22 Baishak, 2081 / 4 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


सप्तरीस्थित वडा कार्यालयमा कर्मचारी र स्थानीयबीच कुटाकुट

सप्तरीस्थित वडा कार्यालयमा कर्मचारी र स्थानीयबीच कुटाकुट


♦ रामनारायण यादव

सप्तरी, असार १ । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर १ खोकसर प्रवाहास्थित वडा कार्यालयमा स्थानीयवासी र कर्मचारीबीच कुटाकुट भएको छ । उक्त वडा कार्यालयमा केही स्थानीयहरुले तबरजस्ती कार्यालयको रेकड माग गर्दै कागजातहरु च्यातिदिएपछि कर्मचारी र स्थानीयबीच कुटाकुट भएको हो ।

वडा कार्यालयका सचिव शिवशंकर यादवका अनुसार स्थानीय जिवछ साह र खेमबहादुर कार्कीले विवाह दार्ता र चलानी रजिष्टे«श्न माग गर्दै विवाद उत्पन गरेका हुन् । सोही क्रममा चलानी रजिष्टे«शनको दुई वटा पाना च्याति कुटपिट गरेको उनले बताए ।

यता आकष्मिक वडा समितिको बैठक बसि घटनाको घोर भत्सना गर्दै दोषीलाई पक्राउ गरी कानूनी कार्यवाहीको माग गरिएको छ । घटनामा संलग्न भएका दुबै जनालाई पक्राउ गरी सत्यतथ्य पता लगाउन प्रशासन समक्ष माग गरिएको हो । 


गुठी विधेयकको विरोधमा चरणवद्ध आन्दोलनको घोषणा

गुठी विधेयकको विरोधमा चरणवद्ध आन्दोलनको घोषणा


काठमाडौं, असार १ । हिन्दु धर्मसँग सम्बन्धित संघ, संस्थाहरूले विवादित गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्दलगायतका चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । आज विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विधेयकको विरोधमा बन्दलगायतका चरणवद्ध आन्दोलनको घोषणा गरेको जानकारी गराएको हो ।

समितिले सो विधेयकको विरोधमा असार २ गतेबाटै चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । असार २ गते सो विधेयक फिर्ता लिन माग गर्दै देशैभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, असार ३ गते सो विधेयकको विरोधमा पशुपतिनाथ मन्दिर परिसरमा विरोधसभा आयोजना गर्ने, असार ४ गते देशका सबै मठमन्दिरमा १० मिनेट घण्टा बजाउने, असार ५ गते काठमाडौंको वसन्तपुरमा विरोधसभा आयोजना गर्ने, असार ७ गते गुठीसँग सम्बन्धित निकायसँग अन्तरक्रिया गर्नेलगायतका विरोधका कार्यक्रम तय गरिएको छ । 

पत्रकार सम्मेलनमा समितिका महासचिव रोशनजंग बस्नेत, विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा.रामचन्द्र अधिकारीलगायतले मुलुकको धर्म र संस्कृतिनै नष्ट हुने गरी आएको सो विधेयक तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि दिएका छन् ।


गुठी विधेयक सच्याउन संशोधन प्रस्ताव दर्ता

गुठी विधेयक सच्याउन संशोधन प्रस्ताव दर्ता


काठमाडौं, असार १ । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र राजपाका रमेशप्रसाद यादवले विवादित गुठी विधेयक सच्याउन माग गर्दै राष्ट्रियसभामा संशोधन प्रस्ताव दर्ता गराएका छन् । अधिकारी र यादवलगायतका सांसदहरुले उक्त विधेयकको विवादित दफाहरू हटाउन संशोधन दर्ता गराएका हुन् । 

विधेयकमा रहेको ‘आफ्नै लगानीमा पूर्वाधार संरचना निर्माण गरी बहालमा दिने तथा सार्वजनिक(निजी साझेदारी वा निजी लगानीमा पूर्वाधार संरचना निर्माण सञ्चालन हस्तान्तरण गर्ने गरी लिजमा दिने’ व्यवस्था हटाउन उनीहरूले संशोधन हालेका छन् । गुठीको जग्गा बहालमा दिने व्यवस्थामा भने संशोधन परेको छैन । त्यस्तै, अधिकारी र यादवले प्रदेशको अधिकार खोस्न खोजिएको भन्दै संशोधन हालेका हुन् । 

दफा २२ मा गुठी स्थापना गर्न प्रदेश गुठी व्यवस्थापन समितिको स्वीकृति लगायत प्रक्रियागत विषय छन् । अधिकारी र यादवले भने प्रदेशसम्बन्धी कानुन प्रदेश सरकारलाई बनाउन दिनुपर्ने भन्दै उक्त दफा हटाउन संशोधन हालेका छन् । विधेयकको दफा २३ मा छुट गुठी र सार्वजनिक गुठी स्वतः राजगुठीमा परिणत हुने व्यवस्था छ । 

गुठी परिवर्तनसँगै चल÷अचल सम्पत्ति, जायजेथा, देवी÷देवताको प्रतिमा, गुठियारको हक र दायित्व प्राधिकरणमा सर्ने व्यवस्था प्रस्तावित छ । अधिकारी र यादवले उक्त दफामा संशोधन हाल्दै ’जुन धर्म सम्प्रदायको गुठी हो सो सम्प्रदायलाई सम्बन्धित गुठीबाट वञ्चित गराइने छैन’ भन्ने वाक्यांश थप्न प्रस्ताव गरेका छन् । अधिकारीले प्रस्तावनमा रहेको ‘भोगाधिकार रहेका किसान’ भन्ने शब्द हटाउनुपर्ने प्रस्ताव गर्दै किसानको परिभाषा भूमिसम्बन्धी ऐनअनुसार राख्न प्रस्ताव गरेका छन् । उनले निजी गुठीको परिभाषा परिवर्तन गर्नुपर्ने भन्दै राजगुठी र छुट गुठी बाहेकका जनताले राखेको चिज निजी गुठीका रूपमा पहिचान गर्नुपर्ने तर्क गरेका छन् । 

हाल सरकारले निजी गुठीका रूपमा नयाँ कानुन बन्नुअघिका कुनै व्यक्तिले आफ्नो वा परिवारका वा कुलको सदस्यले मात्र पूजाआजा गर्न पाउने गरी निजी सम्पत्तिमा सञ्चालन र व्यवस्थापन गरेको गुठीलाई परिभाषित गरेको थियो । 

नेकपाकी सांसद विमला पौड्यालले भने शैक्षिक गुठी र हिन्दुबाहेकका धर्मका गुठीको विषय समेटिनुपर्ने भन्दै संशोधन हालेकी छन् । उनले शैक्षिक कार्यमा प्रयोग भइरहेका गुठीका जग्गा अन्य व्यावसायिक प्रयोजनमा लगाउन नमिल्ने प्रस्तावसहित संशोधन राखेकी छन् । 

नेकपाकै ठगेन्द्र प्रकाश पुरीसहितका सांसदहरूले भने गुठीअन्तर्गतको कृषियोग्य जमिन नयाँ बन्ने गुठी प्राधिकरणको सञ्चालक समितिलाई दिन प्रस्ताव गरेका छन् । उनले आवासीय जमिनमा घर–पसल बनाई बहालमा लगाउन मिल्ने अधिकार सञ्चालक समितिलाई दिनुपर्ने प्रस्ताव गरेका छन् । विधेयकमा ६ वटा संशोधन दर्ता भएको छ । तीमध्ये चारवटा व्यक्तिगत छन् भने दुईवटा सामूहिक छन् । सांसद अधिकारीले संशोधनमार्फत् गुठी विधेयकबारे अहिले उठेका मागहरू ‘मोटो रूपमा’ सम्बोधन गर्न सकिने बताए । 

त्यसैगरी, नेकपाका सांसद रामनारायण बिडारीले पनि गुठीको आन्दोलन उठ्नुअघि नै संशोधनहरू दर्ता भैसकेकाले अब सरोकारवालासँग छलफल गरेर विधेयकलाई समृद्ध बनाउनुपर्ने बताए । 


जलेश्वरको लोकसेवा आयोगको कार्यालयमा तालाबन्दी

जलेश्वरको लोकसेवा आयोगको कार्यालयमा तालाबन्दी


जनकपुर, असार १ । प्रदेश नम्बर २ स्थित महोत्तरीको जलेश्वरमा रहेको लोकसेवा आयोगको कार्यालयमा एक समुहले तालाबन्दी गरेको छ । लोकसेवा आयोगले निकालेको विज्ञापन फिर्ता नलिएको भन्दै मधेस अधिकार संघर्ष समितिले तालाबन्दी गरेको हो ।

आयोगले संविधान विपरीत विज्ञापन गरेको र हालसम्म फिर्ता नलिएकाले कार्यालयमा ताला लगाएको संयोजन समितिका संयोजक सुशील कर्णले बताए । 

ताला लगाउने क्रममा प्रहरी र समितका सदस्यबीच सामान्य विवाद समेत भएको थियो । आयोगले विज्ञापन फिर्ता नलिए आन्दोलनलाई अझ कठोर बनाउने भन्दै उक्त समुहले चेतावनीसमेत दिएको छ । यसैबीच ताला करिब एक घण्टा पछि खोलिएको प्रहरीले जनाएको छ ।


अघिल्लो महिनामा पक्राउ परेका ८२ पाकेटमारलाई गरियो सार्वजनिक

अघिल्लो महिनामा पक्राउ परेका ८२ पाकेटमारलाई गरियो सार्वजनिक


काठमाडौं, असार १ । प्रहरीले जेठ महिनामा मात्रै काठमाडौंबाट पक्राउ परेका ८२ जना पाकेटमारलाई सार्वजनिक गरेको छ । विभिन्न सार्वजनिक सवारी साधनमा चोरीको घटनामा संलग्न उनीहरुलाई आज महानरीय प्रहरी परिसर, काठमाडौंले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेहरूमा ७८ जना पुरुष र चार जना महिला रहेका छन् । उनीहरूबाट छ लाखभन्दा बढी नगद, २१ थान मोबाइल र दुई थान ल्यापटप बरामद गरिएको छ । 

महानगरीय प्रहरी परिसर, काठमाडौंले एक महिना लामो अभियान सञ्चालन गरी पाकेटमारहरू नियन्त्रणमा लिएको हो । प्रहरीले सार्वजनिक यातायातमा विभिन्न कोड भाषा प्रयोग गरी पाकेट मार्ने गरेको जनाएको छ । ‘सार्वजनिक बसहरूमा विभिन्न बस पकेटमारहरू दुई–दुई जनाका दरले ६ जनासम्मको ग्रुप बनाइ बसभित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाइ अगाडि पछाडिबाट घेराबन्दीमा पारी ठेलमठेलको अवस्था बनाइ मौका छोपी मोबाइल, नगद र सुनचाँदी पकेट मारी पालोपालो गरी ओर्लने देखियो,’ परिसरका प्रवक्ता होविन्द्र बोगटीले भने । 


विद्युत प्राधिकरणद्वारा एकैपटक १५ सयबढी कर्मचारीको सरुवा

विद्युत प्राधिकरणद्वारा एकैपटक १५ सयबढी कर्मचारीको सरुवा


काठमाडौं, असार १ । नेपाल विद्युत प्राधिरकणले एकैपटक १५ सयभन्दा बढी कर्मचारीको सरुवा गरेको छ । प्राधिकरण व्यवस्थापनले नियमित सरुवालाई निरन्तरता दिँदै १५ सय ७४ कर्मचारीहरुलाई नयाँ कार्यालयमा खटाएको हो । 

२०७४ भदौमा पनि प्राधिरकणले १५ सय कर्मचारीको एकपटक सरुवा गरेको थियो । त्यसअघि वितरण केन्द्र प्रमुखहरुको पनि सरुवा भएको थियो । २०७३ सालमा प्राधिकरणले २५ सय कर्मचारीको सरुवा गरेको थियो । त्यसअघि प्राधिकरणमा लामो समयसम्म पनि एउटै वितरण केन्द्र र कार्यालयहरुमा बस्ने प्रचलन ब्याप्त थियो । जसले गर्दा कर्मचारीको मिलेमतोमा प्राधिकरण घाटामा गएको जनाइएको थियो । 

प्राधिकरणमा कुलमान घिसिङ कार्याकारी निर्देशक भएर आएपछि कर्मचारी सरुवा गर्न थालेका थिए, जसमा कर्मचारी संगठनहरु आन्दोलित भएका थिए । यसपछि पनि नियमित सरुवालाई निरन्तरता दिने गरी प्राधिकरणले यसपटक कर्मचारीको सुरुवा गरेको छ । यसले गर्दा एउटै कर्मचारी एकै स्थानमा नबस्ने र त्यसले गर्दा सुशासन कायम गर्न सहज हुने विश्वास प्राधिकरणलाई छ ।


अत्याधिक गर्मीले प्रदेश २ का प्राय स्कुल धमाधम बन्द हुँदै

अत्याधिक गर्मीले प्रदेश २ का प्राय स्कुल धमाधम बन्द हुँदै


जनकपुर, असार १ । प्रदेश नम्बर २ मा अत्याधिक गर्मीले गर्दा प्राय स्कुलहरु धमाधमा बन्द हुन थालेका छन् । ४२ डिग्री सेल्सियसभन्दा बढी तापमान बढ्न थालेपछि उक्त प्रदेशका धनुषा, महोत्तरी, बारालगायतका जिल्लाहरुका विद्यालयहरु गत आइतबारबाट बन्द हुन थालेका हुन् । 

धनुषाका विद्यालयहरु सोमबारबाट करिब एक साताको लागि बन्द भएको छ । केहि दिनदेखि एकाएक गर्मी बढेपछि शिक्षा विकास तथा समन्वय इकाइले जिल्लाका सबै पालिकाहरुलाई विद्यालय बन्द गर्न पत्राचार नै गरेको छ । अत्याधिक गर्मीका कारण बालबालिकालाई पठनपाठनमा समस्या देखिएको भन्दै असार २ गते देखि असार ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको धनुषाका इकाइ प्रमुख भरखुप्रसाद रजकले जानकारी दिए । 

अत्याधिक गर्मीका कारण बालबालिकाहरु बिरामी पर्न थालेका छन् भने विद्यालय आवतजावत गर्न समेत समस्या हुँदै आएको छ । यता, महोत्तरीका विद्यालयहरु पनि अत्यधिक गर्मिका कारण बन्द गरिएको छ । महोत्तरीको जिल्लाका १० नगरपालिका र ५ गाउँपालिकासहित १५ स्थानीय तहमध्ये आधाले विद्यालय बन्द गरेका छन् भने आधाले बन्द गर्न छलफल नै थालेका छन् । 

त्यस्तै, बाराका विद्यालयहरु आजदेखि नै बन्द गरिएको छ । बिहानदेखि नै चर्को घामको राप बेलुकासम्म बढेपछि विद्यालय बन्द गरिएको स्थानीय पालिकाले जनाएका छन् ।


नगरपालिकाले दियो २० चेपाङलाई रोजगार

नगरपालिकाले दियो २० चेपाङलाई रोजगार


चितवन, असार १ । चितवनको कालिका नगरपालिकाले २० चेपाङलाई रोजगार प्रदान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त नगरपालिकाले वडा नं.११ को दाबलिङका चेपाङ युवालाई आजदेखि सडक निर्माणको कामको जिम्मा दिएको हो । 

आज आयोजित कार्यक्रममा नगरको विपन्न चेपाङ समुदायको बहुल्यता रहेको वडा नं.११ को दाबलिङबाट २० चेपाङलाई काम दिएर उक्त कार्यक्रम शुरु गरिएको नगरप्रमुख खुमनारायण श्रेष्ठले बतए । उनले श्रममा विश्वास गर्दै स्वरोजगार बन्ने अभियानमा सबै लाग्नुपर्नेमा जोड दिए । 

एसएलसी दिएपछि पाँच वर्षअघिदेखि आफू बेरोजगार भएर रोजगारको खोजीमा रहेका बेलामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू भई फाराम भरेर रोजगार हुन पाउँदा निकै खुशी लागेको अस्मिता चेपाङले बताइन् । त्यस्तै, हर्कबहादुर प्रजाले पनि काम पाएकाले अब परिवारले सास्ती बेहोर्नु नपर्ने भन्दै खुशी व्यक्त गरे । बिहान बेलुका के खाने भन्ने समस्याबाट तत्कालका लागि मुक्ति मिलेको उनको भनाइ थियो । 

वडा नं.११ मा ५८ जना रोजगारका लागि सूचीकृत भएकामा पहिलो चरणमा २० जनालाई रोजगार दिइएको हो । उनीहरूले दैनिक छ सयका दरले पारिश्रमिक पाउनेछन् । नगरपालिकामा तीन हजार एक सय ९६ जनालाई रोजागारका लागि सूचीकृत गरिएकामा यो वर्ष दुई सय २० जनालाई रोजगार दिने स्वरोजगार कार्यक्रम संयोजक हरिशरण सोतीले जानकारी दिए । सो कार्यका लागि नगरपालिकाले १९ लाख रुपैयाँ छुट्याइएको छ । 


प्रधानमन्त्री ओली स्वदेश फिर्ता, गुठी विधेयक सच्चिने ओलीको भनाई

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, गुठी विधेयक सच्चिने ओलीको भनाई


काठमाडौं, असार १ । प्रधानमन्त्री केपी शर्मा ओली अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विशेष समारोहमा सहभागी भई आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतले स्वागत गरेका थिए । 

मन्त्रीगण, नेपाल सरकारको उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख पनि प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल पुगेका थिए । प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री ओलीले जेठ २७ गते आइएलओको शतवार्षिकीका अवसरमा जेनेभामा आयोजना भएको विशेष समारोहमा भाग लिनुका साथै बेलायत र फ्रान्सको औपचारिक भ्रमण गरेका थिए । प्रधानमन्त्री ओलीको भ्रमण दलमा धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई, प्रतिनिधिसभाको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद बिन्दा पाण्डेलगायत थिए । प्रधानमन्त्री ओली शतवार्षिकीका समारोहमा भाग लिन तथा बेलायत र फ्रान्सको औपचारिक भ्रमणका लागि गत जेठ २५ गते त्यसतर्फ प्रस्थान गरेका थिए । 

त्यसैगरी, युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै सरकारले जनताको मन दुखाउन नचाहेको भन्दै गुठी विधेयक सच्याउने बताएका छन् । उनले साँस्कृतिक, ऐतिहासिक धरोहर, परम्परा, रितिस्थितिमाथि जानेर/नजानेर घच्चा लागेको रहेछ भने सरकारले गुठी विधेयक सच्याउने बताए । ‘कतिपय ठाउँमा गुठीका नाममा गरिबमाथि शोषण भइराखेको छ,’ प्रधानमन्त्रीले भने, ‘साँस्कृतिक धरोहरसँग जोडिएका ठाउँमा कतै धक्का लागेको रहेछ भने सरकारले विचार गर्छ ।’ उनले प्रतिपक्षी दलप्रति लक्षित गर्दै विधेयकको विरोधको मौका नछोप्न पनि आग्रह गरे । 

प्रधानमन्त्री ओलीले भने, ‘यो सरकारले जनताका हितमा काम गर्छ ।’ उनले जनताको भावना र हितविपरीत हुने कुनै पनि कुरा सरकारले नगर्ने पनि बताए । ‘जनताप्रति सरकार उत्तरदायी छ । जनताका कुरा सुन्छ । जनताका हितमा काम गर्छ,’ उनले भने, ‘जनता नै सार्वभौम भएकोले अब आन्दोलन गरिराख्नुपर्दैन ।’ उनले कुनै पनि कुरा शतप्रतिशत नहुने भन्दै सरोकारवाला पक्षले कहाँनेर कमजोरी भयो औंल्याउनुपर्नेसमेत बताए ।


देशको गरिबी पाँच वर्षमा शून्यमा झर्ने गृहमन्त्री थापाको दाबी

देशको गरिबी पाँच वर्षमा शून्यमा झर्ने गृहमन्त्री थापाको दाबी


काठमाडौं, जेठ ३१ । रत्ननगर नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले नेपालको गरीबी पाँच वर्षमा शून्यमा झर्ने दाबी गरेका छन् । पूर्वी चितवनको रत्ननगरमा आज आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उनले देशको गरिबी शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताएका हुन् । 

गृहमन्त्री थापाले सरकारले अहिले रहेको १८ प्रतिशत गरिबीलाई शून्यमा झार्ने लक्ष्यसाथ काम अघि बढाइरहेको बताए । यसका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको उनको भनाइ थियो । जसअनुसार प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको उनले जनाए । 

गृहमन्त्री थापाले विकास र समृद्धिका लागि दक्ष जनशक्ति र जनशक्तिका लागि प्राविधिक र व्यावसायिक शिक्षा आवश्यक रहेकोमा जोड दिएका थिए । नेपाल कृषि प्रदान देश रहेकोले कृषिलाई औद्योगिकीकरण गर्नुपर्ने आवश्यकता औल्याउँदै उनले भने, ‘कृषिलाई औद्योगिकीकरण गरेर रोजगारीको सिर्जना गर्नुपर्छ ।’

अहिले श्रम बजारमा रहेका श्रमिकमा दक्षताको अभावका कारण उनीहरुको कमाइले घर खर्चसमेत चलाउन असहज भएको उनको भनाइ थियो । स्वदेशमा रोजगार दिने उद्योग र उद्योगीको सुरक्षाका लागि सरकार सधैँ तयार रहेको मन्त्री थापाले बताए । 

त्यसैगरी, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका उपप्रमुख विमला दुवाडी, उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडी, रत्ननगर उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेलगायतले बोलेका थिए ।

बेरोजगार युवालाई रोजगार दिने र कामको अभाव भएका उद्योगमा दक्ष कामदार उपलब्ध गराउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको हो । सो मेलामा काठमाडौंसहित विभिन्न जिल्लाका रोजगारदाताको सहभागिता छ । वृत्ति परामर्श तथा रोजगार मेलामा वृत्तिविकाससम्बन्धी परामर्श सेवा तथा जानकारी दिइने, सीपमूलक तालीम दिने संस्थाको प्रदर्शनी तथा तालीमबारे जानकारी दिइने प्रमुख वनले बताए । 

मेलामा रोजगारसम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, निःशुल्क सञ्चालन हुने आधारभूत सीपमूलक तालीमको बारेमा जानकारी गराइने, रोजगारको अवसर प्रदान गरिने र स्थानीय उत्पादनको प्रदर्शन गरेको छ । रोजगारीको खोजीमा रहेका युवालाई लक्षित गर्दै सञ्चालन गरिएको सो कार्यक्रममा दुई हजार पाँच सयदेखि तीन हजार युवाको सहभागिता रहने अपेक्षा गरिएको छ । मेलाबाट एक हजार पाँच सय जनाले वृत्ति परामर्श सेवा लिनेछन् ।  परामर्श लिएकामध्ये एक सय ५० देखि दुई सय जनाले रोजगारी प्राप्त गर्ने लक्ष्य लिइएको छ । वनले रत्ननगर आसपासका क्षेत्रमा तत्कालका लागि छ सय जनाभन्दा बढी कामदारको खोजी भइरहेको छ । मेलामा रोजगार दाताका ३० वटा प्रदर्शनी कक्ष रहेका छन् ।