ । सप्तरीको मटुपट्टीबाट सोमबार प्रहरीले घरेलु मदिरा नष्ट गरेको छ । जिल्लाको सुरुङ्गा नगरपालिका ४ स्थित मधुपट्टीबाट प्रहरीले तयारी मदिरा एक सय लिटर र कच्चा पदार्थ आठ सय लिटर तथा मदिरा बनाउने भाडा एक थान, ड्रम १२ थान नष्ट गरेको हो ।

ईलाका प्रहरी कार्यालय कडरवोनाबाट खटिएको प्रहरी टोलीले मदिरा र कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


सप्तकोशी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

सप्तकोशी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु


♦ रामनारायण यादव

सप्तरी, असार २ । सप्तकोशी नगरपालिकाको वडा नं.१ फत्तेपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरिएको छ । कामको लागी पारिश्रमिकमा आधारित योजनासंग सम्बन्धित एकदिने अभिमुखिकरण कार्यक्रम गरी आइतबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरिएको हो । 

सरसफाइबाट शुरु भएको कार्यक्रमका सहभागीहरुले सोमबारदेखि नगर क्षेत्रमा रहेका सडक, कृषि, सिंचाई, ग्रामिण खानेपानी, शिक्षा, वन, पर्यटन क्षेत्र तथा समाजिक विकासको काममा सहयोग पुर्याउने नगर प्रमुख उत्तमकुमार शर्माले जानकारी दिए ।

आव २०७६/०७७ को २६ लाख बजेटमा सुरु गरिने कार्यक्रममा प्रत्येक वडाका कामदारको सहभागीता हुने गरि एक सय एक जना कामदार छनौट गरिएको प्रमुख शर्माले बताए । वडाले खटाएको काममा दैनिक ८ घन्टा काम गरि दिनको ६ सयका दरले ज्यालादारीमा काम लगाइने भएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ वडाबाट करिब १३ सय बेरोजगारहरुले फाराम भरेका थिए । छनौट भएका कामदार मासिक २५ दिन रोजगार पाउने सप्तकोशी रोजगार प्रवद्र्धन केन्द्रका प्रमुख शैलेन्द्र गुप्ताले बताए ।


लोकसेवाको विज्ञापनविरुद्ध पूर्व पश्चिम राजमार्गमा चक्का जाम

लोकसेवाको विज्ञापनविरुद्ध पूर्व पश्चिम राजमार्गमा चक्का जाम


♦ रामनारायण यादव

राजविराज, असार २ । लोकसेवा आयोगले असमावेशी तरिकाले संविधान विपरित विज्ञापन आह्वान गरेको भन्दै सप्तरीका विद्यार्थी संगठनहरुले पूर्व पश्चिम राजमार्गमा एक घण्टा चक्का जाम गरी विरोध गरेका छन् । सत्तासिनसहितका विद्यार्थी संगठनहरुले आज बिहान १० देखि ११ बजे सम्ममा सडक अवरुद्ध गरी विरोध गरेका थिए । 

सो समयमा विद्यार्थीरुको आन्दोलनका कारण यात्रुहरुलाई निकै समस्या भएको थियो । आउजाउ गर्ने सवारी साधनहरु बिच सडकमै रोकिएका थिए । चक्का जामपश्चात प्रदर्शनकारीहरुले रुपनी चोकमा कोणसभा गरेका थिए । 

कोणसभाका विद्यार्थी नेताहरु रामचन्द्र यादव, शम्भु यादव, विनोद यादवलगायतका नेताहरुले लोकसेवा आयोगको विज्ञापन लोकतन्त्रविरोधी भएको भन्दै अबिलम्ब सच्याउन माग गरेका थिए ।

प्रदर्शनकारीहरु लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको राजिनामाको माग, विभेदकारी विज्ञापनको खारेजीको माग, प्रादेशिक लोकसेवा आयोग गठन, समानुपाति समावेशी हुनेपर्ने लागायतका माग अघि सारीे आन्दोलनमा उत्रिएका छन् ।

सत्तासिन नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी संघ, समाजवादी विद्यार्थी फोरमसहितका विद्यार्थी संगठन एकजुट भएर सो आन्दोलमा उत्रिएका छन् । आफूहरुको माग पूरा नभए सशक्त आन्दोलनमा उत्रने उनीहरुको भनाइ  छ ।