25 Baishak, 2081 / 7 May , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समाचार


दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज

दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज


काठमाडौं, २८ मंसिर ।  नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । इन्टरनेट (इमेलसहित)को दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार ती कम्पनीहरुले तोकिएको समय अवधिभित्र अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले अनुमति पत्र स्वतः खारेज भएको हो । ती कम्पनीहरुलाई ३० दिनभित्र सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम तिर्न अनुरोध गर्दै प्राधिकरणले अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको छ । 


आजदेखि काठमाडौं महानगरभित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध

आजदेखि काठमाडौं महानगरभित्र सुर्तीजन्य पदार्थ प्रतिबन्ध


काठमाडौं, २७ मंसिर । काठमाडौं महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिएका छन् । उनका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ ।

प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने भन्दै महानगरपालिकाले यही मङ्सिर १२ गते सार्वजनिक सूचना जारी गरेको थियो ।
कसैले बिक्री वितरण गरेको पाइए नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गरिने सूचनामा उल्लेख छ । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको स्वास्थ्य विभागका प्रमुख पौडेलले बताए ।


१२ ठेकेदार कम्पनी कालोसूचीमा

१२ ठेकेदार कम्पनी कालोसूचीमा


काठमाडौं, २५ मंसिर । सरकारले विभिन्न १२ वटा निर्माण तथा आपूर्ति कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीहरूलाई कालोसूचीमा राखेको हो ।

एउटा कम्पनी तीन वर्षसम्मका लागि, दुई कम्पनी दुई वर्षसम्मका लागि तीन, पाँच कम्पनी साढे १ वर्षसम्मका लागि र तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।

यी कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।


 


अनुसन्धान अधिकृत बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अनुसन्धान अधिकृत बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं, २४ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
सुरक्षा निकायहरूमा कार्यरत कर्मचारीहरूले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा विभागका तत्कालीन अनुसन्धान अधिकृत बस्नेतले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाइस्कुल तहको नक्कली प्रमाणपत्र पेस गरेको पाइएको छ ।

उक्त शैक्षिक प्रमाणपत्र पेस गरी उनले राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिइ बढुवा समेत भइ अनुसन्धान अधिकृत पदको ओहोदा, लाभ र सुविधा प्राप्त गरेको देखिएको अख्तियारको दाबी छ ।


विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद


काठमाडौं, २४ मंसिर ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ । शनिबार राति सुनसहित केही व्यक्ति पक्राउ परेका छन् ।
भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका विदेशी नागरिकबाट सुन बरामद भएको प्रहरीको भनाइ छ । पक्राउ परेका व्यक्तिलाई गौशाला प्रहरी वृत्त लगिएको छ । यसअघि बिहीबार राति विमानस्थलबाटै १४ किलो र शुक्रबार दिउँसो थानकोटबाट २ किलो सुन बरामद भएको थियो ।
 


१४ किलो सुनबारे छानबिन गर्न समिति गठन

१४ किलो सुनबारे छानबिन गर्न समिति गठन


काठमाडौं, २२ मंसिर । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति बनाएको छ । भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा छन् ।

बिहीबार राति करिव १४ किलो सुनसहित दुबईबाट आएका गोरखाका चन्द्र घले पक्राउ गरेका थिए । बिहीबार राति दुबईबाट आएका चन्द्र घलेको साथबाट करिव १४ किलो सुन बरामद भएको थियो ।

सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ भने घलेसँगै गोरखाका मीनबहादुर घलेलाई पक्राउ गरी अनुसन्धान थालिएको भन्सार कार्यालयका प्रमुख सहसचिव डा. टोकराज पाण्डेले बताए ।


मध्यरातमा दुबईबाट आएको १४ किलो सुन बरामद, दुईजना पक्राउ

मध्यरातमा दुबईबाट आएको १४ किलो सुन बरामद, दुईजना पक्राउ


काठमाडौं, २२ मंसिर ।  त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट १४ किलो सुनसहित दुईजना पक्राउ परेका छन् । बिहीबार राति फ्लाइ दुबईको एफजेड ५४३ को उडानबाट काठमाडौं आएका चन्द्र घले र मीनबहादुर घले सुनसहित पक्राउ परेका हुन् । 

कपडामा बेरेर छातीको दायाँबायाँ राखेर ल्याएको अवस्थामा उक्त सुन बरामद गरिएको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए । 
दुबईबाट अवैध रूपमा सुन आउँदै छ भन्ने सूचना पाएपछि विमानस्थल प्रहरी र भन्सारको संयुक्त टोलीले घलेद्वयलाई आउँदा आउँदै पक्राउ गरेको थियो । 


एनसेलको सेयर बिक्री रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

एनसेलको सेयर बिक्री रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश


काठमाडौं, २१ मंसिर ।  एनसेलको सेयर खरिदबिक्री रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । गोकुलबहादुर रोकायाले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरलगायतलाई एनसेलको सेयर बिक्री रोक्नका लागि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
उच्च अदालत पाटनले बिहीबार एनसेल खरिद-बिक्री सम्बन्धमा परेको रिटमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
अन्तरिम आदेशका लागि दुवै पक्षलाई उच्च अदालत पाटनले मंसिर २५ गते बोलाएको छ । अन्तरिम आदेशका लागि छलफलमा आउँदा एनसेलको खरिद-बिक्रीबारे भएका निर्णय पनि साथमा ल्याउन भनेको छ ।


 


मुटुको शल्यक्रिया गरेका गृहमन्त्री भेट्न अस्पताल पुगे प्रधानमन्त्री

मुटुको शल्यक्रिया गरेका गृहमन्त्री भेट्न अस्पताल पुगे प्रधानमन्त्री


काठमाडौं, २० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् । गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उनकाे एन्जियोप्लास्टी सर्जरी गरीएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले अस्पताल पुगेर श्रेष्ठसँग भेटघाट गरेका छन् । प्रधानमन्त्री र गृहमन्त्रीबीच सामान्य कुराकानी भएको गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए ।

श्रेष्ठको मुटुमा समस्या देखिएपछि मंगलबार राति साढे ११ बजे अस्पताल भर्ना भएका थिए । उनको मुटुमा राति ८–९ बजेदेखि दुखाइ सुरु भएको थियो । गृहमन्त्री श्रेष्ठले आफ्नो निजी डाक्टर सुरज बर्जाचार्यसँग सम्पर्क गरेका थिए ।

डाक्टर बर्जाचार्यले डाक्टर अरुण मास्केसँग सल्लाह गरेर गंगालाल ल्याएको गिरीले बताए । हटअट्याक आउनुभन्दा पहिला नै उनको उपचार भएकाले उपचार सहज भएको डाक्टरहरूले बताएका छन् ।

उनको मुटुमा एन्जियोप्लास्टी सर्जरी गर्न १५–२०मिनेट लागेको थियाे । मुटुको धमनिमा अवरोध देखिएकाले एन्जियोप्लास्टी सर्जरी गरिएको हाे । गृहमन्त्री श्रेष्ठलाई पाँच दिनसम्म अस्पतालमा नै राख्नुपर्ने जनाइएकाे छ ।

प्रधानमन्त्रीले भेटेपछि अरु भेटघाट बन्द गरिएको छ । उनको उपचार हातको नसाबाट भल्व हालेर गरिएको थियाे । उपचारपछि स्वास्थ्य अवस्था स्थिर रहेकाे गिरीले बताए । डा. अरुण मास्केसहितको चिकित्सककाे टोलीले एन्जियोप्लास्टी सर्जरी गरेका छन् । 
 


सम्झौता अनुसार काम नगर्ने थप पाँच वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

सम्झौता अनुसार काम नगर्ने थप पाँच वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा


काठमाडौं, १९ मंसिर । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने थप पाँच वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयको बैठकबाट भएको निर्णय अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा १ अनुसार पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेर कारबाही गरेको हो ।

विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने निर्णय गरेको कार्यालयले जनाएको छ । कालोसूचीमा पर्नेमा भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जे.भी काठमाण्डौ, मैनाचुली–सिद्धि साई जे.भी काठमाण्डौ, शेर्पा/हेना/सुनामी जे.भी नुवाकोट, कास्र्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौं र इजोन निर्माण सेवा जुम्ला रहेका छन् ।

भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जे.भीलाई तीन वर्ष, मैनाचुली–सिद्धि साई जे.भीलाई दुई वर्ष र शेर्पा/हेना/सुनामी जे.भी, कास्र्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स र इजोन निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले आज निकालेको सूचनामा उल्लेख छ । 

कालोसूचीमा राखिएको अवधिभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउनेछैनन् । कार्यालयले यसअघि गएको १५ गते १४ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको थियो ।