22 Baishak, 2081 / 4 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


बम्जनको घरबाट तीन करोडभन्दा बढी नगद बरामद, आजै सर्लाही पठाईंदै

बम्जनको घरबाट तीन करोडभन्दा बढी नगद बरामद, आजै सर्लाही पठाईंदै


काठमाडौं, २५ पुस । प्रहरीले ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट तीन करोडभन्दा बढी नगद बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेपछि घर खानतलासी गरेको थियो ।

उनको घरबाट सीआईबीको टोलीले तीन करोडभन्दा बढी रकम बरामद गरेको सीआईबीको प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । उनको घरबाट प्रहरीले विभिन्न ब्रान्डका १५ थान मोबाइल समेत बरामद गरेको छ । सीआईबीको टोलीले उनलाई मंगलबार बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका बम्जनलाई आजै जिल्ला प्रहरी कार्यालय सर्लाही पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

बम्जनमाथि पहिलोपटक सर्लाही अदालतले २०७६ माघमा पक्राउपुर्जी जारी गरेको थियो । उनीमाथि २०७३ मा आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता पारेको आरोप छ ।
 


रामबहादुर बम्जन पक्राउ

रामबहादुर बम्जन पक्राउ


काठमाडौं, २४ पुस । आफूलाई तपस्वी बताउने रामबहादुर बम्जन पक्राउ परेका छन्। लामो समयदेखि फरार रहेका बम्जनलाई मंगलबार दिउँसो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंबाट पक्राउ गरेको हो।

हत्या, वेपत्ता र यौन हिंसाको उजुरी परेपछि उनलाई सीआईबी, कोशी प्रदेश र मधेश प्रदेश प्रहरीले लामो समयदेखि खोजी गरिरहेको थियो।

लामो समय बाराको हलखोरिया जंगलमा बसेका आफूलाई लिटिल बुद्ध बताउने बम्जन पछिल्लो समय सिन्धुलीमा आश्रम बनाएर बसेका थिए।


नेपालमा पहिलो पटक कोभिड-१९ को जेएन.१ भेरियन्ट संक्रमण पुष्टि

नेपालमा पहिलो पटक कोभिड-१९ को जेएन.१ भेरियन्ट संक्रमण पुष्टि


काठमाडौं, २३ पुस । पछिल्लो समय छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड-१९ को सब-भेरियन्ट जेएन.१ नेपालमा पनि देखिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा पहिलो पटक जेएन.१ को संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार ७ वटा नमुनामा जेएन.१ पुष्टि भएको छ । देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट १६ वटा नमुना संकलन गरी आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जिनोम सिक्वेन्सिङ गरेको थियो ।

मन्त्रायलले कोभिड-१९ को सब-भेरियन्टको बढ्दो संक्रमणलाई ध्यान दिँदै सीमा नाकाका हेल्थ डेस्कहरूलाई आवश्यक स्क्रिनिङ गराउन अनुरोधसमेत गरेको छ । त्यस्तै स्वास्थ्य कार्यालयहरूलाई पनि मन्त्रालयले आवश्यक स्क्रिनिङ र निगरानीका साथै स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन मन्त्रालयले अनुरोध गरेको छ ।

संक्रमण र संक्रमणको फैलावट रोकथाम गर्नका लागि आम सर्वसाधारणलाई पनि जनस्वास्थ्यका मापदण्ड (भीडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न, र साबुनपानीले हात धुन) अनिवार्य रूपमा पालना गर्न/गराउन मन्त्रालयले अपिल गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड–१९ को नयाँ भेरिएन्ट ‘जेएन.१’ तथा इन्फ्लुएन्जाको संक्रमण बढिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिसकेको छ ।


डिभिजन वन अधिकृत कोइरालाविरुद्ध १ करोड २५ लाखको भ्रष्टाचार मुद्दा

डिभिजन वन अधिकृत कोइरालाविरुद्ध १ करोड २५ लाखको भ्रष्टाचार मुद्दा


काठमाडौं, २३ पुस । अख्तियार दुरुपयोग अनु्सन्धान आयोगले जिल्ला वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कोइरालाले जागिरे अवधिमा जोडेको एक करोड २५ लाख ९६ हजार तीन सय ५३ रुपैयाँ अवैध ठहरिएपछि अख्तियारले सोमबार कोइरालाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
कोइरालाले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति (२०४६ जेठ २ गते) देखि २०७८ फागुन १२ सम्ममा गरेको आम्दानी तथा खर्चको विवरण अनुसन्धान गर्दा एक करोड २५ लाख ९६ हजार तीन सय ५३ रुपैयाँ बढी देखिएको आयोगले जनाएको छ ।

पारिश्रमिक बचत, भत्ता बचत रकम, घर जग्गा बिक्री, जीवन बिमा परिपक्व भई प्राप्त गरेको रकम, ग्यास स्टोरबाट भएको आम्दानी, सेयर बिक्रीबाट प्राप्त रकम, कृषि आय र निजको छोरीको बचत रकमसमेत गरी ८१ लाख ८६ हजार नौ सय ९५६ रुपैयाँ ३१ पैसा कमाएको देखिएको अख्तियारले जनाएको छ ।

सोही अवधिमा उनको व्यय (खर्च तथा लगानी) तर्फ घर निर्माण, जग्गा खरिद र रजिस्ट्रेसन दस्तुर, अध्ययन खर्च, बिमाको प्रिमियम भुक्तानीमा भएको खर्च, सवारी खरिदमा भएको खर्च, सेयर खरिद तथा लगानी, ग्यास स्टोरमा गरेको लगानी रकम, सामाजिक व्यवहार खर्च, विद्युतीय उपकरण खरिदबापतको रकम र बैंक मौज्दातसमेत गरी जम्मा २ करोड सात लाख ८३ हजार तीन सय ४९ रुपैंया ८५ पैसा खर्च तथा लगानी भएको अनुसन्धानमा देखिएको आयोगले जनाएको छ ।

वैध आम्दानीको अनुपातमा उनले सिर्जना गरेको सम्पत्ति एवं खर्च तथा लगानी दुई करोड सात लाख ८३ हजार तीन सय ४९ रुपैयाँ ८५ पैसा देखिएपछि आयभन्दा बढी रकमको स्रोत नखुलेको आयोगले जनाएको छ ।

स्रोत नखुलेको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएको र सार्वजनिक पद धारण गरेका कोइरालाले साबिक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं हाल कायम रहेको भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २०(१) बमोजिम गैर कानुनी रूपमा सम्पत्ति आर्जन सम्बन्धी कसुर गरेको अख्तियारले कोइरालाविरुद्ध एक करोड २५ लाख ९६ हजार तीन सय ५३ रूपैँया पचपन्न पैसा बराबरको बिगो जरिवाना र कैद सजायको मागदावी गर्दै मुद्दा दायर गरेको हो ।
 


काठमाडौंमा गाँजा मिसाएर केकको व्यापार

काठमाडौंमा गाँजा मिसाएर केकको व्यापार


काठमाडौं, २२ पुस । काठमाडौँमा लागु औषध गाँजा मिसाएर केकको व्यापार हुने गरेको खुलासा भएको छ । सो कार्यक्रमा संलग्न एक जना पक्राउ परेसँगै यसबारे रहस्य खुलेकाे हाे । 

लागुऔषध नियन्त्रण ब्युरोले राजधानीको घट्टेकुलोबाट विशन मानन्धरलाई पक्राउ गरेको हो । उनले अनलाइनमार्फत युवा लक्षित कारोबार गर्दै आएको अनुसन्धानबाट खुलेको ब्युरोका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए । 

ती युवकले इन्स्ट्राग्राममार्फत समेत एक अकाउन्ट बनाउँदै लागु औषध प्रयोग गरी मुफिन लगायतको केक बनाउँदै बिक्री वितरण गर्ने गरेको पाइएको जोशीले बताए । यसबारे सूचना प्राप्त भएपछि ब्युरोको टोलीले मानन्धरलाई निजकै घरबाट पक्राउ गरेको उनको भनाइ छ । उनको घर–कोठाबाट विभिन्न लागु औषध समेत बरामद भएको उनले जानकारी दिए । 

पक्राउ गरिएका विशन मानन्धरले आफ्नै घरमा विगत १ बर्ष देखि गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरु बनाई अनलाइन डेलिभरी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।  

यस्तै ब्युरोले अनुसन्धानको क्रममा मानन्धरले अनलाइनमार्फत बिक्री वितरण गर्ने गरेको गाँजा मिसाई तयार गरिने केकहरुको मेनु समेत फेला पारेको छ । जसमा THE EPIPHANCY BREAD, HAPPY CUPS, BUZZ LIGHTYEAR, NASTY CANDY लगायत रहेका छन् । 


रुसी आर्मीमा पठाउनेहरू पक्राउ, ट्राभल्स सञ्चालकको संलग्नता

रुसी आर्मीमा पठाउनेहरू पक्राउ, ट्राभल्स सञ्चालकको संलग्नता


काठमाडौं, २० पुस । बेरोजगार नेपाली युवालाई रुस पु¥याएर झुक्क्याई आर्मीमा काम लगाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले अलास्का ट्राभल्सका सञ्चालक बताउने अर्जुन सुनार (अर्जुन श्रेष्ठ) र शेरबहादुर राई (शेखर राई) लाई पक्राउ गरेको छ ।

बेरोजगार युवालाई रुसको होटलमा आकर्षक तलब हुने प्रलोभनमा पारेर जनही ६ लाख रुपैयाँ लिएर शंकर कार्की, राजन राई र विकास राईलाई रुस पठाएकोमा त्यहाँ पुगेर रुसी सेनामा काम लगाउन खोजिएको थियो ।

रुस पुगेपश्चात शंकर कार्कीलाई रिसिभ गर्ने व्यक्तिलाई ८०० डलर थप दिएर पनि ‘तपाईंहरू आर्मीका लागि हो, तालिम गर्नुपर्छ’ भनेपछि उनी सेनामा काम नगरी फिर्ता आएका थिए ।

रुसबाट फर्केपछि कार्यालयमा निवेदन दिएकोमा प्रहरीले अनुसन्धानका क्रममा २ जनालाई पक्राउ गरेको छ । उनले एसएलसी मात्र पास गरेको, सबै नक्कली कागजात समेत ट्राभल्सवालाले नै बनाइदिइएकाले आवश्यक कारवाही गरी पाउँ भनी प्रमाणसहित कार्यालयमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले काठमाडौं माइतीघर र थापागाउँबाट आरोपीहरूलाई पक्राउ गरी मानव तस्करी गरी ठगी गरेको कसूरमा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

कार्कीसँगै गएका राजन राई र विकास राई रसिया आर्मीमा भर्ना गरिएको बुझिन आएको प्रहरीले जनाएको छ ।
 


दुई दिने नेपाल भ्रमण सकेर भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

दुई दिने नेपाल भ्रमण सकेर भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता


काठमाडौं, २० पुस । भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । उनी नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन हिजो बिहीवार बिहान नेपाल आएका थिए । 

भारत फर्कनुअघि विदेशमन्त्री जयशंकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरे । 

नेपाल भ्रमणमा रहँदा विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेका थिए । जयशंकरको नेपाल भ्रमणका क्रममा नेपाल–भारत दीर्घकालीन बिजुली व्यापारलगायत चार वटा सम्झौतामा हस्ताक्षर भएको छ ।

आज स्वदेश फर्किनु अगाडि जयशंकरले बिहान पशुपतिनाथ मन्दिरमा दर्शन गर्नुका साथै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको भनवको उद्घाटन गरे ।


सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल सिफारिस


काठमाडौं, १८ पुस ।  न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहनुभएका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।
यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ । मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएपछि दुवै पद रिक्त थिए ।


यस वर्ष पत्रकारको पेसागत असुरक्षा मुख्य चुनौती : महासंघ

यस वर्ष पत्रकारको पेसागत असुरक्षा मुख्य चुनौती : महासंघ


काठमाडौं, १५ पुस । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२३ सन्तोषजनक नरहेको जनाएको छ। महासंघद्वारा आज जारी एक विज्ञप्तिमा यस वर्ष प्रेस स्वतन्त्रता हननसम्बन्धी ५८ घटना अभिलेख भएको उल्लेख छ। 

‘विगतका वर्षमा जस्तै यस वर्ष पनि प्रेस स्वतन्त्रता हननका विभिन्न घटना नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा अभिलेख भएका छन्। यस वर्ष पत्रकारको पेसागत असुरक्षा मुख्य चुनौतीको विषय बनेको छ,’ विज्ञप्तिमा भनिएको छ 
महासंघका अनुसार सन् २०२३ मा अघिल्लो वर्ष सन् २०२२ को तुलनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटना बढेका छन्। सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना रेकर्ड भएका थिए। 

सन् २०२३ मा विभिन्न घटनामा १३ पत्रकार महिला र ७४ पुरुष पत्रकार प्रभावित भएका छन्। सन् २०२२ मा एक सय ३२ पुरुष र १८ पत्रकार महिला प्रभावित भएका थिए । त्यस्तै, सन् २०२४ मा पाँच वटा सञ्चार संस्था प्रभावित बनेका छन् भने २०२२ मा ६ वटा सञ्चार संस्था प्रभावित भएका थिए।

नेपाल पत्रकार महासंघले सन् २०२३ मा विभिन्न सञ्चारगृहमा देखिएका श्रम समस्या अर्थात् पेसागत असुरक्षालाई मुख्य चुनौतीको रूपमा लिएको उल्लेख गरेको छ। सञ्चार प्रतिष्ठानमा देखिएका श्रम समस्यालाई महासंघले दबाबमूलक आन्दोलन, कानुनी लडाइँ तथा वार्ता र संवादसमेतको माध्यमबाट समाधानको पहल गरिरहेको जनएको छ। 

महासंघले सन् २०२४ मा श्रम समस्याको दीर्घकालीन समाधानका लागि कानुनी व्यवस्थालाई थप बलियो बनाएर त्यसको कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ। 

‘राजनीतिक दलका नेता र सरकारका जिम्मेवार पदमा बसेका व्यक्तिबाट पटक–पटक प्रेसमाथि विभिन्न प्रकारका आरोप लगाउने, पुष्टि नहुने तर्कसहित समग्र मिडियाप्रति नै लाञ्छित गर्नेलगायतका कार्य सन् २०२३ मा भएका छन्,’ महासंघले भनेको छ, ‘महासंघ राजनीतिक दल र सरकारका विभिन्न पदमा बसेका व्यक्तिलाई पदीय मर्यादा, विश्वव्यापी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारप्रति प्रतिबद्ध हुन आग्रह गर्दछ।’

सरकारले सन् २०२३ मा सञ्चारसम्बन्धी कानुन निर्माणमा सुस्तता देखाएको महासंघको टिप्पणी छ । महासंघकै संलग्नतामा मस्यौदा भएका सञ्चारसम्बन्धी कानुन यथाशीघ्र प्रक्रियामा लैजान महासंघले सरकारको ध्यानाकर्षण गराएको छ। 

सञ्चारसम्बन्धी कानुनहरू ल्याउँदा नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक तथा पूर्ण प्रेस स्वतन्त्रतालगायतका व्यवस्था ख्याल गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई महासंघले सचेत गराउँदै आएको महासंघले बताएको छ।


आज तमु ल्होसार मनाइँदै,देशभर सार्वजनिक बिदा

आज तमु ल्होसार मनाइँदै,देशभर सार्वजनिक बिदा


काठमाडौं, १५ पुस ।  गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

गुरुङ समुदायको परम्परागत पात्रोअनुसार पुस १५ गते अर्थात् ल्होसार नयाँ वर्षको दिन हो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।

यस दिनमा आफन्त, कुलकुटुम्बसँग भेटघाटका साथै भोजभतेर खुवाउने तथा शुभकामना आदान प्रदान गर्ने चलन छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको जनाइएको छ।